बेड नं. १३

       | 749 Views |   Published Date : 1st August 2016 |

कथा

Bhupen– भुपेन

भगवान ढोकाबाट भित्रिए ।

उनले आमाको ढुकढुकी सुन्ने इयरफोन घाँटीमा भिरेका थिए । भगवान गोरा र अग्ला थिए । वरपरको अत्यासलाग्दो रोगी माहोलका बाबजुद पनि उनको गोरोपनामा कमी आएको थिएन ।

भगवान ढोकाभित्र छिर्नेबित्तिकै म लगायतका भक्तजनले आफ्नो आशा–भरोसा सुस्केरामार्फत् उनलाई सुनाउने प्रयास ग¥यौं । उनी झुल्किदा लाग्थ्यो– भगवानले बढी समय मलाई देऊन् ।

भगवानको व्यस्त समय आफ्नो भागमा बढी पार्न हामी भक्तजनबीच निःशब्द लुछाचुँडी गथ्र्यौं । तर उनी आउँदा मलाई कता—कता एउटा डरले पनि पिरोल्थ्यो । किनकि उनी सेतै कपडामा बेरिएका हुन्थे । सानो छँदा त्यस्तै सेतो कपडामा बेरेर बालाई ठूल्बालगायतका छिमेकीले कहिल्यै नफर्किने गरी टाढा लगेका थिए । रंगीबिरंगी कपडा मनपर्ने मलाई नि त्यो समय जबर्जस्ती त्यस्तै सेतो कपडा लगाइदिएका थिए । आमाले पनि वर्षभरि त्यस्तै सेतो कपडा लगाएर मलाई तर्साइरहिन् । आमालाई मन पर्ने मेरो घुँघरो कपाल नि कति माया नगरी काटिदिएका थिए छिमेकीले ।

सबैलाई पालो पु¥याउँदै म र आमा छेऊमा भगवान आइपुगे । घाँटीमा भिरेको इयरफोन निकालेर एकछिन आमाको ढुकढुकी सुने उनले । सँगै आएका शिष्यहरुसित केही समय वार्तालाप गरे र निर्णय सुनाए– ‘भाइ, आमाको रगतमा हेमोग्लोबिनको मात्रा अझै बढेन । रगतको व्यवस्था गर ।’

हो, यसरी आमालाई बचाउन प्रयासरत डाक्टर मलाई भगवानजस्तै लाग्न थालेका थिए । उनको प्रयास सफल भएमा मात्र म आमाको हात समात्दै सँगै मटेरा पुल तर्न पाउँथे । त्यसैले मैले अब रगतको जोहो गर्नु थियो ।

डाक्टरलाई ढाँटेर २ महिनाको अन्तरमा मैले २ पटक रगत चढाउने जोखिम मोलिसकेको थिएँ । त्यसैले मबाट रगत निकाल्न अब सम्भव थिएन । गाउँबाट त्यति टाढा रगत दिने आफन्तीको व्ययभार थेग्ने मसँग पैसा थिएन । अस्पताल वरिपरी रगतको नाता पर्ने मेरो कोही आफन्ती थिएन । सोच्दा–सोच्दै चिटचिट पसिना आयो । यस्तो समय कसैले सोधिदिए पनि हुने– ‘के भयो बाबु ?’

तर कसैले केही सोधेन । घाँटी तिर्खाएर आयो । पानी पिउन हस्पिटल छेऊको धारामा पुगें । धारामा म जस्तै तिर्खाएका मानिसहरुको लस्कर थियो । र त्यही लस्करको अग्रभागमा उभिएकी थिई स्मृति । मलाई देख्नेबित्तिकै आँखीभौं र निधार खुम्चाएर इशारामा के हो भनेर मलाई सोधी । म केही बोल्न सकिनँ । म नबोलेपछि हातका चार औंला भूँईतिर झार्दै मलाई उभिएकै ठाउँमा बस्न संकेत गरी । र केही समयपछि पानीको एउटा बोटल मेरो हातमा थमाउँदै उसैले सोधी– ‘के भयो भुपेन ?’

तर किन–किन फेरि पनि बोली आएन । बोली मुखभित्रै बरालिरह्यो । आँसुको नुनिलो स्वाद भने ओठसम्म आइपुगेछ ।

‘ला ऽऽऽ छोरो मान्छे भएर नि रुने ? पर्ख म आफै बुझेर आउँछु आमासँग ।’

मेरो विवशता बुझेकी ऊ हतार–हतार हस्पिटलको वार्डतर्फ लागी ।

….

लगभग म भन्दा एक डेढ वर्ष जेठी देखिने । पहेँलो कुर्ता र सलवार लगाएकी । कम्मरसम्म पुग्ने कपाल । केही दिन यता पहेँले रोग लागेर १३ नम्बर बेडमा पल्टिएका दाइको स्याहार गरिरहेकी थिइ । अन्य बिरामी र कुरुवालाई भेट्ने आफन्तीहरुको ओहोरदोहोर वार्डमा बाक्लै थियो । तर त्यो वार्डमा हामी चार (आमा, म, स्मृति र दाइ) बिरामी र कुरुवामात्रै यस्ता थियौं, जसलाई लामो समय कोही आफन्ती भेट्न आएन । शायद उ पनि निक्कै टाढाबाट हस्पिटल आइपुगेकी थिई । र वरपरको माहोलसँग म जस्तै बिरानो थिइ । म डाक्टरसँग आमाको उपचारबारे भलाकुसारी गरिरहेको थिएँ । उनी भन्दै थिए– ‘छोरा नै भए पनि तिमी केटा मान्छेसँग आमाको उपचार र स्याहार बारे सबै कुरा गर्न सकिन्न । कुनै दिदीबहिनी बोलाऊ अलि सजिलो होला ।’

डाक्टरको यस्तो निर्देशन उसले पनि सुनिछ । म सघाउँछु भनेर ऊ आमाको स्याहार गर्न आइपुगी । ऊ भएपछि डाक्टरले उपचार र स्याहारका स्पष्ट विधिहरु बताउन थाले । आमालाई बाथरुम लैजाने, ल्याउने जिम्मा ऊ आफैले सम्हाली । उसले नै देखी कैयन् दिन यता काइँयो नपाएर लटा परेको आमाको कपाल । र मिलाइदिइ सर्लक्क । उसैले भरिदिइ बेला–बेला आमाको ओठमा अलिक मुस्कान । उसको स्याहारपछिका केही दिनमा आमाको स्वास्थ्यमा सुधार पनि आउन थाल्यो । बदलामा उसले दाइलाई कुरिरहँदा फार्मेसीसम्म पुगेर औषधी ल्याइदिएँ मैले । भारी जिउका दाइलाई स्ट्रेचरमा राख्न सघाइदिएँ । यसरी जोडिएकी थिइ ऊ । म र आमासँग । त्यसपछि अस्पतालका विरक्त लाग्दा दिन अलिक सहज भए । आँसु पनि आँसुदेखि डराउँदा रहेछन् । मेरा आँसुको डरले उसका आँसु छेकिएजस्ता भए । उसका आँसु झर्ने डरले मेरा आँसु रोकिए ।

अस्पताल पुगेको केही दिनपछि दाइलाई आइसियूमा राख्न भनेछन् डाक्टरले उसलाई । आइसियूमा राखेपछि निरन्तर कुर्नुपर्ने कामबाट अलिक मुक्त भई ऊ । यद्यपि भित्रबाट बोलावट जतिबेला पनि आउन सक्ने डरले ढोका छेऊमा बसेर कान ठाडा भने पारिराख्न पथ्र्यो । उपचारको काम अलिक हल्का भएपछि एकदिन मैले सम्झें– ओहो ! स्मृतिको घर ठेगानाबारे त मैले सोध्नै बिर्सेको रहेछु । बिरामी निदाएपछि हामी अस्पतालको बरण्डामा फ्रेस हुन निस्कन्थ्यौं । जहाँ दिनभरिका अप्ठ्याराबारे कुरा हुन्थे । दाइ र आमाको बिमारीबारे जानकारी साटफेर हुन्थ्यो । त्यो रात मैले उसको घर ठेगानाबारे सोधें । फेसबुक, फोन नम्बरबारे सोधें । तर उसले यस्ता जानकारी दिन छाँट देखाइन ।

‘ठेगाना पाएर के गर्छौ नि मिस्टर ?’ उल्टै प्रतिप्रश्न पो गरी ।

‘आमालाई सञ्चो लागेसी तिम्लाई भेट्न आउँछु.. तिम्रा बाउले मन पराएसी अर्कोचोटि नि आउँछु बाजा बजाउने गरी.. अनि फेरि आइरहन्छु ।’ म जिस्किएँ ।

ऊ केही समय हाँसी मात्र । र मेरो टाउकोलाई आकाशतर्फ बटारेर भनी– ‘मलाई भेट्न मन लागे ऊ त्यो जून हेर्नु । म नि त्यसैगरी म भको ठाउँबाट जून हेरुँला । तिम्ले मैले एउटै जून देख्न सकेसी हाम्रो ठेगाना नजिकै भएन त ?’

उसका कुराले मेरो बोली बन्द भयो । यद्यपि त्यसपछिका दिनमा पनि ठेगाना माग्ने काम निरन्तर चलिरह्यो । उसले पनि निरन्तर जून देखाइरही ।

….

ऊ निष्फिक्री मुस्कुराउँदै आई ।

म अझैं पानीको बोतल समातेर बसिरहेको थिएँ । सोचें– एकमन एक फेर आफ्नै रगत निचोर्न भगवानलाई आग्रह पो गरुँ कि । तर भगवानले मेरो आग्रह स्वीकार्नेवाला थिएनन् । मान्छेहरुको ओहोर–दोहोर बाक्लो थियो वरपर । अस्पताललाई बिदा गर्दै ढोका बाहिर बाहिरिरहेका केही उज्याला अनुहार । ढोकाभित्र छिर्दै गरेका केही अँध्यारा अनुहार । ती अनुहारमा मैले भने रगतको नाता पर्ने आफन्ती खोजिरहें । तर त्यस्तो कोही भेटिएन । यतिञ्जेल स्मृति पनि म सामु आइसकेकी थिइ । उसैले भनी– ‘ल हिँड तिम्रो समस्या छु मन्तर भो ।’

उसले भनेका यी शब्द कति हृदयस्पर्शी । तर बिरानो ठाउँमा यति सजिलै यो समस्या सुल्झिने विश्वास ममा थिएन । आशंकामा सोधें– कसरी ?

‘आमाको ओ नेगेटिभ रगत रहेछ । मसँग म्याच हुन्छ । म दिन्छु नि उहाँलाई रगत ।’

सरसर्ती उसलाई हेरें । बिरामी दाइ कुर्दा–कुर्दा आँखाका डिलमुनि कालो घेरा बसिसकेको थियो । कपाल खजमजिएको थियो । तर पनि उसले मेरी आमालाई आमा भनेर बोलाउँदा कति मिठो सुनिएको यो शब्द ! तर उसले सघाउन खोजे पनि कति दुःख दिनु ।

‘तिम्रो दाइ आफै बिरामी हुनुहुन्छ । भो दुःख नगर अझै । म आफै व्यवस्था गरुँला ।’

मन अमिलो बनाएर भए पनि उसको प्रयास टार्ने प्रयास गरें मैले ।

‘मेरा पहेँले रोग लाको दाइलाई मेरो रातो रगतको के काम ? उसले अडान त्यागिन ।

म कन्भिन्स भएँ । १३ नम्बर बेडमा पल्टिएर उसले आमालाई रक्तदान गरी । पाइपको सहारामा उसको रगत आमाको शरीरमा प्रवेश ग¥यो । मुस्कुराइरहेकी उसलाई मैले भने हेरिरहें । मिल्ने भए यसै बगिरहेका आँसु उसलाई रगतको साटो सापटी बुझाउँदो हुँ । आँसु त जति निचोरे नि मिल्थ्यो नि । बेडबाट उठ्दै गर्दा मेरो हातबाट जुसको बोतल समात्दै उसले भनी– ‘आज राति दाइको अन्तिम डाइलोसिस छ । अब त तिमी रगतको नाता पर्ने भइहाल्यौ । भोलि तिम्लाई आफ्नो घर ठेगाना नि दिन्छु ।’

उसको निर्णयले मन चङ्गा भयो ।

रातभर सपनाका कैयन् लस्करले मस्तिष्कमा ओहोरदोहोर गरे– यी उराठलाग्दा दिन बितेपछि एकदिन स्मृतिको घर पुग्नेछु । आमा तंग्रिएपछि सकभर उहाँलाई नि सँगै लैजानेछु । यति सुन्दर मन भएको स्मृतिको गाउँघर झन् कति सुन्दर होला ? उसको गाउँमा केही दिन बिताएपछि ऊ, म र आमा घुम्न जानेछौं । र अहिले आँसुले बसाएका सारा दाग त्यो बेलाको खुसीले पखाल्नेछौं । स्मृति नि झन कति खुसी होला है… । यस्तै कैयन् सपना, भविष्यका सुन्दर प्रहर हृदयभित्र चलमलाइरहे– रातभर ।

बिहानको चर्को, एकदमै चर्को घाम

बोलाएँ, ऊ बोलिन । एकतमास, एकसुर भूँइतर्फ हेरिरहेकी उसले म छेऊमा आएर बस्दासम्म नि कुनै प्रतिक्रिया जनाइन । उसको अवस्था देख्दा लाग्थ्यो कुनै ठूलै हुरी भर्खरै यो बाटो भएर गएको हो । र वरपरको उसको संसार भताभुङ्ग पारिदिएको हो । केही समय भूँइमा एकोहोरिएपछि ऊ मतर्फ एकोहोरिइ । म अलमलमा परेर नजर झुकाएँ । नजर उठाउँदासम्म आँसुले उसका आँखाका डिल नाघिसकेका थिए । अलमलका बीच आफूले गर्नुपर्ने स्पष्ट व्यवहार कुनै फेला परेन मलाई ।

त्यसैबीच… सेतो कपडा लगाएका अर्का भगवान झुल्किए । उनले पनि ढुकढुकी सुन्ने इयरफोन उसैगरी घाँटीमा भिरेका थिए– ‘नानी ढिला भयो । दाइको लास लैजाऊ । शववाहन बाहिर गेटमा उभिएको छ ।’ भगवानको अनपेक्षित बोली भूइँमा खस्यो ।

टेकेको भूइँ एकैचोटि भासियो । भगवानको आवाज हृदयका सम्पूर्ण भाग चिर्दै भित्र पस्यो । कसैले दाइको लास स्ट्रेचरमा मेरो अघिल्तिर बाट गुडाउँदै शववाहनको पछिल्तिरको सिटमा कोचिदियो । स्मृति जुरुक्क उठी । सरासर शववाहनको बीच भागको सिटमा बसी । एकछिनपछि स्मृति बसेको शववाहन मलाई सधैंका लागि बिदा गर्दै अगाडि बढ्यो ।

अधुरा सपनाको थाकलाई धौ–धौ सम्हाल्दै १३ नम्बर बेडको अडेसमा मैले आमालाई हेरिरहें ।

प्रतिक्रिया दिनुहोस्