कथा | छोराको खोजीमा

       नवीन विभास | 1130 Views |   Published Date : 4th March 2018 |

‘मुरी गहुँ पिस्दा घुन पनि पिसिन्छ भन्छन्’, के सम्झेर कुन्नि छोरोले सिमलामा खिचाएको फोटो झिकेर आफूसँगै बसेका यात्रुलाई हात पारिन्, ‘काँ होला ? यत्ति निजो खबर पाए पनि सास जाने बेला निको गरी जाँनो भन्छु ब ।’

अहिले नै बोल्लाजस्तो छोरोको रङ्गीन फोटो । भारतको कनौरे टोपी, कालापारे पाइजामा र रबरको जुत्ता । सिमलाको स्टुडियोमा खिचाएको रे । कतै देख्यौ कि भनेर यात्रुलाई सोध्दै जतनले फोटो गादामा राखिन् ।

‘आमै तपार्ईं !’

झस्किएँ ।

टिकट देखाउँदै सिट खोजिदिन आग्रह गरिन् । नम्बर हेरेर ‘बी’ साइडको ६ नं. सिटमा बस्न भनेँ । संयोगले उनकै पछाडिको सिट परेछ मेरो ।

‘कहाँसम्म आमै, काठमाडौँ ?’, सोधेँ । टिकट हेरेर थाहा पाए पनि औपचारिकता निभाएको उनलाई मन परेन क्यार, सिटमा बसिन् र जवाफै नदिई झ्यालबाहिर आँखा फालिन् ।

छेवैमा राखेकी छन्, खास्टोमा पोको पारेको सानो कुम्लो । कपाल उही । गादो उही । गुन्यू उही । आँखा उही । अनुहार …।

अनुहार ?

अनुहार भने सुख्खा–सुख्खा देखिन्छ, झरी पर्खिरहेको बाँझो खेतझैँ ।

‘आज’नि आमैसित काठमाडौँ जानु छ’, कस्तो संयोग !’, आफैँँलाई सोधेँ, ‘सिट पनि सँगसँगै ।’

नवीन विभास

धेरै भयो, यी आमै छोराको खोजीमा भौँतारिइरहेकी । जनयुद्ध सुरु भएको केही समयपछि थालिएको ‘बेपत्ता खेती’ मा थालनीमै बेपत्ता पारिए उनको छोरो ।

थाहा छ, छोरो खोजीका लागि अनुनय दर्शाउन फेरि जाँदैछिन्, काठमाडौँ । मनमा घरजम गरेको एउटा प्रश्न मनभित्रै तलमाथि ग¥यो, ‘छोरा खोज्ने आस कहिलेसम्म रहला ? सरकारले कुनै दिन यिनको छोरोको ज्यान वा चिहान देखाइदेला त ?’

छोरो बेपत्ता हुँदा कस्तो हुन्छ, आमाको मन ! अनुभूत नगरे पनि आमैको अनुहार हेरेर अनुमान लाउन खोजिरहेछु ।

‘दाब्रे (दायाँ) स्तन दुख्यो बा । भेट्छु कि मेर्छोरालई’, पछिल्तिरको सिटमा बस्ने यात्रु आएपछि आफ्नो कुम्लो सिटको सिरानतिर कोच्दै भनिन् । आमैलाई कसैले रेस्पोन्स गर्न नपाउँदै गाडी घोराहीबाट काठमाडौँतिर गुड्यो । गाडीको तालसँगै उनको बोली पनि गुड्न थाल्यो ।

‘हाम्लई त के र बा । असो सम्पत्ति उसैलाई खोज्न लाउँछु’, जति पैसा सकिए’नि खोजीमा धाइरहनुको कारण कसैले नसोधी भनिन्, ‘छोरा नै नभएपछि कमाउने रहर केलई र ! अस् बाउ उसकै सुर्ताले गए ।’

ट्राफिकचोकमा गाडी रोकियो । केही यात्रु चढे । केही ओर्लिए जो आएका थिए, आफन्तलाई बिदावारी गर्न । गाडी गुडेपछि उनको बोली पनि झ¥यो, ‘यसपालि ता घरबारी नै डिगबन्दीमा राखेर आ’छु ।’

यसअघि कहिले भीर बेचेको त कहिले कुन बारी बेचेको सुनाउँथिन् । तर यसअघि बारीका छेउ–टुप्पासम्मका कुरा गर्थिन् । यसपालि ? घरबारी नै बन्धक राखेर आइछन् ।

कतिपालि घोराही–काठमाडौँ गरिहोलिन्, ओहोरदोहोरमै कति पैसा सकिन्, के यी आमैसित हिसाब किताब होला ?

