अपरिभाषित साइनो

       क्षितिज मगर | 474 Views |   Published Date : 7th December 2014 |

Chhitij Magarचुपचाप छु म, उनी जस्तै । मिनेटौं पहिलेदेखि ।

‘मच्चा ऽऽऽ…. ।’

उनको यो आपतकालीन तीखो आवाज ।

क¥याक्क हाँगा भाँचियो र भुइँमा काफल दाना भरर्र झरे, बत्कुला खसेसरी । थाहै नपाई हठात निस्कन्छ, मेरो आत्तिएको आवाज, ‘के भो ?’

‘आबुई… झन्नैले खस्याको ।’

‘ख्याल गर्नु, फेरि… ।’

‘टुप्पान बेस्सरी पाक्या पुङन लाथेङ् ।’

केवँराजस्तै फुलेको उनको आकर्षक मुहारमा रातोपना बढेथ्यो, अधिकरुपमा । छिटछिटो सास फेर्दै डाली बेस्सरी समाएकी थिइन्, छातीको ढुकढुकी पनि बेस्सरी बढेको हुनुपर्छ शायद । मैतिर फर्केकी थिइन्, अलिकति त्रासमिश्रित मुस्कान खोलेर– भयभित आँखा झिम्काएर ।

‘दायाँ बायाँ परे मलाई अप्ठ्यारो पर्छ है’– मेरो घुमाउरो प्रसंग ।

‘के रे ?’

‘हो भन्या, खसे त सफाइ दिनुपर्छ नि मैले, नत्र… ।’

‘के अशुभ बोल्या क्या ।’

अब उनी स्वभाविक बनिसकेकी थिइन् । फेरि पाकेका काफलतिर ध्यान केन्द्रित गरेर टिप्न लागिन् । पूर्ववत् पारामै सल्बलाउन थाले उनका औंलाहरु । मानौं कि कुनै मेसिनका पाटपूर्जाहरु हुन् ।

पूर्वतिर लापालधुरीको माथि गडी लेक र जौलीपोखरीबीच गोर्नेटीको गल्छेडाबाट बिहानको सूर्य झुलुक्क झुल्केर लामा–लामा किरण भुइँमाथि फिजाउँदै थियो, ठीक यसबेला । पारी टुनीबोट र रिठाबोटको आडमा उभिएको रुन्टी लेक र चुचुरोका मन्दिर बिहानीको लालीमय उषामा औधी चम्किरहेका थिए, कुनै योद्धाझैं शिर ठाडो पारेर ।

अझ दायाँतिर देखिन्छ– सल्लीबोट, सातदोबाटो, थाम लेक, लिगलिगे धुरी हुँदै जलजला र धरमपानी । थोरै दायाँतिर अडिग उभिएर निश्चल मुस्कान सजाइरहेको धौलागिरी हिमाल उस्तै स्निग्ध देखिन्छ– जसरी अरु बेलाको समयमा देखिन्थ्यो । उसैगरी गजधम्म परेका देखिन्थे– बडाचौर, उँघा गाउँ, लापाल गाउँ, राम्मी गाउँमा फुसका छाना ओढेका घरहरु ।

तल पुतले खोलाबाट सरर आएको हावाले फैलाएको बसन्तकालीन पल्लवित मुनाका सुगन्ध । वरिपरि सल्ला रुखका सुस्साहट । चराचुरुङ्गीका मधुर संगीत । ’काफल पाक्यो‘ चरीका लयबद्ध गीत । आँखा भरिभरि देखिने सुन्दर हरियाली र मनोरम दृश्यका मन्त्रमुग्धकारी रानी वन ।

बासन्तीमयी छटाको आँचल बोकेको उजिपोक जङ्गलको सामीप्यमा थियौं हामी दुई । म– दिलबहादुर र उनी– इन्द्रा ।

फरक गाउँ र फरक परिवेशका हामी । एक छोराकी आमा उनी र एउटी छोरीका बुवा म ।

दुबै बिवाहित हामी ।

उनका श्रीमान् पैसा कमाउन अरबतिर बिदेशिएका थिए भने मेरी श्रीमती गृहिणी । आज संयोगबश भनुँ वा कुनै अमुक आशक्तिले हामीलाई एकै ठाउँमा जुराइदिएको छ– काफल खाने बहानामा ।

त्यसो त हाम्रो जेलबाङ गाउँको भूमे मेला हेर्न आउने फगामबासीको हुलमा उनी पनि मिसिएर ’राम्चे’ हुन आएदेखि नै भएको थियो हाम्रो परिचय र मित्रताको घनिष्ठता ।

भाषा फरक तर एउटै जातजाति । चालचलन, संस्कृति, वर्ग, भेषभुषा, पेशा– यिनै थिए हामीलाई अझ नजिकैबाट चिनाउने माध्यम । जोड्ने पुल अथवा भावना जोडिदिने मियो ।

उनको धुङ्सी गाउँको तरुल, लसुन, सख्खरखण्ड, भटमास मैले कहिल्यै बिर्सन नसक्ने चीजहरु थिए । हाम्रो गाउँमा उत्पादित आलु, अल्लो, भाँगोजस्ता वस्तुहरु निकै प्रिय लाग्थ्यो उनलाई पनि ।

उसबेलाको किशोर–किशोरीको भावनालाई अझै नजिक तान्ने वस्तु यिनै थिए कि शायद ? याद छ– मलाई राम्ररी याद छ, उनलाई त्यसबेला खामभाषा सिकाउँदा लाजमर्दो अथ्र्याउने खालका शब्द सिकाउँथें र त्यसको अर्थ अर्कै राम्रो र सभ्य भाव खुलाइदिन्थें । अनि मैले उनलाई मान्छेहरुको माझमा भन्न उक्साउँथें । गलल्ल हाँस्थे सुन्ने खामभाषी मान्छेहरु । म चाहीं पेट मिचीमिची हाँस्थें पृष्ठभागमा लुकेर ।

मलाई पछ्याउन आउँथिन् उनी– अलिकति रिसाएर, लज्जित हुनुपर्दाको आक्रोश बोकेर, रातो पीरो बनेर ।

कुनै बेला उनले भनेकी थिइन् मलाई । छोरीहरुमध्ये चौथो सन्तान हुन् उनी, बुबाको छोरो पाउने आशमा तुषारापात गर्दै जन्मेकी छोरी ।

सुनाउँथिन्, जन्मनेबित्तिकै बुबाद्वारा झण्डै फालिएकी रे, कपडामा बेरिसकेका । मातृ स्नेहले मात्र बचेकी रे । बुबाले निकै पीर मानेका थिए– छोरो नपाएको पीरमा सुत्केरी आमाको स्याहार सुसार पनि बन्द गरिदिएका थिए ।

पछि ठूली भइसकेपछि दिदीहरुभन्दा केही काली भएकीले बुबाले ’ठुटा’ भन्ने गर्थे । मायालु पारामा बोलाइने उनको नाउँ थियो त्यो । तर गाउँमा उनलाई इन्दरकला भनेर बोलाइन्थ्यो । पछि स्कुल भर्ना भएदेखि उनी इन्द्रा पुन मगरमा रुपान्तरित भइन् ।

‘काफल पाकेको…
काँचो काँचो अरुलाई ए हो पाकेको कल्लाई साँचेको’

कुनै वयस्क किशोरीको कोकिल आवाजमा भरिएका यी गीतले मनै लोभ्याउन आउँछ । कुनै चलचित्रको पाश्र्वसंगीत जस्तै गरेर पृष्ठभागमा काफल टिप्ने केटकेटीहरुको अस्पष्ट कल्याङबल्याङ मेरो कानमा ठोक्किन आउँछ ।

भूर्तिवन र सैवाङ स्कुलतिरबाट आएका केटाकेटीको हुल थियो त्यो समुह । ढक्के वा छिटुवा लियो, केटाकेटीपनको उपज, हाँस्यो, खेल्यो, गीत गायो, काफल टिप्यो, होलेरी वा सुर्पालनेटाको बजारमा गयो, बेच्यो, कापी कलम अथवा कुनै मन परेको वस्तु किन्यो ।

स्कुल जानुको अतिरिक्त कार्य थियो उनीहरुको यो ।

राम्रै आम्दानी हुन्छ बसन्तयाम आएपछि उनीहरुलाई । कुनै किसानको दुहुना भैसीझैं हुन्छ उनीहरुको लागि ती पाखापखेरीका काफलका रुखहरु ।

‘कल्लाई हो रे पाक्या साँचेको ?’– उनको ठट्टामिश्रित बोली ।

‘गीतको डाइलग सापट लिई भनेको हो कि ?’– मेरो प्रतिप्रश्न ।

‘साँच्चै ज भन्या क्या ।’

‘. . . . . .’– मेरो जवाफ ।

दुबैको उल्लासमय हाँसो । मन्द आवाजमा ।

मेरो उत्सुकता जाग्यो– ‘अँ साँच्ची तिमीले के भनेकी ?’

‘कोन् बेला न ?’

‘त्यतिखेर के त झण्डै खस्या बेला’– मैले सम्झाएँ ।

–‘मच्चा ।’

एकाएक बदलियो, उनका मुहारका भाव र रङ्ग । बलिरहेका बत्तीमा एकाएक लाइन गएझैं । अथवा कुनै अप्रिय खबर सुनेपछि आउने मुहारको भावझैं । उनका नजरहरु त्यसरी मलिन हुँदै भुईतिर झुक्दै गए, जसरी निरीह सिपाही हाकिम सा’वका अगाडि उभिन्छ । फेरिएका उनका भावभङ्गीले स्पष्ट बोलिरहेको थियो, ‘मच्चा’ शब्दसँग उनको कुनै गहिरो सम्बन्ध छ ।

‘भन्नु न इन्द्रा, के हो मच्चा भनेको ?’– झन उत्सुकताले घेर्दै थियो मलाई ।

‘केई नी हइन’ केही लजाइन्, ‘अपर्झट आको बोली टा भइगो ।’

‘मलाई लाग्छ, यसको अर्थसँग तिम्रो जीवनको केही सम्बन्ध हुनुपर्छ ।’

‘के को अर्थ न सर्थ, केइ नी छइन ।’

‘तर तिम्रो अनुहारले त्यसो भन्दैन ।’

‘टिम्आफै भन न के भन्च ?’– मुस्कुराइन् उनी । अर्थपूर्ण मुस्कान ।

‘अर्काको ब्यथा, मलाई के था, मनको कुरा निधारमा लेख्या हुन्न क्यारे ।’

‘उसो भा केन सोधिउको ट ?’

‘त्यही त कुरो छ, आखिर मच्चा नै किन भन्यौ तिमीले ?’

‘ऐइले भन्नुङ, पच्छी भन्चु ।’

काफल डालीमाथि उनका हात सल्बलाउन थाले, यन्त्रवत रुपमा । मेरा आँखाले पनि गाढा राता काफल दाना खोज्न थाले, पूर्ववत रुपमै ।

कुराकानीको प्रसङ्गले अर्कै बाटो समायो ।

माथि–माथि चढ्दै आयो घाम । औधी चर्को रुपमा तातिन लाग्यो मौसम । सबै मान्छे घर–घर फर्कन थाले वनबाट । चरीका चिरबिरबाहेक शान्त हुन थाल्यो वन, एक खालको आनन्दमयी सुनसान ।

एकान्त ।

भाँडो भरियो काफल दानाले ।

अरु–अरु मान्छेजस्तै गरेर हामी पनि निस्क्यौं त्यो जङ्गलबाट ।

बडाचौरको पसलनेर भित्र र हुठमा खचाखच मान्छे भरिएको बस भेटियो । घोराहीदेखि स्वर्गद्वारीको लागि छुटेको पहिलो बस । उधुमपुट्याउलो धुलो र धुँवा हामीमाथि छर्दै, हर्न बजाउँदै बस अगाडि बढ्यो ।

पसलेको पानीले शरीरमा प्राण भरेर हामी सैबाङतिर लाग्यौं, दाङ घोराहीको बाटो सोझ्याउँदै ।

सडकको तलमाथि ऐसेलु पाकेर पहेंलिएका थिए । स–साना सल्ला रुखका बुटामा हावाले अनौठो मीठो सुस्साहट निकाल्दै थियो । पारीपट्टि बाइजा गाउँका कान्लेबारीमा लस्करै मल बाँडिएको लाइन आकर्षक बुट्टाजस्तो देखिन्थ्यो– कुनै मूर्तिकारले काठमा फूलबुट्टा भरेजस्तो ।

‘स्वर्गद्धारी बाबाकी जय’ भन्दै एक हुल इन्डियन मुलका तीर्थयात्रीहरु स्वर्गद्वारीतिर सोझिए । लुङ्गी र कट्ठामा सामान पोका पारेर, टाउकोमा बोकेर खाली खुट्टा हिंड्दै थिए– बृद्ध, महिला र अधबैंसे मान्छेहरु ।

अजिवको यो उनीहरुको धार्मिक आस्था !

मच्चाको खसखसले मनमा चसक–चसक घोचिरहेथ्यो– अर्थ जान्ने उत्सुकतावश । जिज्ञासावश । विनयपूर्वक धेरै अनुरोध गरें, मान्दै मानिनन् ।

आधा घण्टाको बाटो हिडेर बाइजा गाउँ पुग्नै लाग्दा उनी केही सकारात्मक त बनिन् । तर उनी कतै हराएकी थिइन्, आफू भित्र–भित्रै । उनी देखिन्थिन्– केही निरासझैं, केही भावुकझैं ।

यो कहानी बताउनुपूर्व उनी निकै उदास भइन् । लामो सुस्केरा हालिन्, अझ भनुँ– छातीभित्रको उच्छबास । उनका खुट्टाहरु अचेतजस्तै चलिरहेका थिए । निकै गम्भीर थिइन् उनी, मानौं छातीभित्र अथाह आँधी र तुफान बोकेकी छिन् । मलाई लाग्यो, उनको हृदयमा पाप्रा बसेको घाउलाई कोट्याइरहेछु, बल्झाइरहेछु ।

मच्चाको अन्तरकहानी बताउन थालिन् ।

‘नमान्दा नी कर गरिलिउ, भन्चु ।’ केही खुलस्त थिइन् उनी– ‘मच्चा भन्या नेवारी भाषा हो, मन परेको केटालाई भन्चन्, प्यारा भनेजस्तै हो, …केटीलाई डलिचा भन्चन् ।’ उनी आफ्नो वास्तविक कहानीको सङ्घारमै उभिएकी थिइन् ।

‘हँ ! यसको मतलब पहिले नि कसैलाई प्रेम गथ्र्यौ ?’– मेरो आश्चर्यचकित बोली थियो, कुनै दुर्लभ वस्तु पाउँदाखेरीको जस्तो आश्चर्य ।

‘के को खरखर गर्चौ’– केही खरो स्वरमा उत्रिइन्– ‘टिमी सुनीराख्नु न म भन्दैछु । आफै भन ट भन गन्र्या ।’

याचनाभावमा मुन्टो हल्लाएँ– ‘ल ल भन्नु न त ।’

‘कुनै समय थो, मेरो मान्छी– भक्तपुरे नेवारी केटा । मच्चा भन्थेङ् मैले उनलाई, उनले मलाई डलिचा भन्थे ।’– खडेरीको पखेराजस्तै फुङ्ग परेका उनका चेहराबाट उदास नजरहरु अनन्त शून्यतातिर डुबे ।

भन्न थालिन्– ‘सोर टेक्नै लाग्दा गाँवले मान्छी र पच्छिमका मान्छीसिट इट्टा बोक्न्या भनिकन भक्तपुर गा‘का थिम्… सीनि ‐सानी) थिएँ । ठेकदारको खाना पकाउनी काम पाको थिएँ । ट्याँ जेनेटर चलाउने यउटा केटा थो, कालो कालो भा नि इमान्दार थो । डिनडिनै मेरो कोठान आइरन्थो । किन हो किन मलाई ओ मन परिरा‘थो, तर भन्न सकिरा‘को थिइनँ ।’

यसबेला उनको मुहारबाट उदासिनता भागिसकेको थियो । उनी केही मुस्कुराइन्, मानौं लाजलाई बलात दबाइरहेकी छिन् । भनिन्– ‘उल्ले नि मलाई मन पराउँदो रइछ, तर भन्न नसकेको रे, मइलेजस्तै ।

यस्तै यस्तै गरिकन दुईयाक मैना बितिगो । मिठा खानेकुरा किन्कन ल्यान्थो, मइले डिल खोल्कन केई भन्नै सक्नथें । पच्छि ओकै मान्छी लिइकन ठेकदारलाई भनेछन् र मलाई टो कुरा सुनाए । आम्मै ! लाजले आङ सिरिङ ग¥यो बाई । यकछिन टा केई नि भन्न सक्नुँ । के भनम् के नभनम् भैगो । आबो ठुल्ला मान्छीको अग्घिटि के भन्न्या क्या ? धेर्रै बेरपछि होन्च भन्दा टा लाजले आङै जिरिङ्ग पो भो । बल्ल टल्ल होसन आइथें ।’

खितिखिति हाँसिन् उनी । रातो पीरो भएकी थिइन् ।

म उनलाई अगाडि बढ्न उक्साएँ– ‘त्यसपछि ?’

‘टो बेलादेखि खुल्लैज डलिचा मच्चा भन्न थालिम् ।’

‘त्यो भन्दा पनि अझ अघि बढ्यो कि चीज ?’– मेरो अर्थपूर्ण भनाई थियो यो ।

‘छ्या, क्या भन्या क्या’– निसंकोच कुरो खोल्न थालिन्– ‘यकले आर्कोलाई चोखो माया गर्थिम् । ओको घरकाले मलाई सम्झान्थे । आबो टिम्लाई बोहारी मानिलिम, हाम्रो चलनमा कुरा पक्का भा पछि अरुसिट हाँस्खेल गर्दैनन्, नगरेस् भन्थे ।’

हापखोलामा जरुवाको मीठो पानीले प्यास मेट्यौं ।

फेरि हाम्रा पाइला भर्खरै डोजरले जोतेर बनाएको कच्ची बाटोमाथि चल्मलाउन थाले । उनको प्रेम कहानीको प्रवाहमा म पनि समाहित भएर हिड्दै थिएँ । थाहा थिएन, त्यतिका लामो बाटो कसरी पार गरियो । एकोहोरो उनका कहानी सुनिरहेथें म । उनी निर्बाध बोल्दै थिइन् ।

धवलाबाङको प्रहरी चौकी नाघेर अझ अगाडि बढ्यौं । कुनैबेला एक दृष्टिविहीन ज्योतिष बस्ने ठाउँलाई पनि उनका कथासित अघि बढेको हाम्रा पाइलामा गाब्दै गयौं । जारी थियो कथाको क्रम । बीचमै काटेर मैले जिज्ञासा राखें– ‘तिम्रो घरकाले थाहा पाएनन् यो कुरा ?’

‘किन नपाउनु, हाम्रै घर आ’थे ओको आर्को साथेसिट… पुग नपुग यक मइना जटि बस्याथे । माथि माझिङको जङ्गलन घाँस दाउरा गर्न जान्थिम् चार पाँच जना मिलिकन । राती म बाबासित सुत्थें उनी‘नु आर्को कोठान सुत्थे ।’–

केही खिन्न भावमा बोलिन्– ‘उनी‘नु घर फर्कने बेला सुलीचौरसम्मन् पठा‘न गाथिम् ।’

बिछोड हुनुको कारण, त्यसपछि उत्पन्न भएको उनीहरुका मनोदशा र दुरावस्थाबारे उनले बताइरहँदा निकै गम्भीर र भावुक देखिइन् । मैले देखें, उनका परेलीका बाँध नाघेर आँखा बाहिर केही आँसुका बुँद गुडुल्किरहेका थिए । मैले नदेखेझैं गरेर उनका कुरा सुनिरहें, एकोहोरो । किनभने मैले केही भन्नुको अर्थ हुन्थ्यो, कथामा पूर्णविराम लगाउनु । म यसो चाहन्नथें, सुन्न चाहन्थें पूरापूर ।

कथाभित्रको आत्मकथनमा उनले भनिरहेकी थिइन्– ‘हो, ट्यै बेलादेखिन् उनलाई मुटुन टाँसिर्याङ, ओंठन ट्यै आन्च, सपनीन नि ट्यै बर्बरान्चु– मच्चा… मच्चा ।’
चर्को धूपको पनि बेवास्ता गर्दै हिडिरह्यौं, एकनासमा ।

अहिलेसम्मको उनको कहानी जारी थियो ।

देउराली डाँडा आइपुग्यो । धाराको तातो पानीले मुख भिजायौं । जसै भञ्ज्याङ नाघेर अघि बढयौं, फेरि शुरु भयो उनको धाराप्रवाह कहानी ।

उनले बोकेको काफलको रस चुहेर कपडा रातै भइसकेको थियो । उनी भने एकनास हिड्दै मुख चलाइरहेकी थिइन् । दुबै हात टाउको पछाडी गाँठो पारेर शिरलाई अगाडि झुकाइरहेकी थिइन्, जहाँ सोलको नाम्लो बनाई काफल बोकिएको थियो । म भने स्वीकारोक्ति आवाज दिदै उनकै कथासँगै हिडिरहेको थिएँ ।

आधी घण्टाभन्दा अलिक बढी समयपछि राम्चेको डाँडानेर आइपुग्दा तल दुईखोलीबाट आएको तातो हावाले पनि शरीरमा अनौठो रक्तसञ्चार भ¥यो ।

नास्ता खाने सल्लाह भयो । बस्यौं पसलमा ।

थकाई मेट्न केही समयको लागि यसो पल्टिएँ शीतलमा ।

निदाएझैं गरी आँखा चिम्म गरें । भर्खरै समाप्त भएको उनको कहानीले मनमा उधुम मच्चाउँदै मुटु हल्लाइरहेको थियो, छाती भित्र–भित्रै । नानाथरिका चित्रहरु उभिरहेका थिए मेरो मस्तिष्कको अन्तरदृष्टिमा ।

उनका जीवन कहानीका पात्रहरु, परिवेशहरु, मच्चा र डलिचाका मनोदशा र प्रेमपीडाका भोगाइहरु, भावनाहरु, बाध्यताहरु, बिवशताहरु आदि–आदि ।

म आफै कतै हराइरहेको हुन्छु ती कथामा । मेरो अन्तरआत्माबाट निस्किएको सोचाइको आन्तरिक पर्दामा कुनै फिल्मका रिलझैं भर्खरै उनले सुनाएका कथाको आधारमा एउटा वृत्तचित्र निर्माण हुन्छ ।

म गहिरिएर, एकदमै गहिरिएर, कथामा डुबेर कल्पनाको पर्दामा ती वृत्तचित्रसित साक्षात्कार गरिरहन्छु ।

बृत्तचित्रकी नायिका देखा पर्छिन्, स–साना आँखा तर निकै आकर्षक, पातला आँखीभौं, चट्ट मिलेका दन्तलहर, गहुँगोरी, छोटो छोटो कपाल, केही उठेका पम्पुरा, मगरका औसतमा केही चुच्चा परेका नाक– सारमा सख्खली मगरनी अनुहार भएकी ।

घरमा एक्लो बुबालाई छाडेर उनी जनयुद्धको गोरेटोमा हिड्छे । किनभने गाउँका धेरैजसो उनका दौतरीहरु त्यही बाटोमा हुन्छन् । पुलिस प्रशासनको तीब्र दमन र धरपकडले झन् उनलाई त्यतै धकेलिदिन्छ । उनी कलाकार भएर गाउँदै नाच्दै डुल्छिन्, दुःखी गरिबका साथ मृत्युसित पनि लुकामारी खेल्दै ।

करिब एक वर्षपछि उनीसहितको कलाकारको टीम भावाङमा पुलिसको घेराबन्दीमा पर्छन् । गोलीको पर्राबीचबाट उनी त फुत्किइन् तर उनका मन मिल्ने एघार जना साथीहरु त्यहीं ढल्छन् । संगठनसँग उनको सम्पर्कबिच्छेद हुन्छ । भोकभोकै, कहीं जङ्गलै जङ्गल, कहीं भीरपाखा, कहीं अपरिचित बस्ती हुँदै उनी आफ्नो बूढा बुबाकहाँ फर्कन्छिन् । बुबाको आँसुलाई कुल्चन नसकी उनी बुवाकै खुशी खोज्न काठमाडौं उपत्यका छिर्छिन् र भक्तपुरको एक नेवार केटासँग उनको प्रेम बस्छ । र, उनीहरु मच्चा–डलिचाको रुपमा उभिन्छन् ।

मच्चालाई डलिचाले आफ्नो घरै लिएर आउँछिन् ।

केही समयपछि मच्चा काठमाडौं फर्कन्छ र डलिचा घरै छुट्छे । यस बीचमा उनीहरुको प्रेमलाई जीवित राख्न दर्जनौं चिट्ठी आदानप्रदान हुन्छ । गाउँको कुनै मान्छेले मच्चाको घरका मान्छेलाई डलिचा माओवादी भएको कुरा सुनाइदिन्छ र मच्चाका अभिभावकलाई भत्काइदिन्छ । तर मच्चाले डलिचालाई असाध्यै माया गर्छ र बिहे गर्न नपाए आजीवन अबिबाहित बस्ने निर्णय गर्छ । डलिचाले पनि असाध्यै माया गर्छे तर माओवादीकै कारण पछि आफुलाई नराम्रो हुन सक्ने आशंकाले बिवाह नगर्ने निर्णय सुनाउँछे ।

आहत बन्छ मच्चा । झण्डै–झण्डै बेहोसजस्तै ।

डलिचासँग अनेक बिन्तीभाउ गर्छन् । आफ्नो निर्णयमा अडिग हुन्छे डलिचा ।

मच्चा यो युद्धमा हारेर इन्डिया जान्छ, फेरि फर्कन्छ । अहँ डलिचालाई भुल्नै सक्दैन । उही इट्टाभट्टा, जहाँ उनीहरुको पहिलो भेट र प्रेम भएको थियो, त्यहीं उनीहरुको फेरि भेट हुन्छ । दैनिक वार्तालाप चल्छ, स्थिति सुध्रिन्न । तर एकले अर्कोलाई न भुल्न सक्छन्, न त त्याग्न नै ।

मेरो सोचाइको पर्दामा फेरि बिछोडिन्छन् उनीहरु । मेरो अन्तरआत्माको त्यो पर्दामा चित्र बदलिन्छ । उनकै कहानी निर्देशक बनेको हुन्छ ।

केही वर्ष बित्छ ।

उनको कहानीले बनाएको यो कस्तो अमिल्दो दृश्य !?

डलिचाले आफ्नै छिमेकी गाउँ मन्घा (गजुल गाबिस)मा बिहे गर्छिन्, मगर केटासँग । तर उनको पूरापूर मन चाहीं मच्चालाई नै सम्झिरहेको हुन्छ ।

केही वर्षमा एउटा बच्चा जन्माउँछिन् ।

मगर केटासँग बिहे हुँदा बखतको चित्र पनि उभिन्छ, मेरो मानस्पटलमा । वृत्तचित्र उनले सुनाएको कहानीको बाटो पछ्याइरहेको थियो ।

अघिल्लो छोरीहरुलाई बुबाको इच्छानुसार बिहे गरिदिदा नराम्रो भोग्नु परेकोले मच्चालाई निर्बाध छाडिदिएका थिए । मन्घाबाट दुलाहाले लिन आए । बुबालाई एक शब्द मात्र ‘म टा गइगें’ भनेर निस्किइन् ।

बुबाले दुई थोपा आँसु चुहाए । केही बोल्नै सकेनन् । आफुलाई छाडेर ‘पोइल’ गइरहेकी छोरीलाई चुपचाप हेरिरहे, एकोहोरिएर, निरासिएर । लेकको जङ्गलको बाटो लुकी–लुकी गएका थिए । भर्खरै कालापहाडबाट ल्याइएको ‘टेपरिकाड’मा क्यासेट बजाउँदै माथि ढोडेना हुँदै मसिनाको डाँडा चढे ।

‘फोटो फिर्ता लेऊ….
ब्यर्थै लाइयो पिरती केही न केहीको झ्याउ ।’

क्यासेटमा बजिरहेको यो गीतले डलिचाको मनको बह गाइरहँदा उनले मच्चासँग आफ्नै फोटा मागिरहेझैं आभाष गर्छिन् । अपर्झट गीत बन्द हुन्छ । थकाई मेट्न बस्छन् । कुन्नी डलिचाको मनमा के कुराले घोच्यो, आफ्नो बुबा बसेको गाउँतिर फर्केर धुरुधुरु रोइन्, शायद मच्चाको यादमा पो हो कि ? अथवा एक्लो बुबाको ? वा मच्चासँगको फोटो नपाइने कटु सत्यता बुझेर ?

जेहोस् डलिचाको परेलीमा असारे वर्षा भयो । दुलाहाको साथीले ठट्टा गर्छ– ‘नरुनुस भाउजू, यो टेपरिकाड टा मेरो हो, बिग्रे नि मई बनाम्ला क्या ।’

अरु साथीहरु गलल्ल हाँसे । उनी पनि रुन्चे हाँसो हाँस्छिन् र आँसु पुच्छिन् । पन्चीबाङको गल्छेडा हुँदै साँझ अँध्यारो पारेर घर छिर्छन् ।

उनको कहानीको निर्देशनअनुसार मेरो कल्पनाको पर्दामा फेरि दृश्य बदलिन्छ, अचानक ।

देशमा शान्ति छाउँछ, राजतन्त्र ढल्छ, गणतन्त्र आउँछ ।

मच्चा मलेशिया जान्छ । त्यहाँ डलिचाको गाउँले दाइसँग भेट हुन्छ । दाइको कोठामा रोल्पाली मगरनीका फेसनमा खिचिएका महिलाहरुको फोटो लस्करै कोठाभरि सजाइएको देख्छ । क्रमशः सबै हेर्दै जान्छ । र, अन्तमा आफ्नो डलिचालाई पनि भेट्छ । फोटोमा कुनै मगर पुरुषसँग उभिएर आफुतिरै एकनास हेरिरहेकी डलिचालाई देखेर मच्चाको मनमा आँधी छुट्छ र आँखा धमिलिन्छ । अनि मच्चा कुरै नगरी फुत्त बाहिरिन्छ, त्यो कोठाबाट । र, आफ्नो कोठामा गई डाँको छाडेर रुन थाल्छ– डलिचालाई नपाउने आफ्नो अभागी जिन्दगीलाई धिक्कार्दै, धिक्कार्दै ।

यत्तिकैमा मेरो कल्पनाको पर्दामा फेरि काठमाडौंको दृश्य देखिन्छ ।

यस बीचमा मच्चा र डलिचाबीच फोन सम्पर्क भइरहन्छ । मच्चाको अभिभावकले आफ्नो छोरालाई सम्झाएर बिदेशबाट बोलाइदिन बारम्बार आग्रह गर्छन् । डलिचाले मच्चालाई बिदेशबाट आउन बाध्य पार्छिन् र उसका बुबाआमासहित भक्तपुरमा पुनः उनीहरुको भेट हुन्छ ।

डलिचाले मच्चालाई उसको बुबाआमाको जिम्मा लगाइदिन्छिन् र आँखाभरि आँसु पार्दै भन्छिन्, ‘यो जुनीलाई यस्टै भइगो, अर्को जुनीमा सँगै रहम्ला… प्रेमको आदर्शमा जिन्दगी नबिगार, बुबाआमाको सुखको लागि अर्को घरजम गर ।’

मच्चाको बुबाआमाका आँखामा टम्म आँसु भरिन्छ, छोरोको प्यारी मान्छेलाई बुहारी नस्वीकारेकोमा ठूलो पश्चातापबोधको बिषले आत्मा जलाइरहेको पीडा छरप्रष्ट पोखिन्छ ।
‘डिलु, उठ, हिनम आबो ।’– वास्तविक नायिकाले व्यूँझाइन् मलाई ।

म झस्किएँ, झस्किएर आँखा खोलें । कल्पनाको बृत्तचित्रमा सम्वाद गरिरहेका, खेलिरहेका मच्चा र डलिचालाई छाडेर म कल्पनाको संसारबाट फुत्त बाहिरिएँ– भौतिक यथार्थतिर । भङ्ग भयो मेरो सोचाइ क्रम । अस्वाभाविक धड्कन थियो छातीमा । स्वास बढिरहेथ्यो खलाँतीझैं । दिलभित्रको वृत्तचित्रको ताप र बाहिरी धूपको हपहपीले म पसिनामा डुबेको थिएँ ।

मेरो अघि थिइन्, वास्तविक नायिका, डलिचा ।

राम्चे डाँडा । जहाँ मैले यी कल्पना गरिरहेको थिएँ– त्यो त्यही बाटो थियो, जहाँ मेरा बुबाहरु उहिले–उहिले घोराहीबाट आफुभन्दा दोब्बर तेब्बर नुनका भारी बोकेर हिडेथे । त्यही वरपरको माटोको सुवासमा बुबाहरुका पसिनाको गन्ध मिसिएको छ ।

उहिले राम्चे, धवलाबाङ, सुर्पाल हुँदै खुङ्ग्री सुलीचौरको बाटो भएर जलजलाको फेदमा पुग्थे, दिनौं दिन लगाएर । हो, त्यही बाटो थियो त्यो राम्चेडाँडाको छेडा ।

सोच्छु– मनमनै सोच्छु म, उहिले र अहिले धेरै फरक छ तर गरिबीको व्यथा उही छ उही । सबै डलिचाहरुका मच्चाहरु बिदेशिएपछि मानव जीवनका अपूर्णताबाट जन्मिएको अदृश्य आकांक्षाले सबैतिर घर बनाइरहेछ ।

गफैगफमा ओरालो झर्न लाग्यौं, छिट्टै घोराही आ–आफ्ना डेरामा पुग्नु छ ।

‘तिमीले अब पनि आफ्नो डलिचालाई नरुवाउनु ।’– मैले भनें ।

‘आबो टो समय टा कथा माटरै बनिगो ।’

‘कि फेरि पनि अर्को कहानीको चक्कर चल्दैछ ?’– मेरो ठट्टा ।

‘होन नि सक्च ।’– ठट्टामै मुस्कुराइन् उनी ।

‘हँ ! हो र ! कहाँ, कोसँग ?’

‘मेरै अग्घिति मैसित छन् ।’

‘धत् लाटी ।’– अब मेरो मुख बन्द भयो ।

प्रतिक्रिया दिनुहोस्