सुनगाभाले सुनाइन् ‘रातो घर’को सन्देश

       सम्पादक | 842 Views |   Published Date : 26th April 2016 |

दाङ, १२ बैशाख ।

जब भेट्नेछौ
मेरी आमा
सुनाइदेऊ एउटा सन्देश
‘आमा त्यो रातो घरबाट
अझै थुप्रै मजस्ता
सन्तान तयार पारेर
पठाऊ यहाँ
मेरो युग पर्खिरहेछ ।’
कवि विना तामाङ ‘सुनगाभा’ ‘रातो घर’को सन्देश सुनाउन आइतबार दाङ आइपुगिन् । मदानीको आमन्त्रणमा दाङ आइपुगेकी सुनगाभाले कवितामार्फत् समता, परिवर्तन र देशप्रेमको सन्देश सुनाइन् ।

sungabha 2

उनले कविताबाटै देशप्रेम, स्वाभिमान, पहिचानको आवाज उठाउनुका साथै समाजका विकृति, विसंगतिको विरोध र देशमा विभिन्न नाममा भइरहेको वैदेशिक हस्तक्षेपको कलात्मक शैलीमा विरोध गरिन् ।

कार्यक्रमको अवसर जुराएको थियो– मदानी साहित्य समूह र आह्वान समूहले । सो अवसरमा कवि सुनगाभाले रातो घरमा संग्रहित कविताहरु वाचन गरेकी थिइन् भने उनको कृति ‘रातो घर’को समीक्षा पनि गरिएको थियो ।

sungabha 4रचना वाचनका क्रममा सुनगाभाले आफ्नो कृति रातो घर परिवर्तनको हुटहुटीले भरिएको बताइन् । कृतिमा पहिचान र अधिकारका प्रशस्तै बिम्ब प्रयोग गरिएको उल्लेख गर्दै उनले पहिचानको अपव्याख्या गर्दा समस्या आएको बताइन् ।

‘पहिचान जीवन हो, हामी अर्को देशमा जाँदा नेपाली भनेर जसरी गर्व गर्छौं, त्यसरी नै देशभित्रका विभिन्न इकाईहरुले गर्व गर्न पाउनुपर्छ, यही नै पहिचान हो’– उनले भनिन् । पहिचानलाई जातिवादसँग जोड्न नहुने उल्लेख गर्दै उनले पहिचानका कविता लेखिँदा कविताको फ्रेमभन्दा बाहिर भयो भन्नु सही नभएको दाबी गरिन् । सो क्रममा उनले ‘मार्फाको रायो, प्रेषक बुद्ध, कालो गुराँस’ लगायतका कविता वाचन गरेकी थिइन् ।

आह्वान समूहकी कुमारी लामाले नेपाली साहित्यमा महिलाले आफ्ना अनुभूति मात्र लेख्छन् भन्ने आरोप रहेको उल्लेख गर्दै रातो घरले यो आरोपलाई गलत सिद्ध गरेको बताइन् ।

कृति समीक्षा गर्दै राजेन्द्र गौतमले यो कृति सस्तो लोकप्रियता, नारा र चाकडीबाट बचेको टिप्पणी गरे । धेरैले कविता भनेर अरुथोक नै लेख्ने गरेको चर्चा गर्दै उनले रातो घरमा वास्तविक कविता रहेको बताए ।

sungabha 1सो क्रममा कलेज कविता अभियानका अभियन्ताद्वय नवीन अभिलाषी र घनश्याम अस्तित्वले पनि सुनगाभाका रचना वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन मदानी समूहका अभियन्ता केशरमान बिसीले गरेका थिए ।

समकालीन नेपाली कविता लेखनको क्षेत्रमा सशक्त हस्ताक्षर बिना २०३७ सालमा मकवानपुरको हेटौंडा नगरपालिका– ९ मा जन्मिएकी हुन् । शिक्षण पेशामा आवद्ध भए पनि नेपाली साहित्यिक फाँटमा उनको लोभलाग्दो क्रियाशीलता रहेको छ । यसअघि नै ‘छुकी’ शीर्षकको कथासंग्रह २०६९ सालमै पाठकमाझ पस्किएकी बिनाको दोस्रो कृति हो– रातो घर ।

तामाङ डाजाङको सहसचिव, विश्व साहित्य महासंघ नेपाल शाखाकी महासचिव, तामाङ साहित्य एकेडेमीको प्राज्ञ सदस्य तथा बाग्द्वार साहित्य समाज बुढानीलकण्ठको कोषाध्यक्षको भूमिकामा उत्तिकै क्रियाशील बिना समाजशास्त्रमा स्नातकोत्तर छिन् ।

द ह्वाइट जोन नेपालले आयोजना गरेको विश्वव्यापी अनलाइन कविता प्रतियोगिता २०१२ मा तृतीय पुरस्कार हात पारेकी बिनाले बहुभाषिक राष्ट्रिय कविता गोष्ठी २०७० मा सर्वोत्कृष्ट पुरस्कार पनि जितिसकेकी छन् ।

sungabha 3

तस्विरहरु : उदय जीएम

प्रतिक्रिया दिनुहोस्