गाउँ

       | 275 Views |   Published Date : 4th August 2019 |

       –यज्ञ बहादुर डाँगी

 

यो गाउँहरुले भरिएको देशमा
म पनि एउटा गाउँ हूँ

मसँग जति कुराहरु छन्
गाउँकै कुराहरु छन्
जहाँ फोकलैण्डमा फुटेका तमाम चुराहरु छन्

मेरा जति नाताहरु छन्
गाउँमै नाताहरु छन्
जहाँ भाञ्जा–भाञ्जीहरु छन्
कोही अँध्यारो पोखरीमा छन्
कोही विदेशी नोकरीमा छन्

गाउँमा जे हुनुहुँदैन
त्यही हुन्छ
सबभन्दा बढी दुःख दुखेको कथा हुन्छ
सबभन्दा बढी सुख सुकेको व्यथा हुन्छ
याद गर्नू यसको पनि कोटा हुन्छ
एकदिन त्यो पनि पूरा हुन्छ

गाउँमा गाउँकै विदुरहरु छन्
जस्तै विदारक सहन सक्ने विदुरहरु छन्
जहाँ भारत–पाकिस्तानको लडाइँमा
पुछिएका तमाम सिन्दुरहरु छन्

मलाई त्यो गाउँले विदुषक सारै मन पर्छ
जो सधैं सधैं
सहरबाट आएर गाउँमा
एउटा लोकगीत गाउने गर्छ
‘सहरको त भाङ्ग्राको धोती
गाउँको त झन् कुन गति’

यो गाउँहरुले भरिएको देशमा
म पनि एउटा गाउँ हूँ ।
                                                      २०७० भाद्र

प्रतिक्रिया दिनुहोस्