सुशांत सुप्रियका कविताहरु

       | 185 Views |   Published Date : 12th September 2019 |


    भारतीय कवि सुशांत सुप्रिय

            अनुवाद ः प्रमोद धिताल

 

 

च्यातिएको खल्ती

मेरो देशका
हरेक मानिससँग छ
च्यातिएको खल्ती

भनिन्छ
सारा खल्तीहरुको
सारा रुपया पैसा
पुग्यो
विश्व–बैैंक र
बहु–राष्ट्रिय कंपनीहरुको खातामा
जब नीतिहरुमा हुन्छ खराबी
तब बच्छन् केवल
च्यातिएका खल्ती

विडम्बना

कति उज्यालो छ
फेरि पनि कति अँध्यारो छ

कति नदीहरु छन्
फेरि पनि कति तिर्खा छ

कति धेरै अदालतहरु छन्
फेरि पनि कति धेरै अन्याय छ

कति धेरै ईश्वरहरु छन्
फेरि पनि कति अधर्म छ

कति धेरै स्वतन्त्रता छ
फेरि पनि कति खुँट्टेसाहरुले
बाँधिएका छौं हामी

तब उठ

जब
सारा सूर्य
चिसो भैसकेको हुन्छ
समयका आँधिहरुले
निभाइदिएका छन् सबै दीपहरु
तब उठ
र जलाऊ
एउटा मशाल
आसको

जब
जल्दै गरेको समयको भट्टीमा
जलिसकेको हुन्छन् गुलाबी सपनाहरु
जब दुःखको टुप्पोमा
टिकेको हुन्छ जीवन
जब बच्चाहरुको अनुहारमा पढ्न सकिन्छ
बृद्ध चाउरीहरु
तब उठ
र जलाऊ
मानव–सृंखला
आशाको
संकल्पको

जब
विषम दिनहरुमा
फ्यूज हुन्छन्
मनका सबै बल्बहरु
जब आत्मको निर्जन स्थानमा
बचेको छैन
एउटा हरियो पात पनि
तब उठ
र समयको कालो पाटीमा लेख
जीवनको रंगमा
अ आ इ ई
क ख ग घ…..

यो सत्य हो

जब म सानो बच्चा थिएँ
त्यतिखेर म भित्र
एउटा नदी बग्थ्यो
जसको पानी सङ्लो
सफा र पारदर्शी थियो

त्यो नदीमा
रंगी–विरंगी माछाहरु
तैरिन्थे

जब–जब म
ठूलो हुँदै गएँ
मभित्र बग्ने नदी
फोहर हुँदै गयो

बिस्तारै–बिस्तारै
म युवा भएँ
तर म भित्र बग्ने नदी
अब एउटा फोहर नालीमा
फेरिइसकेको थियो

त्यसमा उपस्थित
अधिकांश माछाहरु
मरिसकेका थिए

त्यसको पानी अब
दुर्गन्धित भैसकेको थियो
जसमा रोग फैलाउने वाला मच्छेर हुर्किन्थे

यो दुनियाका
सारा नदीहरुको व्यथा हो
यो दुनियाका
सारा मानिसहरुको कथा हो

 

सुशांत सुप्रिय
जन्म ः २८ मार्च, १९६८
प्रकाशित कृति ः इहत्यारे, हे राम, दलदल, गौरतलब कहानियाँ, पिता के नाम (कथा संग्रह) । अयोध्या से गुजरात तक, इस रुट के सभी लाइने व्यस्त हैं (कविता संग्रह)
ठेगाना ः इंदिरापुरम, गाजियाबाद

प्रतिक्रिया दिनुहोस्