अन्तिम फैसला

 

-प्रमोद धिताल

जुन विधानहरुले
डामेर यातनाको भट्टीमा
संवेदनाहीन बनाए मेरो मस्तिष्कलाई
सल्काएर ती विधानका दफाहरुलाई
आफ्नै हातले
ताप्नु छ आगोको न्यानो

जुन नैतिकताले
कोचेर रीतिथीतिका हैकमहरुभित्र
अपाङ्ग बनायो
मेरो सपनाको उडान
त्यो नैतिकतालाई
आफ्नै विवेकको इजलाशबाट
सुनाउनु छ मृत्युदण्डको फैसला

पर्ख सत्ताहरु
हैकमहरु
पुरषतन्त्रहरु
भर्खरै त भएको छ युद्धको सुरुवात
तिम्रो व्यवस्थाको गरेर अन्त्यष्टी
आयोजना गर्नुछ
एउटा अपूर्व विजयोत्सव

तिम्रा धर्मशूत्रहरुले
पोलेर निस्प्राण बनाएका खतहरु
अँझै ब्यूँझिन बाँकि छन्
तिम्रा शास्त्रका क्रुर धारहरुले रेटेका
रक्ताम्य घाउहरु अँझै चर्किरहेछन्
तिम्रा फैसलाहरुले उजाडिएको मेरो जिन्दगीमा
खुशीको वसन्तले गीत गाउँन अँझै बाकि  छ

अब कुनै सत्य बाँकि छ भने
मुक्तिको राजमार्गमा
आफ्नै इच्छाका श्लोकहरु रच्ने पालो मेरो हो
चाहिन्न मलाई तिम्रो पूजा अर्चना
चाहिन्न मलाई तिम्रो झूठो प्रशंसा
केबल चाहिन्छ मेरो अधिकार

मानिसको दर्जा पाउन नसकेको
तिम्रो व्यवस्थामा
आफ्नै हातले झोस्नु छ आगो
मेरो जीवनउपर गरेका
तिम्रा हर फैसलाविरुद्ध
सुनाउनु छ अन्तिम फैसला ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *