कसरी भएको थियो जंगलबाट रेडियो प्रशारण ?

       | 2047 Views |   Published Date : 7th April 2018 |

२०६० माघ महिनाको कुरा हो । माघको अन्तिम साता म तत्कालिन रेडियो जनगणतन्त्र नेपाल विशेष क्षेत्रीय प्रसारण केन्द्र ९५ थोप्लो १ मेगाहर्जबाट आवाज दिन शुरु गरेको थिएँ । ६ वर्षको छँदा ढाकाडाम-८ को रानागोठाले भन्ने ठाउँमा हिउँ कुल्चेको थिएँ । तर, २०६० सालमा भूमिगतकालीन एफ.एम.मा प्रवेश गरेपछि २ फिट अग्लो हिउँको थुप्रोमा बसेर पत्रकारिता शुरु गरियो ।

रोल्पाको अनकन्टार जङ्गल, एकलासे बस्ती, बडेमानका खर्सुका रुख, खर्सुका रुखमा राखिएको एफ.एम.को एण्टेना, खर्सुकै रुखमुनि बास, डाँडाहरु सबै हिउँले सेताम्य थिए ।

हिरालाल केसी

राजनीतिकरुपमा त्यतिबेला भीषण युद्ध चर्किएको थियो । तत्कालीन शाही सरकार र त्यसलाई टेकसो लगाउने एमाले कांग्रेस एकातिर थिए भने तत्कालीन विद्रोही पार्टी माओवादी अर्कातिर थियो । देशमा सङ्कटकालको अवस्था थियो । हाम्रो रेडियोको समाचार भनेका युद्धमा को कति मरे, को कति घाइते भए, कहाँ कति दमन अप्रेशन भयो, कहाँ कति घर आगलागीमा परे, कति घरबारविहीन भए भन्ने कुरा नै हुन्थे ।

देशमा संविधानसभाको वहस पनि चलिरहेको थियो । माओवादी भन्दै थियो- ‘बटमलाइन संविधानसभा हो । जो सबैलाई मान्य हुन्छ ।’ दलहरु भन्दै थिए- ‘संविधानसभाको कुरा गर्नु गृहयुद्धलाई झन् तीव्रता दिनु हो । राजतन्त्रबाहेक अरुको विकल्प छैन ।’

त्यतिबेला सडकमा नागरिक आन्दोलन चल्ने सुरसार हुन्थ्यो । तर, छेउटुप्पो नपाएर त्यसै सेलाउँथ्यो । दलहरु ज्ञानेन्द्रद्वारा चुसेर फालेको हड्डी भए । अन्ततः उनीहरुले आफ्नै कोठाभित्र बन्दी जीवन बिताउनु पर्‍यो । एक नेताले अर्को नेतासँग भेट्न त के फोनमा कुरा गर्नेसम्मको अवस्था रहेन ।

संसदवादी दलहरु मात्र होइन त्यतिबेला आफूलाई खाँटी स्वतन्त्र भन्ने मिडियाहरु पनि प्रतिबन्धित थिए । जसले राजतन्त्रको गुणगान गाउन सक्यो, जसले बन्दागोभीलाई पनि मान्छेका टाउका भन्ने आँट गर्‍यो, जसले दशवटा लासलाई बढाएर २० वटा भन्न सक्यो, उसको पत्रिका निस्कन पायो होला वा रेडियो टिभीको माइक्रोफोन अन भयो होला। बाँकी सबै शाहीतन्त्रका शिकार भएका थिए । हामी भने कतैबाट प्रतिबन्धित थिएनौँ ।

हामीले खर्सुको रुखमुनि बसेर समाचार लेख्थ्यौँ, हाम्रो कर्डलेक्स फोनलाई पनि कसैले बन्द गरेको थिएन । हाम्रो समाचार सेन्सर गर्न पनि कोही आउँदैनथ्यो ।  हामी पूर्ण स्वतन्त्र थियौँ भन्दा पनि फरक पर्ने अवस्था थिएन । हामीले सङ्कटकालमा पनि जनताको सूचनाको अधिकार हनन् हुन दिएनौँ ।

रोल्पा, रुकुम, सल्यान, प्यूठान, जाजरकोट, डोल्पा, गुल्मी, बाग्लुङ, दाङ, कपिलवस्तुलगायत देशका अधिकांश ग्रामीण भेगमा पूर्ण प्रेस स्वतन्त्रता थियो । त्यतिबेला बाँकी शहर सदरमुकाम र राजधानीमा शाही सरकारद्वारा प्रेसमाथि पूरै दमन गरिएको थियो ।

मलाई अझसम्म याद छ माओवादीले आयोजना गर्ने हरेक कार्यक्रमहरुमा राष्ट्रियस्तरका कोही न कोही पत्रकार सहभागी हुने गर्दथे । अमेरिकी पत्रकार लि अर्नेस्टोले त झन् माओवादीको आधारकिल्ला रोल्पा, रुकुम, सल्यान प्रवेश गरी महिनौँसम्म रिपोर्टिङ गरिन् । अन्य पत्रकारहरुलाई पनि माओवादीले भव्य स्वागतका साथ आधारक्षेत्रमा रिर्पोर्टिङका लागि स्वतन्त्रता प्रदान गरेको थियो साथै उनीहरुको सुरक्षा पनि । विविसीका नेत्र केसी, पत्रकार रुद्र खड्का, भोजराज भाटसँग त २०६१ सालमै भेट भएको हो ।

चट्याङ, शाहीसेनाको गोलाबारी र हिउँकै बीचमा बसेर माइनस ६ डिग्री सेल्सियस तापक्रमको सामना गर्नुपरेपनि, हिउँको थुप्रोमा बसेर समाचार लेख्दालेख्दै हात कठाङ्गि्रदा पनि त्यति पीडा भएन । जति पीडा निहत्था मानिसका छातीमा तत्कालीन शाही सेनाले गोली बर्साउँथ्यो र तनतनी रगत पिउँथ्यो ।

सबैभन्दा बढी पीडा त्यतिबेला हुन्थ्यो, जतिबेला शाहीसेनाद्वारा गाउँमा चेलीहरु बलात्कृत भएको खबर आउँथ्यो । बुढा बाआमा, साना बालबालिकाहरु र सुत्केरी महिलाहरु १३ दिनसम्म जङ्गलमा भोकै बसेको खबर आउँथ्यो । त्यतिबेला पीडाले नै मन भत्भती पोल्थ्यो ।

हामीले खर्सुको रुखमुनि बसेर पनि, हज्जारौँ भोल्टको चट्याङ एकैचोटी टाउको बजि्रदा पनि हतास भएनौँ किनकि हाम्रो समाचार लेख्ने हातमा श्रमजिवी जनताको बल थियो । वास्तविक प्रेस स्वतन्त्रता निमुखा श्रमजिवी जनताको बीचमा हुँदोरहेछ भन्ने कुरा त्यतिबेला नै थाहा पाएँ । त्यतिबेला प्रेस स्वतन्त्रताको बखान गरेर नथाक्ने मिडिया हाउसहरु शाहीतन्त्रको बुटमुनि छट्पटाइरहेका थिए ।

अर्को अझ रमाइलो प्रसङ्ग त के भने तत्कालीन शाही सेना र प्रहरी जवान दाजुभाईले रेडियो जनगणतन्त्र लुकी-लुकी सुनेको र हाकिमले देखेपछि- ‘ए त्यो रेडियो नसुन, रेडियो सुनेर माओवादी हुने विचार गरेको होलास्’ भनी हप्काएको खबर पाउँथ्यौँ हामी ।

रोल्पा, रुकुम, सल्यान सदरमुकामका केही बासिन्दाले पनि सेना र प्रहरीका हाकिमको आँखा छलेर भएपनि रेडियो सुनेको खबर पाउँदा गर्वले छाती फुल्थ्यो । किनकि संकटकालमा पनि हामीले जनताको सूचना प्राप्त गर्ने हकमा कुनै कमी हुन दिएनौँ ।

राजधानी र शहरका मिडियालाई सेन्सर गरेजस्तो हामीलाई तहसनहस पार्ने अनेकौँ प्रयास नभएको होइन । तर, ती प्रयास सफल हुन सकेनन् । कारण हामी जनताको बलियो किल्लाभित्र थियौँ । रेडियो बजाउनेहरुलाई एउटा कम्पनी खतम गरेर भएपनि खोज र मार भन्ने आदेशबमोजिम शाही सेनाद्वारा ३/४ पटक हाम्रो खोजी भयो । तर, कतै पत्ता नलागेपछि जासुसी जहाजमा रेडियो सुनेर कहाँ छन् भन्ने पत्ता लगाउने प्रयास पनि गरियो । त्यो पनि सफल हुन सकेन।

अन्ततः फृक्वेन्सी जाम गर्ने दुस्प्रयास गरियो । फृक्वेन्सी जाम गर्ने उक्त दुस्प्रयासको समयमा हामीले संविधानसभा, गणतन्त्र र जनआन्दोलनको बारेमा व्यापक जागरणमूलक समाचार सामग्री र कार्यक्रमहरु रेडियोबाट बजाउँथ्यौँ । शाही सरकार त्यो सुनेर निकै आतिन्थ्यो र छट्पटाउँथ्यो ।

शाहीसेनाले ९५ थोप्लो १ मेगाहर्जमा फृक्वेन्सी जाम गरेको दिन हामीले ९६ थोप्लो १ मा रेडियो बजाउँथ्यौँ । उसले ९६ थोप्लो १ मा फृक्वेन्सी जाम गरेको दिन हामीले ९४ थोप्लो १ मेगाहर्जमा सारेर रेडियो बजाउँथ्यौँ । निकै लुकामारी चल्थ्यो त्यतिबेला । अन्ततः हामीलाई कसैले गलाउन र थकाउन सकेन । हामी हाम्रो मिशनमा कटिबद्ध थियौँ । हाम्रो मिशन जनताको स्वतन्त्रता र गणतन्त्रका खातिर आवाजहरु बुलन्द पार्नु थियो । सङ्कटकालमा स्वतन्त्र ढंगले समाचार सामग्री प्रसारण गर्ने मिडिया देशका पाँचवटा गणतन्त्र रेडियोहरु र जनादेश पत्रिका मात्रै थिए ।

हिउँका डल्ला एकातिर पन्छाई चिसो भुँईमा कम्मल बिछ्याएर समाचार लेख्दै गर्दा एमालेका नेता वामदेव गौतम रोल्पा आउनु भएको खबर पायौँ । उहाँले प्रचण्डसँग पनि भेट्नुभएछ र सहकार्य गरेर जानुपर्ने प्रस्ताव गर्नुभएछ । साथै उहाँले रेडियो जनगणतन्त्र सुनेपछि छक्क पर्दै भन्नुभएछ, ‘ए यहाँ त रेडियोमा समाचार बजेको छ, काठमाण्डौँमा त सबैतिर सेन्सरमा परेका छन् ।

हाम्रो रेडियो स्टेशनका निर्देशक सचिन रोका, साथीहरु रविन क्षेत्री, अरुणा, शीला, राजेश, एम.बी., हेमन्त, किशोर पन्थी, मौसम, सवी, आँचल, सन्देश, मदन, नवराज, अम्बिकालगायतको सहकार्य थियो । एकदिन अरुणा र शीला पिउने पानी ल्याउन भनी खोल्सीतिर गएको त पानी जमेर बरफ भएछ । उहाँहरु दुवैले बरफको ठूलै चप्ल्याँटो बोकेर ल्याएको देख्दा ज्ञानेन्द्रले हाम्रो पिउने पानीमा चाहिँ सेन्सर गरेछ है भनी ठट्टा गर्‍यौँ ।

प्रतिक्रिया दिनुहोस्