कविता आफ्नो समयप्रतिको कलात्मक सरोकार हो

       सरिता तिवारी | 710 Views |   Published Date : 4th December 2014 |

Sarita_tiwari

सरिता तिवारी समकालीन प्रगतिवादी कविता लेखनको क्षेत्रमा स्थापित नाम हो । कविताका साथै फूटकररुपमा निबन्ध, अनुभूति र समसामयिक लेखनमा कलम उत्तिकै कलम चलाइरहेकी तिवारीका बुद्ध र लाभाहरु कविता संग्रह (२०५७) र अस्तित्वको घोषणापत्र कविता संग्रह २०६७ प्रकाशित छन् ।
प्रगतिशील लेखक संघ चितवनको अध्यक्षसमेत रहेकी तिवारीसँग उनको कविता लेखन अनुभव र साहित्यका विविध विषयमा सहकर्मी प्रमोद धितालले कुराकानी गरेका छन् ।

तपाईंको लागि कविता के हो ? कुन प्रयोजनका लागि लेख्नुहुन्छ ?

हाम्रो जस्तो समाजका सापेक्षमा कविता आफ्नो समयप्रतिको कलात्मक सरोकार हो भन्ने लाग्छ । यो सामाजिक न्यायका निम्ति प्रतिरोध र प्रतिरक्षाको स्वर हो । कलाको निरपेक्षताको वकालत गर्नेहरुका लागि कविता ठीक यस्तै नहुन सक्छ । म कविता लेखनबाट कलात्मक ढङ्गले आफ्नो समयसित राजनीतिक, साँस्कृतिक सम्बाद गर्न मन पराउँछु । मेरा लागि कविता लेखन पनि एक प्रकारको राजनीति नै हो । केवल भावावेग प्रकट गर्ने हेतुले शौखका लागि कविता लेख्नुमा मलाई रुचि छैन ।

कविताको गरिमा बचाइराख्नको लागि एउटा इमान्दार कविको कर्तव्य के हुन जान्छ ?

कविता अचाक्ली सस्तो विषय बनेको देख्छु । भट्टीमा बेच्न राखेको लोकल रक्सीभन्दा पनि सस्तो । कविताको सबैभन्दा बेहाल स्थिति फेसबुकमा देख्न पाइन्छ । प्रबिधिको उच्चाटलाग्दो प्रयोगले कविमा साधनाको धैर्य गुम्दै गएको अनुभव हुन्छ । कवितालाई क्षणिक आवेगका लाइक र कमेन्टका आधारमा तौलिने सारै सामान्य कुराजस्तो बनाइदिएका छौं हामीले । यद्यपि असल र शक्तिशाली कवितालाई एकैपटकमा धेरै पाठकहरुसम्म पु¥याउन फेसबुकजस्तो बृहत्तर सञ्जालको महत्व कम छैन तर प्रदूषित विचारहरुले भरिएका झूर कविताहरुको भीडमा तिनको हालत निरीह देखिन्छ ।

प्रिन्ट मिडियामै पनि एकाधमा बाहेक सम्पर्क र सम्बन्धका आधारमा छापिने कविताहरुकै घुइँचो छ । कविता के का लागि ? भन्ने प्रश्नमा नाम चलेका भनिएकै कविहरुमा पनि भयानक अन्योल छ । खासगरी माक्र्सवादी सौन्दर्यचिन्तनलाई कविता लेखनको वैचारिक प्रस्थानबिन्दु मान्ने कविहरुमा यसप्रति प्रशस्त सचेतता अपेक्षित छ ।

पाठकहरुलाई आफ्नो रचनाप्रक्रियाको बारेमा बताइदिनुस् न । सुनिन्छ केही कविहरु आफ्ना हरेक कविताहरुमाथि महिनौं या वर्षौंसम्म काम गरिरहेका हुन्छन्, कोही एकै बसाईमा कविता पूरा हुने बताउँछन्, तपाईंको अनुभव के छ ?

कविता लेखन अत्यन्तै जटिल कुरा हो । यो विचारको एउटा बीउबाट सुरु हुन्छ तर सजिलै बिरुवा बनिहाल्दैन । शायद यो माटो, पानी, हावा र तापक्रमजस्तै आधारभूत तत्वहरुको संयोगपछि मात्र साकृत भएर निस्कन्छ । म चाहिं, कुनै विषयले दिएको भावात्मक आघातको प्रतिक्रियामा कलात्मक प्रक्षेपण निम्ति कविता लेखिन्छ भन्ठान्छु । सबै कविहरुको रचनाप्रक्रिया एउटै नहोला ।

मेरो अनुभवमा कुनै कविता एकै बसाइमा लेखिसकेका पनि छन् र कुनै महिनौंपछि मात्र पूरा भएका पनि छन् । कविताको एउटा सामान्य सर्त के चाहिं हुन्छ भने त्यो लेख्नेबित्तिकै सुनाइदैन वा सुनाउनु हँुदैन । प्रत्येक कविताले परिपाकको समय माग गर्छ । आफ्नै कवितालाई बारम्बार पाठक बनेर पढ्दा कविताले कलात्मक प्रशोधनको अवसर प्राप्त गर्छ । शिल्पी कविले यही अवसरबाट शब्दबिन्यास र अर्थबोधका बीच सौन्दर्यसेतु निर्माणका नयाँ–नयाँ र जोखिमपूर्ण अनुभव संगाल्दै जान सक्छ ।

राजधानी र मोफसलबीचको खाडलका कुराहरु या काठमाडौंले मोफसलहरुलाई साहित्यमा पनि शोषण गरिरहेको छ भन्ने कुराहरु बारम्बार चर्चा हुने गर्छ, काठमाडौंमा बसेर लेख्दैमा सबैथोक गर्न सम्भव हुने पनि होइन होला । तर केही लेखकहरु भने मोफसल बाहिर पनि राम्रो गरिरहेका छन् । काठमाडौं र मोफसलको भिन्नताले लेखनलाई के फरक पार्छजस्तो लाग्छ यहाँलाई ?

केही फरक त अवश्य पार्छ नै । मोफसलमा बसेर राजधानीसम्म प्रसार पाउन तपाइँको रचनामा कुनै न कुनै प्रकारको लाउडनेस चाहिन्छ । त्यो अराजक या अतिक्रमणकारी समेत भयो भने राजधानीका कानले अझ चाँडो सुनेको देखिन्छ पनि ।

तर जुग फेरिएको छ । राजधानीभन्दा बाहिर पनि साहित्यका नयाँ–नयाँ केन्द्र बन्न थालेका छन् । आजका लेखक काठमाडौंको निगाहमा रचना छाप्नैका लागि मरिहत्ते गर्दैनन् । तिनले आफू जहाँ उभियो, त्यहीं आफ्नो स्पेस बनाइरहेका छन् ।

यो स्थिति बडो रोमाञ्चक बन्दै गइरहेको छ । यही कारण हो आज कतिपय लेखकहरुलाई भाडा हालेर बोलाई–बोलाई होटलमा राखेर कार्यक्रमहरु गर्न काठमाण्डू बोलाउँछ राजधानी ।

यद्यपि काठमाण्डूसित राजधानी हुनुको दम्भ त कायमै छ किनभने मुलुकका ठूला–ठूला प्रकाशन गृहदेखि प्रिन्ट मिडिया र श्रव्य दृश्य सञ्चारमाध्यमको केन्द्र काठमाण्डू नै हो । मोफसलको स्रष्टामा पनि कमोबेश यो वा त्यो रुपले काठमाण्डूकै आड लागेर लेखकमा दरिने भ्रमले लेखनलाई पनि प्रभावित पारिरहेझैं लाग्छ ।

मान्छेहरु साहित्यलाई परिभाषित गर्ने क्रममा सजिलै भनिदिन्छन्– ‘साहित्य समाजको प्रतिबिम्ब हो ।’ के समाज त्यति सरल छ जसको प्रतिबिम्ब साहित्यमा सजिलै आउन सकोस्, अनि समाजको प्रतिबिम्बन भन्ने कुरा दृष्टिकोणनिरपेक्ष रहन सम्भव छ ? तपाईंलाई कस्तो लाग्छ ?

प्रतिबिम्बले वस्तुका ठ्याक्कै सामुन्नेको भाग देखाउँछ अरु देखाउन सक्तैन । ऐनामा हेर्दा त्यसले मानिसको अनुहार वा भङ्गिमा देखाउन सक्छ तर उसका भित्री अवयबहरु देखाउन सक्तैन । प्रतिबिम्बले वस्तुको सम्पूर्णता परिभाषित गर्नै सक्तैन । जो क्रियात्मकताविहीन साहित्यका पक्षधर छन्, जो साहित्यको गतिशीलताको चरित्रलाई नजरअन्दाज गरेर सपाट परिभाषा दिन मन पराउँछन् तिनले भन्ने यही हो । कलाको निरपेक्ष सत्ताको वकालत गर्नेहरुले दिने सजिलो परिभाषा हो यो ।

साहित्य मानिसको इतिहास हो तर इतिहास मात्र पनि होइन । समाजशास्त्र हो तर यो समाजशास्त्र मात्र पनि होइन । यो मानिसले अहिलेसम्म जानेका सबै विचारहरुको कलात्मक समुच्चय हो, जुन हामीले बाँचिरहेको समाजका सङ्घर्ष, पसिना, सुख, प्राप्ति, परिहास, उत्पीडन, सुस्केरा जम्मैसित अन्तरघुलित हुँदै उत्पादन हुन्छ । त्यस अर्थबाट हेर्दा ‘प्रतिबिम्ब’ले साहित्यको एकांकी र अधुरो अर्थ मात्रै दिन्छ ।

यस्तो परिस्थिति वा अभिप्रेरणाको सम्झना दिलाउन सक्नुहुन्छ जसले पहिलोचोटि कवितालेखनतर्फ लाग्न घच्घच्यायो ?

ठ्याक्कै भन्न गाह्रो छ । मुख्यतः म हुर्किएको समाज नै हो जहाँ मैले आफ्ना नाङ्गा आँखाले वर्गहरुको अस्तित्व देखें, भोगें । निम्नमध्यम वर्गीय श्रमिक परिवारमा जन्मिएकाले दुःखको गन्ध, स्वाद, स्पर्श र अनुभूति महसुस गरें । मेरा लागि यो मेरो वर्गीय चेतनाको महत्वपूर्ण पाठशाला थियो ।

२०४६ सालको आन्दोलनताका घरमा प्रशस्त किताबहरु दाइ दिदीहरुले ल्याउँथे । पत्रिकाहरु पनि कता–कताबाट आउँथे । हजुरआमा शिलोक, दोहा गाउनुहुन्थ्यो सधैं सुत्ने बेला । दिदीहरु लय हाली–हाली गीत, कविता सुनाउँथे । दाजु साह्रै राम्रो गरी डायरी लेख्नुहुन्थ्यो । शायद तिनैको प्रेरणाले तानिएकी हुँ कवितातिर । सात÷आठ कक्षा पढ्ने बेला त म बादलका बुट्टा हेर्दै कविता कल्पिने भइसकेकी थिएँ ।

मलाई लाग्छ, कोही पनि यत्तिकै बनिबनाउ लेखक हुँदैन । परिस्थितिले उसलाई बनाइदिन्छ लेखक थाहै नपाइकनै र बिस्तारै । म यस्तै किसिमले कवितालेखनमा लागेकी हुँ ।

‘साहित्यमा प्रगतिशील/अप्रगतिशील भन्ने हुँदैन यो आफैमा जनहितकारी एवं प्रगतिशील हुन्छ, तसर्थ यसरी कित्ता विभाजन गर्नु ठीक होइन’ भन्ने मत पनि छ यो कुरासँग सहमत हुनुहुन्छ ?

छैन । लेखनमा पक्षधरता हुन्छ । कसैले हुँदैन भन्छ भने कि त ऊ सत्ताको भाट हो कि पाखण्डी । हरेक वस्तुसित कम्तिमा दुइटा पाटा हुन्छन् । जस्तो कि– उज्यालो र अँध्यारो, सुख र दुःख, घाम र छायाँ आदि । तपाइँको लेखन उज्यालोको खोजी हो या अँध्यारैको स्वीकृति ? तपाइँले एउटा कुरा त बोल्नैप¥यो नि ।

अकारण त बालक पनि रुँदैन भने लेखकको कलाचेतना कसरी हुन सक्छ जीवनचेतना निरपेक्ष ? लेखक भनेको समाजको एक साँस्कृतिक अन्वेषक हो । ऊ एक न एक प्रकारको सौन्दर्यचेतमा उभिएर समाजको साँस्कृतिक गतिशीलताका लागि सिर्जनात्मक रुपले सक्रिय हुन्छ भन्ने मैले बुझेकी छु ।

त्यस अर्थमा लेखकको पनि वैचारिक प्रस्थानबिन्दुका आधारमा कित्ताकाट हुनुपर्छ । स्वयम्मा अस्पष्ट, बिभ्रमकारी र अन्योलग्रस्त लेखकले जनहितकारी र प्रगतिशील विचारको उत्पादन हुनेगरी लेख्न सक्ला ? तर यस प्रसङ्गमा जरुरी छैन कि प्रत्येक प्रगतिशील लेखक माक्र्सवादी नै हुनुपर्छ भन्ने । भए चाहिँ अझ राम्रो ।

नेपालको वर्तमान प्रगतिशील/प्रगतिवादी कवितालेखनको अवस्थालाई कसरी हेर्नुभएको छ, अनि यसका चुनौतिहरु के हुन् ?

प्रगतिवादी कविताको आफ्नो परम्परामा नै सबभन्दा उत्साहजनक अवस्था यतिखेर प्रकट भएको छ भन्ठान्छु । यो सतहमा देखिएका कुरालाई मात्रै समेटेर अगाडि बढिरहेको छैन । यसले समाजको साँस्कृतिक व्याप्ति उत्खनन गर्दै आफूलाई सीमान्तसम्म पु¥याइरहेको छ ।

हिजो व्यवस्थाका बिद्रूपतासित भोकभोकै प्रतिरोध गरेको प्रगतिवादी कविता आज तेस्रो विश्वले भोगिरहेको आर्थिक र साँस्कृतिक उपनिवेशको नाङ्गो नाचसँग, उपभोक्तावाद र भूमण्डलीकरण नामको भयङ्कर अजिङ्गरसित निर्भिकतापूर्वक लड्दैछ ।

लैङ्गिक मुद्दाहरु सघन वैचारिकताको जगमा उभिएर व्यक्त भएका छन् । उत्पीडित जाति, वर्ग र क्षेत्रका मुद्दा बोल्न आज तत् तत् समुदायकै कविहरु उभिएका छन् । चुनौति पनि प्रशस्त छन् हामीसित । हामीले आफैलाई आत्मसमीक्षा गर्न सकिरहेका छैनौं ।

हामी यो वा त्यो रुपले नेपालको बामपन्थी आन्दोलनको बिभाजन र क्षयीकरणका शिकार भइरहेका छौं । राजनीतिक रुपले बामपन्थी आन्दोलन कमजोर हुँदा पनि कवितामार्फत् हामीले त्यसको प्रतिरक्षा गरिरहनुपर्ने चुनौति छ हामीसित ।

साहित्यमा पनि सुन्दरता र कुरुपताको मानक निर्धारण बहुराष्ट्रिय कम्पनीहरुले गर्नथालेको सन्दर्भ यहाँलाई कस्तो लाग्छ ?

यसको आतङ्क जहीं तहीं छ । कलाका बिभिन्न रुपहरुमा यो मानकीकरण व्याप्त छ । पूँजीवादसित मानिसको विवेक ऐंठिने आकर्षक सूत्र छन् । यिनैमध्येको कुनै सूत्रले साहित्यलाई पनि वस्तुकरण गर्दै लगेको हेर्न अब टाढा जानु पर्दैन । पछिल्ला केही वर्षयता भइरहेको झूरभन्दा झूर किताबहरुको बिक्री र तिनैको प्रबद्र्धनका नाममा हुन थालेका लिटरेचर फेस्टिवल र उत्सवहरु हेर्दा हुन्छ ।

कवित्व प्रतिभा कति जन्मजात कति आर्जित हो ?

जन्मदै कवितातत्व सिकेर कोही आउँछ जस्तो मलाई त लाग्दैन । तर प्रतिभाका लागि केही अनुकूलताहरुको उपस्थिति चाहिं जरुरी छ भन्ठान्छु । व्यक्तिको हुर्काइसित, ऊ बाँचेको समाज र संस्कारसित कवित्वको रागात्मक तार जोडिन पुग्दो हो । कतिपय अवस्थामा यो तीव्र सङ्कल्पको पनि परिणाम हो । शायद यसैलाई आर्जित प्रतिभा भनिन्छ ।

अहिलेको कवितालेखनभित्र जल्दोबल्दोरुपमा समेटिनुपर्ने तर छुटिरहेका कुराहरु के हुन् जस्तो लाग्छ ?

एउटै कविसँग धेरैथरिको अपेक्षा गरिनु राम्रो होइन । कविहरु आ–आफ्ना विशेषतासहित फरक–फरक स्वाद र गन्धका कविता लेखिरहेका छन् । तिनमा उन्नत माक्र्सवादी चेतनाको अपिल छ साझा रुपमा ।

नेपाली मौलिकतासहितका डाँफे–मुनाल कविताको हौवा पिटिरहेको तथाकथित कलावादी आग्रहको धज्जी उडाइरहेका छन् आजका प्रगतिशील कविहरुले । देवान किराँती, अभय श्रेष्ठ, केशव सिलवाल, स्वप्नील स्मृति, बिनोदविक्रम केसी, शकुन्तला जोशी, सङ्गीतश्रोता या राजु स्याङ्तान र सुवास खनालहरु आजको समयलाई जबर्जस्त रुपले हस्तक्षेप गर्दै कविता लेखिहरेका छन् । यिनीहरुका कविता चर्का अवश्य छन् तर हाम्रो समयको स्वरलाई ध्वनि दिन समर्थ भएकाले यिनैका कविताहरु समकालीन कविताको मूल प्रवाहमा छन् ।

अहिलेसम्म तपाईको जीवनअनुभवले सिकाएको सबैभन्दा ठूलो पाठ के हो ?

आत्मसङ्घर्ष ।

अन्त्यमा थप केही ?

हार्दिक धन्यवाद !

प्रतिक्रिया दिनुहोस्