मृत्यु संस्कारबारे केही कुरा

       | 816 Views |   Published Date : 5th September 2019 |

–राम बहादुर जि.सी.

जीवन जति सत्य,यथार्थ र नजिकको हो मृत्यु पनि त्यत्तिकै नजिक,सत्य र यथार्थ हो।फेरि पनि जीवन सबैलाई पृय र रुचिकर लाग्दछ भने मृत्यु शोक,पीडा र दु:खको क्षण।हर कोहि मानिस निधन हुँदा उ संग सम्बन्धित आफन्तजन,शुभेच्छुकहरुले घरपरिवारका अन्य सदस्यहरु संग दु:खको क्षणमा शोक र सम्बेदना साट्न चाहन्छ्न।आत्मियता र भातृत्व साटफेर गर्न रुचाउँछन् ।हिजो उ संग बिताएका सकारात्मक तथा नकारात्मक गुण विशेषताबारे टिप्पणी गर्दै उसको स्मरण गर्दछ्न।यहिनै सभ्य समाजको संबेदनसिल मिजास पनि हो।मानिस वा कुनै जनाबर मृत्यु पछि त्यसलाई ब्यबस्थापन गर्न वातावरण दुषित र दुर्गन्धित नहोस् भन्नाखातिर जलाउने वा गाड्ने परम्परा छ।विभिन्न जाती तथा जनजाति,बर्ग समुदायहरुले आ-आफ्नै परम्परा रिति थिती ढाचाकाचा अनुसारनै मृत्यु पछिको संस्कारलाई मान्ने मनाउने गर्दछ्न।त्यसमा सबैका आ-आफ्नै धार्मिक आस्था,बिश्वास र दार्शनिक समझले पनि काम गरेको हुन्छ।आफूले मानी आएको र आफूलाई सत्य लागेको कुरा अरुलाइ पनि स्विकार्य हुनुपर्छ र त्यही मात्र अन्तिम सत्य हो भनी हठदाबी गर्दै अरुको बिचार तथा आस्था माथी धावा बोल्नु र जबर्जस्त बिचार लाद्न खोज्नु,उसको हुर्मत लिन खोज्नु,अपमान र निन्दाचर्चाको बिषय बनाइनु स्वयंमा अल्पज्ञान र रोगी मानसिकताका उपज हुन।
   यहि जेष्ठ २५ गते मेरो बुवाको ७३ बर्षको उमेरमा मुटु रोग सम्बन्धि समस्याले ग्रस्त भै उपचारको क्रममा निधन हुन पुग्यो।बुवाको निधन पछि मैले परम्परागत कर्मकाण्डिय विधि बिधान अन्तर्गतको मृत्यु संस्कारलाई नकारे।अथार्त पछ्याउन सकिन।यसको मतलब मैले कपाल खौरिन,छाक छाडिन,नुन बारिन,कोरामा बसिन,ढिकुरो फुटाउनमा सम्लग्न भइन,गरुडपुराणको पिडक कथामा आधारित नरक आतंक सुन्न अस्विकार र नामन्जुर गरे।युगौ देखि मानी आएको र चली आएको परम्परा बिरुद्ध के किन र कसरी जस्ता प्रश्न,सन्देह र जिज्ञासा राखि जमेर बसेको रुढ,अन्धबिस्वास र अबैज्ञानिक जर्जर पर्खाललाई त्यही जग आधारमा सामान्य लिपापोती र मर्मत  सम्भार मात्रै होईन भत्काउनै पर्ने आह्वान गरें।मैले यो निर्णय कुनै भावाबेश,आबेग,उत्तेजना र कसैको धर्म तथा आस्था माथि प्रहार वा आग्रहि भएर होइन कि मेरो लामो अध्ययन,अनुसन्धान र मेरो निश्चित दार्शनिक समझको निष्कर्षको परिणाम हो।मलाई थाहा थियो- मैले यसो गर्दै गर्दा परम्परागत समाज र त्यसैमा हुर्किखेलेका मेरा आफन्तजनबाट म माथी गाली,निन्दा,धिक्कार,मुर्दाबादका स्वर आवाज निकाली मलाई अपनानित गरिने छ,मेरो तेजोवध गरिने छ,असामाजिक र अब्यबहारिक भएको आरोप खेप्नु पर्ने छ।नभन्दै,मैले त्यही ब्यहोरे।रुढी,कट्टरता र अन्ध परम्पराले जेलिएको लेउ लागेको फोहोर पोखरी सफा गर्ने सोच बनाउदा शुरुआत र पहलकदमी लिंदा म माथी आइ लागेका सम्पूर्ण गाली र अपमानलाइ झेल्ने र  चिर्ने योजना सर्जामका साथनै यो कदम चालेको थिए।यहि नै मेरो आस्था र धर्म थियो।आफूलाई ऐतिहासिक द्वन्द्वात्मक भौतिकबादी बैज्ञानिक बिचार द्वारा लैस भएको पनि भन्ने अनि फेरि रुढि,जडता र अन्धबिश्वासलाइ तोड्न आनाकानी गर्ने,मौनम शरणम गच्छामी,दोग्ला चरीत्र अपनाउनेहरुको हर्कत प्रती जहिल्यै उठिरहन्थ्यो।कथनी र करनी बिचको बेमेल जिन्दगी जिएकाहरुको ढोंगी चरित्र देख्दा साच्चै दया लाग्थ्यो।मैले सोच्थे-दुनियाँ बदल्नु छ सुरुवात आफैबाट गर्नुपर्ने छ।यसै सन्दर्भमा मृत्यु संस्कारलाई नअंगाल्दा मैले निकै ठूलो बहादुरीपूर्ण र साहसिक कर्म गरे भन्दा पनि चर्चित साहित्यकार खगेन्द्र संङ्रौलाको भाषामा “गरुडपुराण शोकाकुलजनका नाममा लुट्ने झेली र कपट कथा हो।यो विश्व हिन्दु मुद्रण इतिहासमा गरुडपुराण भन्दा लुब्ध,कुरुप र बिद्रुप कल्पना अन्त कतै छैन।तसर्थ हिन्दु मृत्यु संस्कारमा गरिने सुधारको पहिलो पाइलो गरुड पुराणको नीति निर्देशनलाई सदाका लागि त्याग्नु र त्यस कर्मलाइ नामन्जुर गर्नु नै हो।”
हो, यस शब्द ब्यहोरालाइ मनन गरि मैले मृत्यु संस्कारलाई नमान्ने घोषणा गर्दै कम्तीमा प्रगतिशील सांस्कृतिक रुपान्तरणको जगमा एक इट्टा भए पनि थप्ने जमर्को गरेको हुं।ताकी भबिस्यका सन्तति तथा युवा पिढिले यस बारेमा सकारात्मक नकारात्मक टिप्पणी गर्दै सन्देह,प्रश्न,आलोचना तथा समालोचना गरून्।तथ्य द्वारा सत्य पहिल्याउने कोसिस जारी राखुन भन्ना खातिर आफू माथिका दुत्कार,भत्सर्ना,अपमान र घृणालाई सुन्दै पचाउदै सत्य उदघाटित गर्ने निर्णयमा पुगेको हुं। वास्तवमा मृत्यु संस्कार जिवित स्वजन र आफन्तजनहरुले मृतक प्रती कृतज्ञता प्रकट गर्ने,नियती संग सम्झौता गर्दै शोकलाइ सान्त्वनामा बदल्ने संस्कार हो।फेरि पनि भनु-बाचुन्जेल सम्मनै हो अभिभावक र सन्तती बिच एक अर्कालाई बुझ्ने कर्तव्यबाट बिमुख र च्युत नभै सचेत भएर लागि पर्ने।बाचुन्जेल सामान्य भलाकुसारी,हेलो हाय गर्न समेत झिन्झट मान्ने,आफ्ना अभिभावक,अशक्त बुवा आमा प्रती बेखबर,नामालुम,अनदेखा छि छि र दुर दुरको रुख अपनाइ अमानवीयता र असभ्य मिजास राख्ने अनि मृत्यु पश्चात् दुनियाँलाई देखाउनका लागि,लोकका लागि लोकाचार र पापाचारका मन्चन स्वयंमा सिल्ली हर्कत हो।ढोंगी पन हो।आफन्त,घरको मुलि,अभिभावक,कमाउ ज्यान मृत्यु हुँदा स्वभाबिकै रुपमा मानिस मानसिक रुपमा तनाब र शारीरिक रुपमा थकित,गलित र कमजोर हुन पुगेको हुन्छ त्यस माथी गरुडपुराणको नीति निर्देशन र विधि अनुसार नुन छाड्ने,छाक छाड्ने,कपाल खौरने,कोरामा बस्ने,आतिलो र पोषिलो खानपानमा बन्देज लगाउने,स्वर्ग र नरकका भय,त्रासका कथा सुन्दै आफूलाई थप पीडा दिन लगाउने पिडक हिंस्रक र ज्याद्रो कथाको सारनै गरुडपुराण हो।गरुडपुराण भन्नुनै मृत्यु संस्कारलाई अवलम्बन गर्नु हो।समाज बिकासको सुरुवाती चरणमा,मानव सभ्यताको बिकास क्रममा असभ्य,अबिकशित र अशिक्षित चेतनामा त्यस समय चेतनाका निश्चित बर्ग र टाठाबाठाहरुले आफू हरुको भलोको निम्ति कुटिलता र चलाखिका साथ पाप,धर्म,पुन्य, कर्म भाग्य,भरोसा,स्वर्ग,नरक,इश्वर जस्ता मनगढन्ते र कल्पित धारणालाई मनोबैज्ञानिक रुपमा कत्थ्य सामाग्रीहरु तयार पारी समाज सामु पस्के।अबश्य पनि त्यस जमानामा र त्यो चेतनामा त्यस बिचारले संबिधान,कानुनको काम गर्यो।मानिसले नदेखे पनि भगवानले देख्छन,जे गर्छन् उनैले गर्छन् भन्दै समाजलाई अनुशासनहिन,अराजक, भद्रगोल,अव्यवस्थित र असामाजिक हुन नदिन त्यसले रोक्यो,छेक्यो।समयक्रममा ती सवै हुने खाने शोषकहरुले श्रम गरेर,पसिना बगाएर खाने लप्पट गरिबहरुलाइ दबाउने,कज्याउने र हेप्ने भरपर्दो हतियार बन्न पुग्यो।अद्ध्यापी बन्दै छ।बडो अजिब र ताज्जुब त त्यति बेला लाग्दछ कि-तत्कालीन समाज र चेतनामा तयार पारिएका धर्म ग्रन्थ र शास्त्रीय मतहरुले आजको बैज्ञानिक र प्रमाणिक युगमा पनि रजगज गर्न खोज्नु,समाजलाई त्यही आँखा र चश्मा पहिर्याएर डोर्याउन र हाक्न खोज्नु  र जसले त्यस बिचारलाइ पछ्याउन सकिँदैन भन्छ त्यस प्रती आँखा चिम्लेर होइन सन्देह,जिज्ञासा सहित आलोचनात्मक तरिकाले सत्य खोतल्न,कारण बुझ्न् चाहन्छ वा आग्रह गर्छ,त्यस प्रती टेढो नजर लगाइ घृणा अपमान देख्लास पख्लासका ध्वास धम्कि दिंदा समेत आजका सचेत र पढालेखामा दरिने हामीहरु आँखामा आँखा जुधाइ त्यस बिचारको सशक्त प्रतिकार गर्न हिच्किचाउछौ,रुढी,अन्धबिश्वास र अबैज्ञानिक प्रथाको सामुन्ने लुरे र लुते भै मौनम शरणम गच्छामी र दोग्ला चरित्र अपनाउछौ।
यद्यपि आध्यात्मिक दार्शनिक समझ र मिथक भित्रको रुढी र परम्पराबादी बलियो सिमेन्टेड पर्खाललाई चर्काउन,भत्काउन त्यति सजिलो छैन।त्यसको लागि निरन्तर प्रयास,आबश्यक ज्याबल र बैचारिक हतियारको सर्जाममा जुट्दै हस्तक्षेपकारी पहलकदमिको शक्त जरुरी भने अबश्य छ।मृत्यु संस्कार प्रबृत्तिको  बिरोधको लागि बिरोध भन्दा पनि सबैलाई पाच्य,ग्राह्य र सामाजिक उत्तरदायित्वपन,मानबताबादको बिकास गराउन संस्कृति र सांस्कृतिक रुपान्तरणको मामिलामा सोच्ने,लेख्ने बोल्नेहरुले भर्पर्दो बिकल्प दिन तयार हुनुपर्ने छ।मस्तिष्क मन्थनको तड्कारो खाचो भएको छ।१-यसको लागि मृत्यु संस्कारलाई कम झन्झट,कम बोझिल र कम खर्चिलोपन बनाउन दाहसंस्कारकै दिन त्यहाँ सामेल शुभेच्छुकहरुलाइ सामान्य बिस्कुट,चकलेट पानीको जोहो गर्दै बढिमा ३ दिन वा ५ दिन भित्र  श्रद्धाञ्जली शोक सभा कार्यक्रम आयोजना गर्दै छौँ,त्यहाँ तपाईंहरुको फरक मतको पनि कदर गरिने छ र बोल्न दिइने छ हामीलाई शान्त्वना,ढाडस वा आलोचना गर्न सकिने छ,त्यस समयमा यहाँहरुको उपस्थितिको जरुरत छ भन्दै आह्वान गर्ने।२-मृत ब्यक्तिको सम्झनामा उसका सकारात्मक तथा नकारात्मक गुण विशेषता,अभिभाबक र सन्ततिले खेल्नुपर्ने कर्तव्यबोधको भूमिकाबारे टिप्पणी आत्म समिक्षा र आगे बाचेका प्रतिको दायित्व सम्बन्धमा मैत्रीपूर्ण संवाद र भाइचारापनलाइ बढवा। ३-३ दिन वा बढिमा ५ दिन भित्र बिना ब्राह्मण र पुरेत नितान्त पारिवारिक भेटघाट जसमा आफन्तजन,शुभेच्छुकहरु बिच दुःख,शोक तथा सम्बेदना साटफेर गर्ने अवसरका रुपमा लिइ प्रत्यक बार्षिकिमा अनिवार्य रुपमा उपस्थित भै  श्रद्दा स्वरुप केही उल्लेख्य सामाजिक कर्ममा हात हाल्ने घोषणा आदि इत्यादि ।

यसर्थ फेरि पनि जोड दिएर भनौ-बाचुन्जेल सम्म हामी हाम्रा बृद्ध अबस्थाका बा आमा,इष्टमित्र,बन्धुवान्धब,शुभेच्छुक संग दिल खोलेर सुखदुःखमा सहभागी बनौ।सन्चो बिसन्चो,हेलो हाय सोधखोज गर्न कन्जुस्याइँ नगरौं।एक अर्काको सिमा बाध्यतालाई बुझ्दै आत्मीयता साटौ।मीठो बोलौ,भरसक अरुलाइ बिझ्ने गरि दिल नदुखाऔ। कर्तव्य प्रती सचेत बनौ।मृत्यु पश्चात् सम्बन्धित जनको दु:खमा दु:ख बाडन,शोक तथा सम्बेदना साट्न आतुर होऔ।भाइचारा,बन्धुत्वपन कायम राखी ब्यबहारिक र सामाजिकरण हुनुमा बल गरौ।फेरि पनि जोड दिएर भनु- व्यबहारबाटनै आंटी र हिम्मती बनी संस्कार भरिमा सबैभन्दा पिडक,हिम्स्रक र ज्याद्रो मृत्यु संस्कारको बोझिल,झिन्झट खर्चिलो रुढीबादी मान्यताको लोकाचार र अमानवीय भयाक्रान्त पिडक कथामा आधारित गरुडपुराणको विधि र निर्देशन मान्न अस्विकार गरौ।आफन्तको मृत्युमा शोकमा डुबि रहेकाहरुलाइ नरकका कथा सुनाइ झनै पीडा दिने किरिया कर्म नमान्न,अस्विकार गर्न र त्यस  कर्मलाई दन्त्यकथाको रुपमा सुनिने र पढिने बनाउने प्रकृयामा लागि परौ।समग्रमा मानवीयता,संबेदनसिलता,अनुशासन,कर्तव्य तथा नैतिक मूल्यबोध बारे सचेत र जागरुक बनौ।भबिस्यका सन्ततिलाई अन्धबिश्वास,अबैज्ञानिक मान्यताको पक्षपोषण र अनुशरण होइन त्यस प्रती सन्देह,सचेत आलोचनात्मक तथा समालोचनात्मक चेतको बिकास गर्दै र कारण खोतल्दै तथ्य द्वारा सत्य उद्घाटित गर्ने प्रयत्नमा जोड दिऔ।समय चेतको आवाजले हामीलाई यसै भन्न निर्देश दिइरहेको छ।अन्त्यमा म र हाम्रो घरपरिवारलाई परेको दु:ख र शोकको यस क्षणमा सम्पूर्ण रुपले सहयोगी बन्ने,भाइचारा र बन्धुत्वलाई अझ बिकसित र परिष्कृत रुपमा लैजान हातेमालो गर्ने,हामिलाइ ढाडस र हौसला प्रदान गर्नु हुने मानबताबादी ती आत्मीय सहृदयी मनहरु प्रती हृदय देखि आभार तथा धन्यवाद प्रकट गर्न चाहान्छु।

  पुनःआदरणीय ब्यक्तित्व जे.पि.शर्मा ‘अपार’ जिले भने झै “हामी संख्यामा होईन सच्याइमा बिस्वास गर्छौ त्यसको बिकास बिस्तारमा लागि पर्छौ।”जीवनको बाटोमा पहिले ब्युझेकाहरु अघि लाग्दछ्न,पछि ब्युझेकाहरुले आँखा मिच्दै तिनको सिको गर्दछन।

प्रतिक्रिया दिनुहोस्