शकुन्तला जोशीका तीन कविता

शकुन्तला जोशी

चिहान

भुइँ कुहिरो उडिरहेको एकान्त जङ्गलमा
रातो रुमाल शिरमा बाँधेर
इनक्लाबको हात हावामा उठाइरहेको
को होला त्यो ?
कसको हो त्यो चिहान
जसको छातीमा
सधैं फुलिरहन्छ रातो गुराँस?
कसको हो छेवैमा फुकालिएको
एकजोर पुरानो खराऊ
जसले सधैं गाउँ निस्कने
गोरेटो संकेत गर्छ ?
कसको हो पुरानो झोला
जसभित्र प्रतिबन्धित छन् एक हुल सपना ?
कसको हो त्यो आवाज
जो सधैं उज्यालोको गीत गुनगुनाउँछ ?
कसले रोप्यो त्यो चिहानमाथि फूल
जो बिना वसन्त फुलिरहन्छ ?
कसले बाल्यो त्यो रा“को
जो रातरात भरि बलिरहन्छ ?

को हो त्यो ?
किन कोही बोल्दैन ?
किन निरुत्तर छ
ह्याङगरमा झुण्ड्याइएको देशको नक्सा ?
किन जिब्रो चपाइरहन्छ गाउ“को मुखिया ?
कसलाई छोप्यो इतिहासले
त्यो चिहानमुनि ?
कोही त भन,
कसको हो त्यो चिहान ?
कसको ?

हजुरबा

पहाडमा
मक्किएको घुमले
दुःखको असिना छेल्दै
फाटेको टोपीले पसिना पुछ्दै
हिउ“द लाग्यो
पल्लो बारीमा गोठ सारी रा’होलान् हजुरबा

हजुरबाले सधैं
एकनास एकतमास समयको प्रवाहसँगै
दुःखलाई रोपे
गोडमेल गरे
फुलाए–फलाए
उनको हत्केला र थाप्लाको खलिहानमा
फलेका अन्नपात खाँदै हामी
हुर्कियौं बढ्यौं र एक दिन
सुखको शहर खोज्दै परदेसियौं
हामीले गाउँ छोड्दा
बटुल्दै थिए उनी
दुःखको खलिहानमा छरिएका अन्नका गेडाहरू
समयलाई दाऊ हान्दै
हामी शहरिया भयौं
शहरिया हुने नाउँमा हामी
पराधिन भयौं

धेरैवर्ष पछि आज सम्झिरहेछु
सतिसालजस्तो शिर लिएर
के हाम्रा लागि उसरी नै खलानमा
टिपनटापन गरिरहेका होलान् हजुरबा ?

इनार

खन्दै गयो भने छाती
बन्दो रहेछ इनार

दुःखको अनन्य अँध्यारो
खोतल्दै गएपछि गैंतीले
फाल्दै गएपछि छातीको अन्तरबाट
माटोका फाल्साहरू
फोसिल्स हुन नभ्याएका इतिहासका पत्रहरू
देवता हुन नसकेका
ढुङ्गाका टुक्राहरू
फाल्दै गएपछि
बन्दो रहेछ इनार

खनेपछि इनार
तैरिँदै आउने रहेछ
हिजो हराएका कथाका पात्रहरू
परदेसिएको छोराको नाममा लेख्दालेख्दै
तुर्न नभ्याएको चिठीका हरफहरू
बाफिँदै आउँदो रहेछ
नफुल्दै झरेका जवानीको रङहरू
उघिँ्रदै आउने रहेछ
मनको सन्दुकभित्र बन्द रहरका किरणहरू

खनेपछि इनार
भरिँदै आउँदो रहेछ
जवान लोग्नेको बीभत्स मृत्यु देखेकी
पत्नीको आँतको आवेग
आफ्नै सामु जवान फूल लुटिएको
हेर्न विवश मालीको निरीहपन
घरको धुरी लिलाम भएको
देख्न बाध्य निम्छरो आँखाको पीडा

साँच्चै, खनेपछि इनार
अटाउने रहेछन् छातीमा
संसारका सबै सबै दुःखहरू ।।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *