गोरख पाण्डेका कविताहरु

       | 101 Views |   Published Date : 6th August 2019 |

 

तटस्थ प्रति

चयनको बाँसुरी बजाउनोस् तपाईँ
शहर जल्दछ र गाउनुहोस् तपाईँ
हुनुहुन्छ तटस्था या कि तपाईँ निरो हो
असली अनुहार थोरै देखाउनुहोस् तपाईँ ।
(१९७८)

हात

बाटाहरुमा उम्रिएका छन् काँडा
बाटाहरुमा उम्रिएका छन् पहाड
शरिरमा उम्रिएका छन् हात
हातहरुमा उम्रिएका छन् औजार ।
(१९७९)

कुर्सीनामा

(१)
जब सम्म ऊ जमीनमा थियो
कुर्सी खराब थियो
गएर बस्यो जब कुर्सीमा ऊ
जमीन खराब भयो ।

(२)
उसको नजर कुर्सीमा लागेको थियो
कुर्सी लागिसकेको थियो
उसको नजरलाई

उसलाई नजरबन्द गर्छ कुर्सी
जो अरुलाई नजरबन्द गर्छ ।

(३)
खालि ढाँचा होइन
फलाम या काठको
कद हो कुर्सी
कुर्सीको मुताबिक ऊ
ठूलो या सानो
स्वाधीन या अधीन होस्
खुशी या दुखी होस्
कुर्सीमा खिचिन्छ
एउटा मानिस ।

(४)
फाइल दबिरहन्छन्
न्याय उल्लंघन गरिन्छ
भोकाहरुसम्म रोटी पुग्न सक्दैनन्
न त गरीबहरुसम्म औषधी
जसले कुनै जुलुम गरेनन्
उसलाई फाँसीमा चढाइन्छ
यही बीच
कुर्सी नै हो
जो घूस र प्रजातन्त्रको
हिसाब राख्छ ।

(५)
कुर्सी खतरामा छ भने प्रजातन्त्र खतरामा छ
कुर्सी खतरामा छ भने देश खतरामा छ
कुर्सी खतरामा छ भने दुनिया खतरामा छ
कुर्सी बच्दैन भने
भाँडमा जाओस् प्रजातन्त्र
देश र दुनिया ।

(७)
खूनको समुद्रमा सिक्का राखिएका छन्
सिक्कामाथि राखिएको छ कुर्सी
कुर्सीमा राखिएको
तानाशाह
एकचोटि फेरि
कत्ले–आम को आदेश दिन्छ ।

(८)
अविचल रहन्छ कुर्सी
मागहरु र गुनाशाहरुको संसारमा
आह र आँसुहरुको संसारमा
अविचलित रहन्छ कुर्सी
पानीमा आगो लाग्दासम्म ।

(८)
मदहोस पल्टिएर खस्छ ऊ
नालीमा आँखा खुल्छ
जब नशाझैं
कुर्सी उत्रिन्छ ।

(९)
कुर्सीको महिमा
बखान्ने
यो एक खोक्रो प्रयास हो
टाँस्सिने वालासँग सोध्नुहोस्
कुर्सी भूगोल हो
कुर्सी इतिहास हो ।
(१९८०)

अनुवादः प्रमोद धिताल

प्रतिक्रिया दिनुहोस्