कथा | सुनको मृग

       महेन्द्र महक | 206 Views |   Published Date : 23rd January 2018 |

सीता अनिन्द्य सुन्दरी थिइन् ।

राम सुशील र भद्र थिए ।

दुवैले एक अर्कालाई मन पराएका थिए ।

यद्यपि जनक आफ्नी एकमात्र छोरी सीता दशरथको छोरालाई दिन हिच्किचाएका थिए तर पनि रामको असल स्वभाव र दशरथको सामाजिक प्रतिष्ठाको कारणले इन्कार गर्न सकेनन् ।

यसरी राम सीताको विवाह भएको थियो ।

सीता एक मात्र सन्तान थिइन जनककी । उनी सुखमा हुर्किइन । उनले जे चाहन्थिन्, त्यो कुरा उपलब्ध गराइन्थ्यो । जनक आफ्नी रुपवती छोरीको हरेक इच्छा पूरा गर्ने प्रयास गर्थे ।

महेन्द्र महक

दशरथले नकमाएका होइनन् । उनको सम्पत्ति र वैभव राम्रै थियो जबसम्म उनकी जेठी श्रीमती थला परिनन् । उनको उपचारमा दशरथले आफ्नो सबै जायजेथा सकाएका थिए, उनले पु¥याउन सक्ने ठाउँसम्म पु¥याएर गतिला डाक्टरहरुलाई देखाएका थिए, गर्नुसम्मको ओखतीमूलो गरे तर कसैगरि पनि जेठी श्रीमती बाँचिनन् ।

श्रीमतीसँगै दशरथको वैभव र सम्पत्ति सकिएको थियो । कान्छी श्रीमती भित्र्याएपछि दशरथले पिउन थाले ।

कमलाले सधैं दाइजोको धाक देखाइन् दशरथलाई ।

जेठीबाट राम जन्मिएका थिए । कान्छीबाट लक्ष्मण ।

सौता–सौताका छोरा भए पनि दुवैमा गहिरो प्रेम थियो ।

रामले लक्ष्मणलाई आफ्नो काखमा खेलाएका थिए । आफूसँगै औंला समातेर भाइलाई स्कुल पु¥याएका थिए ।

स्वभाव र आनीबानी राम्रो भए पनि राम पढाइमा कमजोर थिए । सीताले पनि धेरै पढ्न सकिनन् । दशरथ र जनकबीच समझदारीको बिन्दु यहीँनेर थियो । दोस्रो, सीता आफैले रामलाई मन पराएकी थिइन् । जनकले छोरीको खुशी हेर्न चाहन्थे, आँसु होइन ।

दशरथ खर्च गर्न सक्ने अवस्थामा थिएनन् अब । न त उनीभित्र धन कमाउने सक्ने आत्मविश्वास र सामथ्र्य नै थियो ।

बरु उनी दिउँसभरि आँगनमा बस्थे । लक्ष्मणको सहयोगमा बाँसका चोया निकालेर डोको, डालो वा गुन्द्री बुन्थे । यसरी दुई चार सय आम्दानी गर्थे । उनको सीपको सबैले कदर गर्थे ।

उनको पैसाले उनलाई पिउन पुग्थ्यो । कहिलेकाहीँ नून तेलसम्मको गर्जो टथ्र्यो । बाँकी घरपरिवारको जिम्मा कान्छी स्वास्नीको थियो । उनको दाइजोमा आएको सम्पत्ति र पैसामा दशरथको घर चलेको थियो ।

यो कलियुग हो । यस युगमा रावण आफै सीताहरण गर्न आउँदैन । सीता आफै रावणलाई खोज्दै जान्छिन् । यस युगका रावणहरु धेरै डिप्लोम्याट छन् । सीतालाई आफै आउन बाध्य पार्न सक्छन् ।

सीताकी सासु मुखाले हुन् । उनले दशरथलाई त आप्mनो हातमा नचाइरहेकी थिइन्– राम र सीतालाई के नै बाँकी राख्थिन् उनी ।

बेला मौकामा रामलाई उनी सौताको छोरा भएको चीसो अनुभूति गराउँथिन् । राम कमाई केही नगर्ने भद्र भलाद्मी थिए । त्यसैमा विवाहित थिए । उनको हातमा सीप पनि केही थिएन ।

सीताको मनमा सधैं दशथरी विचार आउँथे । उनी मनमा इच्छाहरु खेलाउने गर्थिन् । यो उनको सानैदेखिको बानी थियो । जनक उनका पिता थिए– पु¥याइदिएका थिए । राम उनका पति थिए तर राम उनका इच्छा पु¥याउन असमर्थ थिए ।

***
भरत रामकै उमेरका हुन् । उनी आफ्नी श्रीमतीलाई बाइकमा बसालेर बजार सपिङ गर्न जान्छन्– लाखौंको व्यापार चलाएका छन् । रुपालाई उनले सुख र खुशी दिएका छन् ।

भरत छ वर्षअघि विदेश गएका थिए । त्यो बेला उनी १८/२० वर्षका थिए । पाँच वर्ष त्यहाँ बसेर कमाएको पैसा यतिबेला उनले व्यापारमा लगाएका छन् । राम्ररी व्यवस्थित भएपछि मात्रै भरतले विवाह गरेका हुन् ।

होन्डा बाइकमा भरतले रुपालाई बसालेर शहर लगेको अनि रुपाले छड्के बसेर भरतलाई कम्मरमा समातेको दृश्यले सीताको मनमा कुत्कुती लाग्थ्यो । रुपाको शरीरमा सुहाएको गहनाले पनि उनलाई लोभ्याएको थियो ।

सासु–ससुरा, देवर र पतिका लागि खाना पकाउनु र दिउँसो खाजा बनाउनु, फुर्सदमा छिमेकी आइमाइहरुसँग बात मार्नु वा रेडियो सुन्नु सीताको काम थियो ।

रामको काम दिउँसभरि बजार घुम्नु अनि साँझ घर फर्किनु थियो । उनी हतास भएर फर्किन्थे । निराशाले गाँज्दै लगेको थियो उनलाई ।

एक बिहान ओछ्यानमा नै सीताले रामलाई भनिन्– ‘आज राति मैले एउटा अचम्मको सपना देखें ।’

‘कस्तो सपना ?’

‘मेरो सपनामा एउटा सुनको मृग दौडिन्छ– म जंगलमा हुन्छु । मृगलाई छोप्छु भनेर दौडिन्छु तर छोप्नै सक्दिनँ । नजिक–नजिक गइपुग्दा पनि छोप्न सक्दिनँ । छोप्नै लागेकी थिएँ कि एक्कासी ब्यूँझिएँ ।’

‘हा ! हा !! सुनको मृग छोपेको भए त तिमी धनी भइसक्थ्यौ नि !’

अर्को दिन फेरि भनिन्–

‘आज पनि फेरि उस्तै सपना देखें ।’

‘के देख्यौ ?’

‘सुनै सुनको रुख !’

‘हो ! सुनका फलफूल केही टिपेर ल्याउनु पथ्र्यो नि !’

‘रुख नजिकै थिएँ– तपाइँलाई बोलाऊँ भनको झ्याप्पै ब्यूँझिएँ ।’

राम सीताका यस्ता सपनाका कुरा सुनेर खुब हाँस्थे ।

सीतालाई पनि रहर थियो बाइकमा श्रीमान्सँग बसेर बजार सपिङ गर्न जाने, तरकारी बजारमा रोजी–रोजी तरकारी र फलफूल किन्ने, न्यूरोडको ठूलो कपडा पसलबाट महङ्गो साडी किन्ने अथवा शाक्य गहना पसलमा नयाँ डिजाइनका गहना किन्ने– उनका रहरहरु थिए ।

सीता पनि त स्वास्नी मान्छे थिइन् । उनका पनि रहर थिए– अरु स्वास्नी मान्छेजस्तै ।

***

राममाथि दबाब बढ्न थाल्यो । सौतेनी आमाको कटू वचन, बाबुको लाचारीपन अनि स्वास्नीका इच्छा आकाङ्क्षा ।

राम जेठा थिए । बाबुपछिको उत्तरदायित्व उनका काँधमा थियो । उनी विवाहित थिए ।

उनले जिम्मेवारीबोध गरे ।

अन्ततः उनले भरतले अपनाएको बाटो अपनाउने सोच बनाए ।

उनलाई कसैले रोकेन । कसैले उनलाई परदेश नजाऊ भनेन ।

दशरथ लाचार थिए । छोराले कमाएको हेर्न चाहन्थे उनी । सबैका छोरा परदेश गएर कमाएर फर्किएका थिए । उनले पनि छोरा व्यावहारिक भएको हेर्न चाहेका थिए । उनी चाहन्थे– सौतेनी आमाका तीखा बचन रामले सुन्न नपरोस् । त्यसैले राम परदेश जाँदा दशरथले रोकेनन् ।

सौतेनी आमाले रोक्ने कुरै भएन । बरु उनले आर्शिवचन दिइन्– ‘कमाएर फर्किनू !’

सीताको मनमा खील थियो– आफ्नो श्रीमान् आर्थिक अभावमा रहेकोमा । उनी आफ्ना रहर दमन गर्नु परेकोमा दुःखी थिइन् । रामको परदेशले एउटा नयाँ बिहानीको संकेत गथ्र्यो उनका लागि ।

लक्ष्मणले एकपटक भनेका हुन्– ‘दाइले यतै काम खोज्ने प्रयास गर्नुपथ्र्यो । सानो तिनो काम गर्दा पनि पछि दाइलाई नै सजिलो हुन्थ्यो । भोली काम लाग्ने आफ्नै ठाउँ हो ।’ लक्ष्मणले पनि रोकेनन् रामलाई ।

जाने बेला आँसु भिजेकी सीतालाई फकाउँदै भनेका थिए रामले– ‘म तिम्रो लागि सुनको मृग छोपेर ल्याइदिन्छु ! पर्खेर बस्नु धैर्यताका साथ । नरोऊ !’

यसरी राम परदेशी भए ।

राम हिँडेको दिन पनि सीताले सपना देखिन्– आफू स्वर्ण महलमा भएको । सपनामा उनी सुनैसुनले बनेको महलमा थिइन् । आफूसँगै रामलाई नदेखेपछि उनी चिच्याएकी थिइन् । ‘राम ! राम !’ भन्दै सपनामा बर्बराएकी थिइन् ।

परदेश जाने सबैको आँखामा सपना हुन्छन् । मीठा कल्पना हुन्छन् । सुन्दर र सुखी भविष्यका चाहना हुन्छन् ।

तर सोचेजस्तो कहाँ हुन्छ र जीवनमा ?

घरमा परदेशीलाई पर्खिनेहरुका पनि आफ्नै आशा हुन्छन्– आकाङ्क्षा हुन्छन् । रहर र इच्छा हुन्छन् ।

तर, खोजे सस्तो कहाँ पाइन्छन् र जीवनमा ?

रामले दुई वर्षसम्म राम्रै कमाई पठाए । सीताको लागि आउने ‘अतिरिक्त’ रकमले सीताले आफ्ना लागि गहना बनाइन् ।

नेकलेस–ब्रासलेट–झुम्का !

र पनि उनी खुशी थिइनन् ।

रामसँगको विछोडले कम्ति पिरोल्दैन्थ्यो उनलाई ।

घरमा सासुले सीतालाई तीखा वचन वाण रोप्थिन् । लक्ष्मण र ससुराले मल्हम लगाउँथे । उनीहरुले सीताप्रति कहिल्यै कटु वचन बोलेनन् ।

एक्कासी राम सम्पर्कविहीन भइदिए ।

न चिठी न फोन ।

दुई महिना बित्यो चार महिना बित्यो ।

हुँदा–हुँदा एक वर्षसम्म रामको कुनै सम्पर्क पत्ता लागेन । यसपछि ‘गुहार’ शुरु भयो ।

दूतावास–म्यानपावर एजेन्सी–परराष्ट्र मन्त्रालय !

सीता, दशरथ र लक्ष्मणले यी कार्यालहरुको धेरै चक्कर लगाए । धेरै खर्च पनि गरे । कति नै गर्दा पनि रामबारे उनीहरुले कुनै जानकारी पाउन सकेनन् । राम कहाँ छन्, कस्तो अवस्थामा छन्, के गर्दैछन् कसैलाई थाहा हुन सकेनन् । उनका साथीभाईहरुलाई पनि भनियो तर कुनै जानकारी पाइएन ।

सीता बौलाहीझैं भएकी थिइन् । दशथरी सोंच उनको दिमागमा आउँथे । दशरथ किंककत्र्तव्यविमूढ अवस्थामा थिए । कमाउने छोरा लापत्ता थियो । घरमा आम्दानीको स्रोत थिएन ।

लक्ष्मण कलेजको अन्तिम वर्षको परीक्षा सकाएर बसेका थिए ।

‘बाबु ! तपाइँ गएर खोजेर ल्याउनुहोस्– तपैंको दाइलाई !’ एक दिन सीताले रुँदै भनेकी थिइन् ।

लक्ष्मण सानो उमेरका थिएनन् । घरका समस्या बुझ्ने भइसकेका थिए । अन्तिम वर्षको परीक्षा पछि उनी खाली थिए । उनी पढेलेखेका अनि चलाख पनि थिए ।

लक्ष्मण दाजुलाई खोज्न जाने सोचमा पुगे ।

दशरथसँग अर्को विकल्प थिएन । उनी डराएका पनि थिए– कतै लक्ष्मणलाई पनि गुमाउनुपर्ने त होइन । तर आशा पनि लक्ष्मणमा मात्र थियो यतिबेला ।

आमालाई लक्ष्मणले आफैले मनाए ।

जाने बेला लक्ष्मणले भाउजूलाई सम्झाउँदै भनेका थिए– ‘नआत्तिनुहोला भाउजू ! अडिग भएर बस्नुहोला । सबै ठिक हुन्छ । आफूलाई र घरपरिवारलाई कसैले पनि औंला उठाउने स्थितिबाट आफूलाई जोगाउनु होला ।’

लक्ष्मण श्रमिक भिसामा दाजु गएको देश पुगेका थिए– दाजुलाई खोज्न, ऋण तिर्न, पैसा कमाउन ।

***
लक्ष्मणले दाजुको खोजी गर्नु थियो । परदेशमा उनले एउटा परीक्षा पार गर्नु थियो ।

दाजुले काम गरेको कम्पनी पेपर/भीसा पेपर अनि एग्रिमेन्ट पेपरको फोटोकपी बोकेर गएका थिए उनी ।

उनलाई दाजुले काम गरेको कम्पनी पत्ता लगाउन गाह्रो भएन ।

‘ड्रिम ल्याण्ड कर्पोरेशन !’

राम यो कम्पनीको कुनै शाखामा स्टोर किपर थिए एक वर्षअघिससम्म । तर अहिले उनी जेलमा छन् ।

कम्पनीको विश्वास जितेका रामको मनमा धेरै कमाउने सोंचले घर बनाउन थालेपछि उनले स्टोरबाट सामान चोरेर बेच्न थाले । उनी साह्रै सफाइका साथ यो काम गर्थे । तर एकदिन यो काण्ड कम्पनीमा खुल्यो । उनी समातिए र चोरीको अभियोगमा दुई वर्षका लागि जेल परे ।

श्रमसहचारी र दूतावासले चासो नदेखाएकाले उनी जेलमा परेको जानकारी समेत घरपरिवारले थाहा पाउन सकेन ।

‘दाजु जेलमा छन्– एक वर्षपछि छुट्छन् !’ लक्ष्मणले यो खबर घरसम्म पु¥याउन सकेनन् ।

राम र दशरथ दुवैको प्रतिष्ठामाथि आँच आउन सक्थ्यो । बरु उनले घरपरिवारबाट आफूले ‘दाजुको खोजी गरिरहेको र भेटिएपछि खबर गर्ने’भन्ने जानकारी गराएर सत्य लुकाए । उनले परिवारलाई नआत्तिन र आफूले थाहा पाएसम्म ‘राम सकुशल र राम्रो अवस्थामा भएको’ खबर पठाए ।

लक्ष्मणको यस्तो खबरले सीताको मनमा अन्यौल उब्जायो । लक्ष्मण आफै पनि अब कहिलेकाहीँ मात्र फोन गर्थे । चिठीपत्र त उनले कहिलै लेखेनन् । फोन पनि पैसा पठाउँदा मात्रै गर्थे । उनी काममा पनि खुशी थिएनन् ।

एक वर्षपछि राम जेलबाट रिहा भए । रिहाइसँगै उनलाई डिपोर्ट गरियो ।

रामले काठमाडौंबाट लक्ष्मणलाई फोन गरी आफू काठमाडौं आएको जानकारी गराए । काममा खुशी नभएका लक्ष्मणले दाजुलाई आफ्नो कम्पनीमा फोन गर्न लगाएर ‘इर्मेजेन्सी लीभ’ (आपतकालीन बिदा) को लागि भन्न लगाए ।

त्यसको तीन दिनपछि राम–लक्ष्मण सँगै घरमा पुगेका थिए ।

तर घर अब घरजस्तो रहेन । धेरै थोक बदलिएको छ । घरमा सीता छैनन् । सीता सुनको मृग छोप्न साँच्चै आफै हिँडेकी छन् समुन्द्र पार ।

लक्ष्मणले ‘नआत्तिनुहोला भाउजू’ भनेका थिए । तर सीतासँग धैर्यता थिएन । लक्ष्मणले रामबारे प्रष्ट खबर नपाएपछि उनमा हतासा आएको थियो, निराशा छाएको थियो ।
हुँदा हुँदा रामबिना आफ्नो जीवन नै व्यर्थ लाग्न थाल्यो उनलाई ।

यस्तैमा उनी दलालको सम्पर्कमा आइन् । सीताले उसलाई कुनै पैसा तिर्नु परेन । (सम्भवतः उनले आफूभित्रकी सीतालाई सुताइदिएकी थिइन् दलालका लागि) उसले सीतालाई कुवेत पु¥याइदिने भयो ।

‘धन कमाउन !’

सीताले लक्ष्मणले बोलेका शब्दहरु बिर्सिइन् । उनले लक्ष्मण रेखा पार गरिसकेकी थिइन् ।

यो कलियुग हो । यस युगमा रावण आफै सीताहरण गर्न आउँदैन । सीता आफै रावणलाई खोज्दै जान्छिन् । यस युगका रावणहरु धेरै डिप्लोम्याट छन् । सीतालाई आफै आउन बाध्य पार्न सक्छन् । र, सीतालाई द्रौपदी बनाउन सधैं लालयित रहन्छन् । (यो कुरा मेरो कथाकी सीताले बुझेकी थिइनन् ।)

सीतालाई लाग्थ्यो– सुनको रुख त अवश्य छ यस संसारका कतै न कतै । त्यस रुखबाट म आफ्ना लागि सबैभन्दा ठूलो फल टिप्नेछु– सुनको फल !

राम सीताका लागि सुनको मृग छोप्न दौडेका थिए । तर, धेरै टाढा समुन्द्रपारि जब उनले दुःख कष्ट सहे अनि थाहा पाए– यो संसारमा सुनको मृग हुँदैन ।

जतिबेला बुद्धि दिग्भ्रमित हुन्छ त्यतिबेला मान्छेले सुनको मृग देख्छ र त्यसकै पछाडि दौडिन्छ । तर जब ठक्कर खान्छ– दुःख कष्ट र हण्डर सहन्छ अनि चाल पाउँछ यो जगतमा सुनको मृग हुँदैन ।

रामलाई त्यो कष्टबाट जोगाउन लक्ष्मण गएका थिए । तर यस युगकी सीताको खोजखबर लिन कुनै हनुमान जन्मिएका छैनन् । सबै ठाउँमा रावणहरुकै बाहुल्यता छ ।

अन्त्यमा लेखकको एउटा मात्र कामना छ- यसरी सुनको मृगले लखेट्दै विदेश पुगेकी सीताले कुनै अरबीको भिल्लाको छतमा वा ट्वाइलेटमा बच्चा जन्माएर फ्याँक्नुपर्ने स्थिति सिर्जना नगरुन् ।

प्रतिक्रिया दिनुहोस्