अमर गिरीका चार कविता

(कवि तथा समालोचक अमर गिरी चार दशकदेखि साहित्य साधनामा क्रियाशील हुनुहुन्छ । वहाँका हालसम्म ‘घााम छेक्ने पहाड’(२०५५), ‘तर पनि हामी जिवित छौं’(२०६१), ‘दुःसाध्य समय’(२०६४), ‘शब्दहरुको बीचमा’(२०६१), र ‘समय संवाद’(२०७३) कवितासङ्ग्रह प्रकाशित छन् । साथै वहाँका ‘समय समाज र संस्कृति (२०६७), ‘समकालीन नेपाली कविताको वैचारिक परिप्रेक्ष’(२०७३), ‘भूमण्डलीकरण र साहित्य’(२०७४),‘साहित्य विमर्श’(२०७४)समालोचनात्मक तथा वैचारिक कृतिहरु प्रकाशित छन् । वहाँको ‘कवितामा वर्गद्वन्द्व’ (२०७५) नामक अनुसन्धानमूलक ग्रन्थ पनि प्रकाशित भएको छ, जसमा वहाँले विद्यावारिधी गर्नुभएको छ । प्रगतिशील लेखक संघका केन्द्रीय अध्यक्ष, चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद सदस्यको जिम्मेवारी सम्हालेका गिरीले विभिन्न ग्रन्थ तथा पत्रिकाहरुको सम्पादन समेत गर्नुभएको छ । प्रस्तुत छन् कवि अमर गिरीका वर्तमान  सामाजिक यर्थाथको सशक्त प्रतिविम्वन गर्ने चार कविताहरु ।)

गाह्रो छ भन्न

जीवनमा सबैभन्दा बढी
लडेको छु भोकसंग
रोगको मुहान बनेको गरिबीसंग
जुझेको छु सम्पूर्ण सामथ्र्यसहित
बज्यै भन्थिन–
संसारमा सबैभन्दा धेरै चिहान
भोकले मरेकाहरुको छ
भोकले मरेकाहरुको
चिहानघारी हो संसार
यस चिहानघारीमा
तेरा पुर्खाहरुको समाधि पनि छ ।

निसन्देह, भोकलाई अघि सारेर
न्यून गर्न सकिन्न महामारीको भयानकतालाई
सकिन्न, पटक्कै सकिन्न
तर महामारीका नाममा
भोकलाई पनि त न्यून गर्न सकिन्न
डर मलाई पनि छ
गरिबीमै प्रेम गर्न सिकेको छु जीवनलाई
यसको सौन्दर्य, यसको गरिमा, यसको मूल्यलाई
सिकेको छु गरिबीमै भोलिको सुन्दर सपना देख्न
र त्यसका निम्ति संघर्ष गर्न ।

महामारीको बीच पनि
सत्ता भने
सबैभन्दा बढी अपमान गर्छ गरिबको
सामान्य श्रमिकका निम्ति
बिरानो बन्छ आफ्नै भूगोल
आफ्नो, सहर आफ्नै गाउँ
मिथ्या शब्द जस्तो लाग्छ देश
एक मिथक जस्तो ।

बाढी होस् या पहिरो
आँधी होस् या भूकम्प
दादुरा होस् या मलेरिया
क्यान्सर होस् वा अरु कुनै रोग
सबैभन्दा बढी मरेका छन् गरिब
उनीहरुले नै खपेका छन् सबैभन्दा गहिरो पीडा
भोकको संसारमा
सुनामी जसरी आउँछ महामारी
र धेरै थोक नष्ट गरेर जान्छ
प्रत्येक महामारीसँगै
झन बढ्छ गरिबी
बेरोजगारी अझ चुलिन्छ
असमानताको भर्भराउँदो आगोमा
फेरि पनि सबैभन्दा बढि डढ्छन् गरिबहरु
अँझ बढ्छ भोकको ग्राफ
भोकको ग्राफमा टेकेर
सम्भ्रान्तहरु अझ माथि उक्लन्छन्
अझ बढि मौलाउँछ अनैतिकता र अमानवीयता
अझ बढ्छ सत्ताको दुष्टता ।

खर्बौं खर्ब डलर खर्च गरेर हतियारमा
विलासमा फुकेर अर्बौं अर्ब
जिवित राखेर असमान संरचना
नष्ट गरेर सुन्दर पर्यावरण
प्रकृतिलाई जिससलाई झैं
टागेर क्रसमा
घृणा लाग्छ मानवताको कुरा गर्नेहरुसँग
कृत्रिम लाग्छ उनीहरुको सहानुभूति
उनीहरुको आँसू, उनीहरुको करुणा
आश्चर्य लाग्छ मृत्युका व्यापारीहरु
मृत्युको विरुद्ध उभिएको देख्दा ।

हेरिरहेछु संसारका भोकाहरुलाई
महामारीका नाममा
रोजगारी गुमाएका लाखौं ज्यामीहरुलाई
हेरिरहेछु यताबाट उता र उताबाट यता
लखेटिदै गरेका सामान्य मानिसलाई
हेरिरहेछु उपचारको अभावमा
मरिरहेका हजारौं मानिसहरु
र सत्ताको निर्लज्जता
सेयर मार्केटको ग्राफ निरन्तर घटिरहेको यस समयमा
हेरिरहेछु दुःखको ग्राफ
कसरी उक्लिरहेछ माथि माथि
गाह्रो छ भन्न, साँच्चिकै गाह्रो छ
पहिले मरिनेछ भोकले वा कोरोनाले ?

भिन्नता

सफल राजनीतिज्ञसँगको
संवाद हेरेर टि.भी.मा
भर्खरै निस्किएको छु बारीतिर
हेरिरहेछु बारी जोतिरहेको किसान
र उसको निधारबाट
बगिरहेको पसिना
हेरिरहेछु उसको अनुहारमा परेको घामको ताप
र बारीमा उसको शरीरले
बनाइरहेको छायाचित्र
त्यस छाँयाचित्रमा
बनिरहेका उसका पीडाका बिम्बहरु ।

बारीसँगको उसको संवादबाट
केहि दिनपछि
अङ्कुरित हुनेछन् बिउहरु
प्रथमपटक हेर्ने छन् तिनले
सुन्दर र विराट धर्तीलाई
त्यसमाथिको अनन्त आकास
आकासको क्यानभासमा
रङ्हरु भर्दै उडिरहेका पंछीहरुलाई
प्रथमपटक घामले उनीहरुको गालामा गर्नेछ चुम्बन
त्यस चुम्बनबाट तरङ्गित हुनेछ धर्तीको समस्त सौन्दर्य
उनीहरुको शिरमा टल्कने शीतका थोपाहरुले
बिहानको कोमल घामको स्पर्शमा
रचना गर्नेछन् अपूर्व सौन्दर्यको ।

धर्तीसँगको यस सम्वादमा
कुनै कुटिलता छैन
कुनै बनावटीपन
कुनै पाखण्ड छैन
कुनै उत्तेजना छैन
कुनै आक्रोश
कुनै घृणा
कुनै तिरस्कार छैन ।

त्यहाँ एक लय छ सृष्टिको
एक नुतन विधान
एक नव गान
एक नयाँ अनुराग छ
अघिल्तिर प्रस्थानको ।

सफल राजनीतिज्ञकोसँगको संवादमा
त्यस्तो केहि छैन
भिन्न छन्
यी दुई संवादहरु
नितान्त भिन्न !

रातमा कलम

रात जति छिप्पिदै जान्छ
रातको निरबतामा
उत्तिकै कुरा गर्न मन लाग्छ तिमीसँग
क्रमशः पोख्न मन लाग्छ
दुःख, आक्रोश, प्रेम र घृणा
तिम्रो सुन्दर निबबाट
एकनासले झरिरहने मसीले
शब्दका अनेकन बुट्टाहरु भर्न मन लाग्छ
जीवनको क्यानभासमा ।

तिमीसँगको कुराकानीमा
समाप्त हुन्छ दिनभरिको थकाई
शान्त हुन्छ
अँगेनामा छड्किरहेको भात झैं मन
दुख्न छोड्छ
सूल बिझिरहेको छाती
हतियारभन्दा शक्तिशाली
तिम्रो निबबाट झर्ने
शब्दहरुको अमृत पिएर
हलुङ्गो हुन्छ हृदय ।

तिमीसँगको कुराकानीमा
सघन अन्धकारका बीचबाट
प्रकट हुन्छ एक ज्योति
र हावाको प्रचण्ड बेगले
फाट्दै गएझैं बादल
क्रमशः फाट्दै जान्छ अँध्यारो
उघ्रन्छ
एक नयाँ आकाश
एक नयाँ क्षितिज ।

तिमीसँगको कुराकानीमा
बज्न सुरु गर्छ
हृदयको हारमोनियम
त्यसबाट निस्कने
विलक्षण लयहरुमा
नाचिरहेको देख्छु पृथ्वी
नाच्दा नाच्दै पृथ्वी
विभेदहरु विरुद्ध
रुपान्तरित भएको देख्छु
आगोको डल्लोमा ।

कहिलेकाँही
शब्दहरुको चिरहरणको
सम्पूर्ण आक्रोश
पोख्न मन लाग्छ तिमीमाथि
फोड्न मन लाग्छ तिम्रा आँखाहरु
भाँच्न मन लाग्छ
तिम्रो करङ
हात र खुट्टा
हत्या गर्न मन लाग्छ तिम्रो
हुन मन लाग्छ हत्यारा
र मन लाग्छ बन्द हुन
एकान्तको काराबासमा
तर यसो गर्न सक्दिन म
तिमी विना सक्दिन
आफ्नो अस्तित्वबारे सोच्न ।

रातभर कुरा गरिरहन मन लाग्छ तिमीसँग
अरु कुनै बेलालाई साँचेर निद्रा
तिम्रो काखलाई
बनाएर सिरानी
बिहान नभएसम्म
झरिरहन मन लाग्छ
तिम्रो निबबाट ।

तर
प्रिय कलम
अहिलेलाई सुतौं
सबेरै उठ्नुछ भोलि 
र निस्कनुछ काममा ।

साधारण सपना

मसँग ठूला सपनाहरु छैनन्
जस्तो ठूला मानिसहरुसँग हुन्छन्
ठूला सपनाहरुका निम्ति
जे गर्न पनि तयार हुन्छन् उनीहरु
सही–गलत
पवित्र–अपवित्र
नैतिक–अनैतिक बीचको भेद
सबै सकिन्छ त्यहाँ
त्यसो गर्नुपर्ने
कुनै सपनाहरु छैनन् मसँग ।

साधारण मानिस हुँ
मसंग म जस्तै
साधारण सपनाहरु छन्
खेत जोत्दै गरेका किसान
गाई चराउँदै गरेका गोठाला
घाँस काट्दै गरेक नारी
लुगा सिउँदै गरेका दर्जी
मुग्लान भासिदै गरेका युवा
कसैले देख्दैनन् ठूला सपना
औकात चाहिन्छ
ठूला सपना देख्न ।

ठूला सपनाहरुबाट डराउँछु म
जसरी म
ठूला भनिने मानिसहरुबाट डराउँछु
कोखिलामा लुकाएर राखिएको
उनीहरुको विषालु दाँत
सबैभन्दा डरलाग्दो लाग्छ मलाई
थाहा हुन्न त्यो कतिबेला
फलामको काँटी झैं
गाडिन्छ मुटुमा
र क्षणभरमै सुक्छ
जीवनको हरियो वृक्ष ।

सन्देहास्पद र खतरनाक लाग्छन् मलाई
ठूला सपनाका कुरा
साना–साना सपनाहरु खोसेका छन्
ठूला सपनाहरुले
हत्या भएको छ साना साना सपनाहरुको
ठूला सपनाहरुबाट
हत्याराका धारिला छुराजस्ता लाग्छन् मलाई
ठूला सपनाका कुरा
कुनै कर्पोरेट घरानाले गरोस्
वा सिंहदरबारले
कुनै नोकरशाहले गरोस्
वा स्वनामधन्य वुद्धिजीवीले
उस्तै लाग्छन् मलाई
ठूला सपनाका कुरा
पेशेवर हत्यारा जस्ता ।

ठूला सपनाहरु देखाएर
कसरी लुटिन्छन् साना सपनाहरु
ठूला सपनाहरुको निम्ति
कसरी बलि चढ्छन् साना सपनाहरु
त्यसको एउटा दृष्टान्त हुँ म
ठूला सपनाहरु बाँडेर
साना सपनाहरु खोसिएको
एउटा जीवित इतिहास हुँ म ।
प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *