महिला लेखक हुनुका दुःख भनिनसक्नु छन्

       | 637 Views |   Published Date : 23rd August 2019 |

सरिता तिवारी समकालीन प्रगतिवादी कविता लेखनको क्षेत्रमा स्थापित नाम हो । कविताका साथै फुटकर रुपमा निवन्ध, अनुभूति  र समसामयीक विषयमा उत्तिकै कलम चलाइरहेकी तिवारीका बुद्ध र लाभाहरु (२०५७), अस्तित्वको घोषणापत्र(२०६७) र प्रश्नहरको कारखाना(२०७२) कविता संग्रह प्रकाशित छन् । साथै पछिल्लो कविता कृति प्रश्नहरुको कारखानाको हिन्दी अनुदित “सवालोंका कारखाना(२०७५)” पनि परिकल्पना प्रकाशन लखनउबाट प्रकाशित भएको छ । प्रस्तुत छ साहित्य लेखनसँग सम्बन्धित रही उनीसँग गरिएको संक्षिप्त कुराकानी ।

 

यतिखेर के पढ्दै अनि लेख्दै हुनुहुन्छ ?

सामान्य लेखपढ नै हो । एउटा काम विशेषका कारण कम्युनिष्ट आन्दोलनको इतिहास पढनुपर्ने भएको छ । त्यसमा अलि ब्यस्त छु । कान्तिपुरमा स्तम्भलेखन थालेपछि सामाजिक ,राजनीतिक टिप्पणीमा थप रुचि बढेको छ । त्यसले पठनमा पनि विविधता थपिरहेको छ ।

हालसम्म के कति लेख्न सकिए जस्तो लाग्छ ?

सुरुवात त भएको छ तर लेख्न धेरै बाँकि छ । अन्तरमनको आँधी बिसाउने गरी लेख्न सकेकी छैन अझै । मलाई आफूभित्रको बेहिसाब आँधी रोकिने गरी लेख्न मन छ ।

तपाईंको जीवनमा सानैदेखि कोहि रोल मोडेल छ जसले जीवन यात्रामा निरन्तर सकारात्मक प्रेरणा दिएको होस् ?

बिल्कुल । आमा मेरो लागि सबैभन्दा विशेष उत्प्रेरक हुनुहुन्छ । युवा वयमै वैधब्य भोग्नुपर्यो आमाले । बुवा बित्दा म दश महिनाकी नाबालक थिएँ । मभन्दा माथि दिदीहरू र दाजु । आमाले हामी चार सन्तानलाई एक्लै हुर्काउने बढाउने र सचेत मान्छे बनाउने कठीन जिम्मेवारी पूरा गर्नुभो । यद्यपि आमा अति कठोर मिजासकी र सजिलै माफ गर्न नसक्ने स्वभावकी हुनुहुन्थ्यो । जिन्दगीका अनेक कठोरताहरूले ताछेर वहाँको मायालुपन कतै गायब पारिदिएका थिए । तर वहाँकै प्रेरणाले हामी सबै आफूलाई चिन्ने, समाज चिन्ने र केही प्रयत्नहरू पनि गर्ने भयौं । मेरो लागि आमा अरु सबैभन्दा खास हुनुहुन्छ । र सायद वहाँ नै तपाईंले भन्नुभएजस्तो मेरो ‘रोलमोडेल’ हो ।मेरो भाषा र स्वभावको खस्रोपन, लेखाइको कडा मिजास आमाबाट रुपान्तर भएर आएको हो जस्तो लाग्छ ।

समाजलाई ब्यूझाउँने लेखकहरु आफू नै आफ्नो लेखनप्रति इमान्दार बन्न नसकेको आलोचनाहरु पनि हुने गरेका छन् यसमा तपाईंको भनाई ?

इमान्दार बन्न भरसक प्रयत्न गर्ने नै हो यसमा दुईमत नै छैन । यो अरुलाई देखाउने भन्दा पनि आफैंले महसुस गर्ने र सतर्क रहने कुरा हो । लेखक अरु सबैभन्दा बढ्ता इमान्दार आफ्नै रचनासँग हुनुपर्छ भन्ने म मान्छु । नहुँदा आलोचना हुने त भैहाल्यो । मेरो आफ्नो कुरा गर्दा, आजको मितिसम्म मैले आफ्नो इमान र वाणीको भार डग्मगिन दिएकी छैन । सबै किसिमका भ्रष्टता र बेइमानीविरुद्ध बोल्दा परिवार र मूलधारको समाजसँग नै बागी भएर हिँड्नुपरेको कठोर अनुभव सँगालेकी छु । एक किसिमले यो पनि मेरो उच्चस्तरको आर्जित पूँजी हो । यो पँुजी अरु कुनै पनि आर्जनभन्दा माथि छ ।

आफ्नै अनुभवको आधारमा भन्नुपर्दा पठनीय लेखनको आधार के हो ?

