विवेक चतुर्वेदी
(३ नोभेम्बर १९६९ मा मध्यप्रदेशको विजयपुर, जबलपुरमा जन्मिएका विवेक चतुर्वेदी वर्तमान हिन्दी कविता लेखन क्षेत्रका एक शशक्त प्रतिभा हुन् । उनको ‘स्त्रीयाँ घर लौटती हैं’ नामक कविता संग्रह प्रकाशित छ । उनको यही संग्रहमा रहेको एउटा कविताको नेपाली अनुवाद प्रस्तुत गरिएको छ ।)
स्त्रीहरु घर फर्किन्छन्
पश्चिमको आकशमा
व्यग्र गतिमा उड्दै गरेका
काला चराहरुको पंक्तिजस्तै ।
स्त्रीहरुको घर फर्किनु
पुरुषहरुको घर फर्किनुजस्तो हुँदैन
पुरुष फर्किन्छन् बैठकमा, स्नान घरमा
अनि सुत्ने कोठामा
स्त्री एकैचोटि पूरै घरमा फर्किन्छन्
उनीहरु एकैचोटि आँगनदेखि
चुला–चौकासम्म फर्केर आउँछन्
स्त्रीहरु बच्चाहरुको भोकमा
रोटी बनेर फर्किन्छन्
स्त्री फर्किन्छन् दाल–भातमा
फुटेका खाटमा
जतनले लगाएको मच्छरदानीमा
उनीहरु आँगनको तुलसी र गुलाबको बोटमा फर्केर आउँछन्।
स्त्रीहरु…..जो स्त्रीकै रुपमा फर्किदैनन्
पत्नी, बहिनी, आमा र छोरीको रुपमा फर्किन्छन्
स्त्रीहरु…..जो केबल रातको
नींदमा फर्किन सक्दैनन्
उनलाई बिहानको चिन्तामा पनि
फर्किनुपर्छ
स्त्री चराहरुजस्तै फर्किन्छन्
र केहि माटो
हरेक दिन पंजाहरुमा भरेर ल्याउँछन्
र छोडिदिन्छन् आँगनमा
घर पनि, एउटा बच्चा हो स्त्रीको लागि
जो हरेक दिन हुर्केर ठूलो हुन्छ ।
फर्किन्छन् जब स्त्री
आँगनको घाँस हुन्छ
अँझै हरियो
झूपडीका खपटा हुनपुग्छन् अँझै राता
वास्तवमा एउटी स्त्रीको घर फर्किनु
केबल स्त्रीको घर फर्किनु होइन
धरती आफ्नो धूरिमा फर्किनु हो ।
हिन्दीबाट अनुवाद : प्रमोद धिताल