शक्ति लम्सालबारे सार्थक प्रयास

       टीकाराम उदासी | 408 Views |   Published Date : 7th December 2014 |

Tikaram Udasiनेपालको वामपन्थी राजनीति, जनपक्षीय पत्रकारिता र प्रगतिवादी समालोचनाका क्षेत्रमा शक्ति लम्साल एउटा प्रखर, निर्भिक, अविचलित र सम्मानित प्रतिभा हुन् ।

बि.सं. १९९२ साल चैत्र १४ गते चारुमती टोल चाबहिल काठमाण्डौंमा बुबा कृष्णप्रसाद लम्सालका दुई श्रीमतीमध्ये कान्छी श्रीमती राधादेवी लम्सालको कोखबाट जन्मिएका शक्ति लम्सालको बाल्यकाल र शिक्षादीक्षा बुबा सरकारी जागिरे भएका कारण नेपालगञ्जदेखि तौलिहवा, कपिलवस्तु हुँदै काठमाण्डौंका विभिन्न विद्यालयहरुमा सम्पन्न भएको देखिन्छ ।

sakti_sktबि.सं. २०१४/०१५ सालदेखि नै साहित्य सिर्जनामा लागेका लम्साल कपिलवस्तुका चिन्तामणि ज्ञवालीबाट विशेषरुपले प्रेरित भएका देखिन्छन् । पत्रकारिताका क्रममा उनी २०२१ सालमै तत्कालीन समयमा भैरहवाबाट प्रकाशित दैनिक निर्णयको सम्पादक, आर्थिक बुलेटिनका रुपमा प्रकाशित हुने योजना पत्रिकाको सम्वाददाता तथा सोही पत्रिका २०३० सालपछि समाचारमूलक बनेपछि त्यसको सम्पादक र प्रकाशक, मशाल पत्रिकाको सम्पादक, डेली डायरीका अध्यक्ष, जनादेश साप्ताहिकको संस्थापक हुँदै सम्पादक हुन पुगेका भेटिन्छन् ।

रुचिले वामपन्थी राजनीति र पेसाले जनपक्षीय पत्रकारितालाई अँगालेर अगाडि बढेका लम्सालले साहित्यमा विशेषतः समालोचना विधामा कलम चलाएका छन् ।

बि.सं. २०५२ सालमा अखिल नेपाल जनसाँस्कृतिक सङ्घको अध्यक्ष बनेर नेपालको प्रगतिशील साँस्कृतिक आन्दोलनको नेतृत्वसमेत गरेका लम्सालले विभिन्न समयमा जेलजीवन समेत व्यतीत गरेका थिए ।

उनले २०१८ सालमा मोहनविक्रम सिंहसँगै तौलिहवामा १८ महिना जेल जीवन बिताएका थिए भने २०२२ सालमा नवलपरासीको किसान विद्रोहमा सहभागी भएका कारण भैरहवा जेलमा परेका थिए । यस्तै उनी २०४५, २०४६, २०५२, २०५३ र २०५५ साल गरी पटक–पटक गिरफ्तार हँदै जेल परेका थिए ।

यसबाहेक आस्थाकै आधारमा उनले जीवनमा निकै धेरै सङ्घर्षका जङ्घारहरु पार गर्नुपरेको थियो । इतिहासका विभिन्न कालखण्डमा अनेकौंपल्ट जेलजीवन र यातना भोग्दै निरन्तर सार्थक परिवर्तनका पक्षमा उभिदै आएका जनपक्षीय पत्रकार, प्रगतिवादी साहित्यकार र वाम विचारक लम्साल केही समययता भने हिडडुल गर्न र बोल्नसमेत असमर्थ अवस्थामा आफ्नै घरमा निष्क्रिय जीवन व्यतीत गरिरहेका छन् ।

नेपालीबाहेक अङ्ग्रेजी र हिन्दी भाषामा लेख्न पढ्न सक्ने लम्सालले मूलतः नेपाली भाषामै आफ्ना सिर्जनाहरु सार्वजनिक गरेको देखिन्छ ।

हालसम्मको खोजअनुसार तत्कालीन समयमा बनारसबाट प्रकाशित हुने दीपक मासिक पत्रिकामा छापिएको स्पुतनिक नानी जून (२०१४) नामक लेख नै उनको प्राप्त पहिलो रचना मानिएको छ ।

यसपछि शुरु भएको उनको लेखनयात्रा अनेकौं चरणहरु पार गर्दै अगाडि बढेको देखिन्छ । यस बीचमा उनका कैयौं फुटकर रचनाका साथै भियतनाम युद्धको ऐतिहासिक पृष्ठभूमि (२०२९) र माक्र्सवाद, समाज र साहित्य ( २०६१) गरी दुईवटा पुस्तकाकार कृतिहरु प्रकाशित भएर पाठकसमक्ष आइपुगेका देखिन्छन् ।

यसरी मूलतः राजनीति, साहित्य र पत्रकारिताको त्रिकोणात्मक आयामबाट निर्मित शक्ति लम्सालको जीवनी, व्यक्तित्व र कृतित्वबारेमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहमा शोधपत्र तयार गर्ने कमला सिग्देल (सुवेदी)ले २०६९ चैत्रमा त्यसलाई पुस्तकाकार रुपमा बाहिर ल्याएर लम्साललाई चिनाउने सार्थक प्रयास गरेकी छिन् ।

यस पुस्तकको सम्पादन अशोक सुवेदीले तथा प्रकाशन हितप्रसाद उपाध्याय–जूनमाया सुवेदी साहित्य प्रतिष्ठान, सिर्जनानगर मन्थली रामेछापले गरेको छ ।

क्रान्तिकारी साहित्य, संस्कृति र पत्रकारिताका स्तम्भ शक्ति लम्साल शीर्षकमा प्रकाशित भएको प्रस्तुत पुस्तकमा हिरामणि दुःखीको भूमिका, लेखकको लेखकीय र अशोक सुवेदीको सम्पादकीय–प्रकाशकीय तथा मोहन वैद्य ‘किरण’ र पुष्पकमल दाहाल ‘प्रचण्ड’का मन्तव्यहरु पूरक सामग्रीका रुपमा आएका छन् भने मूल कृतिलाई तीन खण्डमा विभाजन गरी प्रस्तुत गरिएको छ ।

पुस्तकको खण्ड एक शक्ति लम्सालको जीवनी, व्यक्तित्व र कृतित्वमाथि केन्द्रित रहेको छ । यसभित्र अथक साधक शक्ति लम्साल शीर्षकअन्तर्गत उनका बारेमा लेखिएका २०६० सालपछिका सामग्रीहरुको सामान्य सर्वेक्षणको विवरण प्रस्तुत गरिएको छ ।

त्यस्तै शक्ति लम्सालको जीवनी शीर्षकअन्तर्गत उनको जन्म, पारिवारिक पृष्ठभूमि, बाल्यकाल, शिक्षादीक्षा, औपचारिक र अनौपचारिक शिक्षा, विवाह र दाम्पत्य जीवन, सन्तान र पारिवारिक स्थिति, पारिवारिक र आर्थिक अवस्था, कर्मक्षेत्र र आजीविका, रुचि र स्वभाव, साहित्यिक गतिविधि, लेखनका लागि प्रेरणा र प्रभाव, लेखनको प्रारम्भ र प्रकाशनको थालनी, कृति र रचनाहरु, राजनीतिक र सामाजिक सङ्घसंस्थामा संलग्नता, मातृपितृ वियोग, भ्रमण, सम्मान र पुरस्कार, साहित्यिक मान्यता र जीवनदर्शन आदि उपशीर्षकहरुमा उनका विविध आयामबारे सङ्क्षेपमा प्रकाश पारिएको छ ।

त्यस्तै शक्ति लम्सालको व्यक्तित्व शीर्षकअन्तर्गत उनको राजनीतिक, साहित्यिक र पत्रकारितासम्बद्ध व्यक्तित्वबारे चर्चा गरिएको छ । त्यस्तै पुस्तकमा शक्ति लम्सालले भोगेको यातना र जेलजीवनका बारेमा पनि जानकारी दिइएको छ ।

शक्ति लम्सालको साहित्यिक कृतिहरु शीर्षकमा उनको प्रकाशित दुई पुस्तकाकार कृति, एउटा फुटकर कविता, विभिन्न पत्रिकामा प्रकाशित ३९ वटा फुटकर लेखरचना तथा पाँचवटा विभिन्न पुस्तकमा उनले लेखेका भूमिकाहरुको कालक्रमिक विवरण प्रस्तुत गरिएको छ । साथै उनका प्रकाशित यी सामग्रीहरुका बारेमा सङ्क्षेपमा चिनारी पनि दिइएको छ ।

यसका माध्यमबाट नेपाली प्रगतिवादी समालोचना, सौन्दर्य चिन्तन, भूमिका लेखन र सम्पादनका क्षेत्रमा उनले पु¥याएको योगदानमाथि प्रकाश पारिएको देखिन्छ । त्यसपछि यस खण्डको निष्कर्ष र यस खण्डमा प्रयोग भएका सन्दर्भ सामग्रीहरुको विवरण दिइएको छ । यसरी पुस्तकको यो खण्ड शोधविधिमा आधारित रहेको छ ।

पुस्तकको दोस्रो खण्ड शक्ति लम्सालको समालोचना र उनले लेखेका भूमिकालाई प्रस्तुत गर्ने खण्डका रुपमा आएको छ ।

यसमा समाज विकासमा कला, साहित्य र संस्कृतिको भूमिका, जनसाँस्कृतिक आन्दोलनको बाधक : फायरबाखीय चिन्तन, माक्र्सवादी सौन्दर्यचिन्तक चैतन्य : एक अवलोकन, महान साँस्कृतिक योद्धा कृष्ण सेन ‘इच्छुक’, पारिजात : आफ्नै व्यक्तित्व र परिभाषाभित्र, कवि युद्धप्रसाद मिश्र : साँच्चिकैका युद्ध नै थिए, क.यादव अर्थात् मास्टर साहेब भन्ने गर्नुहुन्थ्यो…, मस्तबहादुर बिष्ट : असल मान्छे र अनुकरणीय साँस्कृतिककर्मी, चिन्तन र कलाका धरातलमा उभिएका कवि जगदीशचन्द्र भण्डारी, दुश्मनका किल्लाहरु कब्जा गर्दा : जनयुद्धको आलोकमा नवीनतम् उपलब्धि र नेपाली साहित्यमा नयाँ आयाम गरी ११ वटा सामग्रीहरु समेटिएका छन् ।

खण्ड तीनमा अशोक सुवेदीका शक्ति लम्सालबारेका अनुभूतिपरक दुई आलेखहरु रहेका छन् । यसरी हेर्दा यो पुस्तकको पहिलो खण्डमा लेखक कमला सिग्देल (सुवेदी)ले शक्ति लम्सालबारेमा शोधखोज गरी तयार गरेका सामग्रीहरु रहेका छन् भने दोस्रो खण्डमा शक्ति लम्सालका समालोचना र भूमिकाहरुको सङ्कलनका रुपमा आएको छ ।

त्यसैगरी तेस्रो खण्डमा पुस्तकका सम्पादक अशोक सुवेदीले शक्ति लम्सालबारे तयार गरेर विभिन्न पत्रिकामा सार्वजनिक गरेका पूर्वप्रकाशित आलेखहरु रहेका छन् ।

दुई सय पृष्ठको हाराहारीमा रहेको यस पुस्तक अध्ययन गर्दा केही सन्दर्भहरु भने पाठकलाई खट्केको अनुभव हुन्छ ।

पहिलो, खण्ड एकबाहेक अन्य दुबै खण्ड परिशिष्टमा राखेको भए पनि राम्रै हुने थियो । किनभने सन्दर्भसूची दिइसकेपछि ती खण्डहरु त्यस अवस्थामा राखिनु उचित देखिदैन ।

दोस्रो, यो कृति शोधपत्रको परिमार्जित रुप भएका कारण शोधकर्ताको शोधनिर्देशक को थियो भन्ने कुराको जवाफ कतै छैन । शोधकर्ताको हैसियतले लेखकले पुस्तक प्रकाशन क्रममा पनि आफ्ना शोधनिर्देशकलाई धन्यवाद वा आभार प्रकट गरी स्मरण गर्नु जरुरी थियो ।

तेस्रो, पुस्तकमा पूर्वकार्यको विवरण २०६० पछिका मात्रै छन् । तर मलाई लाग्छ, शक्ति लम्सालका बारेमा पुस्तकमा प्रस्तुत भएका टिप्पणीबाहेक अन्य टिप्पणीहरु पनि अवश्य हुनसक्छन् । शोधकर्ताले यसतर्फ त्यति मेहनत नगरेको हो कि भन्ने पाठकलाई अनुभव हुन्छ ।

यस्तै कृतिमा उनका पारिवारिक, साथीभाइसँगका तथा सार्वजनिक कार्यक्रमका केही तस्बिरको अभाव पनि उस्तै खट्कन्छ ।

यसरी हेर्दा केही सीमाहरुबाहेक अग्रज वामपन्थी चिन्तक, प्रगतिवादी समालोचक र जनपक्षीय पत्रकार शक्ति लम्सालबारे लेखिएको यो पुस्तक केही अनुसन्धान, केही सङ्कलन र केही टिप्पणीहरु समेटिएको दस्तावेजका रुपमा पाठकसमक्ष आएको देखिन्छ ।

समग्रमा यस पुस्तकले जीवनको प्रायः सम्पूर्ण समय नेपालको प्रगतिशील राजनीतिक आन्दोलन, प्रगतिवादी साहित्य र संस्कृति एवं मिसन पत्रकारितामा व्यतीत गरेर पनि हाल गम्भीर अस्वस्थताका कारण गुमनाजजस्तै बन्न पुगेका आदरणीय अग्रज स्रष्टा शक्ति लम्साललाई चिनाउने सार्थक प्रयास गरेको छ ।

यसका लागि लेखक, सम्पादक र प्रकाशक सबै उत्तिकै धन्यवादका हकदार छन् ।

प्रतिक्रिया दिनुहोस्