नयाँ सुरुवातको समय

                         –प्रमोद धिताल

नयाँ बर्षको उपललक्ष्यमा केहि दिन अगाडि देखि नै सामजिक सञ्जालमार्फत शुभकामनाका पुष्पगुच्छाहरुको वर्षा हुने क्रम जारी छ । त्यसो त हामीलाई शुभकामनाको लागि बहानाहरु काफी छन् । कामना(सोझो अर्थमा भाग्यवाद) को भरमा जिउँन अभ्यस्त हामी कामना धेरै गर्छौंं । तर कर्मप्रति हामीलाई त्यति विश्वास छैन । बरु उल्टो कर्म गर्नेहरुलाई नै घृणा गर्छौं । ठगी खाने ‘सुखी र सम्पन्न’हरुको जिन्दगी देखेर त्यस्तै बन्ने कामना गर्छौं । स्वदेशमै केहि गरेर आफ्नो जिन्दगीको मालिक आफै हुनखोज्नेहरुलाई ‘हारेको जिन्दगी’ भनिदिन्छौं । राज्य पनि उसलाई ‘हारेकै जिन्दगी’ मा सीमित गर्न उद्यत छ । स्वदेशमा संघर्ष गर्नसक्ने पर्याप्त क्षमता भएको मानिस पनि जब अर्को मुलूकमा तेस्रो दर्जाको गुलाम बन्न पुग्छ र पहिलो दर्जाको फूर्ति हाँक्छ त्यसलाई हामी सलाम गर्छौं । कुनै पनि कुराको कामना गर्नुलाई नै खराब त कसरी भन्न सकिएला र ! तर कामनाहरुले जब कर्महरुसँग नै दुश्मनी गर्न थाल्छन् त्यसपछि ती कामनाहरुको कुनै औचित्य रहन्न । त्यसैले पनि शुभकामना दिन लिन खासै जाँगर चल्दैन ।

त्यसो त हाम्रो निम्ति हरेक दिन नयाँ हो । कुनै क्षण हाम्रो निम्ति पुरानो छैन । भित्तामा क्यालेण्डर फेरिनुलाई त्यति ठूलो कुरा ठान्नु आवश्यक नै छैन । हाम्रो जीवन आफैमा दुनियामा नयाँ परिघटना हो । न हामी पहिले थियौं, न त हाम्रो अवसानपछि फेरि कहिल्यै हुनेछौं । यसरी हेर्दा हामीले जीवनमा प्राप्त हरेक क्षणहरुलाई अमूल्य सम्पत्ति ठान्नु पर्ने होइन र ? तर सबैभन्दा नयाँ वर्षको शुभकामना दिने हतारों तिनैलाई हुन्छ जसको निम्ति समय सबैभन्दा सस्तो भएको छ । जसले जिन्दगीको कुनै औचित्य र उदेश्य हुनुपर्छ भन्ने कुराको पनि हेक्का राख्दैनन् । त्यो कुरा थाहा भएपनि जीवनको औचित्य र उदेश्यदेखि सधैं तर्सिएर हिड्ने गर्छन् । के अर्थ छ हाम्रो निम्ति नयाँ वर्षको जब हामी केहि नयाँ सोच्न र गर्न तयार छैनौं ?

