‘प्रश्नहरुको कारखाना’ माथि परिचर्चा

       सम्पादक | 597 Views |   Published Date : 12th June 2016 |

दाङ, २९ जेठ ।
मान्छे र माछा उस्तै रैछ
बगेर गएपछि कहिल्यै नफर्कने

कोही फर्काइदेऊ न यो खोलामा
सुनौला माछाहरुको फौज
कि हेरुँ म किनारमा बसेर
आफ्नै उमेर फर्किएको !

कवि सरिता तिवारी शनिबार ‘प्रश्नहरुको कारखाना’सँगै दङाली पाठकहरुमाझ कविता बहसमा प्रस्तुत भइन् ।
sarita dang 7शब्दशिखा साहित्यिक अनलाइनद्वारा शनिबार दाङको घोराहीमा आयोजित ‘प्रश्नहरुको कारखाना परिचर्चा तथा कविता वाचन’ कार्यक्रममा तिवारी उपस्थित भएकी थिइन् ।

डेलीमा माछा, दैनिकी, कालान्तर निन्द्रापछि र समय शीर्षकका चारवटा कविता वाचनसँगै शुरु भएको कार्यक्रममा कवि तिवारीले प्रश्नहरुको कारखानाप्रति आएका प्रश्नहरुको जवाफ दिएकी थिइन् ।

प्रश्नहरुको अन्त्य कहिले हुन्छ भन्ने सहभागीको प्रश्नमा उनले सुन्दर समाजको निर्माण नहुँदासम्म प्रश्नहरु कहिल्यै नसकिने बताइन् ।

sarita dang 8‘समाजलाई गति दिन निरन्तर प्रश्नहरु गर्नु अनिवार्य छ, उनले भनिन्, ‘मलाई लाग्छ– त्यस्तो समाज, जहाँ अन्याय–अत्याचार र सबैखाले विभेदले पूर्ण मुक्त समाजमा मात्रै प्रश्नहरु नहुन सक्छन् ।’

कवितामार्फत् आफूले सधैं सबैखाले सत्ताहरुलाई प्रश्न गरिरहने भन्दै उनले प्रश्नहरु उत्पादन नहुँदासम्म समाज गतिहीन भएर यथास्थितिमै हराउने बताइन् । सर्जकहरु राज्य, पार्टी र जहाँसुकैका सत्ताहरुको प्रतिपक्षमा रहनुपर्ने भन्दै उनले सर्जकहरु सत्ताको पछि लागेको दिन उनीहरुको लेखनीको पनि मृत्यु हुने बताइन् ।

कार्यक्रममा कवि सरिता तिवारीको कृतिमाथि समीक्षा गर्दै साहित्यकार अभय श्रेष्ठले उनका कविताहरु कला चेतनाका हिसाबले सशक्त र वैचारिक स्वर प्रष्ट भएको बताए ।

प्रश्नहरुको कारखाना कविता संग्रहभित्रका कविताहरुले सरिता तिवारीलाई सधैं बचाइराख्ने भन्दै समीक्षक श्रेष्ठले के तिमीले मलाई आविष्कार ग¥यौं, विजेता, हे देवी, श्री आरामी पत्र, उभिरहेको मानिस, झण्डा, आदिबासी, अङ्गुछिया लगायतका कविताहरु निकै सशक्त र जीवन्त रहेको बताए ।

जीवनप्रति कुनै आशा नजगाउने साहित्यले समाजका लागि कुनै योगदान नदिने भन्दै उनले समाजका विसंगति र खराबीहरुमाथि प्रश्न उठाउने सरिताका कविताहरु विद्रोही चेतले लैस भएको बताए ।

yagya bdr dangiसमीक्षक कवि यज्ञबहादुर डाँगीले सरिता तिवारीका कवितामा समकालीन नेपाली समाजको यथार्थका साथै जीवनका फरक–फरक प्रकृतिलाई बिम्बात्मक रुपमा प्रस्तुत गरिएको बताए ।

जीवनको यथार्थका साना–साना पाटालाई समात्ने शील्प कवि तिवारीको आफ्नैपन रहेको भन्दै समीक्षक डाँगीले कविताको फैलावट जीवनको साना–साना पाटाबाटै विस्तार भएर कविता उच्च गतिको लयमा अगाडि बढेको बताए । उनले सरिताका कविता मौरीले मह बनाएजस्तो मौलिक तरिकाले बुनिएको टिप्पणी गरे ।

अर्का समीक्षक कवि ज्वालामुखी लामिछानेले आफूले देखे, भोगेका दुःख र पीडाहरुलाई सरिताले कविताको मुख्य विषयवस्तु बनाएर लेखेको बताए । थारु समुदाय र महिलामाथिको उत्पीडनलाई आधार बनाएर सरिताले अधिकांश कविताहरु लेखेको भन्दै उनले प्रश्नहरुको कारखाना नेपाली प्रगतिवादी साहित्यको मानक कृति बन्नसक्ने टिप्पणी गरे ।

कार्यक्रममा प्रश्नहरुको कारखाना कृतिमा केन्द्रीत रहेर कवि सरिता तिवारी र समीक्षक अभय श्रेष्ठबीच कविता बहस पनि सञ्चालन गरिएको थियो । बहसको सहजीकरण कथाकार भुपेनले गरेका थिए ।

शब्दशिखा साहित्यिक अनलाइनका सम्पादक मण्डल सदस्य प्रमोदको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अनलाइनका सञ्चालक डिल्ली मल्लले गरेका थिए ।

sarita dang 4

sarita dang 2

sarita dang 3

sarita dang 9

sarita dang 4

sarita dang 1

sarita dang 5

sarita Dang

तस्बिरहरु : कुलदीप न्यौपाने

 

 

प्रतिक्रिया दिनुहोस्