नेपालमा पहिचान साहित्य

       टीकाराम उदासी | 947 Views |   Published Date : 16th May 2016 |

Tikaram Udasi

विश्व साहित्यको इतिहासमा नयाँ–नयाँ विचार र शैलीको प्रयोग कुनै अनौठो विषय–सन्दर्भ होइन, यस्तो प्रचलन विश्व साहित्यको उषाकालीन समयदेखि आजपर्यन्त अनवरत चलिरहेकै छ । र, यो क्रम भविष्यमा पनि यसरी नै चलिरहने छ ।

पश्चिमी साहित्यका होमर, प्लेटो, अरस्तु, कलरिज, क्रोचे, गोर्की आदि अनेकौं स्रष्टा द्रष्टा र पूर्वीय साहित्यका वेदव्यास, कालिदास, भरत, भास, श्रीहर्ष आदि अनेकौं स्रष्टा द्रष्टाहरु सबैले साहित्यमा आ–आफ्नो चिन्तन र प्रयोगलाई प्रस्तुत गरेका छन् । अझ यी उल्लेखित व्यक्तित्वहरु भन्दा पछिको विश्व साहित्यमा देखिने हजारौं स्रष्टा र चिन्तकहरुको सिर्जन लेखन कर्ममा त झन कति हो कति नयाँ नयाँ शैली र विचारहरु देखिएका छन् ।

यसरी हेर्दा विश्वसाहित्य भन्नु एक प्रकारले वहुविध चिन्तन र प्रयोगहरुको साझा स्थल नै हो । यसबाट नेपाली साहित्य पनि पृथक अवश्य छैन ।

विश्व साहित्यको समग्र इतिहास यात्राका क्रममा नेपाली साहित्यको इतिहास त्यति लामो अवश्य छैन । यसकारण जति समृद्ध र व्यापक हुनुपर्ने हो त्यो पनि देखिएको त छैन, तर पनि अढाई सय वर्षको आफ्नो औपचारिक यात्रा बीचमा यसले पनि नयाँ नयाँ शैली र प्रयोगहरुलाई भने उत्तिकै आत्मसात गरेको देखिन्छ ।

identify bookखासगरी आधुनिक नेपाली साहित्यको प्रारम्भ भएपछि नेपाली साहित्य विश्वसाहित्यसँग प्रत्यक्ष जोडिन पुगेकोले पनि यस क्षेत्रमा अनेक नयाँ नयाँ धारहरुले प्रवेश गरेको प्रमाणहरु साक्षी छन् ।

पछिल्लो समयमा पहिचानको साहित्य नेपाली साहित्यको एउटा पछिल्लो तस्बिर बनेर नेपाली साहित्यका पाठकहरुका माझमा देखिन आइपुगेको छ । नेपाली साहित्यको पछिल्लो अध्यायका रुपमा रहेका कारण निश्चय नै यसबारेमा केही भ्रम र विवादहरु पनि कायमै रहेका छन्, जुन स्वाभाविकै पनि हो । कुनै नयाँ धारा, शैली र चिन्तनको आगमनसँगै साहित्यिक बजारमा केही अतिरिक्त चासो, आशंका, अविश्वास र विवादहरु देखिनुलाई स्वाभाविक घटनाका रुपमा लिनुपर्छ, अस्वाभाविक ठान्नु वस्तुवादी हुँदैन ।

कुनै पनि जीवन्त भाषा साहित्यका क्षेत्रमा नवीन प्रयोगका सन्दर्भलाई स्वागत र आशंका दुबै गर्नुपर्छ नै । फरक के मात्रै हो भने हाम्रो स्वागत र आशंका पूर्वाग्रहमुक्त छ वा कसैको पूर्वाग्रहपूर्ण विचारको सहाराबाट डोरिएको छ ? यसप्रति भने सबै सचेत हुनुपर्छ । 

समाजको कुनै पनि घटनाक्रम र इतिहासको गतिबाट न त समाजको राजनीति अलग रहन सक्छ, न त त्यस समाजको कलासाहित्य, न त समाजका अन्य कुनै पनि क्षेत्र र विधाहरु नै अलग भएर रहन सक्छन् । ढिलो वा चाँडो, प्रत्यक्ष वा अप्रत्यक्ष, सबै प्रभावित हुन्छन्, प्रभावित भएरै छाड्छन् ।

नेपाली राजनीतिमा पहिचानको राजनीतिले कलासाहित्यमा जुन प्रभाव पारेको छ, यो इतिहासको गति र यात्राप्रतिको नेपाली स्रष्टाहरुको इमान्दारिता हो, समय र सन्दर्भप्रतिको सचेतनाकै परिणति पनि हो । साथै कुनै बेला भास्कोडिगामा र कोलम्बसजस्ता नयाँ भूगोलको खोजीमा हिडेका यात्रीहरुले जस्तै नेपाली साहित्यको भूगोलबाट हेर्दा नदेखिएको नयाँ क्षितिजको अन्वेषण गर्नु पनि हो । त्यसो त यसलाई नकारात्मक रुपले बुझ्ने र अपव्याख्या गर्ने काम पनि आज सँगसँगै चलिरहेकै छ । यसबारे पनि आजका नेपाली स्रष्टाहरु जानकार र गम्भीर बन्नैपर्छ ।

नेपाली राजनीतिमा पहिचानको राजनीति सतहमा पछिल्लो बैसट्ठी त्रिसट्ठीको ऐतिहासिक लोकतान्त्रिक आन्दोलनपछि देखिएको हो तर यसको पृष्ठभूमि धेरै पुरानो छ । खासगगरी २००७ सालको ऐतिहासिक राजनीतिक परिवर्तनपछि नेपाली समाजमा आएको जागृतिसँगै पहिचानको राजनीतिले यस धर्तीमा बीजारोपण हुने अवसर प्राप्त गरेको तथ्य स्पष्ट छ । सात सालपछि आजसम्म भएगरेका विभिन्न प्रकृतिका राजनीतिक, सामाजिक र साहित्यिक आन्दोलनहरुलाई सूक्ष्म रुपले अध्ययन विश्लेषण गर्ने हो भने यसको पुष्टि हुन आउँछ ।

नेपालका चर्चित योजनाकार एवं भूगोलविद् डा.हर्क गुरुङदेखि जनजाति नेताहरु वीर नेम्वाङ, सीताराम तामाङ, माणिकलाल श्रेष्ठ, गोपाल खम्बू, गोरेबहादुर खपाङ्गी, सुरेश आले मगर, डा. कृष्णबहादुर भट्टचन, परि थापा आदिले पञ्चायती व्यवस्था र त्यसपछिको संसदीय व्यवस्थाकालमा पनि पहिचानको राजनीतिबारे विभिन्न माध्यमबाट खुलेरै आफ्ना विचारहरु सार्वजनिक गरेका हुन् । यसमा खासगरी बामपन्थी राजनीतिमा होमिएका वा यससँग निकट भएका जनजाति अगुवाहरुले यसका बारेमा बहस अगाडि लिने गरेका देखिन्छन् ।

विगतमा भएको सशस्त्र माओवादी विद्रोहका विभिन्न वैचारिक पृष्ठभूमिहरुमध्ये पहिचानको राजनीतिक माग पनि एउटा थियो भन्ने कुराको पुष्टि गणतन्त्रको आगमनपछि आफै हुन पुगेको देखिन्छ, यद्यपि नेपाली समाजको एउटा वर्ग र जातिका केही बुद्धिजीवीहरुले यसलाई भ्रष्टीकरण गर्ने काम गरेका तथा केही हदसम्म सफल भएको तीतो सत्य पनि हाम्रै अगाडि छ ।

नेपाली समाजको सत्ता राजनीति, वर्गचरित्र, संस्कृति र मनोविज्ञानलाई सही प्रकारले विश्लेषण नगरेर यस समाजमा विद्यमान कुनै पनि विवाद र समस्याको सही समाधान हुन कदापि सक्तैन । यसभित्र पछिल्लो समयमा नेपाली समाजको चिन्तन र बहसको केन्द्रमा जबर्जस्त रुपले उठिरहेको पहिचानको सवाल पनि स्वतः पर्दछ ।

जहाँसम्म पहिचान साहित्यको सन्दर्भ छ, यो पनि कुनै न कुनै रुपमा नेपाली समाजमा गर्नैपर्ने बहसको केन्द्रविन्दु हो भन्दा फरक पर्दैन ।

पछिल्लो समयमा आएर नेपाली समाजमा अलि बढी चर्चामा आएको पहिचानको साहित्यलाई आज कतिपय परम्परागत नेपाली बुद्धिजीवी, समालोचक र विश्लेषकहरुले चर्को आलोचना र अपव्याख्या पनि गरेको देखिन्छ । उनीहरुको प्रमुख आरोप के छ भने यसले नेपाली समाजलाई ध्वंस, विग्रह र विभाजन गर्छ । खासगरी यसै आरोपको पुष्टि गर्ने सन्दर्भमा उनीहरुले कलम चलाउँदै आएका देखिन्छन् ।

अब प्रश्न उठ्छ, के पहिचानबारे लेखिएका साहित्य सिर्जनाहरुले साँच्चै नै नेपाली समाजलाई ध्वस्त, विग्रह र विभाजन नै गर्छन् वा यो एक प्रकारको परम्परागत बुद्धिजीवीहरुले लगाएको आरोप मात्रै हो ? समाजलाई विग्रह गर्छन् भने के कसरी गर्छन् ? यी प्रश्नहरुबारे पनि हामीले गम्भीर बहस चलाउनु जरुरी भएको छ ।

नेपाल बहुजाति, बहुभाषी, बहुसंस्कृति र बहुधर्म भएको देश हो । यसरी हेर्दा नेपाली समाजको चरित्र बहुबिध प्रकृतिको छ । नेपाली समाजको सत्ताचरित्र र त्यसले प्रचारित गरेको शिक्षादीक्षाका कारण अझै नेपाललाई पृथ्वीनारायण शाहकालीन परम्परागत मनोविज्ञानबाट हेर्न र यसको विश्लेषण गर्ने प्रचलन नै सबैभन्दा हावी रहेको छ ।

खासमा, नेपालमा अनेकौं जाति र तिनका अनेकौं संस्कृतिहरु छन् । नेपालमा अनेकौं भाषापरिवारका भाषाहरु छन् । नेपाली भाषा सबैको सम्पर्क भाषा भए पनि नेपालमा यो बाहेक कम्तीमा अन्य १ सय २२ थरिका भाषाहरु रहेका छन् । तीमध्ये आज कतिपय भाषामा साहित्य लेख्ने काम पनि भइरहेको छ । यो पनि एकप्रकारको पहिचानको खोजी नै हो ।

कुनै जातिविशेषले आफ्नो मातृभाषामा साहित्य सिर्जना गर्ने कामले बहुभाषी नेपाली समाजलाई विग्रह वा ध्वंस गर्छ कि अझै समृद्धितर्फ लैजान्छ ? अब यसको पनि वस्तुगत रुपले चर्चा चलाउनु पर्छ । साथै नेपाली समाजमा रहेको मूलधारको वा राज्यसंरक्षित सनातन संस्कृतिभन्दा अरु पनि धेरै थरिका संस्कृतिहरु रहेका छन् । तिनका बारेमा पनि आज साहित्य लेखिने क्रम तीब्र रुपले बढिरहेको छ । यसले नेपाली समाजलाई विग्रह वा विभाजन गर्छ कि झन एकताको सूत्रमा बाँध्न सहयोग पु¥याउँछ ? यसमाथि पनि खुलेर छलफल हुनु जरुरी देखिएको छ ।

नेपाली समाजमा मूलतः दुई प्रकारका सांस्कृतिक विश्वास र मूल्यहरु विद्यमान छन् । पहिलो, खसब्राह्मण सांस्कृतिक मूल्य र विश्वास तथा दोस्रो, नेपालको भूगोलभरि फैलिएका अन्य जनजातीय सांस्कृतिक मूल्य र विश्वास ।

आज मूलधारबाट पछाडि पारिएको अन्य जनजातीय सांस्कृतिक, सामाजिक मूल्य र विश्वासका बारेमा पनि साहित्यहरु लेखिन थालेका छन् । यस्तो प्रवृत्ति वा कर्मले नेपाली समाजलाई अझै सार्वजनिक र प्रकाशित गर्नमा सहयोग गर्छ अथवा नेपाली समाजको एकतालाई भत्काउने काम गर्छ ?

यसले नेपाली समाजका अनेकौं अविदित अज्ञात प्रदेशहरु पहिचान गर्न सहयोग गर्छ कि परम्परागत ज्ञानमा मात्रै नेपाली समाजलाई बन्दी बनाइराख्न ? यस्ता यक्ष प्रश्नहरुका बारेमा परम्परागत बुद्धिजीवीहरुले पनि समयमै दिमाग खियाउनु आवश्यक छ ।

राजनीतिमा पहिचानको राजनीति अलि पहिलेदेखि नै चर्चामा आएको भए पनि साहित्यमा पहिचानको सवाल भने तीन दशकअघिबाट मात्र सार्वजनिक भएको इतिहास छ ।

यस सन्दर्भमा देश सुब्बाको अपमान उपन्यास बहुचर्चित कृति हो । उनका यस सन्दर्भका अरु कृतिहरु पनि प्रकाशित छन् । युग पाठकको उर्गेनको घोडा, राजन मुकारुङको हेत्छाकुप्पा, दमिनी भीर, श्रवण मुकारुङको बिसे नगर्चीको बयान, बुद्धिसागरको कर्णाली ब्लुजजस्ता विविध विधाका कृतिहरु पनि पहिचान साहित्यकै पछिल्ला नमुनाहरु हुन् ।

स्वप्निल स्मृति, हेमन यात्री, नाकिमा, बिना तामाङ ‘सुनगाभा’, कुमारी लामा, फुलमान वल आदि धेरै नेपाली युवा स्रष्टाहरु आज पहिचानमूलक साहित्यका सिर्जनामा सक्रिय र स्थापित पनि छन् ।

मानिस स्वभावैले पहिचानमुखी हुन्छ । पहिचानको केही निश्चित आधारहरु हुन्छन् । नेपाली समाजमा पहिचानका पनि केही आधारहरु अवश्य छन् ।

आजको नयाँ गणतान्त्रिक नेपालमा कुनै एउटा भाषाविशेष, वर्गविशेष, जातिविशेष र संस्कृतिविशेषको नागरिकले मात्रै आफ्नो पहिचान खोज्ने तथा त्यसको संरक्षण गर्ने अधिकार पाउनु कुनै आधारमा पनि न्यायोचित हुँदैन ।

नेपालमा रहेका सबै नागरिकहरुले आ–आफ्नो पहिचानको खोजी र जगेर्ना गर्न पाउनुपर्छ । यसबाट मात्र वास्तविक नेपाली संस्कृतिको पहिचान निर्माण हुनसक्छ । यदि राज्यले यो अधिकार र अवसर दिएन भने साँच्चै नेपाली समाज विग्रह र विभाजनतर्फ जाने निश्चित छ । यसतर्फ भने सबै सचेत हुनैपर्छ ।

प्रतिक्रिया दिनुहोस्