‘प्रश्नहरुको कारखाना’ : अर्थपूर्ण उपस्थिति

       यज्ञबहादुर डाँगी | 939 Views |   Published Date : 7th May 2016 |

Dangi_newकविको भरपर्दो परिचय कविता नै हो । कसैले कसैलाई कवि भन्दैमा कोही कवि हुँदैन । कविले कविता लेख्छ र कविताले कविलाई लेख्छ अर्थात् कविताले नै कविलाई प्रमाणित गर्नुपर्छ ।

अर्थात् कविलाई उसका कविताले नै कवि भन्न सकेमात्र ऊ कवि बन्ने हो ।

आफ्नै कविताले कवि मानिएकी हुन् कवि सरिता तिवारी । युवा पुस्ताका समकालीन कविहरुको दुनियाँमा नेपाली प्रगतिशील एवम् प्रगतिवादी कवितामा विशिष्ट काव्य–दृष्टिका कारण कवि सरिता तिवारीको आफ्नै एक स्थान र विशिष्ट पहिचान छ । कविता आफै बोलेका छन् ।

तसलिमा नसरीनको एउटा कविता छ–

जुन दिन कवि बन्नेछिन् नारी
त्यस दिन बन्नेछिन् उनी पूर्ण नारी

यसरी कवि बनेर एक पूर्ण नारी बनेकी कवि सरिता तिवारीको म हार्दिक सम्मानका साथ कदर एवम् आदर गर्दछु ।

sarita tiwari book review

‘प्रश्नहरुको कारखाना’ कविता संग्रह कवि सरिता तिवारीको तेस्रो उपस्थिति हो । २०७१–०७२ मा प्रकाशित कविता संग्रहहरुमध्ये यो सङ्ग्रहको प्रकाशन हुनु भनेको नेपाली प्रगतिवादी कविताको राजमार्गमा अर्थपूर्ण उपस्थिति हो । दुई दशकको आलो समयमा कवि तिवारीले यस्तो अर्थपूर्ण उपस्थिति दिन सफल हुनु यो एक सुखद आश्चर्य हो ।

यस सङ्ग्रहमा चार खण्ड छन् । पहिलो, विजेता– एक कविता, दोस्रो आदिवासी– पाँच कविता, तेस्रो के तिमीले मलाई आविस्कार ग¥यौ ?– एघार कविता, चार युद्धको सौन्दर्य– अठार कविता छन् । एक–एक कविताको विवेचना यो समीक्षामा सम्भव नहोला, समष्टिमूलक नै हुनेछ भन्ने कुरो राख्न चाहन्छु ।

साथै आदिवासी, के तिमीले मलाई आविष्कार ग¥यौ ? लगायत केही कविताहरु यहाँ छलफलमा राखिएन भने यो समीक्षा अपूर्ण हुनेछ भन्ने कुरो मलाई थाहा छ ।

वास्तवमा सबै कविता सफल छन्, शक्तिवान् छन् । सबै कवितामा जुन विशुद्धता छ, जुन व्यापकता छ, जुन तेजिलोपन छ, विशेष महत्वपूर्ण छ । कवितामा नेपाली समाज र संस्कृतिको गतिशील रचनात्मक अभिव्यक्ति छ, भावावेग छ र सहजतामा विदग्धता पनि छ । कवितामा प्रतिकारको यस्तो अभिव्यक्ति छ, जुन समाजको दमनबाट पीडित नरनारीको जीवनको सन्दर्भमा नयाँ तत्परताले सोच्न बाध्य पार्दछ ।

यी कविताहरु हाम्रो समयको एक सुखद मुठभेडका कविता हुन् भन्न सकिन्छ । कवितामा समाज परिवर्तनको आवश्यकताको अवबोधन छ र जीवनको गति प्राप्त गर्ने आकांक्षा छ । कवि सरिता तिवारीको कविताको आसमानको विस्तार सुखद छ, यो सत्य हो ।

कवि समय र समाजकै परिधिभित्र पसेर कविता रच्न सक्छ, त्यो भन्दा बाहिर रहेर कदापि होइन । कवि सरिताका कविता समय र समाजसँग जोडिएर कुशल वार्तालाप गर्न सक्षमताका साथ सफल भएको पाइन्छ । समकालीन नेपाली समाजको यथार्थलाई शिल्पको छिनुले कुँदेर पुनर्निर्मित यथार्थ (पुनःसिर्जन) निर्माण गर्ने काममा सफलता मिलेको छ कविता सरिता तिवारीलाई ।

sarita tiwari bookउनका कवितामा समकालीन नेपाली समाजको यथार्थका साथै जीवनका फरक–फरक प्रकृतिलाई बिम्बात्मक रुपमा प्रस्तुत भएको छ र जीवनको यथार्थका साना–साना पाटालाई समात्ने शिल्प कवि तिवारीमा आफ्नैपन पाइन्छ । ती साना–साना पाटामा पनि विशालता झल्काउने कवि सरिताको पुनःसिर्जन दर्शनयोग्य छ । कविताको फैलावट जीवनको साना–साना पाटाबाटै विस्तार भएर कविता उच्च गतिको लयमा अगाडि बढेको पाइन्छ ।

समाजको अपकारको प्रतिकारको रुपमा कवि तिवारीका कविता जसरी साहसका साथ खडा छन्, यो कम महत्वको कुरो होइन । हाम्रो समाजमा कम छैनन् दमनकारी चट्टानहरु । यी कविता ती चट्टानहरुसँग तीव्र मुठभेड गरिरहेका छन्, यो कविताको सौन्दर्य पक्ष हो ।

कविता पढ्दा वस्तुतः वर्तमान समयको बोध हुन्छ किनकि कवितामा संघर्ष गरिरहेका, जुधिरहेका र ठक्करबाट सिक्न र सोच्न बाध्य संघर्षशील मान्छेको वास्तविक परिदृश्य पाइन्छ । दुई दशकको यति आलो समयमा पनि आफ्नो पहिचान यति पाको बनाउन सक्नु एक सुखद उपलब्धि त हो नै ! साथै एक अद्भूत परिपाकको परिचायक पनि हो ।

कवि जनजीवनको अवयव भएको कारणले त्यसले जनजीवनसँग जोडिएर नै सिर्जना गर्दछ । यो कुरो कवि सरितामा पनि लागु नहुने कुरै भएन । ‘आदिवासी’ र अङ्गुछिया’ शीर्षकका कवितामा कवि तिवारी युग चेतनाको मूल आधारको अवयव बनेकी छिन् ।

आदिवासी कविता आदिवासीको सौन्दर्यशास्त्र नै हो । कविता अर्थपूर्ण रुपले उपयोगी अर्थात् सुन्दर छ । यस्तो लाग्छ– यो कविता पहिले नै समाजमा रुप ग्रहण नगरेको अवस्थामा थियो, कवि तिवारीले सर्वप्रथम यसलाई रुप दिन सफल भइन् । यसमा समय बोलेको छ, भूगोल बोलेको छ, प्रतिकार बोलेको छ र बोलेको छ आदिवासीको जीवनको सन्दर्भ । कवितामा आक्रोश छ, विद्रोह छ र कति शालीनता छ ।

एक धरो लगौंटीले कति वर्ष–महिना र दिनको लाज ढाकें
तर राखेको छु मैले एक–एक हिसाब

आदिवासीको होइन एउटै लगौंटीले पनि कति–कति वर्ष, महिना र दिनको लाज ढाकेको बाध्यताको एक–एक हिसाब छ आदिवासीसँग ।

यो माटोको विकल्पमा मेरो कोही छैन सहोदर
कुनै इष्टमित्र, कुनै प्रियजन
यो माटोवेगर कोही छैन मेरो आफन्त
यसैमा पुरिएका छन्
महामारीले मासिएका मेरा पुर्खाहरुको हस्तिहाड
औलोले निलेका मेरा दौंतरीहरुका करङ
हैजाले सोह्रोरेका मेरा केटाकेटीका कलिला खप्पर
म तिनै अवशेषको साक्षी भएर बसेको छु
न बिराई कुनै हरफ
म तिनै त्रासदीको कथा भन्न उभिएको छु

माटो अर्थात् श्रम बाहेक कोही छैन आदिवासीको आड, भरोसा । श्रम नै उसको सरकार, अर्को कुनै सरकार छैन । न बिराई कुनै हरफ अर्थात् सचेतका साथ केटाकेटीको कलिलो खप्पर अर्थात् लामो आयु हैजाले मासेको त्रासदीको कथा भन्न उभिएको छ अर्थात् साहसका साथ खडा छ आदिवासी ।

‘अङ्गुछिया’ कविता पढेपछि म आफ्नै गाउँको एउटा दलित बुढालाई सम्झन पुग्छु । उसको छोराले विद्युतको काम गर्छ । सबैका घरभित्र पस्छ । तर उसको बा बुढो भित्र पस्न सक्दैन । उही अङगुछिया अर्थात पुनारो विचार लपेटिएको हुन्छ आफ्नो टाउकोमा बुढाले ।

अझैसम्म पनि
झुण्ड्याइरहेका छौ काँधमा
गुथिरहेका छौ निधारमा
बाँधिरहेका छौ पिठ्यूँमा
चिथ्रो भइसकेको यो अङगुछिया

जीर्ण भइसकेको अङ्गुछिया अर्थात् पुरानो विचारलाई निधारबाट मिल्काउन सल्लाह दिने सहज एवम् सुन्दर विचार छ कवितामा ।
दुख्वा ! तोर नाउँ कथि हलही’ कविताबाट एक सुन्दर उक्ति विधान–

उभिनलाई मात्र पैतला छन् मसित
र ओढ्नलाई छ जम्मै आकाश
अरु के–के गुमाएपछि भइन्छ सर्वहारा
मैले त गुमाएको छु
नामसमेत

यो व्यतिक्रमको लय विधानद्वारा देखाइएको सर्वहाराको बिम्बात्मक दृश्य हाम्रै समाजको यथार्थ हो ।

के तिमीले मलाई आविस्कार ग¥यौ ? यो एक श्रेष्ठ कविता हो । शीर्षक नै प्रश्नमा छ । दश अनुच्छेदमा निर्मित कवितामा पन्ध्रवटा प्रश्न छन् । प्रश्न एक सचेत शब्द हो । चेतना हुन्छ प्रश्नमा । यही चेतनाको प्रचुरतामा नै कविता पनि उदात्त चेतनाले सुन्दर बनेको छ । कवि सरिता तिवारीलाई यस समाजको पौरुषपूर्ण समयमा एक महिला हुनु स्थितिको बोध छ । त्यसैले उनले आँखामा आँखा जुधाएर लेखिएको कविता हो यो । यसै कविताबाट–

के तिमीले सिकाएका छौ चराहरुलाई उड्न ?
फूलहरुलाई फुल्न ?
नदीलाई बगिरहन या बतासलाई सुसेल्न ?

को हुँ म ?
केवल तिमीले प्रदर्शनीमा राखेको
निर्जीव, निर्विवेक, निष्पृह पुतली ?

जन्मजात
मैले लिएर आएकी छु आफूसँग
एउटा नैसर्गिक अनुहार
म दिन्नँ कसैलाई
आविष्कारको मोहर लगाएर
नृशंशतापूर्वक
आफ्नो अनुहारमाथि शासन गरिरहन

यो हृदयगत काव्यानुभूतिको पहिलो सर्त नारी जीवनानुभूति हो । यो कविता नारीको सौन्दर्यशास्त्र हो । अर्थात् नारीको मानवीय मूल्यको कदर गर्ने कविता हो ।

हे देवी शीर्षकमा एउटा कविता छ । यसको शीर्षक देख्दैमा कसै–कसैले टाउको बटार्न सक्छन् । टाउको बटार्नु पर्ने कुनै कारण छैन । यो दुर्गादेवीको आराधना होइन । मातृतन्त्रमा मानव समूहको नेतृत्व आमा–हजूरआमाले गर्थे, त्यसैको पूर्वज स्मृतिबाट शुरु छ कविता । कविताको भाषा अहिले नारी सुतेको अर्थात् दमनले दबेको आधारभूत अनुभूतिसँग जोडिएर आएको छ । कविता मूलतः आशयको विषय हो । यसको आशय यस्तो छ–

अब त ब्यूँझिदेऊ यो कठोर निद्राबाट
देखाइदेऊ तिम्रा कोटी–कोटी हातहरुको शक्ति
देखाइदेऊ तिम्रो त्यो दुर्लभ रुप

युद्धबन्दीजस्तो
पराजयको बिल्ला लागेको आत्महन्ता जिन्दगी
मलाई लड्नु छ तिमीसितै उभिएर
इतिहासको अन्तिम लडाइँ
र वरण गर्नु छ बरु
शहादत

अन्य केही कवितांशहरु :

ती बुझ्दैनन्
कसरी सम्भव छ बजारमा
फूलको माग र खपतको सिलसिला
जब बुझ्नेछन् ती सब प्रकरण
फक्रिनेछ प्रत्येक फूलको बोटमा
बारुद
–फूलको कारोबार

तर माफ गर्नु
मात्र तिमीलाई मन गर्न
मञ्जुर छैन मलाई
पुत्ला हुन
–पुत्ला

उड्न चाहन्छु म
मुक्त उडान
– पुतली

संवेदनाका सुतेका तन्तुहरुलाई ब्यूँझाउने क्षमता भएका कवितामा प्रशस्तै छन् यस्ता नमुनाहरु ।

युद्धको सौन्दर्य खण्डमा अठार कविताहरु छन् । कविताहरुमा विसङ्गतिबोध छ ।

मित्रहरु
मौन उभिरहनु, नबोल्नु, नचल्मलाउनु र नदिनु कुनै प्रतिक्रिया
लगातार खपिरहनु प्रहार वा सहनु जुका र सर्पहरुको दंश
यही नै हुन्छ यदि शान्तिको अर्थ भने
शान्तिभन्दा कैयौं कैयौं गुणा मन पराउँछु
बाँच्नुको कलाले रङ्गिएको
युद्धको रक्तिम सौन्दर्य
–युद्धको सौन्दर्य

ठ्याक्कै उस्तै छ उसको मिजास
उस्तै छ मुख
–मुद्रा

जस्तै छ भाव–मण्डल अनुहारमा
कसरी हुनसक्छ गणतन्त्रमा पनि
हुबहु उस्तै कुरा ?
– हुबहु

कति कति आन्दोलन भए, क्रान्ति र जनयुद्ध भए, खै हाम्रा आकांक्षा ? सोचेजस्तो शान्ति ? खै हाम्रा सपनाहरुले चाहेको परिवर्तन ? मार्मिक र सहजरुपमा कविताहरुले वास्तविक यथार्थतिर इशारा गरेका छन् । यस्तो अवस्थामा कविता लेख्नुको तुलनामा नलेख्नु कठिन कुरा मुखर भएको छ हाम्रो सामु ।

जब विचार हुँदै जान्छ हलुङ्गो हलुङ्गो
क्रमशः गरुङ्गो बन्दै जान्छ झण्डा
निकाल्दै गएपछि सारा लुगाहरु
बाँकी छ खाली छाला
कुख्यात सम्राटको नयाँ पहिरनजस्तो
– झण्डा

यस्तो भइरहेको छ, निकै खतरनाक अवस्था हो यो । सही भएर हो क्रान्तिको विरुवा उखेलेर पानी चारिरहेका छन् यही कुराको उजागर भएको छ कवितामा ।

कवि सरिता विशिष्ट काव्य विशेषताहरु :

कवि सरिताका कविता पाकेका हुन्छन् । कविता पकाउने क्रममा उनले कवितालाई हतार–हतार भट्टीमा नझोसेर बरु बिस्तारै–बिस्तारै तताउँदै कविता पकाउने जति मात्र पकाएको पाइन्छ र जलेको पाइदैन कुनै भाग पनि ।

कविताको शरीर नाजुक हुन्छ थाहा छ कवि तिवारीलाई । त्यसैले कवितालाई भागदौडमा नदौडाएर सहज रुपमा अगाडि बढाएको पाइन्छ । सहज कविता बिस्तारै बढ्छन् अगाडि ।

कवि सरिताका कवितामा अनावश्यक बोसोभन्दा आवश्यक मांसपेशी पाइन्छ । कविताको शरीरमा अत्यधिक अनावश्यक बोसो बढ्न दिनुहुँदैन, जसले कवितालाई खराब गर्ने डर हुन्छ । कवितालाई आवश्यक मांसपेशीले मात्र निरोगी बनाउन सक्छ । कवि तिवारीका कवितामा आलो र चोखो बिम्बका कारण कविताको मांसपेशी मजबुत भएको पाइन्छ ।

कवि सरिता तिवारीका कवितामा सरल भाषामा विचारमा स्पष्टता र अभिव्यक्तिमा मार्मिकताले सम्प्रेषणमा सहजता पाइन्छ । काव्य चेतना सिपालु छ सरितामा, यो एक सुखद आश्चर्य हो । यसको उपलक्ष्यमा कवि सरिता तिवारीलाई भारतीय कवि राजेश जोशीको निम्न कविता उपहार दिन चाहन्छु, जो यस्तो छ–

मलाई पटक–पटक यस्तो लाग्छ
नारी पनि यदि पुरुषसरि कम बोल्थे भने
कति सन्नाटा हुन्थ्यो होला यो धरती
र बच्चाहरु कति पछि मात्र सिक्न पाउँथे बोल्न ?

प्रतिक्रिया दिनुहोस्