नारीप्रधान उपन्यास आशा

       टीकाराम उदासी | 155 Views |   Published Date : 5th March 2018 |

दाङको कलासाहित्यका क्षेत्रमा डिल्ली बस्नेत सङ्गीत (२०३३) एउटा स्थापित र उर्जाशील प्रतिभा मानिन्छन् । बुबा शिवबहादुर बस्नेत र आमा डिलाकुमारी बस्नेतको सन्तानका रुपमा नारायणपुर, जलौरामा जन्मिएका बस्नेतले औपचारिक रुपमा त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन् भने विधागत रुपमा उनी सञ्चार, रङ्गकर्म र साहित्यका विविध विधाहरुमा समेत सक्रिय रहेका देखिन्छन् ।

उनका पुस्तकाकार कृतिहरुमा ज्युँदो लास (नाटकसङ्ग्रह), प्रतिबिम्ब (लेखसङ्ग्रह), बज्रप्रहार (उपन्यास), अन्तर्दृष्टि (विविध)जस्ता कृतिहरु यसअघि नै प्रकाशित भएर पाठकसमक्ष आइसकेका छन् भने यो समीक्ष्य कृति आशा उपन्यास उनको पाँचौ पुस्तकाकार कृतिका रुपमा सार्वजनिक भएको छ ।

टीकाराम उदासी

यसका अतिरिक्त उनका करिब सात दर्जन नाटकहरु रेडियोमार्फन प्रसारित भइसकेका छन् भने उनले आधा दर्जनजति टेलिश्रृङ्खलाहरु पनि लेखिसकेका छन् । समयक्रममा विभिन्न रेडियो र पत्रपत्रिकाहरुसँग पनि सम्बद्ध रहँदै आएका बस्नेतले राप्ती साहित्य परिषद्ले प्रदान गर्ने नन्दहरि साहित्य पुरस्कारलगायत विभिन्न पुरस्कारहरु पनि प्राप्त गरेका छन् । यसरी यी विभिन्न चिनारीका हरफहरुका आधारमा उनी यस क्षेत्रको सिर्जनामा एक सक्रिय हस्ताक्षर हुन् भन्ने कुरामा कसैलाई दुविधा हुँदैन ।

आफ्नो सार्वजनिक उपन्यास कृतिहरुको लहरमा डिल्ली वस्नेत सङ्गीतको आशा दोस्रो उपन्यास हो । यसअघि उनको बज्र पहार प्रकाशित भएर नेपाली उपन्यासका पाठकहरुमाझ आइसकेको देखिन्छ । प्रस्तुत आशा उपन्यास उनको २०७४ साल असोजमा प्रकाशित भएको हो । यो उपन्यास शिखा बुुक्स , काठमाण्डौँले प्रकाशनमा ल्याइदिएको देखिन्छ ।

लेखकीयसहित यो उपन्यास संरचनाका दृष्टिले जम्मा एक सय चवालीस पृष्ठमा विस्तारित छ भने यसभित्र विभिन्न १४ खण्डहरु रहेका छन् । साथै यस उपन्यासको एउटा महत्वपूर्ण भागकै रुपमा उपन्यासको उपसंहार पनि समाविष्ट छ । यसैले शैली संरचनाका दृष्टिले पनि यो उपन्यास प्रयोगशील धरातलमा उभिएको छ ।

आशा उपन्यासको परिवेश क्षेत्रगत रुपमा रोल्पाको पश्चिम दक्षिणी भेगमा पर्ने डुब्रिङबेसी हुँदै दाङ भएर नेपालगञ्जको धम्बोजी चोक अनि कुरैनापुर गाँउ हुँदै काठमाण्डौँसम्म फैलिन पुगेको देखिन्छ भने कालगत रुपमा यो उपन्यास सशस्त्र युद्ध र मधेश आन्दोलन चलिरहेको समयकै सेरोफेरोमा फन्को मारिरहेको उपन्यासमा उल्लेखित विविध घटनाहरुले पुष्टि गरेका छन् ।

लैङ्गीक दृष्टिले यो नारीप्रधान औपन्यासिक कृतिका रुपमा देखिएको छ भने वर्गीय आधारमा यो उपन्यासले समाजका निम्नवर्गीय मानिसहरुको कथाव्यथा, विवशता र सपनाहरुलाई प्राथमिकता दिएको छ । यसरी यो उपन्यास समाजका भुइँमान्छेहरुको जीवन भोगाइलाई प्रतिनिधित्व गर्ने उपन्यास हो ।

वैचारिक दृष्टिले यो उपन्यास प्रगतिशील चेतना र सुधारवादी भावनाको आलोकमा सिर्जना गरिएको छ । यसले नेपाली समाजमा विद्यमान अन्धविश्वास, पुरुषसत्ताले नारीहरुमाथि गरिरहेको निर्मम विभेद र अन्याय अनि निम्नवर्गका मानिसहरुमा रहेको परिवर्तनको सपना आदि धेरै सन्दर्भहरुलाई एकैपल्ट बोकेर आएको देखिन्छ ।

आधुनिक साहित्यमा अति लोकप्रिय विधाका रुपमा स्थापित उपन्यासका शीर्षकहरु अनेक प्रकारले राखिएका हुन्छन्, उपन्यासको नायक वा नायिकाको नामबाट, उपन्यासमा आउने घटना वा कथानकका आधारमा अनि उपन्यासले दिने सन्देशका आधारमा आदिआदि ।

प्रस्तुत उपन्यासको शीर्षक उपन्यासमा प्रयुक्त पात्रको आधारमा राखिएको छ । यसमा आएकी आशा यस उपन्यासको प्रमुख पात्र वा चरित्र हो । ऊ उपन्यासको मुखपात्र वा कथावाचक पनि हो । केही स्थानमा उपन्यासकारको उपस्थितिबाहेक सारा उपन्यासभरि आशाकै प्रभाव र विस्तार देखिन्छ । ऊ उपन्यासको आरम्भदेखि अन्त्यसम्मै उपस्थित भएको छ भने अन्य पात्रहरु बीचबीचमा आउने र हराउने गरेका छन् । यसैले ऊ उपन्यासको केन्द्रीय भूमिकामा रहेको चरित्र हो ।

ऊबाहेक उपन्यासमा उसकी आमा सन्ध्या, बुबा, लल्लुराम, मनकली, जितेन्द्र, भोला र तिवारी सरहरु, कमलनारायण, हरिनारायण, आशाका साथीहरु सन्देश, तारा, एक्लेस आदि धेरै पात्रहरु प्रयोग गरिएका छन् । त्यति भए पनि आशा नै उपन्यासको केन्द्र भागमा रहेको छ भने उसको चरित्रलाई आमा सन्ध्याले भोगेको पारिवारिक, सामाजिक र साँस्कृतिक प्रताडना, धर्ममामाको भूमिकामा देखिएको लल्लुरामको मानवतावादी व्यवहार र आत्मीय सहयोग, बुबाको पुरुषवादी हैकम र सौताको आगमनपछि उसकी आमाको वहिर्गमनपीडा, विद्यालयका शिक्षकहरुको सद्भाव र सहयोग आदि सन्दर्भहरुलाई यथास्थान एवं यथोचित अनावरण गरिदिएका छन् ।

उपन्यासको कथाअनुसार आशाको बुबा गरिबै भए पनि अति जड्याहा स्वभावको छ र पुरुषवादी हैकममा विश्वास गर्ने पात्रका रुपमा देखिएको छ । छोरा नजन्माएकोमा आशाको आमाप्रति बुबाको ठूलो गुनासो मात्रै छैन, रातदिनको उत्पीडन पनि उस्तै छ ।

यसै क्रममा लोग्नेले सौता हालिदिएपछि आमाछोरी घरबाट निस्किएर अनिश्चित भविष्यको यात्रामा निस्किन बाध्य भएका छन् । त्यसै मेसोमा नेपालगन्ज पुगेका आशा र उसकी आमालाई अटोरिक्सा चालकको भूमिकामा देखापरेको लल्लुरामले आफ्नो घरमा आश्रय दिएर राखेको छ । उनीहरुप्रति लल्लुरामको मानवीय व्यवहार र सहयोग उच्च प्रकृतिको छ । तर अपरिचित नारीहरुलाई आफ्नो घरमा आश्रय दिएकोमा भने उसले केही मानिसहरुबाट धेरै लाञ्छनाहरु पनि सहेको देखिन्छ । अन्ततः आशाकी आमाले लल्लुरामको घर छोड्न बाध्य भएकी छे भने लल्लुरामले आशालाई आफ्नै भाञ्जीसरह मायाममता दिएर हुर्काएको छ, पढाएको छ । पछि पढ्न काठमाण्डौँसम्म पनि पठाएको छ ।

देशमा सशस्त्र युद्ध र पछि मधेश आन्दोलनका आँधीमय दिनहरु चलिरहेका छन् । त्यसै क्रममा मधेश आन्दोलनमा लागेकै कारण एकदिन लल्लुराम सहिद बन्छ ।

समयक्रममा बिरामी र बेसहारा समेत बनेकी आमा र वैरागिएर काठमाण्डौँ पुगेको बुबा दुबैसँग आशाको भेट हुन्छ । आमालाई आशा आफैले बेसहारा अवस्थामा फेला पारेको हो भने बुबा साथी सन्देशमार्फत फेला परेका हुन् । आमालाई आशाले आफूसँग कोठामा राखेर औषधि गरिरहेको छ भने बुबा होटेलमै बसेका छन्, उसले कोठामा लिन सकेको छैन । अन्त्यमा एक कार्यक्रमका बीच उनीहरुबाटै आशा उपन्यासलाई विमोचन गराइएको छ । यसरी आशाकै जीवन भोगाइ र केन्द्रीय भूमिकामा उपन्यास निर्माण भएको देखिन्छ ।

यसले नेपाली समाजका विभिन्न अँध्यारा र केही उज्याला आयामहरुलाई एकैपल्ट प्रस्तुत गर्ने प्रयास गरेको भेटिन्छ । उपन्यासमा प्रयोग गरिएका अन्य नारी पात्रहरुको स्थिति पनि दयनीय नै रहेको देखिन्छ । जस्तो कि आशाकी साथी तारा, जसको विवाह नेपालगन्जकै एक मधिसे युवासँग भएको छ तर उसको पारिवारिक जीवन सुखद छैन । सानै उमेरमा विवाह गर्न बाध्य पारिएकी ताराले दाइजो नल्याएको आरोपमा अनेक पीडाहरु सहनुपर्छ, सानै उमेरमा अनिच्छापूर्वक छोरीलाई जन्म दिनुपर्छ साथै सौता पनि हालिमाग्नुपर्छ । आशाकै छिमेकी गाँउ सागरपुरमा विवाह गरी आएकी आफ्नै बालसखा ताराको पीडादायी कुराहरु सुनेर आशा निकै गम्भीर बन्न पुगेको छ ।

उपन्यास पढिसकेपछि अवश्य केही निष्कर्षहरु देखिन आउँछन् । सर्वप्रथम आशा उपन्यास नारीप्रधान उपन्यास हो । यसमा अधिकांश नारी पात्रहरु छन् र उपन्यासमा ती नारी पात्रहरुले भोगेको पारिवारिक, सामाजिक र साँस्कृतिक उत्पीडनलाई चित्रण गरिएको छ । साथै उपन्यासकारले पुरुषप्रधान नेपाली समाजमा नारीमाथि भइरहेका विविध ज्यादतीहरुलाई प्राथमिकतासाथ उद्घाटन गरेका छन् । साथै आशाका माध्यमबाट नारीहरुको केही आशा, स्वतन्त्रता र मुक्तिका लागि थोरै भए पनि आवाज बुलन्द गरिएको छ ।

दोस्रो, पहाड र तराईका मानिसहरुलाई भावनात्मक रुपमा जोड्नु पर्ने सन्देश दिइएको छ । यसभित्र ताराको मधेसी युवासँग विवाह हुनु, यद्यपि उनीहरुको पारिवारिक सम्वन्ध राम्रो भएन अनि आशा र उसकी आमालाई मधिसे मूलको मानवतावादी पात्र लल्लुरामले दिएको आश्रय यसका गतिला उदाहरण मान्न सकिन्छ ।

तेस्रो, यो उपन्यासले नेपाली समाजको समसामयिक राजनीतिक परिदृश्यलाई पनि यथास्थानमा चित्रण गरेको देखिन्छ । मधेश आन्दोलनको सन्दर्भ र लल्लुरामको सहादत यसैका परिणतिहरु हुन् ।

चौथो, यो उपन्यासले नेपाली समाजमा विद्यमान विभिन्न साँस्कृतिक प्रथाहरु मनाउने प्रचलन र तिनको सामाजिक प्रभावहरुबारे पनि चासो राखेको प्रष्ट देखिन्छ ।

पाँचौ, यो उपन्यास जीवनवादी उपन्यास हो । यसले समाजका पीडा र अँध्यारा आयामहरुलाई त अनावरण अवश्य गरेको छ तर निराशा बाँडेको छैन । उपन्यासकी मुख्य पात्र आशाको शैक्षिक प्रगति र उपन्यासमा खेलेको उसको भूमिकाबाट यसको पुष्टि हुन्छ ।

यसैले यो उपन्यास परिवर्तनबोधी र आशावादी जीवनदृष्टिलाई सम्प्रेषण गर्न सफल कृति हो । छैठो, उपन्यासले समाजमा रहेका यथार्थ घटनाहरुलाई प्रयोगशील शिल्पसहित नवीन आकारमा औपन्याशिकरण गर्न सफल देखिएको छ । यसरी निष्कर्षमा डिल्ली बस्नेत सङ्गीतको प्रस्तुत आशा उपन्यास सबै पाठकका लागि उत्तिकै पठनीय र विचारणीय सामग्रीका रुपमा आएको मान्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्