राप्ती साहित्य परिषद्ले मनायो ४० औं स्थापना दिवस

       सम्पादक | 835 Views |   Published Date : 11th May 2016 |

दाङ, २६ बैशाख । राप्ती साहित्य परिषद्ले आफ्नो ४० औं स्थापना दिवस विशेष साहित्यिक समारोह गरी मनाएको छ ।

परिषद्ले नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभागसँग सहकार्य गरी नेपाली कवितामा राप्तीको योगदान विषयक विचार गोष्ठी, राप्तीका प्रतिनिधि कविका कविता वाचन तथा दुई दर्जन स्रष्टाहरुलाई सम्मान एवम् पुरस्कृत गरी ४० औं स्थापना दिवस मनाएको हो । (हेर्नुहोस् फोटो फिचर)

rapti 24

बैशाख २४ गते शुक्रबार उद्घाटन गरिएको स्थापना दिवसको पहिलो दिन राप्तीका कविताको विषयमा विचार गोष्ठी आयोजना गरिएको थियो । गोष्ठीमा नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभागका सदस्य प्राज्ञ केशव सुवेदीले नेपाली कवितामा रापतीको योगदान विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यपत्रमाथि साहित्यकारहरु टीकाराम उदासी, पद्मप्रसाद शर्मा र डा. कृष्णराज डीसीले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग प्रमुख डा. अमर गिरीले नेपाली कवितामा राप्तीका कविताको योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।

त्यस्तै, स्थापना दिवसको दोस्रो दिन शनिबार बिहान परिषद्को साधारणसभा सम्पन्न हुनुका साथै दिउँसो बृहत कवि गोष्ठी गरिएको थियो । गोष्ठीमा राप्तीका करिब ६० जति कविहरुले आफ्ना कविताहरु वाचन गरेका थिए । कविताका विषयमा प्राज्ञ केशव सुवेदीले टिप्पणी गर्नुभएको थियो ।

rapti 23दुई दर्जन स्रष्टालाई सम्मान

यसैबीच परिषद्ले १७ जना स्रष्टाहरुलाई पुरस्कृत गर्नुका साथै ४ जना स्रष्टा, १ जना दाता र दुइटा संस्थालाई सम्मान गरेको छ ।

जसअनुसार परिषद्ले यस वर्षको राप्ती साहित्य पुरस्कार साहित्यकार नित्यानन्द शर्मालाई प्रदान गरेको छ भने राप्ती सिर्जना पुरस्कार सल्यानका स्रष्टा गणेशमान सिंहको यो देश र म निबन्ध कृतिलाई दिएको छ । २०७१ सालभित्र प्रकाशित कृतिहरुमध्येबाट सिंहको निबन्ध कृतिलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो ।

त्यसैगरी नन्दहरि साहित्य पुरस्कार दाङका दुर्गाप्रसाद अधिकारीलाई, विष्णुनुमा साहित्य पुरस्कार दाङकै भवानी न्यौपाने ‘भावना’लाई, डोमादेवी साहित्य पुरस्कार दाङ देउखुरीका शेरबहादुर चौधरीलाई, ऋषिलक्ष्मी साहित्य पुरस्कार दाङका नवीन अभिलाषीलाई, देवीचन्द्र साहित्य पुरस्कार रुकुमका मनलाल ओलीलाई प्रदान गरिएको छ ।

त्यस्तै, अपामुकुन्द प्रज्ञा पुरस्कार रोल्पाका खेमराज गाउँलेलाई, गोपालचन्द्र प्रज्ञा पुरस्कार प्यूठानका तिलक अधिकारीलाई, गोमा देवकोटा कला पुरस्कार दाङका जुग्री चौधरीलाई, हरिप्रसाद–मीना पाण्डेय कलासाहित्य पुरस्कार दाङका चामबहादुर विकलाई, खोपीलाल–हुकुमादेवी छन्द पुरस्कार मोहनकुमार दाहाललाई, पण्डित कपिलमणि–भक्तकुमारी शिवाकोटी स्रष्टा पुरस्कार प्यूठानका भेषमान गिरीलाई प्रदान गरिएको छ ।

त्यसैगरी पद्मप्रसाद–रुपसा प्रज्ञा पुरस्कार दाङका डा. भीमार्जुन आचार्य, तिलका–तुल्सीराम आचार्य स्मृति साहित्य पुरस्कार दाङकै केशव सुवेदीलाई, चक्रपाणि–लक्ष्मी–लोकेश्वरी छन्द पुरस्कार दाङदेउखुरीका जागेश्वर घिमिरेलाई र पद्माकुल हास्यव्यङ्ग्य पुरस्कार रोल्पाका चन्द्रज्योति सुवेदीलाई प्रदान गरिएको छ ।

त्यस्तै, परिषद्ले विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने ५ जना व्यक्ति तथा एउटा संस्थालाई सम्मान गरेको छ । जसअनुसार साहित्यिक क्षेत्रबाट भीमकान्त आचार्य र भावना अधिकारीलाई, पुरस्कार संस्थापकको तर्फबाट हरिप्रसाद पाण्डेयलाई, गीतसङ्गीतको क्षेत्रबाट मधुबाबु थापालाई, सञ्चार क्षेत्रबाट रेडियो मध्यपश्चिमलाई सम्मान गरिएको हो ।

rsp 6त्यस्तै, परिषद्को भवन निर्माणका लागि सहयोग गर्ने घोराही–११ भरतपुरका रत्ना गौतमलाई पनि सम्मान गरेको छ । गौतमले परिषद्को भवन निर्माणका लागि यसअघि नै २५ हजार ५ सय २५ रुपैयाँ प्रदान गर्नुभएको थियो भने उहाँका सुपुत्र शंकर गौतमले ५ हजार ५ सय ५ रुपैयाँ सहयोग गर्नुभएको थियो ।

पुरस्कृत तथा सम्मानित स्रष्टाहरु परिचय साहित्यकारहरु टीकाराम उदासी, कमलमणि देवकोटा, पत्रकार सुशील गौतम र शारदा शर्माले गराउनुभएको थियो । पुरस्कृत स्रष्टाहरुलाई माला, टीका, नगद पुरस्कार र आदर पत्रले पुरस्कृत गरिएको थियो भने सम्मानित व्यक्तिहरुलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि परिषद्का संस्थापक अध्यक्ष नारायणप्रसाद शर्मा, अध्यक्ष पुरुषोत्तम खनाल, पूर्वअध्यक्षहरु गिरिराज शर्मा, अमर गिरी, सल्लाहकार उत्तमकृष्ण मजगैंया, पुरस्कार संस्थापकहरु लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

परिषद्का अध्यक्ष पुरुषोत्तम खनालको अध्यक्षतामा भएको कार्यक्रममा पुरस्कृत तथा सम्मानित प्रतिभाहरुले कृतज्ञता व्यक्त गर्नुभएको थियो भने विभिन्न साहित्यिक संघ, संस्थाका प्रतिनिधिहरु, पुरस्कार संस्थापक सूर्यनाथ सापकोटालगायतले पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन परिषद्का उपाध्यक्ष कमलमणि देवकोटाले गर्नुभएको थियो भने सहभागीहरु सबैलाई परिषद्का रुकुम शाखा अध्यक्ष गिरिप्रसाद बुढाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

rapti 1

rapti 2

rapti 3

rapti 5

rapti 6

rapti 7

rapti 8

rapti 9

rapti 10

rapti 11

rapti 12

rapti 17

rapti 18

rapti 19

rapti 20

rapti 22

rapti 21

rapti 15

rapti 14

rapti 16

rapti 13

rsp 8

rsp 9

rsp 7

rsp 10

rsp 6

तस्बिरहरु : विष्णु सन्यास

प्रतिक्रिया दिनुहोस्