आफैँलाई थाहा छैन होला, अब पुग्न बाँकी कति छन्– पुलिसथाना र सेनाको ब्यारेक ।

गाडी चौघेरा पुग्यो । केही यात्रु चढे । काठमाडौँ लैजाने चामल लोड गर्न गाडी अलिबेर रोकियो । चैते गर्मी खपिसक्नु छैन ।

‘हटारू नै नबस्ने बासको के काम हुन्तो बा’, आमैले बारी बेचेर छोरो खोज्नुको कारण खुलाइन् । तर, कसैले पनि बारी बेचेर छोरा खोज्नुहुन्न भनेका छैनन् ।

नुन लिन कोइलाबास जाँदा बास बस्दाका रोल्पाली कहानी सम्झिएँ । ओढार वा शीत ओत्नेखाले ठूला रुखमुनि बास बस्थे रे । बाटोघाटो, होटल बनेपछि हटारू बस्ने ती बास कामै नलाग्ने भए रे । हाट जान छाडेपछि ओढार र रुखका छहारी बेवारिस भए । ती ओढार सम्झिएँ, घरी छोरा बेपत्ता भएपछिको आमैको घर ।

‘मेरो छोरो यै हो । यसको नौ (नाउँ) हो, शेरे । राशको नौ (खास नाउँ, राशिको) ता शेरबहादुर हो ब’, चोलोको गोजीबाट नागरिकताको प्रमाणपत्र झिकिन् । कहीँ, कसैले देखेको होला कि भनेर छोरोको नागरिकता देखाउन थालिन् यात्रुलाई । वरपरका सिटमा बसेका यात्रुलाई सोध्न थालिन्, ‘कहीँ देख्यौ कि हँ बा, यो मेरो लखेलाई ?’

सबका आँखा नागरिकतामा अल्झिए । सिकारु फोटोग्राफरले खिचेजस्तो । श्यामश्वेत भए पनि कालो र सेतो रङले पनि आफ्नो जात खुलेरै जनाउन नसकेको फोटो । अनुमानचाहिँ लाउन सकिन्थ्यो कि १७/१८ को घरमा पाइला टेक्दै गरेको भर्भरको गाउँले अनुहार ।

आमैको कहानी धेरैबार सुनिसकेको छु । आमैका कुरा सुनेर कतिले ‘बूढीको दिमाग बाटो लागिसकेछ’ पनि भने । बसका ड्राइभर, खलासी र कन्डक्टरले त कतिपालि आमैको अपमान नै गरे रे ! ‘भेट्यौ आमा तिम्रो छोरो ?’, गलल हाँस्दै भने रे, ‘ए, मैले अस्ति त यतै पो देखेको थिएँ ।’

… … …

बस गुड्यो ।

‘अरब जान्छु भनो । नाक र कानको फुकालेँ ।’

बसको तालमा आमै पनि गुड्न थालिन् । ‘काट्मुन्नु (काठमाडौँ) मा भिक्सा (भिसा) हान्नलाई लिबाङ गएर पासफोटो कि के पनि बनायो । हाम्रै गौ (गाउँ) पल्नुपट्टि सर्सुबारी मुक्खेको छोरा छ नि, डम्मर माष्टर । हो, उनले पठान्छन् भन्ने सुन्कन फाल्हाल्दै भिक्सा हान्न काटमुन्नु गया हो । अनि ता बाजो, लखेले काटमुन्नु नै पुग्न पाइन गरे भन्ने पनि सुनेँ ।’

अचानक उनका आँखा गाडीका झ्यालबाट बाहिरिए । यात्रुका अनुहार झन् असजिला देखिए आमैका कुराले ।

भालुबाङ काटेर गाडी जङ्गलको बाटो लाग्यो ।

‘मरु वा जिउँदो जे भए’नि कतै भेटिन्छ कि भनी आन्छु ब’, कपालले सरक्क अनुहार पुछ्दै अघिकै टुटेको प्रसङ्ग जोडिन्, ‘बाजो आमाको जल्ने मन ता भै’गो । यी उजारी पार्नेले अर्काका छोराछोरीलाई यस्तो बनाउँदा कैली सम्झेका हुनन् कि हओइनन् हँ, हाम्रा छोराछोरी पनि यस्तै भए भोलि के होला, भनेर ?’

बसका यात्रु आमैका बोली सुन्न कान थापिरहेकै छन् । उनी बोलिरहेकी छन् । ‘मेर्ता अझ बारी थियो र अलिअलि हातखुट्टा लाग्ने भएकाले मन हुकाउनम् कैली काटमुन्नु खोज्न जान्छु, कैली काँ’, गाउँमा आफ्नो छोराजस्तै बेपत्ता परिवारलाई सम्झँदै भनिन्, ‘तर मेरो जति’नि नभएका काँ जाऊन् र ? कठै नि’, बायाँ हात झट्कार्दै भनिन्, ‘के तिनलाई आफ्ना छोराछोरीका माया नलाग्ने हो र ?’

उनका आँखा फेरि झ्यालबाट बाहिरिए । धानखोलाको पुलमा गाडी रोकियो । कारण, पुल घाइते छ । युद्धकालमा माओवादीले यै पुलमा एम्बुस थापेथ्यो रे । साइडमा भत्केको पनि छ ।

‘अलि नेता हुनेका, भनसुन हुनेकाले ता भेटे पनि हुनन् । तर, मेर्ता को छ र ? अब त सम्पत्ति पनि सक्किगो’, गाडी रोकिएको मौका छोपेर गादोमा राखेको सुल्पा बासा कुम्लो कोचेको ठाउँमा राख्दै भनिन्, ‘ज्यान पनि उसकै खोजीमा सिन्का भयो । अब त कतिपालि प आम्ला र ?’

अर्कोपालि फेरि खोज्न आउन पाइएला/नपाइएला, भेउ छैन आमैलाई । यसैपालि भेटिएला भन्ने अनौठो आस झल्कन्छ उनको अनुहारमा ।

छोराको खोजीमा हिँडेकी यी आमैलाई पनि एकपालि सेनाले बसबाटै लगेको रहेछ । उनको छोरालाई पनि बसबाटै लगेको सुनेकी छन् । तर कुन ठाउँको सेनाले, थाहा छैन । अर्जुनखोला, भालुबाङ, चन्द्रौटा, दाउन्ने, थानकोट, कहाँका हुन् कुन्नि ? उनलाई यत्ति थाहा छ– घोराहीबाट काठमाडौँ गुडेको बसमा चढेका थिए उनका छोरा । र, बसबाटै सेनाले लग्यो । त्यसपछि अत्तोपत्तो छैन ।

मान्छे ओर्लंदा र चढ्दा आमैले छोराकै आसमा आँखा बिछ्याउँछिन् बसको ढोकातिर । मानौँ, उनकै छोरो ओर्लंदैछ/चढ्दैछ ।

‘मेरो लखे प हो कि त कोजानी (कुन्नि)’, प्रत्येक यात्रु चढ्दा या ओर्लंदा भन्छिन् ।

धानखोला काटेपछि जङ्गलमा बस रोकियो । यात्रु पिसाब फाल्न ओर्लिए । आमै र उनका वरपरका केही ओर्लिए, केही ओर्लिएनन् । बससँगै थामिएको उनको कहानी बस नगुड्दै सुरु भइहाल्यो ।

‘हो, बा मेरो दाब्रे स्तन दुखो’, यसपालि छोरो भेटिने आस व्यक्त गरिन्, ‘बेसन्चो भयो भने दुख्छ भन्छन् । मेरो शेरेलई बेसन्चो प भयो कि !’

हेरेँ– आमैका अनुहारमा नजानिँदो गरी आशाका रेखा तल–माथि गरिरहेछन् । आत्मविश्वास छ– छोरो भेटिनेछ, एकबार । उनले ढुक्कसाथ भनिन्, ‘म ता आमा हुँ । उसले खाए/नखाएको, था’ पान्छु नि । सुइना (सपना) भरि ऊ मसितै हुन्छ ।’

गोरुसिङ्गेमा ‘इन्ट्री’ गर्न खलासी ओर्लनुअघि आमैले फेरि भनिन्, ‘बा हेर्देऊ तो । शेरे प छ कि त्याँ ?’

कुनै जवाफ नफर्काई खलासी ओर्लिए । इन्ट्री गरेर गाडीमा पसे । ढोकामा उभिए । छोरो नै आएजसरी आँखा बिछ्याइरहेकी आमै जुरुक्कै उठेर हेरिन् । तर, खलासी मात्र उभिएका थिए, बसको ढोकामा । जसरी खलासी ओर्लंदाखेरि आँखा बिछ्याएकी थिइन्, उनका आँखा उसरी नै हेरिरहेछन् । मानौँ, गाडीमा पासपोर्ट बोकेर उनकै छोरो भित्र पस्दैछन् ।

‘याँ छ भने’नि ता यो आमाको मन…’, खै के सम्झेर कुन्नि अघिल्तिर छेलिएर उभिँदै बोलिन्, ‘मेरो छोरो त आउला नि कुनै दिन । ऊ न माओवादी हो न पुलिस । न सेना न सुराकी ।’

मानवअधिकार सम्बन्धी काम गर्ने एनजिओ/आइएनजिओ डलर फल्नेतिर मात्र आँखा लगाउँछन् । डलर त कि माओवादीका ठूला नेतामा फल्थ्यो कि सेना/पुलिसमा ।

.. … …

‘मुरी गहुँ पिस्दा घुन पनि पिसिन्छ भन्छन्’, के सम्झेर कुन्नि छोरोले सिमलामा खिचाएको फोटो झिकेर आफूसँगै बसेका यात्रुलाई हात पारिन्, ‘काँ होला ? यत्ति निजो खबर पाए पनि सास जाने बेला निको गरी जाँनो भन्छु ब ।’

अहिले नै बोल्लाजस्तो छोरोको रङ्गीन फोटो । भारतको कनौरे टोपी, कालापारे पाइजामा र रबरको जुत्ता । सिमलाको स्टुडियोमा खिचाएको रे । कतै देख्यौ कि भनेर यात्रुलाई सोध्दै जतनले फोटो गादामा राखिन् ।

बर्दघाटमा गाडी रोकियो । खलासी फेरि इन्ट्री गर्न ओर्लिए । उनले खलासीलाई छोरो भेटिन्छ कि भनेर सोध्न आग्रह गरिन् । गाडी गुड्दैगुड्दै चितवनस्थित जङ्गलको ब्यारेकनिर आइपुग्यो र रोकियो । दुईचार सेना चढे । ती सिभिल ड्रेसमा थिए । आमैले आफ्नै हराएको छोरो नै पसेजसरी हेरिन् । तर उनको छोरो थिएनन् । गाडी गुड्यो चितवनको जङ्गलमा ।

‘साढा जुझ्दा पाठा मरे बा’, गाडीसँगै दौडिरहेका सालघारी हेर्दै आमै बोलिन्, ‘दुःखी, गरिपगुर्बाको छोरो पनि परो ।’

‘ऊलई ता रास्नीति/सास्नीति क्यै’नि था’थिन । आफ्नो मानो खाने आफ्नो बाटो हेर्ने मान्छ हो’, भन्दै गइन्, ‘आफ्नै लयमा थियो । कालापार जाँदाजाँदै अरबे हावाले छोएछ । न उसले राजाको बिराएको थियो न माओवादीको ।’

जङ्गलको सिधा बाटोमा गाडी तीव्र गतिमा गुडिरहेको थियो । आमै पनि त्यही गतिमा बोलिरहिन् ।

‘लडाइँमा सर्वसाधारण पनि मर्छन् होला । तर, सरकार किन बोल्दैन ?’, आमैलाई सम्झाउने गरी यात्रु एकापसमा प्रश्न गर्छन्, ‘जसले हिजो युद्ध हाँके, उनै प्रचण्ड प्रधानमन्त्री बनिसके । तर पनि किन अझै बेपत्तै छन् शेरबहादुरहरु ?’

‘मेर् छोरा ता राजाको पालामा गिर्जा (गिरिजा) हुँनाखेरि हो बा । एकपाला गिर्जा र पर्चन्न (प्रचण्ड) को अग्गेड (अगाडि) गएर सोध्ने धोको छ– काँ छ मेर् लखे भनेर ।’

थानकोट पुगेर गाडीले काठमाडौँ उपत्यका चियायो । आमैका कुरा सकिएको थिएन । कसैले नसुने पनि आफैँलाई सुनाइरहिन्, आफ्नै कथा ।

‘म बड्डी (बूढी) जस्तै कति हम्ला यो मान्नाममा (संसारमा)’, आफैँलाई सोधेर हलाक् परिन्, ‘अब त आँखाबाट आँसु बग्न पनि छाडे बा । रुँदारुँदा आँसु पनि सक्किगिछ ! एकैचोटि बगेको भए मेरो आँसुले सागर नै पुग्थ्यो होला भन्छु म ता ।’

‘भैरवनाथ गण भन्नेमा छ गरे भन्ने पनि सुनेँ । अस्ति पालि पनि गएँ । फेरि जाँदैछु’, बालाजु बसपार्कमा गाडीबाट ओर्लनेबित्तिकै भनिन्, ‘नमर्दासम्म जान्छु । भेट्छु कि बा !’

… …. …

‘आमै तपाईं !’

एक सातापछि काठमाडौँमा आफ्नो काम सकाएर घोराही फर्कन गाडी चढ्दा आमै बसको ढोकामा एक्लै उभिइरहेकी देखेरे सोधेँ । उसैगरी आँखा बिछ्याएर ठिङ्ग उभिएकी । थाहा छैन, यी आमै कहिलेसम्म काठमाडौँ आउने हुन् ? कहिलेसम्म रित्तो फर्कने हुन् ? कहिलेसम्म जारी रहने हो खोजी यात्रा ?

गाडी गुड्यो । आमैका आँखाले सिसाबाट आँखा बाहिर फालेर छोरालाई खोजिरहे । चीसा, प्यासी, छोरालाई देख्न आतुर आँखा ।

‘मेरो कलिजाको टुक्रा नभेट्दासम्मन् आइरहन्छु । एकदिन त कसो नभेट्टेला’, गाडीसँगै आमाको बोली पनि गुडिरहेछ ।

प्रतिक्रिया दिनुहोस्