जादुगर

       | 172 Views |   Published Date : 7th August 2019 |


        -कल्पना चिलुवाल

 

जादुगरले भनेपछि
आफू बसेको खस्रो चहुर पनि
मानिसहरुले मुलायम गलैँचा देखे

जादुगरले भनेपछि
बालकको रित्तो दुधदानी पनि
मानिसहरुले पूरा भरिएको देखे
आफ्नो झुप्रो घरलाई विशाल महल देखे
हातमा भएको रित्तो टपरीलाई पनि
भोकाहरुले
परिकारले भरिएको सुनको थाल देखे

जादुगरले
कागजलाई हेर्दाहेर्दै पैसा बनाइदियो
मान्छेहरुले जमिनभरि पैसैपैसा देखे
खोल्तीको रुमाललाई परेवा बनाएर उडाइदियो
मानिसहरुले आकाशभरि परेवा मात्र देखे

जादुगरले जेजे देखाइदियो
मानिसहरुले त्यहीत्यही देखे

काम गर्दागर्दैको हँसिया
बाटो खन्दाखन्दैको बेल्चालाई
जादुगरले काठको छेस्कोजस्तो
मूल्यहीन बताइदिएपछि
मानिसहरुले आफ्नो महान् कार्यलाई पनि
मामुली काम ठाने

जादुगरले सुखको जादु चलाइदिएपछि
यातनाग्रस्त जिन्दगीहरुले पनि
आफूलाई सुखैसुखको आसनमा भेटे

अभावग्रस्त जिन्दगीहरुले पनि
पुगिसरी आएको देखे

जादुगरले भनेपछि
शून्य पोल्टोमा पनि
मानिसहरुले अधिकारको सय अङ्क देखे

झारपातलाई जादुगरले
विकासे सुन बनाइदिएपछि
रातारात अलकत्रे बाटाहरुलाई पनि
मानिसहरुले स्वर्ग जाने राजमार्ग देखे

यो समयको
सबैभन्दा ठुलो जादुगर प्रजातन्त्रको
सम्मोहनमा परेपछि
भोकानाङ्गाहरुले पनि आफूलाई
न भोको देखे , न नाङ्गो देखे
सर्वस्व गुमाएका पीडितहरुले पनि
न त आफ्नो पीडा देखे
न त आफ्नो पीडक देखे ।

प्रतिक्रिया दिनुहोस्