‘लाल विधवा’को समीक्षा

       सम्पादक | 867 Views |   Published Date : 16th May 2016 |

lal bidhawa pro 1घोराही, ३१ बैशाख । कथाकार सरला रेग्मीको कथासंग्रह ‘लाल विधवा’को शुक्रबार समीक्षा गरिएको छ । राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित कार्यक्रमको १२८ औं श्रृंखलामा यो कृतिको समीक्षा आयोजना गरेको हो ।

कृतिमाथि समीक्षा गर्दै समीक्षक सुशील गौतमले माओवादी जनयुद्ध शिखरमा चढेर स्खलित हुन शुरु गरेपछि समाजमा देखिएको प्रतिबिम्ब कथासंग्रहमा रहेको बताउनुभयो । यसमा जनयुद्धले ल्याएको महिला मुक्तिको जागरण र शान्ति प्रक्रियापछि त्यसमा लागेको प्रश्नचिन्ह समेटिएको पनि उहाँले बताउनुभयो । कृतिले राजनीतिक अन्योल हटाउन निरन्तर क्रान्तिमा जोड दिएको टिप्पणी गौतमले गर्नुभयो ।

lal bidhawaअर्का समीक्षक सरिता देवकोटाले शब्द र शक्ति दुबै दृष्टिले कृति उत्कृष्ट रहेको बताउनुभयो । समाजमा अझै विधवालाई हेर्ने दृष्टिकोण परिवर्तन हुन नसकेको उल्लेख गर्दै उहाँले कथाले त्यसका बिरुद्ध प्रहार गरेको जानकारी दिनुभयो । उहाँले १९ वटा कथा संग्रहित कृति महिलाका लागि महत्वपूर्ण रचना भएको बताउनुभयो । कथासंग्रहले राजनीतिक विकृतिमाथि प्रहार गरेको उल्लेख गर्दै उहाँले कला पक्षमा पनि ध्यान दिन सुझाव दिनुभयो ।

राप्ती साहित्य परिषद् दाङका कार्यवाहक अध्यक्ष खेमराज मल्लको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि परिषद्का केन्द्रीय सल्लाहकार गिरिराज शर्मा, प्राज्ञ उत्तमकृष्ण मजगैयाँ, परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष प्रताप रेग्मी र पुरस्कार संस्थापक हरिप्रसाद पाण्डेयले कथाकारलाई शुभकामना दिनुभएको थियो ।

कथाकार रेग्मीले त्रुटि सच्याउँदै आगामी रचनालाई थप परिस्कृत बनाउने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रमको सञ्चालन परिषद्का सचिव दीपक शर्मा ‘समीर’ले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्