फुलमायासँग


            –अनिल श्रेष्ठ

 

आऊ, फुलमाया
तिमी
र म
अब सँगै मिलेर
एउटा आँधी जन्माऊँ

सधैं तुवाँलो लागिरहेको
यो आकाश
र तुवाँलोलाई हटाउन
नसकिरहेको यो बतास
सधैं कफ्र्युजस्तो यो घाम
र खडेरीको यो लगाम
कहिलेसम्म छातीमा
यो उकुच बोकेर
सास फेरिरहनुपर्ने हो ?
कहिलेसम्म ओंठहरुले
यो कचपल्टिएको हाँसो
हाँसिरहनुपर्ने हो ?

आऊ, फुलमाया
तिमी
र म
अब सँगै मिलेर
एउटा बर्षाद ल्याऊँ

हाँस्नु पनि मस्तसँग नपाइने
यो कसको आदेश हो ?
र रुनु पनि निस्फिक्रीसँग नसकिने
यो कसको निर्देश ?
गँवारालेझैं किन सुक्दैछ ?
हाम्रा आँखाका नानीभित्र पसाइरहेका
कलिला सपनाहरु
र किन हाम्रा खुशीहरुमा
लाग्दैछ खग्रास ?

आऊ, फुलमाया
तिमी
र म
अब सँगै मिलेर
एउटा कुलो लगाऊँ

जताततै मालिकहरु आसीन छन्
ज्यामी हैन, ठेकेदारहरु
सत्तासीन छन्
यो सुख्खा याम
कसले हाम्रो खरबारीमा
लगाउँदैछ डढेलो ?
र कसको चरन बन्दैछ
यो हाम्रो करेसो ?

आऊ, फुलमाया
तिमी
र म
सँगै मिलेर
बादलहरुको
एउटा विस्फोट गराऊँ ।

बाली काटेर यी डाम्नाहरुलाई
हामीले कतिन्जेल पोस्नुपर्ने हो ?
कि राँको बालेर
अब यसका थुतुनाहरुलाई
झोस्नु पर्ने हो ?

आऊ फुलमाया
तिमी
र म
अब सँगै मिलेर
एउटा मशाल बनाऊँ
र शहर जाऊँ

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *