बजारले साहित्यलाई उपभोग्य वस्तु बनाएको छ

       मधुसूदन गिरी | 578 Views |   Published Date : 14th November 2014 |

Madhusudan Giriअध्यक्ष, मध्यपश्चिमाञ्चल साहित्य परिषद्, काठमाण्डौं

तपाईं मध्यपश्चिमाञ्चल साहित्य परिषद् काठमाडौंको अध्यक्ष हुनुहुन्छ । मध्यपश्चिम क्षेत्रको साहित्यिक अवस्थालाई कसरी हेरिरहनुभएको छ ?

मध्यपश्चिम क्षेत्र नेपाली भाषाको जन्म र विकास भएको क्षेत्र हो । यो नेपाली संस्कृतिको उद्भव भूमि र भण्डार पनि हो ।

नेपाली भाषाको जन्म वर्तमान कर्णालीको सिंजामा भएको हो भने यस भाषाका सबैजसो पुराना एवं पहिलो अभिलेख सिंजा साम्राज्यको शीतकालीन राजधानी दुल्लुमा रहेको पाइनाले विकास दुल्लु क्षेत्रमा भएको स्पष्ट हुन्छ ।

भोसो, भैलो आदि संस्कृतिको आरम्भ त्यहींका राजा बलिराजले गरेको देखिन्छ । त्यस बाहेक थारु, मगर, उर्दू, अवधी आदि भाषाभाषी र तिनको संस्कृतिका दृष्टिले पनि यो क्षेत्र धनी छ ।

समग्रमा भन्दा पूर्वमध्यकालका तुलनामा यहाँको लेख्य साहित्यले सम्पूर्ण नेपालको भाषा, साहित्य र संस्कृतिको नेतृत्व लिने स्थिति छ भन्न नसकिए पनि यहाँको लेख्य साहित्य त्यति कमजोर छैन तर लोकसाहित्य र संस्कृतिका दृष्टिले यो नेपालमै अग्रस्थानमा छ ।

वि.सं. २०४६ को परिवर्तनपछिको कुरा गर्दा भने नेपालमा शिक्षा र सञ्चारका क्षेत्रमा क्रान्ति नै भएको छ तर लिखित साहित्यजस्तो गम्भीर कुरामा भने संख्यात्मकरुपमा निकै अगाडि पुगे पनि गुणात्मकरुपमा अगाडि जान सकेकै छैन ।

यस्तै मौलिक लोक साहित्य र संस्कृति भने व्यावसायिककरण भएर विकृत भइ बचेकोबाहेक अरु त लोप हुने स्थितिमा छ ।

तपाईंको दृष्टिकोणबाट हेर्दा मध्यपश्चिमको साहित्यमा कुन विधा सबैभन्दा अगाडि छ ? साथै कुन विधा कमजोर अवस्थामा छ ?

यस कुरालाई दुई किसिमले हेर्नुपर्छ होला । मध्यपश्चिम क्षेत्रबाट राष्ट्रियस्तरमा पुगेर त्यहाँको परिवेशमा आफ्नो पहिचान बनाएको अर्थमा र आफ्नै मौलिक परिवेशमा सिर्जना एवं गतिविधिमार्फत् पहिचान बनाएको अर्थमा अर्थात् विधागत योगदान गरेको अर्थमा । पहिलो अर्थका कुरा गर्दा कविता र कथा विधा नै सबल देखिन्छ ।

पुरानो इतिहासलाई छोडेर वि.सं. २०३० पछि मीनबहादुर विष्ट, श्यामल, अमर गिरी, कृष्ण सेन, बलभद्र भारती आदि थुप्रै राम्रा कविका रुपमा परिचित छन् भने कथामा अलि अगाडि अर्थात् विसं. २००४/०५ तिर बनारसबाट प्रकाशित ‘उदय’ आदिमा कथा प्रकाशित गर्ने इन्द्रमणि मानव, जगतबहादुर सिंह आदिपछि वि.सं. २०२० को दशकपछि सनत रेग्मी, अमर शाह, नयनराज पाण्डे, नन्दराम लम्साल, गोरखबहादुर सिंह, प्रेम कैदी, बलदेव मजगैया, गोविन्द कुसुम हुँदै नवीन विभाससम्म आइपुग्दा राष्ट्रियस्तरको लेखनमा मध्यपश्चिमका कथाकारले राम्रा कथाकारका रुपमा आफ्नो परिचय बनाएका छन् ।

यसैगरी खोज अनुसन्धानको क्षेत्रमा योगी नरहरिनाथ, रत्नाकर देवकोटादेखिको परम्परा छ भने समालोचनामा मोहनविक्रम, मोहन वैद्य, डा. गोपालप्रसाद शर्मा अधिकारी, नेत्र एटम, अमर गिरी, दुर्गा घर्ती, टीकाराम उदासी आदि सक्रीय छन् ।

मध्यपश्चिमाञ्चल क्षेत्रमा हेर्दा प्रकाश राजापुरी, खगेन्द्र गिरी कोपिला, टीकाराम उदासी, पूर्ण भण्डारी पंकज, महेन्द्र चन्द, महासागर आदिले गजललाई निकै माथि उठाएका छन् । बाँकी विधामा पनि त्यति निराशाजनक स्थिति छैन ।

मध्यपश्चिमाञ्चल साहित्य परिषदले अहिलेसम्म गरेका संस्थागत प्रयासहरु के कस्ता छन् र आगामी योजना के कस्ता रहेका छन् ?

मध्यपश्चिमाञ्चल साहित्य परिषद् काठमाडौं मध्यपश्चिम क्षेत्रको भाषा, साहित्य संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले वि.सं. २०५१ सालमा विधिवत दर्ता भई स्थापना भएको संस्था हो ।

यसको मूल लक्ष मध्यपश्चिम क्षेत्रको भाषा, साहित्य र संस्कृति एवं त्यहींकै स्रष्टा, साधकहरु भएकाले यसले काठमाडौंमा कुनै गतिविधि गरे पनि त्यो मध्यपश्चिमकै भाषा, साहित्य र संस्कृतिसँग सम्बन्धित हुन्छ भने कुनै विमोचन, चर्चा परिचर्चा भए पनि मध्यपश्चिमकै स्रष्टा र तिनका कृतिको र कृतिमाथि हुन्छ ।

यसै क्रममा यसले काठमाडौंमा मध्यपश्चिमसँग सम्बन्धित विभिन्न कार्यक्रम गुर्नका साथै २०५३ सालमा मध्यपश्चिमका कविताका आरम्भदेखि भाषा साहित्यको इतिहाससहितको भूमिकासहित कर्णाली, भेरी र राप्तीका शुरुदेखिकै प्रतिनिधि कविका प्रतिनिधि कविताको संग्रह मध्यपश्चिमका कविता प्रकाशित ग¥यो ।

त्यसपछि कवि मीनबहादुर विष्टका कवितादेखि विभिन्न रचनाकारका कृति प्रकाशन तथा विमोचन गरेको छ । यस्तै वि.सं. २०५६ देखि त्यस क्षेत्रसँग पूर्णतः सम्बन्धित साहित्यिक पत्रिका खसानी प्रकाशित गर्दै आएको छ ।

यसका साथै आज आएर यस परिषदले काठमाडांमा भन्दा मध्यपश्चिमकै विभिन्न जिल्लामा गोष्ठी गरी त्यहाँका भाषा, साहित्य र संस्कृतिमा कार्यपत्र प्रस्तुत गर्ने, छलफल गर्ने आदि कार्य गर्न थालेको छ ।

यस क्रममा सर्वप्रथम २०६७ सालमा बाँकेको नेपालगञ्जमा भेरी साहित्य समितिसँगको सहकारितामा राष्ट्रिय साहित्य महोत्सव सम्पन्न गरेको छ भने २०६९ जेठ ३१ र असार १ गते नेपाली भाषाको अभिलेख भएको स्थान दैलेखको दुल्लुमा बृहत राष्ट्रिय साहित्य सम्मेलन सम्पन्न गरेको छ ।

यसैगरी यही २०७१ सालमा राप्ती अञ्चलको सल्यानमा सल्यान राष्ट्रिय कला तथा साहित्य महोत्सव गर्ने तयारी गरिरहेको छ भने २०७२ सालमा लोक वार्ता परिषद नेपालसँगको सहकारितामा सुर्खेतमा पाँचौं राष्ट्रिय लोकवार्ता संगोष्ठी गर्ने कार्यक्रम छ ।

साथै परिषदले मध्यपश्चिमका १५ जिल्लाको संक्षिप्त साहित्यिक इतिहाससहितको एउटा इतिहास र समालोचनाको पुस्तक तयार गरिरहेको छ ।

काठमाडौंमा रहेर यहाँहरुले परिषद चलाइरहनु भएको छ । के काठमाडौंबाट मध्यपश्चिम देख्न सकिन्छ ?

हामीले काठमाडौमा बस्नु परे पनि काठमाडौंबाट मध्यपश्चिम हेर्नकै लागि काठमाडौमा मध्यपश्चिमाञ्चल साहित्य परिषद स्थापना गरेका हौं । हाम्रा सम्पूर्ण कार्यक्रम, प्रकाशन आदि गतिविधि मध्यपश्चिम केन्द्रीत मात्र छन् ।

यस क्षेत्रका युवा स्रष्टाहरुको सिर्जन गतिविधि कस्तो पाउनुभएको छ ?

महाकवि लक्ष्मीप्रसाद देवकोटाले डा. कुमार बहादुर जोशीको विद्यावारिधिको अनुसन्धानअनुसार ६ सय ४४ र पछि प्राप्त भएका गरी लगभग ७ सय फुटकर कविता लेखेका छन्, तीमध्ये जोशीले जम्मा चार वटालाई मात्र उच्चतम मानेका छन् ।

आज यस क्षेत्रमा साहित्यिक पत्रपत्रिका तथा पुस्तक प्रकाशन, गतिविधि र लेखन प्रशस्त भएको छ । जति धेरै सिर्जना भयो त्यसबाट एक दुई प्रतिशत कालजयी रचना आउन सके पनि धेरै हुन्छ । किनकि साहित्य भनेको गम्भीर कुरा रहेछ ।

कैयौं युवाहरुको लेखनलाई प्रतिभा, व्युत्पत्ति र अभ्यास तीनवटै पक्षको उपस्थितिले माथि उचालेको छ ।

अहिले नेपालमा लेखक/साहित्यकारहरु लेखेरै बाँच्ने अवस्था छ ?

आजको उपभोक्तावादी बजारले कला साहित्यलाई पनि सस्तो बजारु उपभोग्य बस्तु बनाइदिएको छ । यसैले देख्नुभएन, आज लोकगीतहरु लोकमा, लोक जीवनमा होइन सहरका डान्स रेस्टुरेन्टमा गाइन्छन् । एफएम रेडियो, टेलिभिजन आदि श्रव्य दृश्य सञ्चार माध्यममा प्रस्तुत हुन्छन्, रिमिक्स गरिएर ।

त्यस्तै साहित्यलाई पनि आजका व्यावसायिक प्रकाशन तथा सञ्चार माध्यमले अनावश्यक अति विज्ञापन गरेर भ्रम फैलाइदिएका छन् र बजारको सस्तो उपभोग्य बस्तु बनाइदिएका छन् ।

परिणामतः विज्ञापित हुन नसकेको राम्रो र गम्भीर स्रष्टा र साहित्य ओझेलमा पर्ने, नपढिने र विज्ञापित भएको कम स्तरको सस्तो लेखन पाठकसम्म पुग्ने स्थिति सिर्जना भएको छ ।

यतिसम्म कि विज्ञापन र पहुँचका कारण पद, प्रतिष्ठा र पुरस्कारसमेत त्यस्तैले प्राप्त गर्ने परम्परा हुन थालेको अनुभव हुन्छ ।

त्यसकारण आज बजारु बस्तु बनेको अति विज्ञापित व्यक्तिको अति विज्ञापित कृति बढी बिक्री भई त्यसले सामान्य खर्च चलाउने स्थिति देखिन्छ ।

कि त लामै समयदेखि राम्रै लेखकका रुपमा विशेषरुपमा स्थापित उपन्यास कथाजस्ता आख्यान विधाका लेखकहरुसम्मलाई सामान्य खर्च चलाउने स्थिति रहेको देखिन्छ ।

यसको अर्को मुख्य कारण त बजार सानो हुनु पनि हो ।

केन्द्रले मोफसललाई बेवास्ता गर्छ भन्ने गुनासो सुनिन्छ, तपाईंलाई के लाग्छ ?

केन्द्रले मोफसललाई वेवास्ता गर्ने मात्र होइन विशेष सम्बन्ध नहुने, विज्ञापन, ज्ञापन आदि आदिको सीप नहुने केन्द्रलाई नै पनि वेवास्ता गर्छ । त्यस्तो सीप भएका पहुँच भएका व्यक्तिहरु कुनै गम्भीरता नभए पनि मोफसलबाटै पनि ठूला–ठूला प्राज्ञिक संस्थाका विशेष कार्यकारी पदमा पुगेकै छन् ।

समसामयिक नेपाली कविताको अवस्थालाई कसरी हेरिरहनुभएको छ ?

समसामयिक वा समकालीन भनेको त्यस चलिरहेको समयको भन्ने हो । अहिले चलिरहेको समय भनेको साठीको दशकदेखि भर्खरै आरम्भ भएको सत्तरीको दशक हो तर नेपाली साहित्यको र अझ कविताको राम्रो अध्ययन भएर त्यसका प्रवृत्ति खुट्याइ मूल प्रवृत्तिका आधारमा त्यसको नामाकरण गर्ने काम भइ नसकेका कारण तीसको दशकयताको लामो काल खण्डलाई नै कतिपयले समसामयिक/समकालीन भन्ने गरेको पाइन्छ ।

त्यसरी अध्ययन गर्ने हो भने तीसको दशकपछिको नेपाली कविताको मूल प्रबृत्ति भनेको यथार्थवादी प्रबृत्ति हो र यो काल प्रगतिवादी काल हो तर साठीको दशकको अन्ततिर पुगेपछि भने प्रगतिवादी धारा तीसपछि साठीसम्म संख्यात्मक र गुणात्मक हिसावले जुन शक्तिका साथ उभिएको थियो त्यही शक्ति नरहने हो कि भन्ने अनुभव हुन्छ ।

अन्त्यमा, थप केही भन्नु थियो कि ?

प्रत्येक कुराको मूल्यमा विश्वास गर्ने बानी बसालौं ।

प्रस्तुति : डिल्ली मल्ल

प्रतिक्रिया दिनुहोस्