गहिरो पठन । किताब मात्रै होइन, जीवन र समाजको पनि ।

औपचारिक शिक्षाको विस्तार हुँदै गए पनि पठन संंस्कृति र सृजना कर्म किन अपेक्षित रुपमा अगाडि बढ्न नसेको होला ?

औपचारिक शिक्षा जीवन यापनको माध्यम र एउटा सर्टिफिकेटको लागि गरिने उद्यमभन्दा बढी भइरहेको म देख्दिनँ । शिक्षाले जीविकोपार्जनका लागि केही काम गर्न दक्ष र योग्य  बनाउनुपर्छ तर शिक्षा त्यति मात्रैका लागि जस्तो बन्यो । औपचारिक शिक्षाको उपयोगिता पैसा कमाउने प्रमाणपत्र आर्जन गर्नमै सीमित भयो । वास्तवमा,पठन संस्कृतिको गुरुत्वलाई औपचारिक शिक्षाले धान्न पनि सक्दैन । पठन संस्कृति प्रवद्र्धन हुन स्वतन्त्र पठनको पनि सम्मान हुने वातावरण हुनुपर्छ । अहिले पनि समाजको ठूलो तप्काले गम्भीर ढङ्गले लेखपढ गर्ने मान्छेलाई अनुत्पादक र बेकार ठान्छ । यस्तो चिन्तन तोडिन समय लाग्छ । केही लेखक सेलिब्रेटी बन्नु , तिनको लेखाइलाई एकप्रकारले ‘ब्राण्ड’ जस्तो मानिनु एउटा कुरा हो तर समग्रमा लेखन, पठन र सिर्जनाकर्मले सामाजिक सम्मान पाउने वातावरण बनेको छैन । यसको पछाडि आर्थिक उपार्जनको मनोविज्ञान हावी छ ।

नेपाली समाजको सन्दर्भमा लेखक हुनु र महिला लेखक हुनुको आधारभूत भिन्नता के हुन् ?

केही कुरा त माथि नै भनें । लेखकलाई सार्वजनिक सम्मान नै छैन । लेखक सामान्यतया पैसा कमाउने , आडम्बर देखाउने प्रतिस्पर्धाभन्दा बाहिर हुन्छ । जुनसुकै कुरालाई पनि आर्थिक उपार्जनसँग तौलन बानी परेको समाज हो हाम्रो ।  त्यसैले लेखकको सार्वजनिक छवि त्यति सम्मानित छैन जतिको हुनुपर्ने हो । यसमा  लेखकका पनि कमजोरी होलान् । लेखकमै पनि अपेक्षित गाम्भीर्य र समाजको चेतनामा आँधीबेहरी ल्याउन सक्ने सामथ्र्य नभएर पो हो कि जस्तो पनि लाग्छ मलाई त । हामीले आफ्नो लेखकीय अस्तित्व र जिम्मेवारीको पनि आत्मसमीक्षा गर्नुपर्ने होला ।

महिला लेखक हुनुका दुःख त झनै भनिनसक्नु छन् । पहिले परिवारले नै पत्याउन्न हेर्नुस् । त्यसपछि समाजले । देशका अखबारहरूले पत्याइसक्दा पनि आफू बाँचिरहेको समाजले पत्याउन तयार हुन्न । अपत्यारहरू,अविश्वास र खेदो खनाइहरू , सबै ! महिला लेखकको ब्यक्तित्व सदर हुनै कठीन छ । समाज अहिले पनि महिलामा लेख्ने, बोल्ने  क्षमता, समाजलाई नेतृत्व गर्ने विचार वा त्यस्तो विलक्षण विद्वता, कलात्मक अभिब्यक्तिको सीप इत्यादि कुरा हुन्छन् भनेर स्वीकार गर्नै चाहन्न । आफूले नचाहे पछि त्यस्तो कोही जन्मिहाले भने पनि असहयोग र दुत्कार गर्ने गरिन्छ । यस्तोमा महिला लेखकले पार गर्नुपर्ने परीक्षा धेरै छन् । मेरो लागि चाहिँ यस्ता हरेक अपत्यार र परीक्षा नै उर्जा र पे्ररणा हुन् । लेखनको सुरुवातदेखि नै मानिसहरूका मप्रतिका पूर्वाग्रह, अपत्यार र चुनौतीका कारण नै मैले लेख्न सकेकी हुँ ।

लेखन, पठनबाहेक यहाँका अन्य रुचिहरु के छन् ?

मलाई घुम्न मन पर्छ । आफ्नै वरिपरिका ठाउँहरू , त्यो पनि एक्लै । मलाई देशभित्र सबै ठाउँमा पुग्न मन छ , भ्याएजति र सकेजति । देशबाहिर पनि केही यस्ता ठाउँ छन् जहाँ म सपनामा पनि पुगिरहेकी हुन्छु । मलाई होचि मिन्हको देश देख्नु छ । चीन र भारतको सभ्यता, युरोपको समृद्धि, अफ्रिका र दक्षिण अमेरिकाका देशहरुका आत्मसंघर्ष देख्नु छ । संगीत मेरो सर्वकालीन रुचि हो । लेखिरहँदा पृष्ठभूमिमा कुनै मधुरो संगीत बजिरहोस् , त्यो क्षण अद्भूत लाग्छ । गीत त मेरो संस्कारमै छ, बिरासतमै । आमा खुब गीत गाउनुहुन्थ्यो , मलाई पनि गाउन मन पर्छ ।

लेख्न चाहेका तर नभ्याएका ज्वलन्त विषयहरु के छन् ? जुन अरुले पनि लेखिदिए हुन्थ्यो भन्ने लाग्छ ।

धेरै छन् । लेख्नेहरू आइरहेका पनि छन् । अग्रज लेखकहरू पनि हुनुहुन्छ जसले मिहिनेत गरिरहनुभएको छ । तपाईंले भनेजस्तै ,म जे लेखियोस् भन्ने सोच्दै छु त्यो आफैंले मात्र लेख्न सक्छु भन्ने ठानिरहेकी छैन । लेखन सामुहिक कर्म नै हो प्रकारान्तरले । तर मभित्र एउटा गहिरो तिर्खा छ, लेखेर मात्रै मेटिने । त्यो तिर्खा म आफैंले मात्रै लेखेर मेटिन्छ । तर मैले आफूलाई समय दिइरहेकी छैन । दिनहरू चिप्लिरहेका छन् र म पुरै अकर्मण्य जस्तो यताउताका ससाना चिजमा अल्मलिएर बसिरहेकी छु । घरेलु र सामाजिक पर्खालहरूसँग लडेर, साथीभाइका कटुु आलोचनाहरुसँग अड्किएर । यस्ता कुराले लेखकको हत्या गर्छन् ।  मैले केही समय दुनियाँ बिर्सेर काम गर्नुपर्ने हो तर केकेमा अल्झिरहेकी छु । यस्तो सम्झिँदा मलाई आफैँसँग भयानक झोंक चल्छ ।

जीवनमा दुई कुरा साहित्यसिर्जना र पुस्तक हुनु र नहुनुले के फरक पार्छ जस्तो लाग्छ ?

राम्रा पुस्तकहरू कसैका लागि पनि सबैभन्दा ठूला मेन्टर हुन्  र साहित्य सिर्जना उथलपुथल मानसको विरेचन । यो मैले भनेको कुरा होइन , मानिँदै आइएको कुरा हो । यी दुईटा कुरामा सभ्यता अडिएको छ । तर म न किताबहरूलाई निरपेक्ष मान्छ्ुन साहित्य लेखनलाई । कस्ता किताब पढ्ने र कस्तो साहित्य लेख्ने वा कसरी विमर्श गर्ने भन्ने कुराले समाजलाई वैचारिक आकार दिन्छन् ।  यी चिज हुनु र नहुनुले पक्कै पनि समाजलाई गतिशील र गतिहीनमध्ये एउटा बनाउँछ । समाजको उध्र्वगामी गतिशीलताका लागि किताब र साहित्यको ठूलो भूमिका छ । यिनको उपस्थिति बिनाको गतिशील समाज मेरो कल्पनाभन्दा बाहिर छ ।

प्रतिक्रिया दिनुहोस्