कुरुक्षेत्रः द्वन्दका कथा

       शरद देवकोटा | 182 Views |   Published Date : 7th March 2018 |

पञ्चायती व्यवस्थाको चकचकी भएको समयमा २०३४ देखि २०४६ सालसम्म पटक–पटक गरी सात वर्ष जेल बस्नुप¥यो । छ महिनाजति भूमिगत हुनुप¥यो । कुनै पद र पैसा पाइएला भनेर होइन, प्रजातन्त्रको पुनःस्थापना निम्ति आन्दोलन गर्दा तत्कालीन सत्ताले जेल सजाय दिएको थियो । २०४६ सालको राजनीतिक परिवर्तनपछि पञ्चायतकालमा जेल बसेका र भूमिगत भएकाहरुलाई राजनीतिक पीडितको नाउँबाट राहत रकम वितरण गर्ने सूचना प्रकाशित भयो । साथी भाइले धेरै कर गरेपछि मैले पनि जेल बसेको प्रमाण पेश गरें । हिरासतमा बसेको प्रमाण दिने निकाय कोही भेटिएन ।

भूमिगत बसेको सिफारिस लिन नेताहरुकहाँ धाउन मनले मानेन । सात वर्ष जेल बसेकालाई पचास हजार दिने नीति थियो । भूमिगत बसेको सिफारिस लगेको भए सात वर्षभन्दा बढी हुने र पचास हजार पाइने थियो । मैले त्यसो गरिनँ । सात वर्ष नपुगेको हुँदा तीस हजार प्राप्त भयो । त्यो तीस हजार लिन काठमाडौं जाँदा आउँदा पटक–पटक गरी पन्ध्र पटक भन्दा बढी भएको मैले अनुमान गरेको छु । जाँदा आउँदा लागेको खर्च कटाएर बचेको रकमबाट साढे नौ हजारमा दुहुनो भैंसी किनें । यो कुरा चौध वर्षअघिको हो त्यस समयदेखि थालिएको भैंसी पाल्ने कामलाई अहिले पनि मैले निरन्तरता दिदै आएको छु ।

जिल्ला पशुसेवा कार्यालयले घाँसको बीऊ वितरण गर्छ भन्ने थाहा पाए पनि त्यहाँ गएर बीऊ ल्याउने अनुकूल परेको थिएन । यसपालि त जानैप¥यो भन्ने सोंच बनाए पनि त्यहाँ पुग्दा सामान्य चिनापर्ची नभई मलाई घाँसको बीऊ देऊ भन्ने कसरी ? त्यतिबेला जाउँ कि नजाउँ भनिरहेको समयमा झट्ट साेंचे मित्र नारायण विवशलाई साथै लिएर जान्छु । चिनजानको मेलोमेसो उहाँले मिलाइदिएपछि मलाई सजिलो हुनेछ । भयो पनि त्यस्तै ।

विवशको बाइकमा बसेर हामी कार्यालय प्रमुखको कार्यकक्षमा प्रवेश ग¥यौं । परिचय आदानप्रदान ग¥यौं । मेरो नाउँ सुन्नेबित्तिकै कार्यालय प्रमुख विष्णुप्रसाद धिताल निकै उत्साहित हुनुभयो । ए तपाइँ शरद देवकोटाको नाउँमा डा. अमर शाहले आफ्नो कथासंग्रह कुरुक्षेत्र पठाइदिनु भएको छ । उहाँको बोलीले म निकै आश्चर्यमा परें । आजभन्दा एक्काइस बाइस वर्षअघि त्यही कार्यालयमा प्रमुख भएर आउनुभएका अमर शाहसँग चिनजान भएको थियो । आज उही अमर शाहले मलाई सम्झेर आफ्नो कृति पठाइदिएकोमा मनमनै धन्यवाद दिएर केही समयको कुराकानीपछि धितालजीसँग बिदा हुँदै एक किलो जति घाँसको बीऊ पोलिथिन झोलामा राखेर घर फर्कियौं ।

अर्काे दिन बिहान कुरुक्षेत्र कथासंग्रह पढ्न थालें । कथा पढ्दै जाँदा एउटा पाठ सिद्धिएपछि बिसाउने क्रममा कथाकार अमर शाहसँग बिताएका समयहरुको सम्झना हुँदै रह्यो । तीसको दशकदेखि कथा लेखनको थालनी गर्नुभएका शाह चालिसको दशकसम्म आइपुग्दा स्थापित कथाकारको रुपमा शाहले आफ्नो चिनारी बनाइसक्नुभएको हो ।

निम्न मध्यम परिवार र जागिरे जीवनको सफल चित्रण गर्ने उहाँका कथाका पात्रहरु हामी सबैले देखे चिनेका जस्ता लाग्छन् । पाठक र कथामा पात्रहरुबीच हुने सम्वादले कथालाई रसमय र पठनीय बनाउन सफल हुन्छ । कथाकार अमर शाह यो सीप र कलामा दक्ष हुनुहुन्छ । आञ्चलिकता, सरलता र समसाययिकतालाई आफ्ना कथाहरुमा निकै सुन्दर एवं आकर्षक ढंगले उन्नु कथाकार अमर शाहको विशेषता हो । कुरुक्षेत्र कथासंग्रहमा पनि त्यो विशेषता निकै चहकिलो बनेर पाठकलाई आफूतिर आकर्षित गर्न र पाठकको मन मस्तिस्कलाई झंकृत पार्न सफल भएको छ ।

कुरुक्षेत्र कथासंग्रहमा जम्माजम्मी २२ वटा कथाहरु समेटिएका छन् । बढीमा पाँच पेज लामा कथाहरुमध्ये कुनै–कुनै दुई पेजमै टुंगिएका छन् । पढ्दा पट्यार नलाग्ने, छोटा र कथाको बीट मार्ने कथाकारको नयाँ शिल्प सौन्दर्य निकै मनमोहक छ । जीवनका पक्षमा जीवनका भोगाइ समेटेर जीवनका अमूल्य समयहरु खर्चेर कथा रचना गर्नुले कथाकारको लेखनमा उचाइ थपिएको मैले अनुभूति गरेको छु । कथाका पात्रहरुबीच हुने संवाद शैलीले कथाहरुलाई थप रोचक बनाएक छन् भने विकृति विंसगतिमाथिको प्रहारले कथा लेखनको औचित्यलाई प्रष्टयाएका छन् ।

कथाहरु पढ्दै जाँदा कुनै–कुनै कथामा सन्दर्भ उस्तै–उस्तै लागे पनि प्रतिनिधि पात्रहरुमा भिन्नता भेटिएपछि पाठकलाई लाग्न थालेको खल्लोपन त्यसै हटेर जान्छ । आफूलाई मन लागेको रचना/कृति पढ्दा एकातिर यति पढी नसकी छाड्दैन भन्ने एक मनले सोच्छ भने अर्काे मनले पढाइ नटुंगिएर अझ लम्बिए हुन्थ्यो भन्ने लाग्छ । मुखमा मिश्रीको डल्लो राखेपछि हुने अनुभूति जस्तै अनुभूति मैले कुरुक्षेत्र कथासंग्रहमा पनि प्राप्त गरें । थोरै शब्दमा धेरै कुरा व्यक्त गर्न सक्नुलाई कथाकार शाहको लेखनशैलीको धक नमानी प्रशंसा गर्न सकिन्छ ।

कुरुक्षेत्रका कथामा कथाकारको कुनै आग्रह पूर्वाग्रह देखिदैन । कथामा कथाकार हैन पात्रहरु मात्र बोलिरहेका, हाँसिरहेका र कतै–कतै दुःखमा पिरोलिएका भेटिन्छन् । निराशा, कुण्ठा र पलायनका विपक्षमा उभिएका कथाहरु घटनाप्रधानभन्दा विचारप्रधान भएर पनि घटना र विचारको मिश्रण मीठो ढंगले भएको छ । बेलाबखत विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका केही र थप नयाँ कथाहरु समावेश गरिएको कुरुक्षेत्र कथासंग्रहमा नवीन शैली, छरिता वाक्य संरचना र सरल प्रस्तुतिमा गहन भाव समेटिएका छन् ।

संग्रहमा कुरुक्षेत्र, चङ्गा, क्रमशः, कृपा, सिमलको फूल, युक्ति, नाटक, मूल्य, निर्णय, प्रतिगामी, पराजय, राप, रुपान्तरण, सुन्धारादेखि सुन्धारासम्म, खण्डहर, चक, आदि युग, आक्रोश, जालो, अन्तराल, आतंक र माछा कथा समावेश गरिएको छ । नवीन शिल्प सौन्दर्य, भाषिक परिमार्जन र अभिव्यक्ति कला सिक्न चाहने वर्तमान पुस्तक पाठकहरुले समेत यो कथासंग्रह पढ्नैपर्छ भन्ने मेरो बुझाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्