पारिजातका कविताहरु

(आज बैशाख ५ गते नेपाली साहित्यिक क्षेत्रकी धरोहर पारिजातको स्मृति दिवस हो। उहाँको जीवन र कर्म साहित्य, राजनीति र महिला मुक्ति आन्दोलनसम्म विस्तारित थियो। आफ्नो सम्पूर्ण जीवनलाई लेखन–कर्म र आचरणमार्फत मानवीय मुक्तिको दिशामा समर्पण गर्नुभएकी पारिजातका कृतिहरु आज पनि हाम्रो लागि उत्तिकै प्रेरणाका स्रोत हुन्। प्रस्तुत छन् स्मृति दिवसको अवसरमा नेपाली साहित्य क्षेत्रकी अथक योद्धा पारिजातका केही कविताहरु।)

मानुषी

तिमी जति गर्न सक्छौ
त्यति म पनि गर्न सक्छु
तिमी जत्तिकै पाखुरी बजार्न सक्छु
पसिना बगाउन सक्छु
तिम्रा सबै अनुभूतिहरू
मेरा पनि अनुभूति
तर इतिहासले आज
कहाँ ल्याएर पछार्यो कुन्नि मलाई
तिमी त मभन्दा कोसौं अघि गइसकेछौ ।

तिमी र म एउटै होइनौं
एक–अर्काका पूरक मात्र हौं
त्यसैले तिमी मेरा थुप्रै अनुभूतिहरूका भागिदार हुन सक्दैनौ
म तिम्रो मृतदेहसँग जिउँदै मर्न सक्छु
म तिमीहरूको सामूहिक बलात्कार खपेर बाँच्न पनि सक्छु
तिमीलाई त यसो कहिल्यै भएन,
तिमीले रजस्वलाको कष्टप्रद क्षण भोगेका छैनौ
तिमीलाई आफ्नो अस्मिताको जोखिम उठाउनु पर्दैन
तिमीलाई गर्भधारणको अतिशय पट्यारलाग्दो अवधि थाहा छैन
तिमीलाई प्रसवकालको सीमातीत कष्ट भोग्नुपर्दैन

हो, म तिमीबिना आमा बन्न सक्तिनँ
तर मैले तिमीलाई बाबु बन्ने श्रेय दिएकी छु
तथापि तिमी त्यो नैसर्गिक मातृत्व बुझ्दैनौ
त्यो मेरो, नितान्त… मेरो अनुभूति हो

तिमीलाई स्वास्नीमान्छेले बलात्कार गर्यो ?
तिमीलाई स्वास्नीमान्छेले कलंकको टीका लगाइदियो ?
तिमीलाई स्वास्नीमान्छेले बेच्यो ?
तिमी निरूत्तर छौ यस प्रश्नको अघि,
आजको सत्तारूढ तिमी
शताब्दी–शताब्दीअघि
झगडालु, ईर्ष्यालु वनमानुष तिमीलाई
माया र सह–अस्तित्वको अँगालोमा बाँधी
आफ्नो ओढारको छानुमुनि भित्र्याएकी थिएँ
जसरी आज तिमी
दाइजोको लावा–लस्करसँग घुम्टोभित्र लुकाई
पशुलाई जस्तै रूवाउँदै भित्र्याउने गर्छौ ।

त्यसैले तिमी यति विमुख न हौ
यति निर्दयी नबन,
यति बैगुनी न हौ,
तिमी मेरो उत्पीडन बुझ्दैनौ
म तिम्रो उत्पीडन बुझ्छु
आऊ आज हामी उत्पीडनहरू साटासाट गरौं
हामी मानसिकताले एकाकार हौं
हामी एक–अर्का बिना बाँच्न सक्ने प्राणी होइनौं
म तिम्रो हात दह्रो गरी समाउँछु
तिमी मलाई तिमी पुगेको ठाउँसम्मै पुर्याऊ
त्यहाँ, जहाँ तिमीलाई मैले
सभ्यताको आदिकालमा पुर्याइसकेकी थिएँ ।

 

मृत्यु

 

धेरै अघि एक साँझ
चराहरु निन्याउरा भएर हाँगातिर
बसिरहेको बेला
घरका समस्याहरुले पिल्सिएर
आफै पनि झोक्रिएर बसिरहेको बेला
मलाई एउटा कविता लेख्न मन लागेको थियो
मृत्यु अभिशाप हो
मृत्यु विसंगति हो
मृत्यु जीवनको अन्त हो भनेर।

मृत्युको कुरालाई धर्म ग्रन्थहरुबाट
जस्ताको तस्तै ग्रहण गरेकी छु मैले
तथापि मसँग मृत्युको केही आलो व्यथा छ
जीवनको विकराल दुःखहरुबाट तर्सेर
एकपल्ट मैले मृत्युको पछ्यौरामा
मु लुकाउने दष्प्रयास गरेकि छु
तथापि मसँग मृत्युको केहि साक्षात कथा छ ।

मट्मास दिएर नून साट्न आएकी
साँघुरो भिरालो बाटोमा
पेटभरि आहार नभएर बाङ्गो टिङ्गो हिँडिरहेकी
एउटी गरिब आमाको थुन्सेबाट
आँत सुकेको बालख छोरो अरल्लिएर रुँदा
फुत्केर कालीको बौलाहा छालमा खस्यो
उसको मृतयु भयो
ज्वरोको धङधङीमै ठालुले जोताको
एउटा निर्धो तन्नेरी
रुखको हाँगा काट्दा काट्दै
असंतुलित भएर भूईंमा खस्यो
उसको मृत्यु भयो
रक्सी खाएर रङ साइडतिर हाँकिरहेको
महानगरको एउटा सफेद पोशले
एउटा झुम्रे रिक्सावाललाई
हाकाहाकी चेप्ट्याएर मार्यो
उसको मृत्यु भयो
अझ थुप्रै सामूहिक मृत्युहरु भए
खान नपाउनेहरुको
अधिकार खोज्नेहरुको
दुई पाइलो जग्गा माग्नेहरुको
अब मसँग मृत्युको त्यो पुरानो परिभाषा छैन
आज मलाई फेरि एएटा कविता लेख्न मन लागेको छ
मृत्यु विसंगति होइन
मृत्यु जीवनको अन्त होइन भनेर
मृत्यु त सहिद भएर रातो झण्डाभित्र सुरक्षित
भीडहरुबीच हिँड्दो रहेछ
मृत्युको अर्को नाउँ बलिदान रहेछ
मृत्यु बाँच्दा रहेछन्
जिउँदाहरुको मानसमा सम्झना भएर
अन्यायमा परेर मेरका मृत्युहरु
डरलाग्दा आक्रोश भएर जुर्मुराउँदा रहेछन्
प्रतिशोध भएर जताततै पुषकार गरी हिँड्दा रहेछन्
मृत्यु त संगठन भएर
अंगालोतिर बाँधिइदा रहेछन्
नारा भएर भित्ताहरुतिर लिपिदा रहेछन्
पर्चा भएर हातभरि छरिइदा रहेछन्
कहाँ मर्दा रहेछन् र
भोका किसान जिउँदै डढ्ने सुकुम्बासीका मृत्युहरु
उनीहरुका मृत्यु त
संघर्ष गर्न तमतयार आएको
विशाल विशाल जुलुसमा हिँड्ने संघर्षकारीहरुको
पाखुरी पाखुरीमा
मु्ठ्ठी भएर
कसम भएर
अठोट भएर
प्रतिज्ञा भएर
ज्यूँदै ज्यूँदै जाग्दा रहेछन्, बल्झिदा रहेछन्
मृत्यु त संगीन भएर
वर्ग शत्रुको छातीतिर तेर्सिइदा रहेछन्
बन्दूक भएर पड्किदा रहेछन् ।

जूठी दमिनीको अभिव्यक्ति

जदौ हजूर
मालिक अलिक टाढै बस्नुस्
नाउँ लक्ष्मी,
आमाको एउटी छोरी
न जेठी न कान्छी
न ठूली न सानी
गरीबको घरमा बत्ती बलेकी थिएँ हजूर बत्ती ।

तर कर्मको खोटी अलच्छिन् मोरी
बाह्र वर्ष नपुग्दै पोली खाएँ
बा आमा
असारको पैह्राले किचेर
एक चिहान परे कठै
हाट भरेर फर्केकाहरू ।

कहाँ जाने अभागिनी
आँखोको सोझी
मावल हुत्तिएकी
सौतेनी माइज्यूछोरीको रूपमा
यो त डङ्किनी रहिछ
आमा बाबु ज्यूँदै खाई भन्दैभुत्लाउने गर्थी ।

हजूर मालिक,
मेरो बिहे नभएको होइन
ढाँटेर के हुन्छरु
सौतेनी माइज्यूले उसैको भाइको सौता हाली दिएकी
मेरी जेठी पिण्ड रोगी
म त काम गर्न गएकी,
मालिक हजूर,
कसैको जुठो खाएर हुर्केकी होइन
म त आएको तीन दिनम
मुखिनीले न्वारान गरिदिई
जुठी,
जेठीमाथि सौता हुन
जुठे दमैसँग पोइल आएकी
म जुठी कान्छी ।

पुर्परोमा यस्तै रहेछ मालिक
सबै जुठी कान्छी भन्छन
हाम्लाई यस्तो
माया पिरती क्यै थाहा छैन हजूर
आइमाईको जातले छोरा छोरी पाउनु कुन महाभारत
भयो त ।

टालाटुली बटुली
आफै सिलाकी यो चोली
जुम्रा पर्छ
घरिघरि केलाउन पस्न पर्छ कुनाकुनी,
लाज शरम एउटै हो हजूर
आइमाई जातको
रूझ्नु, भिज्नु, चिसिइनु, खट्नु
सुख्खा खोकी लाग्छ
ज्वरो आउँछ रातभरि
मर्ने काल आउँदैन
बाँच्ने मन छैन मालिक,
साह्रै नै बाँझो भएको छ
ऊ त्यो वनमारा फैली झ्यामिएको पाखाजस्तै
सक्नुहुन्छ भने दखल गरिदिनुस्, जोती दिनुस् क्यार
जदौ हजूर
बिउ छर्न लायक बनाई दिनुस् क्यार।
जदौ हजूर
मालिक अलिक टाढै बस्नुस्
नाउँ लक्ष्मी,
आमाको एउटी छोरी
न जेठी न कान्छी
न ठूली न सानी
गरीबको घरमा बत्ती बलेकी थिएँ हजूर बत्ती ।

तर कर्मको खोटी अलच्छिन् मोरी
बाह्र वर्ष नपुग्दै पोली खाएँ
बा आमा
असारको पैह्राले किचेर
एक चिहान परे कठै
हाट भरेर फर्केकाहरू ।

कहाँ जाने अभागिनी
आँखोको सोझी
मावल हुत्तिएकी
सौतेनी माइज्यूछोरीको रूपमा
यो त डङ्किनी रहिछ
आमा बाबु ज्यूँदै खाई भन्दैभुत्लाउने गर्थी ।

हजूर मालिक,
मेरो बिहे नभएको होइन
ढाँटेर के हुन्छरु

सौतेनी माइज्यूले उसैको भाइको सौता हाली दिएकी
मेरी जेठी पिण्ड रोगी
म त काम गर्न गएकी,
मालिक हजूर,
कसैको जुठो खाएर हुर्केकी होइन
म त आएको तीन दिनम
मुखिनीले न्वारान गरिदिई
जुठी,
जेठीमाथि सौता हुन
जुठे दमैसँग पोइल आएकी
म जुठी कान्छी ।
पुर्परोमा यस्तै रहेछ मालिक
सबै जुठी कान्छी भन्छन
हाम्लाई यस्तो
माया पिरती क्यै थाहा छैन हजूर
आइमाईको जातले छोरा छोरी पाउनु कुन महाभारत
भयो त ।

टालाटुली बटुली
आफै सिलाकी यो चोली
जुम्रा पर्छ
घरिघरि केलाउन पस्न पर्छ कुनाकुनी,
लाज शरम एउटै हो हजूर
आइमाई जातको
रूझ्नु,भिज्नु,चिसिइनु,खट्नु
सुख्खा खोकी लाग्छ
ज्वरो आउँछ रातभरि
मर्ने काल आउँदैन
बाँच्ने मन छैन मालिक,
साह्रै नै बाँझो भएको छ
ऊ त्यो वनमारा फैली झ्यामिएको पाखाजस्तै
सक्नुहुन्छ भने दखल गरिदिनुस्,जोती दिनुस् क्यार
जदौ हजूर
बिउ छर्न लायक बनाई दिनुस् क्यार।

आन्दोलन

चुँडालेर बन्धनबाट
आँप, बेल र पीपलको पातहरूका
एउटी विवश बेहुलीको चाहना जस्तो
उम्कन नसक्ने होइन मुक्ति
पर्यावरण नमिलेको माटोमा
फुट्न नसकेको दाखको विरुवा होइन मुक्ति
ज्यूँदो मान्छेको मुटु ज्यूँदो मान्छेले
हत्केलामा यसै निचोर्न सक्तैन
एउटाले अर्कोलाई मार्नैपर्छ
यसो गर्नलाई
तथापि होस् गर्नु त्यो मुटु मृतकको मुटु हुनेछ ।

मण्डप भित्र मन्त्रहरूले कति दिन
छलाउन सक्छ मुक्तिलाई ?
के हो र मन्त्र मुक्तिको निम्ति ?

लात्ते भकुण्डो होइन मुक्ति
भरौटे खेलाडीहरूको छलाउनलाई यता र उति
होस गर्न पर्छ यस्तो सोच्नलाई
मुक्ति साङ्लामा बाँधिइन सक्ने बस्तु होइन
आकाश भरी पहिले बाटै
तैनाथ गरेर छरिता बाजाहरूको जमातमा
उडाउँछन् शान्तिकामी हातहरू सेता परेवाहरूको जोडा
शान्तिका प्रतीकहरू, रक्ताम्य अन्तरिक्ष
होस गर्नु विडम्बना हुनेछ लुम्बिनी र शान्ति क्षेत्र
काँक्रा र फर्सीका बिऊ जस्तो
पट्ट पट्ट फुटेर समयअनुकूल माटो र ऋतुमा
झाँगिदै, लहरिँदै जान्छन् आन्दोलन बनेर
मुक्तिका चाहनाहरू
चुँडालेर कथित बलियो बन्धनबाट
आँप, बेल र पिपलका रंगीचंगी पातहरूको ।

होस गर्न पर्छ यतिखेर
निर्धाका मुटु निचोर्नेहरूले
शक्तिशालीका मुटु निचोर्ने हातहरू यता पनि तयार छन्
एकपछि अर्को लस्कर लागेर ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *