तेस्रो आयाम र लीला लेखनका अभियन्ता ईन्द्रबहादुर राईको निधन

       | 302 Views |   Published Date : 7th March 2018 |

दार्जिलिङ । नेपाली साहित्यकार ईन्द्रबहादुर राईको मंगलबार निधन भएको छ । उनको दार्जिलिङ लोचननगरस्थित उनकै निवासमा निधन भएको छ ।

दार्जिलिङ निवासी नेपाली मूलका भारतीय नेपाली साहित्यकार राईले नेपाली साहित्य र भाषाको श्रीवृद्धिमा दिएको योगदान अमूल्य छ। नेपाली भाषा साहित्यको क्षेत्रमा उनले दिएको योगदानका कारण उनी विभिन्न पुरस्कार तथा सम्मानबाट विभूषित भएका छन् ।

वि.सं. १९८४ माघ १७ गते दार्जिलिङको खर्साङमा बाबु रणवीर राई र आमा हस्तमाया देवानको सुपुत्रका रूपमा जन्मिएका राई निम्न आय भएको परिवारमा जन्मेका भए पनि पढाइलाई भने उनले महत्त्व दिइराखे। अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर पूरा गरेपछि प्राध्यापनमा लागेका राईको पहिलो पुस्तक ‘विपना कतिपय’ हो। यो सन् १९६१ मा प्रकाशन भएको हो ।

प्रेमचन्द्र, रवीन्द्रनाथ टैगोरबाट प्रभावित राई समरसेट ममका पनि राम्रा पाठक हुन्। उनको पहिलो कथा ‘रातभरि हुरी चल्यो’लाई मानिन्छ। नेपाली साहित्यमा ईश्वर बल्लभ र वैरागी काइँलासँग मिलेर दार्जिलिङ सरकारी महाविद्यालय पढ्दा सन् १९६३ मा नेपाली साहित्यमा तेस्रो आयाम आन्दोलन सुरु गरेका राईले पछि लीलालेखनमा ध्यान केन्द्रित गरे। लीलालेखनको प्रथम आधारकृतिका रूपमा उनको ‘कठपुतलीको मन’ कथासंग्रहलाई लिइन्छ ।

यस कृतिलाई नेपाली साहित्यमा उत्तरआधुनिकताको प्रारम्भ विन्दु मानिएको छ। उनले ‘नेपाली उपन्यासका आधारहरू’ समालोचना कृतिका लागि सन् १९७५ को ‘साहित्य अकादमी पुरस्कार’ प्राप्त गरे।

राईका विपना कतिपय (कथासंग्रह, सन् १९६१), आज रमिता छ (उपन्यास, सन् १९६४), कठपुतलीको मन (निबन्धसंग्रह, सन् १९८९), कथास्था (कथासंग्रह, सन् १९७२), सेतो ख्याकको बनोट र बुनोट (समालोचना, वि.सं. २०६३), टिपेका टिप्पणीहरू (समालोचनासंग्रह, सन् १९६६), नेपाली उपन्यासका आधारहरू (समालोचनासंग्रह, सन् १९७४), सन्दर्भमा ईश्वरबल्लभका कविता (समालोचना, सन् १९७६), साहित्यको अपहरण : मार्क्सवादी प्रतिवद्धता (समालोचना, सन् १९८३), दार्जिलिङमा नेपाली नाटकको अर्धशताब्दी (सन् १९८४), पहाड र खोला (निबन्धसंग्रह, सन् १९९३), अर्थहरूको पछिल्तिर (समालोचना, सन् १९९४), पृष्ठ पृष्ठ (समालोचना, सन् १९९५), लेखहरू र झ्याल (निबन्धसंग्रह, सन् २०००), लीला प्रस्तावना (समालोचना, वि.सं. २०५९) कृति प्रकाशित छन्।

संक्षिप्त जीवनी

इन्द्रबहादुरको जन्म वि.सं. १९८४ साल माघ १७ गते दार्जिलिङ, खर्साङ, बालासन खोलाको बगर, भारतमा बाबु रणवीर राई र आमा हस्तमाया देवानको सुपुत्रका रूपमा भएको हो। राई आफ्नो जन्मका सम्बन्धमा भन्छन्, “मेरा बाबुआमा उक्त खोलाको पुल निर्माणको काममा खटिरहेका बेला त्यहीँ बगरमा जन्मिएको अरे”।

निम्न आय भएको परिवारमा जन्मे पनि उनको शिक्षादीक्षामा भने कुनै कमी हुन पाएन। अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेपछि प्राध्यापनमा लागे। पहिलो सङ्ग्रहका रूपमा विपना कतिपय सन् १९६१ मा आएको हो। उपन्यास चाहिँ सन् १९५८ मै लेखिसिध्याएको भएता पनि तर प्रकाशित हुँदा भने सन् १९६४ पुग्यो। यिनै कृतिले राईलाई चिनाए।

उनी आफूलाई प्रभाव पारेका लेखक र कृतिका सम्बन्धमा भन्छन्, ” मैले त्यसबेला पढेको कितावमा सन् १८६५ मा प्रकाशित माथ्यु आर्नोल्डको ‘एसेज इन क्रिटिसिज्म’ थियो र त्यसले धेरै प्रभाव पार्‍यो। त्यहाँ गेटेको बारेमा लेख्दा-जीवन र जगत् भन्ने शब्दहरू लेखिएका पाएँ र यसैलाई अहिलेसम्म लेख्ने कोसिसमा छु। अध्ययन गर्दैजाँदा आफ्नो बाटो आफैँ बन्दै जाँदोरहेछ। जीवन र जगतलाई पढेर लेख्दैगर्दा प्रेमचन्द्र, रवीन्द्रनाथहरू पनि पढिए। त्यसपछि अर्को सजिलो पुस्तक भेटेँ-समरसेट ममको। तीन ठेलीको उक्त कृतिमा एक ठेलीमा सय कथा थिए। त्यही ठेलीको प्रभावबाट विपना कतिपय लेखेँ बीस दिनमा।”

लीलालेखनको प्रथम आधारकृतिका रूपमा उहाँको ‘कठपुतलीको मन’ कथासङ्ग्रहलाई लिइन्छ। अहिलेका उत्तरआधुनिकतावादीहरूले पनि यसैलाई नै उत्तरआधुनिकताको प्रारम्भ विन्दु मानेका छन् ।

‘नेपाली उपन्यासका आधारहरू’ समालोचना कृतिका लागि सन् १९७५ को ‘साहित्य अकादमी पुरस्कार’ नै प्राप्त गरे। कथा, उपन्यास, समालोचना, निबन्ध र सम्पादनका बेजोड शिल्पकार राई ८४ वर्ष (वि सं २०६८) को उमेरमा पनि निरन्तर साहित्य साधनामै छन् । आफ्नो लेखनका सम्बन्धमा उहाँ भन्नुहुन्छ- लेखुँला वा लेख्नुपर्छ जस्तो त अनेकथोक लाग्दछन् । उपन्यास एउटा मात्र लेखियो, अझ एउटासम्म लेख्नपर्नेझैँ लाग्छ। समालोचना लेखनमा सबैको सहमति पाउनसक्ने नयाँ नेपाली समालोचना पद्धति तयार गर्नुपर्ने पनि लाग्छ। एउटा नाटक पनि लेख्न मन छ। धेरै बाटा हिँड्न चाहेर पनि हिँड्नुपर्छ एउटै बाटो र परिस्थितिले जे लेखाउँछ, त्यही लेख्ने काम हुँदोरहेछ ।

उनका सबै कृतिहरू पाठकले अब्बल ठहर्‍याएका छन्। अहिले भर्खरै पनि उनका छानिएका प्रतिनिधि कथाहरूको सङ्ग्रह निस्किएको छ नेपालबाटै। लेखकलाई त झन् आफ्ना सन्तान सबै बराबरी नै लाग्छन् तर पनि रोज्नैपर्दा लेखकले एउटालाई रोज्छ नै। उनी पनि पाठकीय मूल्याङ्कनलाई पछ्याउँदै भन्छन्, प्रिय कृति यही नै एक हो भन्न मलाई गाह्रो लाग्छ। बरू पाठकले कुन कृतिलाई धेरै रुचाएको देखियो, त्यताबाट उत्तर गर्न सजिलो होला ।

उता भारततर्फकाले ‘दार्जिलिङमा नेपाली नाटकको अर्धशताब्दी’ कृतिलाई धेरै रुचाएको पाइयो। यता नेपालतर्फ आउँदा क्याम्पसका प्राध्यापकहरूसँग कुराकानी हुँदा समालोचनाका पुस्तक ज्यादा रुचाएको पाइयो।

प्रतिक्रिया दिनुहोस्