समय गतिशील छ । हजारौं वर्षदेखि मानिस सुखको खोजीमा छ । खुशीको खोजीमा छ । स्वतन्त्रता र मुक्तिको यात्रामा छ । स्वभाविक पनि हो यो । किनकि मानिसको जीवनमा सपना नै छैनन् भने जिउनु र मर्नुको बीचमा कुनै अन्तर हुँदैन । तर मानव समाज र इतिहासको कहानी यत्तिमै सीमित छैन । प्रभूत्वशाली र त्यसबाट प्रताडित दुईथरी समाज एउटै मानव समाजमाभित्र विद्यमान छन् । शासन र शोषणबाट पूर्णरुपमा मुक्त नभएसम्म मानवीय स्वतन्त्रताको यात्रा जारी रहन्छ । तर त्यसपछि पनि सिंगो शासित भइरहनुपर्ने एउटटा सत्ता छ, त्यो हो–समय सत्ता । अर्थात् परिवर्तनको नियम । सिक्न चाहे यसले दुनियाँलाई औंलामा नचाउँछु भन्ने वादशाहरुलाई पनि अमूल्य पाठ सिकाएकै छ । परिवर्तनको नियम मान्दिन म जहाँको तहीँ स्थिर भएर बाँच्छु भन्नेहरुलाई पनि पाठ सिकाएको छ । सिक्न नचाहने र नसक्नेहरुलाई पनि जेजस्तो दण्ड दिनुपर्ने हो त्यो दिएको छ । परिवर्तनको नियमले के समाज, के प्रकृति सबैमाथि बिना भेदभाव काम गरिरहेको छ । यसलाई सम्मान गर्नु, यसबाट शासित हुन तयार हुनुभन्दा जीवनप्रतिको सम्मान र प्रेम अर्को हुनसक्दैन । त्यसैले पनि फगत शुभकामनाको औपचारिकतामा रमाउनुमा कुनै अर्थ देखिन्न । लाग्छ हामी केबल आफूलाई प्राप्त गरेको जीवन गुजार्न अभ्यस्त भएका छौं । जसरी हुन्छ जीवन गुजार्ने बस ! तर जीवनको मीठास र स्वाद त्यसले मात्र लिन सक्छ जसले जीवनको सृजना गर्छ । हामीलाई प्राप्त जैबिक अस्तित्व त खाली जमिन जस्तै हो । खालि नोटबुक जस्तै हो । त्यसलाई बाँझै छोडिदिने या खेती गर्ने हाम्रो हातको कुरा हो । खेती कस्तो गर्ने त्यो पनि हाम्रै हातमा छ । त्यो दायित्व हामी आफैले बहन गर्नुपर्छ । हाम्रो निम्ति ज्यू–ज्यान दिन तयार हितैषीले पनि हाम्रो त्यो भूमिका निर्वाह गरिदिन सक्दैन । हामीलाई प्राप्त खालि नोटबुक रुपी जीवनमा कथा लेखौं या खालि नै छोडौं, या जस्तोसुकै कथा लेखौं समयले पर्खेर बस्दैन । एउटा कुरा भने अवस्य हो कि हामीले यदि उल्लेखनीय कथा लेख्न सकेछौं भने त्यसलाई हामी नहुँदा पनि अर्को पुस्तासम्म हस्तान्तरण गर्ने काम समयले जरुर गर्नेछ । त्यो पनि औचित्य हुँदासम्म । तसर्थ जीवनका हरेक क्षणहरुलाई छरिएका कणिका टिपेजसरी टिप्न सकिएन भने हाम्रो नियति भित्तामा फेरिइरहने क्याण्डेरमा सीमित हुनपुग्छ ।

गएको वर्षभरिको कुरा गर्दा जीवनका केहि यस्ता पक्षहरु छन् जसको बारेमा मैले समीक्षा गर्ने प्रयास् गरेको छु । अहिले आएर मभित्र जिज्ञाशाहरु छन् । मैले यदि ती विषयहरुमा ? किशोरावस्था या युवावस्थाको पूर्वाद्र्धमै समीक्षा गर्न सकेको भए कस्तो हुन्थ्यो ? हुन त कुनै पनि ज्ञान, समीक्षा र निष्कर्ष अन्तिम नहुन सक्छन् । तर हामीले आर्जन गर्ने ज्ञान, गर्ने सोच्ने अनि निष्कर्ष निकाल्ने समयमा हुने ढिला–चाँडोले धेरै फरक पारिदिन्छन् जीवनमा । यसबाट पनि मैले के निश्कर्ष निकालेको छु भने गत वर्ष मेरा लागि त्योभन्दा पहिलेका दशौं वर्षभन्दा मूल्यमान साबित भएर गयो । किनकि आफ्नै बारेको स्वमूल्यांकनमा म यो हदसम्म निर्मम कहिल्यै भएको थिइँन । कैयौं सवालहरुमा लाग्थ्यो, झण्डै–झण्डै पूर्ण छु । या पूर्ण नभएपनि धेरै हदसम्म सक्षम छु । त्यसो होइन रहेछ । जति–जति आफूभित्र आपैmलाई केलाउँदै गएँ त्यति–त्यति लाग्न थाल्यो, कैयौं सवालहरुमा म मिथ्या भ्रममा रहेछु । थाहा छैन म अँझै कति भ्रममा छु । एउटा भ्रमबाट भने मुक्त भएको छु कि त्यो हदसम्म कहिल्यै पनि पूर्ण या समृद्ध हुँदैनौं जति हामी ठान्छौं । भ्रम र मूर्खतालाई नै ज्ञान औं बुद्धिमानी ठानेर बाँच्न अभ्यस्त समाजमा यो पनि एउटा ठूलो उपलब्धी हो ।

आत्मसमीक्षाको कसीमा राखेर हेर्ने हो भने मैले धेरै वर्षहरु गल्तीहरु सच्याएर होइन दोह¥याएर नै बिताएछु । जीवन यात्रामा विष या काँडाको भूमिका खेल्न एकाध गल्तीहरुको निरन्तर पुनरावृत्ति काफी हुन्छ । मानिसले धेरै गल्ती नै गर्नुपर्दैनजस्तो लाग्छ । कति मनोगत भइयो होला विषयवस्तुहरुप्रति ? कति दोह¥याइयो होला गल्तीहरु ? कति थपिदैं गए होलान नयाँ गल्तीहरु ? के जसलाई मैले असल काम नै भनेर बुझेको छु, के ती पनि वास्तवमै असल हुन् त ? के ती सोचाई र कामहरु मूर्खताहरुबाट मुक्त थिए ? अहिलेसम्म नयाँको आवरणमा विद्यमान तमाम दृष्टिकोण, मूल्य र पद्धतिहरु, जसबाट म अहिले पनि शासित छु के ती वास्तविक अर्थमैं नयाँ छन् त ? के ती न्यायपूर्ण, स्वतन्त्र र समातामूलक समाजको निर्माणतर्फ उन्मुख छन् त ? झन पछि झन आफूलाई संदेहको घेरबन्दीमा पाउँछु ।

आफूलाई बुझ्नु अरुलाई बुझ्नुभन्दा अलग कुरा रहेनछ । अरुलाई बुझ्नमा जति गल्ती गरियो, त्यो अन्ततः आफूलाई पनि बुझ्न नसक्नुको परिणाम हो । त्यसैले आफ्ना कम्जोरी र सीमाहरुको उत्खनन् गर्न र तीबाट कसरी मुक्त हुने भन्ने प्रयासमा गएको वर्ष खेर गएनजस्तो लाग्छ । यसर्थ कि यही काम पनि अपेक्षित रुपमा योभन्दा पहिला गर्न असफल नै भइएको रहेछ । नयाँ वर्षको यो पहिलो दिनमा म फगत शुभकामना मात्र होइन प्रतिवद्धता गर्दछु । नयाँ वर्ष आत्मसमीक्षा र रुपान्तरणको हिसाबले थप उपलब्धीमूलक बनाउँनेछु । समग्रमा आफूले अंगालेको जीवनदर्शनप्रति इमान्दार रहने प्रयत्नको बाबजूद पनि कैयन सवालहरुमा देखाउँदै आएका जीवनमूल्यविरोधी सम्झौताहरुलाई खारेज गर्नेछु । वस्तु जगतसँगको सम्बन्धमा र व्यहारमा भावना होइन विवेकको आवाजलाई सम्मान गर्ने सवालमा थप इमान्दार बन्ने प्रयत्न गर्नेछु ।

नयाँ वर्षको शुभकामना आदान प्रदान गर्दै गर्दा हामी विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण (कोभिड–१९)को बीचमा छौं । विज्ञान, प्रविधि र सुविधाको हिसाबले सम्पन्न र विकसित भनिएका मुलुकहरुमा समेत यसले भयावह रुप लिएको छ । हालसम्म हामीकहाँ भने अवस्था तुलनात्मक रुपले सामान्य नै छ । हाम्रो बलबुता र बुद्धि बर्कतले धान्ने कुराहरुप्रति हामी कति इमान्दार बन्न सक्छौं त्यसमा नै हाम्रो सुरक्षा निर्भर छ । योभन्दा अर्को विकल्प पनि हामीसँग छैन । तर योभन्दा अँझ दूरगामी महत्वको कुरा वर्तमान अवस्थाबाट हामीले के सोच्दैछौं र सिक्दैछौं भन्ने हो । जान अनजानमा पश्चिमा जीवनशैली र सभ्यताप्रतिको हाम्रो बढ्दो आशक्तिको बारेमा पुनर्विचार गर्नेपर्ने अवसर दिएको छ यो समयले । हामीलाई जुन जीवनशैली अपरिहार्य बनाएर पेश गरेको छ पूँजिवादले के त्यो अपरिहार्य नै हो त ? आँखा खोलेर समीक्षा गर्ने र आफ्नो हीतमा जीवनशैली निर्माण गर्ने अवसर पनि हो यो ।

समृद्धि र सुखको खोजीमा मानिसभित्र बढ्दै गएको डरलाग्दो भोगवादले पृथ्वीलाई कति कुरुप बनाउँदैछ, यसतर्फ ध्यान जान ढिलाई भैसकेको छ । पृथ्वी र यसमा विद्यमान पर्यावरणबिना हामीले मानवजीवनको कल्पना गर्नसक्दैनौं । तर यस्तो लाग्छ मानवजातीको मात्र विलोप भएको केहि हप्ताभित्रै यो पृथ्वीले अहिलेभन्दा धेरैगुणा बढि सुन्दर कलेवरमा आफूलाई सजाउन सक्छ । अर्थात् हामीले आफ्नो हीतमा प्रकृतिसँग संघर्ष गर्ने नाउँमा प्रकृतिसँग धेरै खेलवाड गरेको छौं । तर होशमा आउनैपर्ने कुरा के छ भने प्रकृति हाम्रो दुश्मन होइन । बरु प्रकृतिका हामी एउटा सानो हिस्सा मात्र हौं । के आगामी समय हामीले पर्यावरणमैत्री जीवन कसरी बाँच्ने भन्ने बारेमा चिन्तन गर्न सक्दैनौं ? जसले गर्दा प्रकृति र पर्यावरण थप मानवजीवन मैत्री बन्न सकोस् । त्यसको लागि नाफाकेन्द्रित व्यवस्थाको विरुद्ध नगएर सुख छैन् । यदि अहिलेको विश्वको आर्थिक व्यवस्था धन संग्रह गर्ने नाफामुखी हुन्नथ्योभने यो संक्रमण नै नहुनसक्थ्यो या भएपनि एकाध व्यक्तिपश्चात नियन्त्रण हुने सम्भावन प्रवल रहन्थ्यो । यसको कारण प्रश्ट छ कि नाफाकेन्द्रित व्यवस्थाले मानवजातीको हीत हुने काम पनि त्यतिखेरमात्र गर्छ जतिखेर उसलाई नाफा हुन्छ । अन्यथा उसको निम्ति मानवीय हीत र संवेदना पनि केही होइन । हामीलाई भोगवादी, सृजना औं चिन्तनविरोधी आर्थिक प्राणीमा बदल्नमा यसकै योगदान छ । कहिले काँहि प्रतिकूल चुनौतिहरले अनुकूल अवसरहरु पनि बोकेर आउँछन् । वैकल्पिक सोंच, वैकल्पिक जीवनशैली र वैकल्पिक व्यवस्थाको बारेमा सोच्ने, चिन्तन र कर्मतर्फ अग्रसर हुने अवसर हो यो । कामना र प्रतिज्ञा पनि गरौं, हामीसामु झुल्किएको नयाँ वर्षको सुरुवातसँगै हाम्रो जीवन त्यही दिशातर्फ उन्मुख हुनेछ ।

२०७७ बैशाख १

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *