प्रमोद धितालका सात कविताहरु

       | 293 Views |   Published Date : 13th September 2019 |

फैसला

सल्काउनु छ सपनाको दियो
अन्धकार गुफाहरुमा
रोप्नु छ सपनाकै बीउ
मुर्दाहरुको बस्तीभित्र
पैदा गर्नु छ बेचैनी र छटपटी
हिंउ झै चिसो जिन्दगीमा !

आदतमा ढाल्नुछ मुक्तिको हठलाई
बुद्धीविलाशको कैदबाट
बेनकाव गर्नुछ मुखौटाहरुलाई
मानिसको भेषबाट !

विजयलाई सुनिश्चित गर्ने
पराजयहरुसँग हातेमालो गर्नसिक्नुछ
फेरि आफ्नै विरुद्ध युद्धको घोषणा गर्ने
शाहस जुटाउनु छ !

आवश्यक काम

साट्नैपर्ने केहि मौलिक भावना
सोच्नैपर्ने केहि महत्वपूर्र्ण विषय
चाल्नैपर्ने केहि निर्णायक कदमहरु
साँचेको छु कुनै दिनको लागि
बस, यतिखेर मलाई गर्नुछ
आवश्यक कामहरु !

यतिखेर धेरै आवश्यक कुराहरुले
थिचिरहेछन् मलाई
आवश्यक कुरा
जसबाट फुर्सद मिलाएर
व्यक्त गर्नुछ प्रेम
आवश्यक कामहरु
जसबाट मुक्त भएर
लेख्नुपर्नेछ जीवनको कविता
आवश्यक काम
जसबाट फूर्सद मिलाएर
गर्नैपर्नेछ जीवनमा निर्णायक क्रान्ति !

मनभित्र जमेको दुःखको पोखरीलाई
निकाश दिन आँखाको डिलबाट
मिलाउनुपर्नेछ साइत
बस, यतिखेर गर्नुछ केबल आवश्यक कामहरु !

मौसम

यो यस्तो मौसम हो
जहाँ इमानलाई पुष्टि हुन
बेइमानहरु साक्षी बस्नुपर्छ
साधु, साधु भएको प्रमाणित हुनलाई
चोरहरुले हस्ताक्षर गर्नुपर्छ

जमिन

आकाश नाप्दै उड्ने अन्तरिक्ष यान
जमिनको आशीर्वाद लिएरै उड्छ
र फर्किन्छ फेरि जमिनतिरै

हरेक शिखर आरोहणहरु
सुरु हुन्छन् जमिनबाटै
समापन हुन्छन् फेरि जमिनमै
जतिसुकै बेगवान गतिमा कुदिरहेका मानिसहरु
चुमेर रोमाञ्चक गन्तव्यहरु
टेकेरै दौडिन्छन् जमिन
सुस्ताउछन् फेरि जमिनमै

जति आकाश चुम्दै जान्छ वृक्ष
त्यति गहिरिदैं जान्छन् वृक्षका जराहरु
जमिनको गहिराइतिरै

आजको साँझ

आजको साँझ
एउटा अनौठो साँझ
जसमा एउटा शुभ साइतको घोषणा गरिएको छ
भोलिको विहानदेखि थालनी हुनेछ नयाँ यात्राको

छेपाराले खाएको छ
रंग नबदल्ने कसम
गोमनले जनाएको छ
विषको ठाउँमा
अमृत ओकलेर
सबैलाई अमर बनाउने प्रतिबद्धता

सिंह बन्नेछ साकाहारी
र हुनेछैन ऊ स्वेच्छाचारी
तानशाहाले सुनाएर हिडेको छ
स्वतन्त्रताको महिमा गान
यस शहरकै नामूद जल्लादले
दिएर गएको छ अहिंशाको प्रवचन

भोलि विहानदेखि
दुनिया बद्लिनेमा आशावादी छन् मानिसहरु
गोहीले बगाएको छ भर्खरै
संवेदनाको आँसु र गरेको छ एक मिनेट मौनधारण
शहिदहरुको नाउँमा

एउटा यस्तो हत्या

आक्रमण हुनेछ अदृष्य
अदृष्य हुनेछन् हतियार
भूमिगत हुनेछन् षडयन्त्रहरु
शूक्ष्म किटाणुझैं आक्रमण गर्नेछन्
दुश्मनहरुले अदृष्य मोर्चाबाटै

देखिनेछैन
निशाना लगाएको
हुनेछैन कुनै भिडन्त
सुनिनेछैन कुनै पीडाको आहत चित्कार
मिल्नेछैन अवसर माग्न कसैसँग गुहार
असम्भव हुनेछ देख्न
रगत बगिरहेको घाऊ
भेटिनेछैन लाश
सुनिनेछैन कोही आफन्तको शोकमग्न क्रन्दन ।

यसरी हुनेछ हत्या
सुनसान
निःशब्द

सबैभन्दा भयानक कुरा
त्यो हत्यापछि
सोच्न छोडिदिनेछ दिमाग
गर्न छोडिदिनेछ प्रश्नहरु

बाँकि रहनेछैन कुनै उत्तेजना
जुन हत्यापछि
आफूखुसी खरिदनेछ बजारले
र बेच्नेछ आफूखुसी
यसरी हुनेछ मेरो अन्त्य

कवि ‘इच्छुक’

आँधि हुरीसँग खेल्दा खेल्दै
हिम तुषारो र शीतहरु झेल्दै
टाकुरामा फुलेको रातो गुराँस
जति श्रद्धाञ्जली चढाएपनि कहिल्यै नसकिने
आस्थाको एउटा नित्य प्रकाश !

श्वास प्रश्वासहरुले
आजादी गीत गाइरहे
यातनाका पलहरुले
संकल्पको हतियार उठाइरहे
पागल मूर्खतादेखि पराजीत हुँदै
जल्लादहरु हरपल मरिरहे
तिम्रा हर शव्दहरुले
तानाशाहरुको आशन हल्लाइरहे ।

प्रिय कवि !
तिमीले जीवनको
साँचो परिभाषा सिकाएर गयौ
हामीलाई गन्तव्यको नौलो
अर्थ देखाएर गयौ
हाम्रा हातहरुमा कहिल्यै ननिभ्ने
ज्योती थमाएर गयौ

प्रतिक्रिया दिनुहोस्