सामाजिक न्याय र संवेदनाको खोजी

       प्रमोद धिताल | 259 Views |   Published Date : 24th January 2018 |

बजारले बलजफ्ती साहित्य र लेखकहरु जन्माइरहेको परिवेशमा आख्यानकार नुमेश घर्ती मगर ‘बिर्सिएका सत्य’ लिएर पाठकसामु आएका छन् । विज्ञापनबाजी र बजारको हल्लाखल्लामा भन्दा आफ्ने बलबुतामा टिक्ने लेखक दिर्घजीवी हुन्छ । त्यसरी आफै जन्मिएका अर्गानिक लेखकमा पर्छन्– उपन्यासकार नुमेश घर्ती मगर र उनको उपन्यास ‘बिर्सिएका सत्य’ ।

प्रमोद धिताल

बिर्सिएको सत्य भनिए तापनि वर्तमानमा पनि चुनौती दिइरहेका नकारात्मक सामाजिक सत्यहरु उपन्यासमा आएका छन् । हरेक मानिसको जीवनमा बिर्सिएका सत्यहरु हुन्छन् । जब कुनै व्यक्तिले जीवन जगतसँग भोगिएका सत्यहरुलाई आख्यानीकरण गर्छ त्यो विषयले सामाजिक र सार्वजनिक रुप धारण गर्छ । आख्यानकार नुमेशले पनि आफ्नो अतीतका पानाहरुमा सीमित रहेका सत्यहरुलाई आख्यानमार्फत् पुनःर्जीवित गर्ने काम गरेका छन् ।

उपन्यासभित्र मुख्य सकारात्मक पात्रको रुपमा धन बहादुर मगर छ । जो उपन्यासको कथावाचक हो । त्यसैगरी मुख्य पात्रसँग जोडिन आउने अर्को पात्र दिलमाया हुन्, जुन दलित पृष्ठभूमिबाट आएकी छन् । त्यसरी नै अन्य सकारात्मक पात्रहरुको रुपमा आमा, दिदी, देवी, विजय, सुके, फूलमाया, शिवलाल, मुखिया बुढा, गुँइठे, वर्षा, फाइटर लगायतका पात्रहरु उभिएका छन् ।

नकारात्मक पात्रहरुको रुपमा आख्यानकारले लोकप्रसाद, तिलबहादुर थापा र सञ्जय लगायतका पात्रहरुलाई उभ्याएका छन् ।

कथाको मुख्य तथा सकारात्मक पात्र धन बहादुरको सबैभन्दा उल्लेखनीय विशेषता भनेको उसमा विद्यमान मानवीय संवेदना, न्याय पर त्यसप्रतिको समर्पण भाव हो । समर्पण र संवदेनशीलताको समिश्रणले गर्दा पाठकहरुमा लगाव पैदा गर्न ऊ सफल हुन्छ । सबै मानिस समान छन् र मानिसहरुबीचको सम्बन्धलाई जीवन्त राख्ने सबैभन्दा उत्तम कारक भनेको उसमा निहित विचार हो भन्ने उसको मान्यता अनुकरणीय छ । त्यसरी नै मुख्य पात्रसँग जोडिन आउने दिलमायाको सच्चा प्रेम प्रतिको समर्पण पनि उदाहरणीय छ ।

परिवेशको कुरा गर्दा उपन्यासको कथा स्यूजा, हर्नोकदेखि नेपालगञ्ज हुँदै दिल्लीसम्मा पुगेको छ । यसमा नेपाली समाजको ग्रामीण सुगन्ध छ । वर्षौं– वर्षदेखि गाउँमा विद्यमान उत्पीडक मनोविज्ञान र उत्पीडित मनोविज्ञानको चित्रण छ । सरल भाषामा प्रस्तुत कथा र चलनचल्तीका स्थानहरुको वर्णनले पाठकलाई कथासँगै हिडिरहेको अनुभूति हुन्छ ।

लेखकका भोगाइ र बुझाइमध्येका धेरै सत्यहरुको केन्द्रविन्दूमा छ जातीय विभेद । जसलाई हाम्रो समाजले पुरै खारेज गर्न सकेको छैन । प्रगतिशील भाषण दिने सामाजिक–राजनीतिक अगुवा पनि जब आफ्नै सन्तानको अन्तर्जातीय विवाहको कुरा आउँछ दश पटक सोच्न बाध्य हुन्छ । कानूनका दफाहरुले वेठीक भनेर परिभाषित गरिसकेको परम्पराले दह्रो सामाजिक साँस्कृतिक वैधानिकता पाएको छ ।

यहाँसम्म पटक–पटक चलेका राजनीतिक आन्दोलनहरुले पनि त्यसलाई निर्मूल गर्न सकेनन् । तर पनि सबैतिरको बारबन्देजको सामना गर्दै उपन्यासको नायक धनबहादुर र नायिका दिलमाया जातीय विभेदको पर्खाललाई नाघेर आगाडि बढेका छन् उपन्यासमा ।

जातीय विभेदसँगै उपन्यासमा अर्को विषय गरिबीको पीडा छ । गरिबीको बाध्यताले विदेशिनुपर्ने अवस्था छ । त्यसरी नै अन्तर्जातीय प्रेम र त्यसको निम्ति गरिएको संघर्ष छ ।

आँसु पैदा गर्नमा उपन्यास सफल छ । आँसु संवेदनाको भाषा हो । आँसुसँगै उपन्यासले आक्रोश पनि पैदा गर्दछ । जुन सामाजिक साँस्कृतिक कुरुपताहरुविरुद्ध लक्षित हुन्छ । उपन्यासका सीमाहरुबारे बोल्दा उपन्यासकारको विश्वदृष्टिकोण निखारिएको अनुभूत हुँदैन । जस्तो कि उपन्यासले जुन कथ्यलाई केन्द्रमा राखेर आख्यानको निर्माण गरेका छन् त्यससँग भाग्यवादको नजिकको सम्बन्ध छ नेपाली समाजमा । जातभात र छुवाछूतपछाडि हिन्दु मनुवादी चिन्तनको योगदान छ ।

उनले ठाउँ–ठाउँमा त्यो भाग्यवाद र भगवानमाथि प्रश्न त उठाएका छन् र फेरि ठाउँ–ठाउँमा उसैसँग समाधानको जवाफ माग्न पुग्छन् । जब कि नेपाली समाजको सामाजिक–साँस्कृतिक रुपान्तरणको निम्ति सबैभन्दा ठूलो लडाई मनुवादी आदर्शको विरुद्धमा लड्नुपर्ने देखिन्छ । जसले समाजलाई जातीय, लैङ्गित विभाजन र विभेदको श्रृंखला निर्माण ग¥यो ।

उपन्यासको भाषा सरस, सरल र सम्प्रेषणीय छ । स्थानीय भाषिका र जातीय लवज मिश्रित भाषाले आञ्चलिकताको झल्को दिन्छ । मानवीय संवेदनालाई सरलताका साथ पस्किनमा सफल भएकोमा उपन्यासकार नुमेशलाई धन्यवाद दिनैपर्छ । पाठकलाई हरेक अध्ययमा केही सोच्न, केही गम्न र संवेदनशील बन्न बाध्य पारिराख्नु यो उपन्यासको सफलता हो । पाठकले कही न कही आफू अनि आफू बाँचेको परिवेश भेट्नु यसको सबल पक्ष हो ।

बच्चैदेखि गरिबीको भार बोकेर हिड्नुपर्दाको पीडा, घरकै मूली मान्छे पारिवारिक जिम्मेवारीबाट च्यूत हुँदा बालबच्चाहरुमा पर्ने असर, आर्थिक अभावले विदेशिनुपर्दाको अनुभूति अधिकांश ग्रामीण नेपालीहरुले भोगेका कथाहरु हुन् । ती पढ्दै गर्दा आफ्नै कथाहरु पढिन्छ । आफ्नै व्यथाहरुसँग साक्षात्कार गरिन्छ । उपन्यासको यो सबल पक्ष हो ।

जीवनका अनुभवहरु व्यक्तिमा मात्र सीमित हुँदा त्यो व्यक्तिगत मात्र हुन्छ । तर जब त्यो साहित्यको भाषामा अभिव्यक्त हुन्छ त्यही भोगाइ सार्वजनिक बन्न जान्छ । भोगाइका अमूल्य पानाहरुलाई साहित्यका पानाहरुमा अनुदित गर्न सफल नुमेशको साहित्य यात्राले थप उँचाई हासिल गर्ने अपेक्षा सहजै गर्न सकिन्छ ।

अपेक्षा गरौं- लेखकबाट निखारिएको सामाजिक दृष्टिसहित थप आख्यान कृतिहरु आउनेछन् ।

प्रतिक्रिया दिनुहोस्