तिज कस्को हो ?

       | 470 Views |   Published Date : 30th August 2019 |


–प्रमोद धिताल

“हिन्दु नारीहरुको महान पर्व” भनिदै आएको तिज अलि पहिला कस्ले मनाउथ्यो ? के त्यो नारीहरुले मनाउथे ? त्यतिखेर पनि तिज देखावटी रुपमा नारीहरुले मनाउँथे । तर वास्तविक अर्थमा पुरुष सत्ता, हिन्दु सामन्तवाद र भाग्यवादले मनाउथे ! महिलाहरु त माध्यम मात्र थिए । किनकि यसले सामन्तवादी संस्कृतिलाई मजबुत बनाउथ्यो । उनीहरु केबल एउटा दर्शन र मान्यताका कठपुतली बनाइएका थिए । जुन मान्यताले स्वतन्त्रता, स्वत्व र विवेकको अपहरण गर्छ त्यो संस्कृतिलाई मनाउने र आनन्द लिने कुराले न कहिल्यै उनीहरुलाई स्वतन्त्र बनाउथ्यो न अब बनाउन सक्छ । त्यतिखेरको महिलाहरुले तिज मनाउने काम सामन्तवादी, भाग्यवादी पितृसत्तात्मक वर्चश्व कायम गरिदिनको लागि महिलाहरुले पूरा गरिदिएको ‘कर्तव्य’ मात्र थियो ।
यतिखेर कस्ले मनाउँछ तिज ? यतिखेर बजारले मनाउँछ । तिजको प्रायोजन पनि बजारले नै गर्छ । तिजमा महिलाहरुलाई महंगो साडी अनि छड्के तिलहरीले बेरेर पूँजिवाद नाँच्ने गर्छ । उसलाई थाहा छ संस्कृतिको नाउँमा उद्दण्डता र छाडापन अहिलेका धेरै बिकाउ जिनिश हुन्, जुन भीडलाई अत्यन्त मन पर्छ । ती कलिला बालिकाहरुलाई के थाहा तिज मनाउँदा के हुन्छ या हुँदैन । तिनीहरु एक दुई वर्ष पुग्दा नपुग्दै तिज भनेको नयाँ कपडा लगाउने र सिंगार पटार गरेर नाँच्ने समय रहेछ भन्ने कुरा दिमागमा स्थापित हुन थालिहाल्छ । यो तालिमाको लागि बजार हाजिर छ कोठा चोटाहरुसम्म । बजारसँगसँगै पितृसत्तात्मक सोंच, संस्कृतिसहितको संसर्ग हाजिर छ उनीहरुसामु ।
बजार आफैमा समस्या होइन । बजारवाद समस्या हो । यो यति धूर्त छ कि यसले अन्धविश्वास र माल अब सँगसँगै बेच्छ । मानिसलाई सबै कुराहरुमा रंग रुप फेरि फेरि बिक्री गर्छ । जुनसुकै बहानामा पनि मानिस अभिसप्त छ बजारको मायावी जालको कठपुतली बन्न । हिजो ब्यापारको दायरा सीमित थियो । अहिले यसको कुनै सीमा छैन । अघोषित रुपमा यसले मानवीय विवेकको व्यपार गर्छ । मानिसले थाहै नपाई आफ्नो विवेक सँगै आफू विक्री भएको पत्तै पाउँदैन । मानिस सोच्छ म बस्तुहरुको मालिक बन्दैछु । तर यसको डरलाग्दो पक्ष सँगसँगै छ–मानिसहरुको मालिक बस्तु बनेको छ जसले मानिसलाई भोग गर्छ । तिज मात्र होइन जति पनि परम्परा, रीति थिति, र संस्कार र चाड पर्वहरु छन् ती सबैलाई यसले आफ्नो मुट्ठीमा कैद गरिसकेको छ । कहिले यसले कलिला बालिकाहरुको भेला गराउँछ । एकजनालाई ‘सुन्दरी’ घोषणा गर्छ र अरु बाँकिलाई अघोषित रुपमा ‘कुरुप’ करार गरिदिन्छ ।
जन्मदिन याद गर्ने कुरा थियो । तर अहिले जन्मदिन मनाइन्छ धुमधामले । त्यो कसले मनाउँछ ? बाहिरबाट मानिसले मनाएजस्तो देखिन्छ तर वास्तविक अर्थमा बजारले मनाउँछ । विवाह कस्को हुन्छ ? एउटी केटी र केटाको हुन्छ । तर उत्सव मनाउँछ बजारले पार्टीको नाउँमा होस् या दाइजोको नाउँमा । चाड पर्वमा सामानहरु कस्ले बेच्छ ? नाफा कस्ले कमाउँछ ? कुरा प्रष्टै छ । तसर्थ के भन्न सकिन्छ भने सामन्तवाद जसरी पँुजीवाद र बजारवाद पनि महिला अस्मिताद्वेषी छ । सामन्तवादी मूल्य–मान्यताले उनीहरुलाई निच र तल्लो दर्जाको देखाउन कहींनेर कसर बाँकि राखेको छैन । फेरि त्यसप्रति आस्था र विश्वास यसरी पैदा गरिदिएको छ कि त्यसैलाई आफ्नै “महान पर्व” ठान्ने भ्रमबाट उनीहरु अहिलेसम्म पनि मुक्त हुन सकेका छैनन् । पूँजीवादको राजनीति पनि भिन्न रुपले नारीहरुलाई दाश बनाउने नै हो । आधुनिकताको नाउँमा यसले सबै मानिसलार्ई उभोक्तावादी खन्चुवा बनाउँने हो । स्वतन्त्रताको नाउँमा के यसले महिलालाई फेरि दाश नै बनाएको छैन ? यसले भाग्यवादको नयाँ आवरणमा व्यपार गरेको छ, महिलाहरुको बस्तुकरण मार्फत उनीहरुलाई उपभोग्य मालमा परिणत गरिदिएको छ । यसले फकाई फकाई उनीहरुलाई दाशत्वको कैदमा उम्किनै नसक्ने गरी हालिदिन्छ । मानिसको दिमागभित्र ‘मार्केट हेजेमनी’ पैदा गरिदिनु यसको खतरनाक राजनीति हो ।
कुनै न कुनै रुपमा तिजलाई निरन्तरता दिनुपर्छ भन्ने नाउँमा केहि तर्कहरु दिने गरिन्छ । जसको चर्चा गर्नु सान्दर्भिक नै हुन्छ । एउटा पुरानो चलनचल्तीमा रहेको तर्क हो तीजको स्वतन्त्रताको तर्क । “तिजले कम्तीमा पनि महिलाहरुलाई एकाध दिन बाहिर निस्कनेदेखि अभिव्यक्तिसम्मको स्वतन्त्रता दिएको छ त्यसैले यो ठीक छ” भन्ने तर्क छ । यसको अर्थ तिजले दिएको एकाध दिनको स्वतन्त्रताबाहेक बाँकि दिनहरुको दाशत्व स्वीकार्य छ भन्ने हो । यो मानसिकताले त महिलाहरुलाई सधैंभरि दाश बनाइराख्ने भयो । “दुई दिनको स्वतन्त्रता उपभोगको लागि तिज पर्खेर बस, अरुबेला पितृसत्ताको दाश बन । किनभने महिलाहरुको नियति नै यही हो ।” योभन्दा भाग्यवादी तर्क अर्को हुनै सक्दैन । फेरि तिज आफैमा कुनै स्वतन्त्रताको पर्व पनि होइन । जसले महिला पुरुषका पूजा गर्न योग्य जिनिस मात्र हुन् भन्ने मान्यता स्थापित गरेको छ त्यो पर्व कसरी महिला स्वतन्त्रताको प्रतीक हुनसक्छ ?

त्यसरी नै अलि परिमार्जित र नयाँ खालका तर्कहरु पनि छन् । जस्तो कि “तिज पर्वलाई पूर्णतः निषेध गर्न सकिन्न । त्यसैले भेटघाट, नाचगान र रमाइलो गर्ने पर्वको रुपमा निरन्तरता दिनुपर्छ । तिजको आधारभूत पक्ष भाग्यवादी, विभेदकारी र महिलाद्वेषी छ यसलाई मान्नुहुँदैन, तर योसँग जोडिएका सामाजिक पक्षहरु पनि छन् तिनलाई समयसापेक्ष परिवर्तन गर्दै मनाउँनुपर्छ” भन्ने तर्क छ । कुनै पनि मूल्यमान्यता, परम्परा, संस्कारहरुपी घरहरुको दार्शनिक जग हुने गर्छ । त्यसैगरि तिज पर्व रुपी घरको दार्शनिक जग भनेको सामन्तवादी पितृसत्ताको पक्षपोषण, र भाग्यवाद हो यतिखेर आएर त्यसमा उपभोक्तावाद पनि जोडिएको छ । अर्थात् यसलाई अड्याउने जगभित्र मुख्य तीनवटा तत्वहरु भाग्यवाद, पितृसत्ता र उपभोक्तावदलाई खारेज गरिसकेपछि के बाँकि रहन्छ ? यतिखेर सचेत व्यक्तिहरुले निरन्तरता दिने त्यसैलाई हो । त्यो बाहेक बाँकि तर्कहरु खराब परम्परासँग सम्बन्ध विच्छेद गर्न नसक्नु पछाडिका बहानाबाजी मात्र हुन् । जस्तो कि कुनै पनि महिला या पुरुषले भाग्यवाद र पितृसत्तालाई इन्कार गर्छन् भने एकले अर्कोलाई तिजको वेलामा व्रत वस्न या त्योसँग जोडिएका अनुष्ठानहरुमा सहभागी हुन प्रेरित गर्ने र सहभागी हुने प्रश्नै उठ्दैन । सँगसँगै संस्कृतिले बजारवादको विकाससँगै धारण गरेको साँस्कृतिक उद्योगको विशेषता भनेको मानिसलाई खानपिन, पहिरण र मनोरञ्जनको दाश बनाउनु नै हो । यो विशेषतालाई गहिरोसँग आत्मसात नगर्ने हो भने हामीले यस्तै कुराहरुलाई ‘सामाजिक मान्यता’ प्रदान गर्दै तिज मनाइराख्ने कुरा हुन्छ । जुन नयाँ आवरणमा दाशत्वको निरन्तरता नै हो ।

प्रतिक्रिया दिनुहोस्