के दाशत्व र प्रेम एउटै हो ?

       | 639 Views |   Published Date : 4th September 2019 |

 


                               –प्रमोद धिताल
       तिजको विषयमा सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरुमा गरमागरम बहस चल्दै गर्दा अर्को एउटा विषय थपिएको छ । अहिलेका चर्चित पत्रकार ऋषि धमलाकी जीवनसाथीले गोडा धोएर पानी खाएको फोटो सार्वजनिक भयो । दाशत्वको खानीमा हुर्किएका हाम्रो लागि यो कुनै नौलो विषय थिएन । तर पनि वास्तविक जीवनमा भूमिगत शैलीको पुरातन पन्थको अभ्यास अनि सार्वजनिक रुपमा रुपान्तरणमुखी आग्रहको पाखण्डलाई उजागर गर्नलाई बेलाबखत प्रकटक हुने यस्ता दृष्यहरु निकै रोचक पनि लाग्छन् । विशेषगरी राजनीतिक सामाजिक सरोकारका विषयहरुमा “जनता जान्न चाहन्छन्” भन्दै खरो रुपमा उत्रिने पत्रकारको रुपमा उनी चिनिन्छन् । यो हैसियतको पत्रकारको यस्तो फोटो सार्वजनिक हुँदै गर्दा यो विषय सार्वजनिक टिकाटिप्पणी र सरोकारभित्र पर्नु अस्वाभाविक पनि होइन । 

           सामाजिक सञ्जालमा पोस्टिएका टिका टिप्पणीहरु हेर्दा लाग्छ पुस्ताहरुको बीचमा पुस्तान्तरण छ, तर रुपान्तरणको गति छैन । परिवर्तित समयको अपरिवर्तित ठूलो हिस्सा अहिले पनि दाशत्वलाई प्रेमको रुपमा परिभाषित गरिरहेछ । जुन प्रेममा समानता, स्वतन्त्रता र आर्थिक आत्मनिर्भरता हुँदैन त्यो सोझै दाशत्व हुन्छ, पराधीनता हुन्छ । हो कसैबाट दाशत्व भित्री मनदेखि नै स्वीकृत होला, कसैबाट नहोला, त्यो अलग कुरा हो । हाम्रो समाज दाशत्वको कुन तहमा जीवित छ भन्ने कुराको निम्ति धेरै पुष्ट्याइँहरु जरुरत नै छैनन् । सामाजिक मनोविज्ञानभित्र गढेका केहि यस्ता दृष्टान्तहरु काफी छन् जसले भन्छ–हामी अहिेले पनि दाश बढि र स्वतन्त्र कम छौं ।
            मैले अहिले पनि यस्ता “शिक्षित”हरु देखेको छु जसलाई छोरो नभै हुँदैन । “दुई सन्तान ईश्वरका वरदान” भनाई रेडियो नेपालबाट बजेको सुन्न थालेको बचपनैदेखि हो । दुई सन्तानमा सन्तुष्ट हुने हैसियतका कैयन बौद्धिकहरु पनि छोरा नहुँदासम्म चयनको सास फेर्न सक्दैनन् । कि उनीहरु गर्भमा छोरी भएको पुष्टी भएपछि गर्भमै हत्या गर्छन् या छोरीहरु जन्माइरहन्छन् । यसलाई कसरी बुझ्ने र ब्याख्या गर्ने होला ? के यसलाई पितृसत्तात्मक दाशताको अर्थमा नलिएर छोराप्रतिको अगाध प्रेम भनेर बुझ्ने ? यसभित्र त छोरालाई मात्र बंश उत्तराधीकारी ठान्ने दाशत्वले काम गरेको छ । अनि छोरा नहुँदसम्म मरेपछि पितृले तर्दैनन् भन्ने परजन्ममुखी अन्धविश्वासले काम गरेको छ । बहुमतले मान्दैमा सबै चिजहरु जायज र मानवीय हुन्छन् भन्ने छैन । त्यसरी नै भित्रैदेखि खुशीसाथ स्वीकारिएको भन्दैमा त्यसलाई पनि व्यक्तिगत खुशी र स्वतन्त्रताको सवाल भनेर पन्छिन मिल्दैन । बरु यो दाशत्वलाई कायम रहन दिने या त्यसमाथि आक्रमण गर्ने भन्ने कुरासँग जोडिन्छ ।
          “हाम्रोे त हारेको कर्म हो ।”, “आइमाईहरु धेरै जान्ने हुनुहुँदैन ।” “पुरुषजति महिलेहरुले सक्दैनन ।” “छोरी मान्छे मुखमुखै लाग्नुहुँदैन ।”, “स्वास्नीमान्छे भएर आफ्नो हैसियतमा बस्नुपर्छ ।” जस्ता टिकाटिप्पणीहरु कोबाट आउने गर्छन् ? यस्ता टिकाटिप्पणीहरु पितृसत्ताका मालिक पुरुषहरुले त गर्ने नै भए । पितृसत्तात्मक मनोविज्ञानले दीक्षित महिलाहरुले पनि गरेकै हुन्छन् । यस्ता टिकाटिप्पणी र व्यवहार पनि उनीहरुले खुशीसाथ नै गरेका हुन्छन् । तर “यसमा टाउको दुखाई किन ?” “यो उनीहरुको खुशीको कुरा हो ।” भनेर एउटा सचेत मान्छे समाजनिरपेक्ष भएर बस्न सक्दैन । किनभने सतकौं वर्षको आर्थिक, राजनीतिक, सामाजिक र साँस्कृतिक तालिमद्वारा उनीहरुको दिमागलाई कजाइएको छ । यसरी कजाइएको छ कि पितृसत्ताको गुलामीलाई आफ्नो परम “कर्तव्य” र “प्रेम” ठान्दछन् । के यो भ्रमबाट मुक्त गर्नु एउटा ब्यूँझदै गरको मानिसको कतव्य होइन ? तर एकथरि मानिसहरु अहिले पनि यस्ता पक्षहरुलाई “प्रेम”को रुपमा परिभाषित गर्ने धृष्टता गर्दैछन् । जुन आजको समयमा बाँचेर पुरातन दाशत्वमाथि गर्व गर्ने अतितमुखी, विचारविहिन र पत्रु मानसिकता हो ।
          जुन समाजमा  विवाहको नाउँमा छोरीलाई “कन्या दान” दिइन्छ । जुन साँस्कृतिक तन्त्रभित्र पुरुष सदाकाल “मालिक” अनि नारी केबल “भोग्या” हुन्छे त्यही तन्त्रको समर्थक भन्छ खुट्टाको जल खानु पनि प्रेम हो । जुन साँस्कृतिक प्रशिक्षणभित्र हुर्किएको पुरुष अनि परिवारहरु सोचेजस्तो दाइजो नपाएकोमा महिलालाई ज्यूँदै जलाउन उद्यत छन् । जहाँको लैंगिक विभेदकारी मनोविज्ञानले घरघरै मानसिक र भौतिक बलात्कारीहरु जन्माउन उद्यत छ, त्यही मनोविज्ञानले देख्छ स्वतन्त्रताका अनयुयाीहरुलाई संस्कारवीहिन र उद्धण्ड ! अनि दाश मानसिकताका तिनै उपज हुन् दाशत्वलाई “प्रेम” देख्नेहरु । जसको प्रेमलाई अहिले पनि जात, धर्म, पैसा र कुल घरानका तगराहरुले छेक्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्