सेल्फी संस्कृतिः पूँजीवादी युगमा अलगाव एवं व्यक्तिवादको चरम अभिव्यक्ति


            –आनन्द सिंह

 

यूनानी पौराणिक कथाहरुमा नार्सिसस नामक एउटा मिथकीय चरित्रको वर्णन पाइन्छ जो अन्य व्यक्तिको साथ कुनै स्नेह या लगाव राख्दैनथ्यो तर तलाउमा देखिएको आफ्नै प्रतिबिम्ब प्रति ऊ यो हदसम्म सम्मोहित भैसकेको थियो कि जब उसलाई यो महशुस भयो कि यथार्थमा त्यो प्रतिबिम्ब हो । त्यसपछि उसलाई बाँच्ने चाहना नै बाँकी रहेन । तनावमा आएर उसले आत्महत्या ग¥यो । आज पूँजीवादले मानिसलाई यति अलगाबग्रस्त र आत्मकेन्द्रित बनाइदिएको छ कि नार्सिसस जस्तो चरित्र मिथक होइन बरु हाम्रो दैनिक जीवनमा देखिने चरित्र बनिसकेका छन् । सामाजिक सञ्जालको आभासी दुनियामा यस्ता चरित्रहरु देख्न पाइन्छ जो आफ्नो स्मार्ट फोनबाट तरह तरहका हाउभाउमा सेल्फीहरु फेसबुक, ट्वीटर, इन्स्टाग्राम आदिमा सेयर गरिरहन्छन् र आफ्नो रुप रंग र शरीरको प्रशंसा पाउनको लागि बिना अनुमति अरुलाई ट्याग गर्न पनि पछि पर्दैनन् । आजभोलि सार्वजनिक स्थानहरु जस्तो कि सडक, चोक, पार्क, बस, ट्रेन आदिमा तपाईंलाई यस्ता तमाम नमूनाहरु सेल्फी खिच्दै गरेका भेटिनेछन् । पछिल्ला केहि वर्षहरुमा सेल्फीको यो (कु)संस्कृति एउटा संक्रामक रोगजस्तै पूरै दुनियाँमा फैलिसकेको छ । सेल्फीको यो संस्कृतिले आजको पूँजीवादी समाजको बारेमा धेरै कुरा व्यक्त गर्दछ जहाँ एकातिर आत्ममुग्धता, आत्मकेद्रित व्यक्तिवाद र स्वार्थपरकताको बोलवाला छ । अर्कोतिर भयंकर कुण्ठा र संवेदनहीनता व्याप्त छ । कुनै मृतकको अन्तिम संस्कारको समय सेल्फी खिच्ने र कुनै डाक्टरद्वारा गम्भीर हालतमा बिरामीको उपचार गर्नुभन्दा पहिला सेल्फी खिचेर सामाजिक सञ्जालमा अपलोड गर्नेजस्ता परिघटनाहरुले खासगरि पूँजीवादी समाजको पतनशीलतालाई नै दर्शाउँछन् ।

सेल्फीको यो संस्कृति दुनियाभरि एउटा सनकको रुप लिंदै गइरहेको छ । एउटा यस्तो सनक जसबाट गुज्रिंदै गर्दा मानिसहरु आफ्नो ज्यान समेत गुमाइरहेका छन् । मनोवैज्ञानिकहरुका अनुसार सेल्फीको यो असर मानिसहरुको सम्बन्धहरुमा पनि परिरहेको छ । गएको वर्षमात्र हाम्रै देशमा सेल्फी लिने चक्करमा २७ मानिसहरुको ज्यान गयो जुन दुनियाभरिमा सबैभन्दा धेरै हो । सेल्फीसँग जोडिएका मृत्युका केहि प्रकरणहरु यसप्रकार छन्–हिड्दै गरेको ट्रेनमा सेल्फी लिनु, नदीको बीचको डुंगामा सेल्फी लिनु, पहाडमा सेल्फी लिनु र अग्ला भनहरुमाथि सेल्फी लिनु इत्यादि । केहि समय अगाडि एक जापानी पर्यटक ताजमहलको सिढींमा सेल्फी लिने चक्करमा लडेर गम्भीर रुपमा घाइते हुन पुगे । मुम्बईमा बाँन्द्रा इलाकामा तीन केटीहरु सेल्फी खिच्ने दौरानमा अरब सागरमा बग्न पुगे र उनीहरुलाई बचाउन सागरमा हाम फालेको केटा पनि बग्यो । यस प्रकरण पछाडि मुम्बई पुलिसलाई मुंबईका १२ स्थानहरुमा ‘नो सेल्फी जोन’ घोषित गर्नुप¥यो । दुई बर्षपहिले डेनी बोमेन नामक एक युवाकोे एउटा मामिला सामने आएको थियो । उसमा सेल्फी खिच्ने भुत यो हदसम्म सवार थियो कि ऊ एक दिनमा १० घण्टाको समय सेल्फी खिच्नमैं खर्च गर्दथ्यो । त्यसपछि पनि आफ्नो मनमुताविक सेल्फी खिच्न पाएन र यति तनावग्रस्त भयो कि उसले आत्महत्यासम्मको कोशिश ग¥यो । स्पष्ट रुपमा सेल्फीको यो सनकले बोमेन जस्ता दुनियाभरिका तमाम युवाहरुलाई कुण्ठा र हीन भावनाको शिकार बनाइरहेको छ ।

अब मनोवैज्ञानिकहरु पनि यो भन्न थालेका छन् कि सेल्फी खिच्नको लागि अत्याधिक उत्ताउलोपन एउटा मानसिक रोगको सूचक नै हो । आखिर प्रश्न यो उठ्छ पछिल्ला केहि वर्षहरुमा यो मानसिक रोग दुनियाभरिमा यसरी किन फैलिंदैछ ? यस प्रश्नको जवाफ हामी पूँजीवादी उत्पादन प्रणालीलार्ई नबुझेर दिनसक्दैनौं । आजभन्दा करीब डेढ शताब्दी पहिले माक्र्सले आफ्ना प्रसिद्ध दार्शनिक एवं आर्थिक पाण्डुलिपीहरुमा अलगाव(एलिनियशन) को जुन परिघटनाको व्याख्या गरेका थिए त्यो हाम्रो आजको दौरान समाजमा तिव्रतापूर्वक फैलिंदै गइरहेको अलगाव र परायापनलाई बुझाउनको लागि धेरै मद्धत गर्दछ । ती पाण्डुलिपीहरुमा माक्र्सले लेखेका थिए कि पूँजीवादी उत्पादन सम्बन्ध जहाँ एकातिर श्रमिकका अलगावका परिणाम हुन्छन्, त्यही एकपटक स्थापित भइसकेपछि तिनीहरु यस अलगावलाई व्यापक रुपमा बढाउछन् पनि । माक्र्सले यस अलगावका चार पक्षहरुको चर्चा गरेका थिए, श्रमिकहरुको उत्पादबाट अलगाव, श्रमको प्रक्रियाबाट अलगाव, श्रमिकको अन्य मनुष्यहरुबाट अलगाव र उसका मानवीय गुणहरुबाट अलगाव । यस अलगावको नतीजा यो हुन्छ कि श्रमिक जुन अनूपातमा मूल्य पैदा गर्छ, त्यही अनुपातमा उसको अवमूल्यन हुँदै जान्छ ।

आधुनिक कारखानाहरुले उत्पादनको विज्ञान र प्रौद्योगिकीको मद्धतबाट कामका साना–साना हिस्साहरुमा यसरी बाँडिदिएका छन् कि प्रत्येक श्रमिकको हिस्सामा जुन काम आउँछ त्यो धेरै निरस र पट्यारलाग्दो हुन्छ । उसको शारीरिक र मानसिक ऊर्जा यस्तै निरश काममा खपत भइरहन्छ । ऊ कार्यस्थलमा स्वेच्छाले काम गर्दैन, बरु यो काम केबल यसकारणले गर्छ कि त्यसबाट उसको जिविका चल्छ । कार्यस्थानमा उसलाई चयनको महशुस हुँदैन र जब उसलाई चयनको महशुस हुन्छ त्यो समय ऊ काम गरिरहेको हुँदैन ।

यसप्रकार पूँजीवादी समाजमा मानिसहरु मानवीय गुणबाट कटेका असन्तुष्ट र अलगावग्रस्त जीवन बिताइरहेका हुन्छन् र भयंकर परायापनका शिकार हुन्छन् । उनको लागि श्रम एक रचनात्मक काम नभएर बोझिलो काम हुन्छ । उनीहरु उत्पादक गतिविधिहरुमा सन्तुष्टी र खुशी खोज्नुको ठाउँमा कामको बाहिर सन्तुष्टी र खुशीको खोजी गर्छन् । उत्पादनको पूँजीवादी प्रणाली मानिसलाई समष्टी हिस्सा भएको महसूस गराउनुको सट्टा अर्कोसँग होड गर्ने परमाणविक व्यक्तिको रुपमा पहिचान दिलाउँछ । व्यक्ति समूहबाट यसरी कट्न पुग्छ कि उसका सारा प्रयत्नहरु ‘हामी’को ठाउँमा ‘म’को लागि केन्द्रित हुनेगर्छन् ।

पूँजिवादले जहाँ एकातिर नाफाको अन्धो पागलपनबाट गुज्रने दौरानमा व्यक्तिलाई समाजबाट अलग गरेर पूरै समाजमा भयंकर अलगाव पैदा गरेको छ । त्यहीं अर्कोतिर समाजमा व्याप्त अलगावको मानसिकताबाट फाइदा उठाउँदै अरु पनि धेरै नाफा कमाउने नित नयाँ तरिकाहरु पनि निकालिरहेको छ । सामाजिक सञ्जाल पूँजिवादद्वारा एक्काइसौं शताब्दीमा अलगावग्रस्त जीवन बिताइरहेका मानिसहरुको खाली समयबाट पनि नाफा कमाउने नयाँ औजार हो । समाजबाट कटेका मानिसहरुलाई सामाजिक सञ्जाल एक आभासी सामुहिकताको महसूस गराउँछ । यस्तो समयमा जब वास्तविक जगतबाट मित्रता, प्रेम, स्नेह, संवेदनशीलता, करुणा आदिजस्ता सहज मानवीय मूल्य विलुप्त हुँदै गइरहेका छन् भने मानिस यी नैसर्गिक भावनाहरुको चाहनाको लागि सामाजिक सञ्जालको आभासी दुनियाको शरण लिइरहेका छन् । उत्पादनको दुनियाभन्दा बाहिर खुशी र सन्तुष्टीको खोजी उनलाई एक आभासी दुनियामा लिएर जान्छन् जहाँ उनलाई सन्तुष्टी र खुशी त मिल्दछ तर त्यो क्षणिक र आभासी नै हुन्छ । र यो आभासीपनको आभास भइसकेपछि उसको अलगाव अरु थप बढ्दछ । उत्पादनको क्षेत्रबाट अलगाव हुँदै गुज्रिंदा आफूभित्रको मानवीय सारतत्वलाई गुमाएको क्षतिपूर्ति मानिसहरु उत्पादनको क्षेत्रभन्दा बाहिर आफ्नो बाहिरी रुपरंग र अनुहारप्रति अरुको प्रशंसा वा मान्यता प्राप्त गरेर गर्न चाहन्छन् । सेल्फीको सनकको ताजा परिघटनालाई यसै परिप्रेक्ष्यमा बुझ्न सकिन्छ ।

तर जुन कुरा दशकौं पहिला थिओडोर अडोर्नेले आफ्नो प्रसिद्ध लेख ‘खाली समय’(लेजर टाइम)मा भनेका थिए, त्यो यहाँ पनि लागू हुन्छ । अर्थात् यदि कसैलाई लाग्छ कि ऊद्वारा आफ्नो घरमा बसेर सोशल मिडियामा आफ्नो सेल्फी अपलोड गरेर सन्तुष्टी हासिल गर्नु पूर्ण रुपमा स्वतन्त्र र स्वतःस्फूर्त क्रिया हो भने यो उसको भ्रम हो । सच्चाई त यो कि पूँजिवादी युगका तमाम शौखहरु जस्तै सामाजिक सञ्जालको लत र सेल्फीको सनक पनि बजारका तागतहरुद्वारा निर्मित गरिएका हुन् । यो कुरा कसैबाट छिपेको छैन कि सामाजिक सञ्जाल आफैमा एउटा जबर्जस्त नाफा कमाउने उपक्रम हो, जोसँग जोडिनको लागि कुनै मूल्य त दिनुपर्दैन (इन्टरनेट कनेक्सन खर्चबाहेक), तर सामाजिक सञ्जालसँग जोडिएका व्यक्तिहरुको व्यक्तिगत जानकारी र उनीहरुद्वारा पैदा गरिएका कन्टेन्ट (टेक्स्ट, इमेज, भिडियो) को प्रयोग गरेर नै फेसबुक, ट्वीटर, इन्स्टाग्राम जस्ता कम्पनीहरु मार्केटिङ र विज्ञापन जगतका कम्पनीहरुबाट अकुत नाफा कमाउँछन् । सामाजिक सञ्जालका विशालकाया र स्मार्ट फोनका दैत्याकार कम्पनीहरुले नै पूरै दुनियामा सेल्फीजस्ता सनकहरु पैदा गरेका छन् र यस सनकलाई लगातार पुनरुत्पादित गर्ने काम गरिरहेका छन् । यो सनक सुनियोजित रुपमा कसरी फैलाइँदैछ यसको ताजा प्रमाण यसैबाट मिल्छ कि आजभोलि बजारमा सेल्फी खिच्ने नयाँ–नयाँ उपकरण बिकिरहेका छन् । जसलाई सेल्फी स्टिक भन्ने गरिन्छ । जसबाट तपाईं राम्रो सेल्फी खिच्न सक्नुहुन्छ । यतिमात्र होइन अब बजारमा सेल्फी ड्रोन पनि आउन थालेका छन् जो एकखालका रोबोट नै हुन्छन् जसले माथिबाट सेल्फी खिच्न सक्छ । जुन हात र स्टिकले खिचेका सेल्फीभन्दा राम्रा हुन्छन् । सेल्फीको सनकलाई फैलाउनमा पछिल्ला वर्षहरुमा अत्यन्तै कुशलतापूर्वक कलाकारहरु, राजनेताहरु, खेलाडीहरु या संक्षेपमा भन्ने हो भने ‘सेलिब्रेटीहरु’को खूब प्रयोग गरिएको छ । हाम्रो देशका आत्ममुग्ध प्रधानमन्त्री पनि सेल्फीको सनकको लागि दुनियाभरी प्रख्यात छन् । यी महाशय आफ्ना ट्विटर अकाउन्टबाट तमाम नामी, प्रख्यात मानिसहरुसँग खिचिएका सेल्फी अपलोड गरिराख्छन् । यी सेल्फीहरु उनका भक्तगणहरुको बीचमा काफी चर्चित पनि हुन्छन् ।

सोचनीय कुरा यो छ कि जुन परिस्थितिहरु सेल्फी जस्तो आत्मकेन्द्रित सनकलाई पैदा गरिरहेका छन्, तिनै फासीवादी बर्बरतालाई पनि मलजल गरिरहेका छन् । यो केबल संयोग मात्र होइन कि हिन्दुस्तान जस्तो मुलुकमा सेल्फीको सनकको सबैभन्दा ठूलो ब्राण्ड अम्बेसडर एउटा यस्तो व्यक्ति छन् जो आजको दौरानमा फासीवादका प्रतीक पुरुष पनि बनिसकेका छन् । अर्काका दुःख, कष्टहरुप्रति संवेदनहीन र खासगरी शोषित–उत्पीडित जनताको संघर्षशील जीवनसँग कुनै सरोकार नराख्ने आत्मकेन्द्रित या आत्ममुग्ध निम्न बुर्जुवा प्राणी नै फासिवादका सामाजिक आधार हुन्छन् । नवउदारवादको वर्तमान अवस्थामा यो निकै विस्तारित भएको छ र यो कुनै आश्चर्यजनक कुरा होइन कि यो वर्गमा मोदीलाई लिएर जुन सनक छ त्यत्तिकै सनक सेल्फीलाई लिएर पनि छ । आज फासिवाद पुतली कट दाडीको रुपमा आइरहेको छैन, त्यो आफ्नो रुप, रंग र बनावट प्रति पहिलाको तुलनामा धेरै सतर्क छ, जहाँ अघिल्लो शताब्दीमा फासिवादका प्रतीक पुरुषलाई आफ्नो प्रस्तुती आकर्षक बनाउनको लागि ऐना र फोटोग्राफरको मद्धत लिनुपर्दथ्यो । एक्काइसौं शताब्दीमा फासीवादको प्रतीक पुरुष अलग–अलग हाउभाउहरुमा आफ्नो रुप, रंग र अनुहारुको आफै सेल्फी खिचेर देख्न सक्छ र त्यसलाई निमेषभरमै आफ्ना अनुयायीहरुको बीचमा फैलाउन पनि सक्छ ।
 

                                                                               हिन्दीबाट अनुवादः प्रमोद धिताल


प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *