साहित्य एउटा आकांक्षाको संसार हो

       आहुति | 2833 Views |   Published Date : 28th May 2016 |

– आहुति, प्रगतिवादी साहित्यकार

तीसको दशकको उत्तराद्र्धबाट लेखन प्रारम्भ गरेका नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनमा विशिष्ट प्रतिभा आहुति पछिल्लो समय साहित्यका साथै वैचारिक चिन्तनमा बढी व्यस्त देखिन्छन् । तपस्वीका गीतहरु   गहुँगोरो अफ्रिका (कविता संग्रह), नयाँ घर  र स्खलन (उपन्यास) लगायत दलित मुक्ति आन्दोलनसँग सम्बन्धित पुस्तकहरुका साथै नेपाली समाजमा दलितहरुको जीवनमा आधारित सिनेमा ‘दलन’को पटकथा पनि लेखिसकेका आहुतिसँग उनको चर्चित उपन्यास नयाँ घरको रचनागर्भलगायत नेपाली साहित्यका विविध पक्षहरुमा केन्द्रीत रहेर शब्दशिखाकर्मी प्रमोदले कुराकानी गरेका छन् ।

aahuti_interview

तपाईको लागि साहित्य के हो र कुन प्रयोजनका लागि लेख्नुहुन्छ ?

यसका अनगिन्ती परिभाषाहरु पाइन्छन् तर मेरो विचारमा साहित्य मानिसको निम्ति एउटा आकांक्षाको संसार हो । त्यो अतीतको बारेमा लेखिएको साहित्यमा पनि मानिसका विभिन्न वर्ग र समुदायहरुका आकांक्षाहरु व्यक्त भएका हुन्छन् । वर्तमानको साहित्यमा पनि वर्तमानका मानिसका आकांक्षाहरु व्यक्त भएका हुन्छन् । र भविष्यको बारे लेखिने चीजमा पनि मानिसका आकांक्षाहरु नै व्यक्त हुन्छन् । त्यसैले यसलाई एउटा अर्थमा प्रयोजनका हिसाबले आकांक्षाहरुको संसार भन्न सकिन्छ ।

प्रयोग र संरचनाका हिसाबले पनि हामीलाई थाहा छ साहित्य मूलतः बिम्ब र कलाको माध्यमद्वारा यथार्थलार्ई पुनर्निमाण गर्ने विधा हो । अब यसको प्रयोजन केका निम्ति भन्ने कुरा छ– सुरुमा सामान्यतया सबै मानिसहरु आफूलाई, आफ्नो बुझाइ, आफ्नो दृष्टि वा आफ्नो मनोरञ्जनलाई व्यक्त गर्नका निम्ति नै लेख्ने गर्छन् ।

तर जब उसले आफू लेखक हुनुको दायित्व पूरा गर्नुपर्ने हुन्छ त्यसपछि भने उसले निश्चित विचार वा निश्चित वर्गको निम्ति लेख्नुपर्ने हुन्छ । ऊ सचेत भएर लेख्दैन भने पनि उसको लेखनीले कुनै निश्चित वर्ग र निश्चित विचारलाई सहयोग पु¥याइरहेको हुन्छ, चाहे ऊ सचेत भएर लेखोस् या अचेत भएर लेखोस् ।

त्यसकारणले जुन विन्दुदेखि म सचेत भएर लेखनको दायित्व पूरा गर्ने प्रयत्नमा छु, त्यो बेलादेखि म व्यापक श्रमजीवीहरु र उत्पीडित वर्गसमुदायको निम्ति र तिनीहरुको मुक्तिको प्रबद्र्धन गर्ने विचारलाई आम समाजमा प्रसार गर्नका नै लागि लेख्छु ।

युवा पाठकहरुद्वारा अत्यधिक रुचाइएको तपाईकोे उपन्यास ‘नयाँ घर’ लेखनको पृष्ठभूमि के हो ?

साहित्य वा लेखनमा म नाटक विधाबाट प्रवेश गरेको हुँ । काठमाडौंका विभिन्न नेवार बस्तीहरुमा डबली नाटक देखाउने परम्परागत प्रचलन थियो । त्यसबाट नै प्रवेश गरेको हो । गद्यमा रुचि त्यसकारणले भएको हो ।

पारिजातको मृत्युपछि उपन्यास लेखन प्रगतिवादी क्षेत्रमा करिब–करिब शून्यको अवस्थामा पुगेको थियो । एउटा पात्र क्रान्तिकारी बन्दाखेरिको मनोवैज्ञानिक अन्तर्संघर्षलाई व्यापक मात्रामा र अन्तरपार्टी जीवनलाई देखाइएको उपन्यासचाहिँ त्योभन्दा अगाडि त्यो स्तरमा थिएनन् ।

‘पर्खालभित्र र पर्खालबाहिर’मा पारिजातले थोरै चर्चा गर्न खोज्नुभएको थियो । सञ्जय थापाका केही उपन्यासमा पनि थोरै झलकहरु थिए । तर त्यो अन्तरपार्टी जीवनको अन्तर्संघर्ष प्रस्तुत होइन कि कि एउटा झलक मात्र थियो । अन्तरपार्टी जीवनका अन्तर्विरोधलाई व्यापक पैमानामा प्रस्तुत गर्ने काम भएको थिएन ।

naya ghar aahutiएकप्रकारको त्यतिबेलाको मेरो पहिलो बैंसको दशक चलिरहेको थियो त्यो बेलाको चाहिँ उडान अलि बढी पनि थियो । त्यसकारणले सोचियो कि एउटा सांगोपांगो क्रान्तिकारी पात्रको निर्माण, उसको अन्तर्मनको परिघटनाहरुसहित अन्तरपार्टी जीवनमा आउने त्यस्ता दुःखद अन्तर्संघर्षका पाटाहरुसहित उपन्यासमा नयाँ आकार दिउँ भन्ने लागेको थियो । त्यही एकप्रकारको उत्कण्ठा भनौं न मनमा पैदा भयो र नयाँ घर जन्मिन पुगेको हो ।

नयाँ घर उपन्यास समीक्षकहरु र ठूलाबडाहरुले जोगाइदिएको उपन्यास होइन । सुरुमा त्यो प्रकाशित हुँदा भूमिका लेख्ने समयदेखि प्रकाशित भएपछि ठूला–ठूला समालोचकहरुले आलोचनामा राखेको उपन्यास हो । तर आम युवाहरुको बीचमा पुग्ने क्रमसँगै त्यसले आफ्नो फूर्तिफार्ति देखाउन थाल्यो र जीवित हुन थाल्यो । त्यसैले युवाहरुले जोगाएको उपन्यास हो– नयाँ घर ।

विशेषतः किशोर अवस्थादेखि युवा अवस्थासम्मका मान्छेको मनोवैज्ञानिक परिघटनाको सूक्ष्म व्याख्याले पनि युवाहरुलाई त्यसले तान्छ । किशोर अवस्थादेखि युवा हुने बेलासम्म एउटा निम्न मध्यमवर्गीय पात्रमा परिवारको दुःख, त्यसपछि पहिला लिनु नपरेका जिम्माहरु आउने त्यसपछि त्यसमा यौन, प्रेमहरु पनि गाँसिएर आउने अनि ती सबै श्रृंखलाबद्ध रुपमा यथार्थलाई अधिकतम प्रयत्न गरेर प्रतिबिम्बन गरिएको हुनाले पनि युवाहरुको उमेरलाई त्यसले अलि बढी प्रभावित गर्ने र त्यसले क्रान्तिकारी आन्दोलनतिर जानको लागि उत्प्रेरित गरेको हुनुपर्छ ।

नयाँ घरमा आहुतिलाई कुन हदसम्म पाउन सकिन्छ ?

पहिलो अधिकांश लेखकहरुका सुरुका रचनाहरुमा लेखक नै अभिव्यक्त हुने हो नढाँटिकन भन्दा । पात्रको रुपमा उसले कसैलाई उभ्याउन सक्छ, जोडजाड पार्न सक्छ । प्रतिनिधि पात्र बनाउनलार्ई अरु घटनाहरु पनि जोड्नुपर्ने हुन्छ तर अधिकतम अनुभूति उसले आफ्नो प्रयोग गर्छ । त्यसबाट नै त्यो रचना जीवन्त बन्ने हो ।

अधिकांश सफल भएका रचनाहरु यदि लेखकको पहिलो छ भने त्यो सफल हुनुको एउटा मुख्य कारण त्यसमा जीवन्त अनुभूतिहरु आउनु हो । उसले अरुसँग सापट नलिइकन आफूले भोगेका धेरै चिजहरुलाई त्यसमा ढाल्ने भएको हुनाले पनि हो । त्यसमा मेरो जीवनको कथा त होइन तर मैले भोगेका अनुभूतिहरु पर्याप्त मात्रामा छन् ।

साहित्यिक प्रतिभा कति आर्जित कति जन्मजात हुन्छ ?

जन्मजात भन्ने कुरा केही पनि हुँदैन । जन्मजात भनेको भौतिक शरीर मात्रै हुन्छ । वस्तुगत परिस्थिति प्रधान हो । म प्रेरणाको सिद्धान्त पनि मान्दिनँ ।

चेपाङको बच्चालाई अहिले जति प्रेरणा दिए पनि कवि बन्दैन । त्यसको निम्ति एउटा वातावरण चाहिन्छ । प्रेरणाको सिद्धान्त भनेको पनि वातावरणपछि आउने कुरा हो । जन्मिदै कोही कवि बन्ने भन्ने त त्यो हाँस्यास्पद कुरा हो । मुख्य कुरा वातावरण चाहिँ त्यस्तो छ कि छैन भन्ने कुरा हो ।

वस्तुगत परिस्थितिभित्र के पर्छ त भन्यो भने पढ्ने, लेख्ने लोकगीतदेखि परम्परागत दन्त्यकथादेखि आधुनिक कथासम्मको परम्परा छ कि छैन ? लेख्य परम्परा छ कि छैन ? त्यसपछि अरु पनि त्यस्ता दृष्टान्त भएका मान्छेहरु छन् कि छैनन् ?

र उसले लेखनको निम्ति समय केही न केही छुट्याउन सक्ने उसको परिस्थिति छ कि छैन ?

अनि रुचि त्यसपछिको कुरा हो । यी कुराहरुमा आधारित भएर नै सोच्नुपर्ने हुन्छ ।

बनिबनाउ जन्मजात भन्ने कुरा केही छैन । वातावरण मुख्य कुरा हो ।

Aahutiस्रष्टा र सृजनाको बीचमा सम्बन्ध कस्तो हुन्छ ?

स्रष्टा र सृजनाबीच अन्तर्संघर्ष हुन्छ, अन्तर्विरोध हुन्छ भनेर बुझ्छु म ।

धेरै मानिसहरु, धेरै लेखकहरुले भनेको सुन्छु- आफ्ना रचनाहरु सबै प्यारो लाग्छ । अझ भन्दा–भन्दा मानिसहरुले यतिसम्म भनेका छन् कि रचनाहरु भनेका आफ्ना सन्तान हुन्, कुनै पनि सन्तान आफूलाई नप्यारो लाग्दैन ।

मलाई त्यस्तो लाग्दैन, यो बेकारको भावुक कुरा मात्रै हो । सन्तानहरुमध्ये पनि कुनै अब्बल हुन्छ कुनै खराब सन्तान नै हुन्छ, कुनै असल सन्तान हुन्छ, कुनै कमसल सन्तान हुन्छ ।

यदि गतिवान् रचनाकार हो भने उसले सृजना गरेका सृजनाहरुले उसलाई नयाँ–नयाँ प्रश्नहरु गरेर लेखकलाई सताइरहेको हुन्छ । त्यही अन्तर्विरोधको बीचमा लेखक हुन्छ र त्यो प्रश्नहरुको उत्तर उसले अर्को रचनामा दिनुपर्ने हुन्छ । त्यसकारण अन्तर्विरोधको बीचमा हुन्छ भन्ने लाग्छ ।

तपाई राजनीतिक, साहित्यिक तथा सामाजिक अभियन्ता नभएर एउटा जागिरे वा व्यापारी भएको भए त्यसबाट यो समाजलाई पर्ने प्रभाव वा परिणाम के हुन्थ्यो होला भन्ने ठान्नुहुन्छ ?

यो चाहिँ कस्तो हो भने मानिसहरुको जीवन समाजको नियमित गति र हजारौं हजार संयोगहरुबाट निर्मित हुन्छ । त्यो संयोग नभएको भए के हुन्थ्यो भन्ने कुरा चाहिँ अनुमान मात्रै हो । यस्तो नभएको भए यस्तो संयोग आउन सक्थ्यो कि म विदेश पलायन हुन्थें । यस्तो नभएको भए यस्तो हुन सक्थ्यो कि म खतरनाक जनविरोधी मान्छे भएर निस्कन्थें । यी सब अनुमानका कुरा हुन् । म त्यसमा धेरै टाउको दुखाउनु जरुरी ठान्दिनँ ।

सामान्यतः नियमअनुसार के लाग्छ भने इञ्जिनियर बन्थें होला । त्यतिबेला पाठ्यक्रम राम्रैसँग पढ्ने मान्छे थिएँ । तेह्र महिनासम्म पढ्दा पनि पास नै गरेको थिएँ ।

दुइटा बच्चा हुन्थे होला । जस्ती राम्रो लाग्थ्यो त्यस्ती महिलासँग बिहे गर्थें होला । दुई तीनवटा बच्चाहरु हुन्थे होला अनि बगैंचामा बसेर पत्रिका हेरेर, ‘ए सुन त सुन, नेपालका राजनीतिज्ञहरु कति बिग्रेका’ भन्थें होला ।

घरदेखि अफिस अफिसदेखि घर आउने अवतारसिंह पाशको जुन पात्र छ त्यस्तै भइन्थ्यो होला जस्तो लाग्छ ।

शक्तिशाली साहित्य लेखनका लागि अगाडि बढ्न खोजिरहेको नयाँ पुस्तालाई के सुझाव दिनुहुन्छ ?

नेपाली समाजको सबै क्षेत्रको एउटा सबैभन्दा ठूलो समस्या के हो भने जो मान्छे जुन क्षेत्रमा छ त्यो क्षेत्रप्रति ऊ इमान्दार छैन । साहित्यकार साहित्यप्रति समर्पित छैन, इञ्जिनियर इञ्जिनियरिङप्रति समर्पित छैन, राजनीतिज्ञ राजनीतिको मूल्य–मान्यताप्रति समर्पित छैन ।

यो एउटा ठूलो समस्या हो ।

यो हाम्रो निम्नमध्यमवर्गीय वर्गआधार र जिविकामुखी अर्थतन्त्रले जन्माएको अवसरवाद हो । यसकारणले नयाँ पुस्ता भन्नुस् या पुरानो पुस्ता तिनै मान्छेले केही गरेका छन्, जो मान्छे आफूले रोजेको विधा र क्षेत्रप्रति समर्पित, निष्ठावान् र निरन्तर सक्रिय छन् । त्यसले नै केही गर्नसक्छ ।

त्यसकारणले तीनवटा कुरा– आफू जुन क्षेत्र र विधामा छ त्यसप्रति समर्पित हुनु मुख्य कुरा हो ।

त्यसपछि त्यसको मूल्यमान्यताप्रति निष्ठावान् हुनु । जस्तोसुकै समस्या आउँदा पनि अविचलित रुपमा निष्ठावान हुनु र तेस्रो कुरा निरन्तर रुपमा त्यसमा लागिरहनु ।

यी तीनवटा कुराले नै मानिसलाई सफल बनाउने अधिकतम सम्भावना रहन्छ । बनिहाल्छ भन्ने छैन तर अधिकतम सम्भावना त्यसले ल्याउँछ । त्यो नै नयाँ पुस्ता वा पुरानो पुस्ताको निम्ति मुख्य कुरा हो जस्तो लाग्छ मलाई ।

जनपक्षीय साहित्यिक साँस्कृतिक संघ संस्थाहरुबाट आन्दोलनको क्षेत्रमा जुन रुपमा सार्थक हस्तक्षेप हुनुपर्ने हो त्यो देखिइरहेको छैन किन होला ?

नेपाली समाजको इतिहासलाई हेर्ने हो भने नेपालका साहित्यिक संस्था वा पत्रिकाहरुले आधारभूत रुपमा योगदान पु¥याएको मान्छु म । शारदाको प्रकाशनदेखि ०३५/३६ को आन्दोलनपछि देखा परेका वेदना, झिल्को, संकल्प, रक्तिम, झिसमिसे, दियो लगायतका जति पत्रिकाहरु प्रकाशित भइरहेका थिए ती पत्रिकाहरुले आफ्नो समयको अधिकतम कार्यभार पूरा गर्ने प्रयत्न गरेको देख्छु म ।

त्यसपछि ०४६ सालको जनआन्दोलन र परिवर्तनपछि पनि एउटा संसदीय राजनीतिका विरुद्ध लडेको शाखा छ– जनयुद्धको शाखा । त्यहाँभित्र पनि लेखकहरुले, साहित्यकारहरुले, गीतकारहरुले, संगीतकारहरुले अधिकतम मेहनत गरेको हामी पाउँछौं । त्यसकारण नेपालको कला क्षेत्रले चाहे त्यो साहित्य होस्, ललितकला होस् या संगीत होस्, नेपालको सामाजिक परिवर्तनलाई निरास हुनुपर्ने स्तरको योगदान गरेको छ भन्ने पक्षमा म छैन । त्यसले पर्याप्त योगदान गरेको छ ।

अब समस्या कहाँ छ त भने हरेक युगको एउटा परिवर्तनपछि अब कता जाने भन्ने अन्योल जुन देखा पर्छ, त्यो साहित्यमा पनि देखा पर्छ । राजनीतिमा पनि देखा पर्छ । जहाँसुकै देखा पर्छ । वर्तमानमा विशेष गरि संविधानसभाको चुनाव वरपर आइसकेपछि आजसम्म जो राजनीतिमा अन्योल देखा परेको छ, त्यो साहित्यमा पनि परेको छ ।

मलाई लाग्छ– संविधान निर्माण भइसकेपछि साहित्यिक धारा मुख्यतः दुइवटा भएर जान्छ । एउटा समाजवादी यथार्थवादको रुपमा प्रष्ट दिशासहित अगाडि आउँछ । अर्को, समाजवादविरोधी धारा जो सामन्तवाद र पूँजीवादका आधारभूत खराब तत्वहरुको रक्षा गर्नको निम्ति देखा पर्छ ।

अबको यात्रा समाजवादी क्रान्ति र युगको यात्रा सुरु हुँदैछ । आजभन्दा अगाडिको यात्रामा साहित्य कला, संस्कृति र गीतसंगीतले यथेष्ट मात्रामा योगदान गरेको देखिन्छ । त्यो त फेरि स–प्रमाण कुरा हो । हामीले चाहेको जति त कहिले पनि हुँदैन । अबको यात्रा नयाँ समाजवादी क्रान्तिको युगको यात्रा जो संविधानले नै भनेअनुसार पनि सुरु हुँदैछ, त्यसमा नयाँ धारा सृष्टि गर्नुपर्छ, सृष्टि हुन्छ भन्ने मलाई लाग्छ ।

नेपालको प्रगतिवादी साािहत्यको लेखनभित्र आउनैपर्ने तर छुटिरहेका विषयवस्तुहरु पनि होलान् तपाईँको विचारमा ती के–के हुन सक्छन् ?

अरु धेरै विषयहरुमा प्रगतिवादी साहित्यले उठाउने प्रयत्न गरेको छ तर एउटा विषय अलि कमजोर भएको छ । त्यो के भने पृथ्वीनारायण शाहको नेपालमा राज्यविस्तारपछि जंगबहादुरको मुलुकी ऐनले जुन ढंगले परम्परादेखि चलिआएको जात व्यवस्थामा आधारित समाजलाई कानूनी रुपमा समेत वर्गनिर्माणमा लग्यो र त्यसलाई राजा महेन्द्रको पञ्चायतीकालले सौन्दर्यदृष्टिसहित पूर्ण बनाउने काम ग¥यो, त्यसको आधारमा नेपाली समाजमा एउटा हेर्ने दृष्टिकोण बनेको छ ।

के सुन्दर ? के नराम्रो ? के अब्बल के कमसल ? के ठीक के बेठीक ? भन्ने दृष्टिकोण जुन पञ्चायतले बनाइदिएको छ, त्यो दृष्टिकोण चाहिँ नेपालका महिला, दलित, जनजाति, मधेशी र मुश्लिमहरुका निम्ति बिल्कुल उत्पीडनकारी सौन्दर्यदृष्टि छ त्यो ।

जस्तो कि नायकहरु सबै गोरो हुनु, सबै नायकहरुका नाकहरु चुच्चो हुनु, अधिकांश नायिकाहरुका आँखाहरु मृगका जस्ता हुनु यी सबै कुराहरु पञ्चायतले निर्माण गरेको सुन्दर सम्बन्धी दृष्टिकोण हो, जो प्रगतिवादी साहित्यमा पनि थाहा नपाइकन आइपुगेको छ ।

हो, यो सौन्दर्यदृष्टि चाहिँ नेपाली समाजको जो विविध सभ्यतायुक्त बनावट छ, त्यो सभ्यताको नजरबाट प्रगतिवादी साहित्यले सौन्दर्यलाई नयाँ ढंगले परिभाषित गर्नु जरुरी छ । त्यो कोणबाट चाहिँ हाम्रो काम अलि कम भएको म देख्छु ।

नेपालमा चलेको जनयुद्धको चित्रण प्रभावकारी ढंगले साहित्यमा हुन सकेन भन्ने भनाईप्रति कत्तिको सत्यता देख्नुहुन्छ ?

संसारमा कुनै पनि देशमा र कालमा भएका त्यसप्रकारका विद्रोहात्मक क्रान्तिकारी घटनाहरु जुन समयमा घटेका हुन्छन्, त्यो समयमा नै त्यसको बारेमा लेखिएका साहित्य खासगरी औपन्यासिक साहित्य धेरैजसो संसारमा अब्बल दर्जाका साहित्य नै पाइदैनन् ।

‘आमा’ उपन्यास भन्यो भने अक्टोबर क्रान्तिभन्दा अगाडि लेखिएको हो । अक्टोबर क्रान्तिपछिको जीवनको बारेमा अक्टोबर क्रान्तिको धेरै पछाडि मात्र लेखिएको हो । त्यही कालमा त लेखिदैन । लेखिन पनि सक्छ, नलेखिन पनि सक्छ ।

चीनमा जति पनि नयाँ जनवादी क्रान्तिताका लेखिएका पुस्तकहरु छन्, तिनको बारेमा सबभन्दा सौन्दर्यमूल्यसहितका पुस्तकहरु क्रान्ति सम्पन्न भएपछि लेखिएका छन् । जनयुद्धकालमै पनि सृजना भएका गीतहरु, नाटकहरु र कतिपय कथा, कविताहरु जो सानदार प्रकृतिका छन्, तर त्यो विद्रोहको चरणमा थियो, दश वर्षसम्मको एउटा ठूलो ऐतिहासिक परिघटना सानो समयको थियो । त्यतिखेर नै सबै लेखिन सम्भव थिएन ।

अब त्यसमा आधारित भएर निकै लामो समयसम्म त्यसका घटनाक्रमहरु, लक्ष्यहरु, सपनाहरुका बारेमा सयौं कालजयी रचनाहरु लेखिने क्रम सुरु हुनेवाला छ ।

जस्तो कि उदाहरणका लागि यति मात्रै भनौं कि दुई हजार वर्षअगाडि स्पार्टाकसले विद्रोह गरेको हो तर त्यसको बारेमा उपन्यास चाहिँ दुई हजार वर्षपछि लेखियो । यस्तो धेरै हुन्छ ।

कतिपय चाहिँ त समाजशास्त्रीय ढंगले कला साहित्यको क्षेत्रमा चर्चा नै हुने गर्दछ कि यस्ता दीर्घकालीन महत्वका गम्भीर राजनीतिक घटनाक्रमहरुको बारेमा त्यही बेलामा लेखिनै हुन्न भन्ने धारणा पनि छ । त्यहाँ पूर्वाग्रहले छोपछाप गर्ने खतरा हुन्छ । अलि पछि लेख्नुपर्छ भन्ने धारणा पनि छ ।

अलि पछि लेख्नुपर्छ भन्ने होइन, तर यो लेखिदै जान्छ । लेख्नको लागि प्रेरित गर्ने कुरा त ठीक छ तर लेखिदै लेखिदैन भनेर सोच्नु पनि ठीक छैन, जति आवश्यक थियो त्यति लेखिसकियो अब लेखिदैन भनेर बुझ्नु हुँदैन, त्यो लेखिदै जान्छ ।

नयाँ ढंगले साहित्य लेखनलाई अगाडि बढाउनको लागि नेपाली समाजका कुन–कुन पाटा पक्षहरुको अध्ययनलाई अगाडि बढाउनुपर्ला ?

नेपाली समाजमा पाठ्यक्रमहरु र अध्ययनको तरिका इतिहासको समाजशास्त्रको अध्ययन गरिने तरिका मूलभूत रुपमा पञ्चायतले वा पृथ्वीनारायण शाहपछि जसरी निर्देशित गरियो सत्ताकेन्द्रित भएर त्यो नै अध्ययनको तरिका हो । त्यसलाई भत्काउने डोरबहादुर बिष्ट लगायतका केही मान्छेहरु हुन् ।

त्यसकारण मेरो विचारमा नेपाली समाजको अध्ययन भनेकोे नेपाली समाजमा संसारका विभिन्न पाँचवटा महासभ्यताहरु यहाँ छन्, महासभ्यताहरुले तिनका उपसभ्यताहरुको निर्माण गरेका छन् । तिनीहरुको अध्ययन एउटा प्राथमिक महत्वको कुरा हो । समाजको जीवनको अध्ययन ।

त्यसो भइसकेपछि तिनीहरुको अर्थतन्त्रदेखि सौन्दर्यमूल्य, दार्शनिक दृष्टिविन्दु, तिनीहरुको साँस्कृतिक चेतनादेखि सबै विषयमा अध्ययन । त्यसरी अध्ययन नहुनाले अहिलेसम्म अधिकांश परम्परागत साहित्यमा खानपिनसम्बन्धी कैयौं विषयहरु गडबड भएका छन् । अधिकांश पात्रले हिन्दू समाजमा जे–जे कुरालाई ठीक खाना भन्छ, त्यो–त्यो कुरा मात्रै खानामा प्रस्तुत भएको छ नि साहित्यमा । जुन कुरा गलत छ ।

चेपाङले चमेरो खाने कुरालाई साहित्यमा लेखिदै लेखिदैन । थारुले घोंगी खाने कुरालाई लेखिदै लेखिदैन । मुसलमान र तामाङले गाई खाने कुरालाई साहित्यमा लेख्नै आँट गर्दैनन् लेखकहरु ।

यो के हो ? नेपाली सममाजको फरक–फरक सौन्दर्य, फरक–फरक सभ्यता, फरक–फरक मूल्य मान्यताको अध्ययन नगरिकन त्यसप्रति सम्मानभाव लेखकको हृदयमा नभएसम्म त्यो लेख्न सम्भव छैन ।

एउटा, नेपाली समाजको अध्ययनतिर फर्कनुप¥यो । अर्कोचाँहि त्यसपछि सौन्दर्यशास्त्र, माक्र्सवादी सौन्दर्यशास्त्रको वा समाजवादी यथार्थवाद भनेर जसलाई हामी भन्छौं त्यसको आधारभूत चिजहरुको अध्ययनतिर फेरि फर्कनुप¥यो ।

नेपाली प्रगतिवादी समालोचनाको अवस्था कुन स्तरमा देख्नुहुन्छ ?

आधारभूत सैद्धान्तिक विषयहरुको समालोचना चाहिँ लेखनलाई दिशानिर्देश गर्ने स्तरको नै छ । सैद्धान्तिक समालोचनाका पुस्तकहरु, रचनाहरु । तर प्रयोगात्मक समालोचना हुन्छ नि रचनागत रुपमा त्यो पञ्चायतकालसम्म अलि बढी थियो त्यसपछिको यो बीस वर्ष एकदम कमजोर भएर गएको छ ।

सैद्धान्तिक सौन्दर्यशास्त्रीय रचनाहरुको त ठूलो महत्व छ तर त्यसबाहेक प्रयोगात्मक समालोचनात्मक रचनाहरुको पनि वर्तमानलाई अगाडि बढाउन, दिशावोध गर्न, अन्तक्र्रियालाई अगाडि बढाउन र स्पष्टता हाँसिल गर्न महत्वपूर्ण हुन्छ जो कमजोर भएर गएको छ । त्यसलाई अगाढि बढाउन आवश्यक छ । त्यसलाई पुनः शक्तिशाली बनाउन जरुरी छ ।

तपाईँको अध्ययन र लेखनको उयुक्त समय कुन हो ?

मेरो आफ्नो सरल कुरा छ । म चाँहि जसरी जुन समाज र वर्गबाट साहित्यिक, राजनीतिक वा सबैखाले रंगमञ्चमा आइपुगें– विविध संयोगहरुको कारणबाट आइपुगें, त्यो पुराना नेपाली समाजका बनिबनाउ नियमहरुलाई पछ्याएर आइपुग्न सम्भव नै थिएन ।

ती नियमहरु कतै तोडेर, कतै भत्काएर, कतै मोडेर, कतै छोडेर अनि कति आफ्नै बनाएर मात्र यहाँसम्म आइपुग्न सम्भव भएको थियो । त्यसकारण मेरो अध्ययन, लेखन वा अरु केही कुराको पनि कुनै बनिबनाउ खालको नियम छैन ।

जीवनको कुनै निश्चित ढाँचा पनि छैन पनि मसँग । जुन बेलामा जे आवश्यक लाग्छ त्यही गर्ने हो । त्यही नै मेरो नियम हो । त्यही नै मेरो जीवनको ढाँचा हो । मलाई लाग्छ– मौलिकतासहितको जीवनको ढाँचा सबैसँग हुन्छ । त्यही कुरामा अगाडि बढ्नुपर्छ ।

साहित्यका पाठकहरुलाई नछुटाइकन पढ्नुपर्ने पुस्तकहरु सिफारिस गर्नुपर्दा कुन–कुन पुस्तकहरु सिफारिस गर्नुहुन्छ ?

पाठकहरुले पढ्नैपर्ने पाँचवटा पुस्तकहरु म सिफारिस गर्न चाहन्छु- भागवत गीता, कुरान, बाइबलको पुरानो र नयाँ दुइवटै करार, त्रिपिटकका सबै भागहरु र कम्युनिष्ट पार्टीको घोषणापत्र ।

यी पाँचवटा पुस्तकहरु अहिलेको युगका मान्छेहरुले नपढी नहुने पुस्तकहरु हुन् ।

यिनलाई धार्मिक रुपमा मात्रै बुझ्ने पनि हुनसक्छ तर यी पुस्तकहरुमा त्यतिबेलाको मान्छेले समाज, राज्य र मानिसलाई कसरी सोच्दथ्यो भनेर बुझ्ने कुरा हो । त्यो बेलाका ती प्रतिनिधि रचनाहरु हुन् । जसले आजको संसारका करिबन ९० प्रतिशतभन्दा बढी मानिसहरुलाई निर्देशत गरिरहेका छन् ।

यहाँको लेखन, अध्ययन र राजनीतिबाहेक अन्य के–के कुराहरुमा रुचि छ ?

रुचि सबैमा छ । एउटा मानिसलाई जति कुरामा रुचि लाग्छ मलाई पनि त्यो भन्दा कम लाग्दैन ।

म पनि शरीरसहितको मान्छे हुँ । प्रकृतिमा पाइने शरीरले गरेर हुने सबै चिज गर्न मन लाग्छ । त्यसबाहेक अलि विधागत रुपमा सिनेमामा बढी रुचि छ । सिनेमा लेख्ने, हेर्ने र चर्चा गर्ने रुचि छ । अर्को खेलकूद पनि एक/दुईवटा हेर्न मन लाग्छ ।

तपार्इंको पछिल्लो साहित्यिक योजना के छ ?

अहिले म ‘नेपाली समाजको अन्तर्कथा’ शीर्षकको एउटा समाजशास्त्रीय पुस्तकमा काम गरिरहेको छु । दश महिनाजति भयो काम गर्न थालेको । त्यो नसकिकन मैले अरु पु्स्तकमा काम गर्ने योजना बनाएको छैन ।

कविता संग्रह निस्केको एक वर्ष पुग्नै लाग्यो । नयाँ दिशा उपन्यास जहाँ थियो, त्यही बसिरहेको छ । त्यो अगाडि बढ्न सकिरहेको छैन ।

लेखन पेशा बन्न सक्छ कि सक्दैन ?

पेशा बन्न सक्दछ तर सबै लेखकको निम्ति कहिले पनि पेशा बन्न सक्दैन । अलि धेरै पाठकहरुले अधिक रुचाइदिएका लेखकहरुको निम्ति पेशा बन्न पनि सम्भावना छ । कति बन्छ भन्ने त कुरा उसका रचनाहरुमा भर पर्छ । तर सबै लेखकहरुको निम्ति पेशा बन्ने दिनचाहिँ संसारमा कहिले पनि आउदैन ।

त्यो त राज्यले नै कि त संरक्षित गरेर लेखकहरुलाई जागिर दिनुप¥यो । त्यसमा पनि अरु आइराख्ने लेखकहरुलाई के गर्ने भन्ने हुन्छ । सबै लेखकहरुको निम्ति पेशा बन्न सम्भव छैन, केही लेखकहरुको निम्ति पेशा बन्न पनि सम्भव छ ।

तर मुख्य कुरा पेशा बन्छ कि बन्दैन त्यो होइन । उसले के लेख्छ ? कसका लागि लेख्छ ? कस्तो लेख्छ ? मुख्य कुरा त्यो हो । पेशा बन्यो तर खराब लेख्यो के काम लाग्यो ? पेशा बनेन तर असल लेख्यो भने त्यो ठीकै छ ।

अहिलेसम्मको जीवन भोगाइबाट प्राप्त सबैभन्दा महत्वपूर्ण शिक्षा कुन हो ?

जीवन भोग्न सकिएको चरणसम्म पुगियोजस्तो मलाई लाग्दैन । यसको उत्तर दिदा राम्रो पनि हुँदैन ।

जहाँसम्म अहिलेसम्मको कुरा छ– हरेक बनिबनाउ नियम, मूल्य र मान्यताहरुलाई केही न केही ढंगले तोड्न खोज्नु, केही न केही ढंगले जोरी खोज्नु र केही न केही ढंगले प्रश्न उठाउनु, एउटा सिर्जनशील मान्छेको लागि महत्वपूर्ण कुरा हो भन्ने कुरा मैले बुझेको छु ।

प्रतिक्रिया दिनुहोस्