पहिले आत्मकथा लेख्नुहोस्

       | 503 Views |   Published Date : 24th August 2019 |

 

(उपन्यासकार नुमेश घर्ती मगर आफ्नो प्रथम उपन्यास कृति “बिर्सिएका सत्य” (२०७४) मार्फत साहित्य क्षेत्रमा देखिएका आख्यानकार हुन् । सरस र सरल भाषामा ग्रामीन जनजीवनको निम्नवर्गीय परिवारले भोग्ने पीडाहरु उतारिएको सो उपन्यासले पाठकहरुको सकारात्मक प्रतिक्रिया पाउन सफल भएको छ । दाङ घोराीमा स्थायी घर भई हाल नयाँ दिल्लीमा रोजगाररत घर्तीसँग उनको साहित्य यात्रामा केन्द्रित रही गरिएको कुराकानी ।)

यतिखेर दिनचर्या कसरी बिताइरहनुभएको छ ?

दोस्रो उपन्यासको पाण्डुलिपि तयार भएको छ । त्यसैमा हेरफेर गर्दै पनि छु । बाँकी समय वरिष्ठ लेखकहरुका उत्कृष्ट कृति पढेर बिताइरहेको छु ।

साहित्यमा लाग्ने प्रेरणा कसरी प्राप्त भयो ?

ममा झिनो साहित्य रहेछ भनी चार वर्ष पहिला मात्रै चाल पाएको थिएँ । स्कुलको समयमा मेरी आमालाई आर्थिक अभावसँग दिनरात कुस्ती खेलिरहेको देख्थेँ । आमा जत्तिकै म पनि घरको व्यवहारमा निकटतम थिएँ । कुनै पल आमा भन्नुहुन्थ्यो, ‘तेरी म¥या जेई (आमा) जाग्च, एक रुप्पे निकाल् भने पनि छैन ।’ मैले यो भनाइलाई दुईतिरबाट नियाल्थें । पहिलो, हामाीसँग एक रुपियाँ पनि छैन भन्ने प्रमाण हुन्थ्यो । दोस्रो, आमा डेढ वर्ष हुँदा हजुरआमा परलोक हुनुभएको अरे । भनेपछि आमाले न त प्रत्यक्ष आफ्नी आमालाई देख्नुभएको थियो, न त कुनै तस्वीर नै थियो । र, उहाँलाई मेरी आमाको आकृति यस्तो थियो भन्ने पत्तो छैन । यो क्षण म निकै भावुक हुन्थें, अनि लेख्थेँ, कथा आमा–छोराको । आर्थिक अभावको । टुहुरोको । त्यही अभावले मा.वि. तह उत्तीर्ण नगरी आर्थिक जोहोका लागि दिल्ली पु¥यायो । पछिल्लो समय जब इन्टरनेटको जमाना आयो । त्यहाँ वरिष्ठ लेखक कृष्ण धरावासी ज्यूको ‘आधा बाटो’ सुन्ने मौका मिल्यो । साथै अन्तर्वार्ता पनि । उहाँको यौटै कुराले अन्तरमनमा घात प्रभाव छोड्यो । आफ्नो कथा आफै लेख्न सकिन्छ । अनि मैले पनि आफ्नै कथा लेखेँ । त्यसपछि तुलना गरें, मैले स्कूल समयमा लेख्ने कथाले त भित्रभित्रै साहित्य सृजना गरिरहेको रहेछ । यो प्रेरणा आदरणीय कृष्ण धरावासी ज्यू र प्राणभन्दा प्यारी मेरी आमाबाट प्राप्त गरेको हुँ ।

तपाईंको प्रथम साहित्यिक सृजना कुन हो ?

उपन्यास ‘बिर्सिएका सत्य’ २०७४ सांग्रीला बुक्सले प्रकाशन गरेको हो ।

 

साहित्य अध्ययन र सृजनाले यहाँको जीवनमा पारेको फरक के होला ?

चेतनाको स्तरलाई बढाइदिएको छ । या भनौं, फराकिलो पारिदिएको छ । समाजमा हुने विविध विकृतिप्रति चिन्ता लाग्छ । कसैलाई सुन्दर पक्ष र विपक्षबारे दुई शब्द भए पनि सम्झाउन सक्ने भएको छु । सुक्ष्म गल्ती पनि केलाउन सक्छु । म आपैmमा भएका कति कुरीतिको भन्डाफोर गर्दै अघि बढिरहेको छु । र, अर्कालाई पनि असल बाटोतिर लैजान प्रयन्त गर्छु । मेरा कमजोरीहरू के हुन् भनी खोज तलास गरेको छु । कहिलेकाहीं त कस्तो भ्रमको जिन्दगी बाँचिरहेको रहेछु भन्ने पनि लाग्छ । अब भने त्यस्तो लाग्दैन । बाहिर जस्तो देखिन्छु । भित्र त्यस्तै छु ।

साहित्य सृजनाको लागि साहित्यको अध्ययन र अनुभव मध्य कस्को भूमिका बढि हुन्छ होला?

मलाई त लाग्छ, एक सिक्काका दुई पाटा हुन् । किनकि अनुभवले कथा सृजना गर्छ । अध्ययनले लेख्न सिकाउँछ, मेरो विचारमा ।

नयाँ के लेख्दै हुनुहुन्छ ?

दोस्रो उपन्यासको पाण्डुलिपितिर छु ।

रोजगारीको क्रममा बाहिर बसेर साहित्य साधना गर्न कत्तिको गाह्रो छ ? समय कसरी मिलाउनुहुन्छ ?

म लेख्छु भन्ने आँट गरेपछि त समय जसरी पनि निस्कँदो रहेछ । धेरै नभनौं दिनहुँ दुईदेखि तीन घण्टा मिल्छ । बिदाको दिन चाहिँ बाह्र–चौध घण्टा लेखनमै बित्छ । तर, हुन्छ के भने एकान्त स्थान अनुकूल जुर्दैन । कहिले डेराका साथीहरूले बाधा पु¥याउँछन् । कहिले सडकतिर जोरले हर्नले झस्काइदिन्छ । लेखक कल्पनाबाट दुनियाँ भ्रमण गर्ने हो नि । कल्पनामै डुब्न सकेन भने त लेखनै फुर्दैन । अर्को कुरो कथाको मागअनुसार स्थलगत भ्रमण गर्न सकिँदैन । दोस्रो उपन्यास पनि त्यसैको परिणाम हो । लेख्नु थियो, अर्कै कथामा । भएको छ अर्कै । किनकि म स्थलगत भ्रमणमा जान सकिनँ । हुनत मेरा केही नितान्त व्यक्तिगत समस्याका कारणले पनि समय जुरेन । तर, त्यो उपन्यास दोस्रो भएर पक्कै आउँछ ।

यहाँको पहिलो पुस्तकाकार कृति “बिर्सिएका सत्य” उपन्यासको बारेमा पाठकबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?

असल पाठकले त शायदैले पढेका होलान् । किनकि लेखक नै नयाँ थिएँ । फेरि साहित्य क्षेत्रमा कहिल्यै नाम नसुनेकाले पनि पढ्ने रुचि देखाएनन् होला । तैपनि ज–जसले पढे निकै मन पराइदिए । त्यसमा चार–पाँचजनाले चाहिँ पात्र कमजोर भयो । दुःखको थुप्रो मात्रै भयो । दुःखबाट पात्रलाई कसरी मुक्ति दिने भन्नेबारे देखिएन । अर्को कृतिमा चाहिँ विशेष ध्यान दिनुप¥यो भनेर प्रतिक्रिया दिनुभयो । र, यसलाई मैले सकारात्मक लिएर अब आउने कृतिमा सुक्ष्मरूपमा ख्याल पनि गरेको छु । कहिल्यै साहित्य नपढ्नेले पनि बिर्सिएका सत्य पढेर आँसु थाम्नै नसकेको कुरा पनि गर्नुभएको छ । समग्रमा भन्नुपर्दा प्रतिक्रिया राम्रै आयो ।

लेख्न चाहने नयाँ प्रतिभाहरुलाई के भन्नुहुन्छ ?

म पनि भन्छु पहिला आत्मकथा लेख्नुहोस् । त्यसरी कलम चलाउने बानी बस्छ । विगत कोट्याउँदा कल्पना शक्ति बढ्छ । जसले गर्दा अन्यका कथा लेख्न सजिलो हुन जान्छ । अझ यौटा कुरा यहाँ के थपौं भने हाम्रो समाजमा साहित्यमा लागेकाहरूलाई तल्लो स्तरमा हेरिने रहेछ भन्ने मैले बल्ल चाल पाएँ, म आफै यस क्षेत्रमा प्रवेश गरिसकेपछि । अर्को भ्रम जनमानसमा के छ भने यो लेख्ने पढ्ने काम त धेरै पढेकाले मात्रै गर्छन् । सम्भवतः शिक्षकहरू । भाषा पनि कठिन हुन्छ बुझ्नै गाह्रो । अझ यत्रो मोटो किताब पढेपछि त बौलाइन्छ भन्नेहरू पनि छन् । पछिल्लो समयमा सरल भाषाका पुस्तक आउन थालेका छन् । लेखकले धेरै पढेको हुनुपर्छ भन्ने केही छैन । सामान्य लेखपढ गर्नेले पनि पुस्तक लेख्न सक्छन् । त्यही हो लेख्छु र पढ्छु भन्ने रुचिभरि हुनुप¥यो । उखानै छ त “खाने मुखलाई जुँगाले छेक्दैन ।” जहाँ इच्छा त्यहाँ उपाय ।

अन्त्यमा केहि ?

सर्वप्रथम त तपाइँलाई हार्दिक धन्यवाद ! अन्तर्वार्ताको लायक सम्झनुभयो । त्यही हो युवा पुस्ता कुलततिर धकेलिएका छन् । आफैले पनि र परिवारले विशेष ख्याल राख्नुप¥यो । सामाजिक सञ्जाल र युट्युबतिर दिने समयलाई केही कटौती गरी पुस्तकतिर दिन सकियो भने पठन संस्कृतिको विकास पनि हुन्छ । चेतनाको स्तर पनि बढ्दै जान्छ । यसले पक्कै समाजलाई अन्धकारबाट उज्यालोतर्फ लैजान सहयोग गर्छ । विकृति विसंगतिबाट पनि मुक्त हुन्छ । र, सुन्दर समाजको निर्माण हुन्छ ।

प्रतिक्रिया दिनुहोस्