भाग्यभरोसाले भविष्य बन्दैन

                   –प्रमोद धिताल

 

“जिउनुपर्नेमा मानिसहरु आफ्नो सम्पूर्ण जीवन जिउने तयारीमा गुमाइदिन्छन् । र जब यो सारा समय हातबाट निस्किसक्छ, आफूलाई लुटिएको पाउँछन् अनि भाग्यलाई सराप्न थाल्छन् ।”                                                                                                                       (म्याक्सिम गोर्की)

कोरोना भाइरस संक्रमण (कोभिड–१९)ले विश्व महामारीको रुपमा विस्तार हुँदैछ । सबैका मनका भय र आशंका छ भविष्य के हुन्छ ? कता जान्छ ? यतिखेर सबैतिर एकान्तवासको उर्दी जारी छ । कसैलाई यो अवस्था सकसपूर्ण बनेको छ भने कसैका निम्ति थप अवसर । कसैका निम्ति राम रमिताको विषय बनेको छ भने कसैका निम्ति भय, आतंक र त्रासमय । हामी एकान्तबासमा छौं तर सबै एकअर्कासँग जोडिएका छौं । आखिर मानिस सामाजिक प्राणी हो । उसको विगत, वर्तमान र भविष्य समाजविना असम्भव छ । आखिर आफ्नो निम्ति बाँच्नु भनेको समाजको निम्ति बाँच्नु हो भने समाजको निम्ति बाँच्नु भनेकै आफ्नु निम्ति बाँच्नु पनि हो । यस्तो बेलामा हामी के गरिरहेछौं ? के सोचिरहेछौं ? यो धेरै महत्वपूर्ण प्रश्न हो । किनकि यो अवस्था कहिलेसम्म लम्बिन्छ कुनै ठेगान छैन । तर जुन कुरा हाम्रो वसभित्र छ, त्यसप्रति भने हामी जागरुक हुनैपर्छ । यस्तो अवस्था सृजना भएको छ कि घरलाई नै एकखालको पाठशाला, विश्वविद्यालय, अस्पताल र परीक्षण र जीवनसाधानको केन्द्र बनाउनुपर्ने अवस्था छ ।

एउटा भनाई नै छ, “होप फर दी बेस्ट, प्रिपेअर फर दी वस्र्ट” (सबैभन्दा राम्रोको आश गर र सबैभन्दा खराब अवस्थाको लागि तयार होऊ !) सबैभन्दा राम्रो अवस्थाको लागि सबैभन्दा राम्रो तयारी जरुरी छ । तर हाम्रो जिन्दगी जिउँने तयारीकै लागि बितिरहेको त छैन ? भाग्य भारोसामै हामी जिउँन भुलेका त छैनौं ? जिन्दगी नै जिउँने तयारीमा बितेपछि जिउँने कहिले ?

यो कुरा यस अर्थमा अर्थपूर्ण छ कि हामी भाग्यभारोसामा बाँच्न पुस्तौदेखि अभ्यस्त छौं । सारा जिन्दगी जिउँने तयारीमा लगाउनु तर जिउँन नपाउँनु पनि भाग्यवादकै अर्को रुप हो । यो कुरालाई नसच्याँउदासम्म आजभन्दा भोलि थप दूर्भाग्यका चक्रहरु आइलाग्ने कुरालाई कसैले रोक्न सक्दैन । केहि कुराहरुलाई छोडेर हामी अहिले पनि पछौटेपनको पराकाष्ठामा छौं । त्यो पछौटेपनको केन्द्रभागमा भाग्यवाद छ । जसको पछि लखर–लखर जिन्दगी घिसार्न थालेका सतकौं भयो । तर हाम्रो होश ठेगानमा आएको छैन । यो सन्तुष्टी पशुवत् दिनचर्या हो सचेत मानवीय विशेषता ? अहँ, मानवीय विशेषताभित्र यो किमार्थ पर्दैन । मानवीय वेचैन औं छटपटीले नै मानव हुनुको औचित्य पुष्टि गर्छ । अन्यथा हामी र पशुमा अन्तर नै के रह्यो र ! जुन समाजबाट चिन्तन संस्कृति गायब हुन्छ, त्यो समाज पुस्तौंसम्म पशुवत संतुष्टीमा जिउँन अभिशप्त हुन्छ । चिन्तन संस्कृतिमा हामी निकै गरीब छौं । यो संस्कृतिलाई बढावा दिन अत्यावश्यक भैसकेको छ । के हामी यो समयलाई चिन्तन संस्कृतिको वृद्धि गर्नमा सदुपयोग गर्न सक्छौं ? त्यसको निम्ति आवश्यक सामाजिक सम्वाद र अन्तक्र्रियाई तिव्रता दिनसक्छौं ?

भाग्य भरोसा गर्दागर्दै हाम्रो जिन्दगी त बरबाद हुन्छ नै तर पुस्तौं पुस्ताहरु बरबाद हुन्छन् । भाग्य भरोसा गरेर वर्तमानका अमूल्य क्षणहरुलाई गुमाउनेहरु धेरै हुन्छन् । यसको अपवादभित्र हामी परेकै छैनौं । कि हामीलाई भुतकालमा रमाउन आनन्द छ, कि भविष्यको मीठो कल्पनामा ! तर हाम्रो निम्ति वर्तमान सधैंभरि कोक्याउने पिंडालु बनेर उपस्थित छ । कारण प्रष्टै छ, हामीसँग जीवनका कुनै आदर्शहरु छैनन् । सपनाहरु छैनन् र छैनन् जीवनका एजेण्डाहरु । देखासिकीमा कुदिरहेका छौं । भाग्यलाई जस या अपजस दिएर बाँचिरहेका छौं । एउटा झूठो आत्मरति छ हामीसँग गर्नलाई । अर्को हिनतावोध छ हामीसँग जिउनलाई । कि अर्को देश, समाज र मानिसलाई उत्कृष्ट ठान्ने, कि भने आफूलाई नै दुनियाको उत्कृष्ठ ठान्ने रोगहरु हामीबीच जबर्जस्त छन् । यसले कहिल्यै हाम्रो उत्थानमा टेवा पु¥याउनेवाला छैन । त्यसका लागि हामीले आफूलाई सोध्नैपर्ने हुन्छ कि हामी कहाँ छौं ? त्यसपछि हामीले स्वयंलाई खोज्न सुरुवात गर्नैपर्ने हुन्छ जहाँ छौं त्यहीबाट ! जुन–जुन कुराहरुमा गलत ठाउँमा छौं, त्यसबाट मुक्तिको लागि त्यहीबाट सुरु नगरी हामीलाई धर छैन । जुन कुराहरुमा सही ठाउँमा छौं ती कुराहरुलाई अगाडि नबढाई पनि सुख छैन ।

यतिखेर नेपाली समाजको मध्यम देखि निम्न मध्यम वर्गसम्मको जीवनको निम्ति आदर्श कल्पना भनेको यूरोप अमेरिका भएको छ । तर यो कहिलेसम्म ? उनीहरुको निगाहामा तल्लो दर्जाको दाश बनेर फूर्ति लगाउन पाउनुलाई हामीले आफ्नो अहोभाग्य ठान्दछौं ? हामी अरुलाई दाश बनाउँनमा मात्र होइन कि अरुको दाश बन्नमा पनि औधी गर्व गर्ने प्राणी हौं । यसमा कुनै द्विविधा छैन । यदि यसो हुन्नथ्यो भने गाउँमा पढाइरहेको शिक्षकको “बिचरा” निरिह प्राणीको पहिचान हुन्नथ्यो । उसको कम्तिम पनि सामाजिक हैसियत धेरै उच्च हुन्थ्यो । तर उसकोभन्दा बाह्र पास गरेर यूरोप अमेरिका पुगेको व्यक्तिको सामाजिक हैसियत मेरो समाजमा धेरै माथि छ ।

अरुहरुको निम्ति सयौं वर्षपहिले बासी भैसकेका कुराहरुलाई हामीले के के न नयाँ ठानेर अँगाल्दैछौं । हामीसँग विद्यमान उत्कृष्ट खजानाहरु पनि हामीले निकृष्ट ठानेर लत्याउँदैछौं । यसले हामीलाई झनपछि झन रोगी भन्दा अरु केहि बनाउँदैन । यो समाज समृद्ध छ भने त्यो हाम्रो मौलिक कला–संस्कृति, खानपान, सामुहिक जीवनशैली र भावनात्मक एकता जस्ता कुराहरुमै छ । तर सोंचमा हामी दाश मानसिकताले ग्रस्त छौं । हामीले त्याग्नुपर्ने दाश मानसिकता हो, हामीबीचमा विद्यमान स्वस्थ परम्पराहरु होइन । आजको पूजीवादले बस्तुहरुमात्र उत्पादन गर्दैन । त्यसले निरन्तर आफूअनुकूल रुचिहरुको उत्पादन गर्छ । आफू अनुकूल आवश्यकताहरुको उत्पादन गर्छ । आफू सुहाउँदो सौन्दर्यको उत्पादन गर्छ । सँगसँगै त्यसले ती रुचि, आवश्यकता, सौन्दर्यलाई स्वीकार गर्ने दाश(उपभोक्ता) हरुको पनि उत्पादन गर्छ । त्यसैको उपज हो यतिखेर नेपालमा जन्मिएको मानिसभित्र नेपाली मन छैन । ऊ जन्मिदै विदेशी मन लिएर जन्मिन्छ । उसको जीवन, समाज, परिवार र माटोभन्दा बाहिरका आवश्यकताहरु बोकेर जन्मिन्छ । अनि तयार हुन्छ यो समयको सबैभन्दा योग्य दााश । जो आफू जन्मिएको जमिनको निम्ति होइन अरुकै निम्ति जिउँछ ।

बिडम्बनाको कुरा हामीले स्वस्थ परम्पराहरु त्याग्दैछौं, अस्वस्थ मूल्य मान्यताहरु काखी च्यापेर त्यसमा बाहिरबाट थप्दै पनि छौं । यो हाम्रो दुर्गतिको थप लक्षण हो । दाश हुनुमा हिनतावोध गरौं । स्वतन्त्र र स्वाभाीमानी हुनुमा गर्व गरौं । हाम्रो वर्तमान र भविष्य दुवै सुरक्षित छ । तर दाश हुनुमा गर्व गरिराख्दासम्म भविष्य त हाम्रो हुने छैन नै, तर वर्तमान पनि हाम्रो नहुने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *