जीविका ‘अश्रु’का तीन गजल

         

                             जीविका ‘अश्रु’
जन्मस्थानः जाँते–३, बेलटार, मोरङ
हालः गान्तोक, सिक्किम
प्रकाशित कृतिः अक्षर प्रेम(गजल संग्रह), शब्द शिविर(संयुक्त मुक्तक संग्रह)
प्रकाशोन्मुख कृतिः भाडाका मलामी(गजल संग्रह)
१ 

सामन्त र शोषकको कानून तोड्दैछु म।
भ्रस्टाचार, षड्यन्त्रको बाग गोड्दैछु म।।

अन्यायको कहाली लाग्दो कथा लेखेर।
क्रोधी र सामन्तिको झुञ्ड फोड्दैछु म।।

रिक्तता बाहेक छैन यहा स्वर्णिमता।
त्यसैले त देशको सिस्नो हरु झोड्दैछु म।।

सपनिल गाँऊ बेसीका आँखाहरुमा।
भविष्यलाई सुनौलो यो चित्र छोड्दैछु म।।

गन्तब्यको नवीन मार्ग खोज्न जानलाई।
भाँच्चिएका भर्याङ्हरु अब जोड्दैछु म।।

२ 

चल्दाचल्दैका कदम रोकिए उनलाई देखेपछि
टाढाटाढा हेर्ने दृष्टि ठोकिए उनलाई देखेपछि ।

झुपडीमा आँटो थिएन धाक महलको गर्नेपनि
कोहि बोकाइए कोहि बोकिए उनलाई देखेपछि ।

वर्षौं सत्तामा हुँदा नदेखेका झोपडी हेर्न जानेप्रति
किन आको भन्दै जनता झोकिए उनलाई देखेपछि

अलपत्र छन् बाटो बस्ती र सारा कामहरु तैपनि
मञ्चबाट गतिलै कुरा खोकिए उनलाई देखेपछि ।

 ३

मान्छेले नै मान्छे अचेल बेच्छन् सहरमा।
कुकुरले नि सोझासिधा खेद्छन् सहरमा।

त्यसैले म कहिले सहर नजाऊँ भन्नेगर्छु
भुराभुरी कुन्नि के के देख्छन् सहरमा।।

मोहीको त कुरै छाडौं पानीपनि बिक्छ
वृद्धलाई छैन माया ठेल्छन् सहरमा।।

खक्क खोक्न हुन्न गाँठे आफ्नै घराँपनि
हल्ला भयो भन्छन् अनि हेप्छन् सहरमा।।

निहुरिएरै कतिदिन बाँच्न सकिएला१
नफर्के गाउँ नामोनिशान मेट्छन् सहरमा।।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *