सुकुम शर्माको हिमालमुनिको गाउँ

सुकुम शर्मा समकालीन नेपाली साहित्यका क्षेत्रमा एक जना सिर्जनशील लेखक, प्रखर समालोचक र परिश्रमी अनुसन्धाताका रुपमा स्थापित छन्। २०४८ सालदेखि नै पुस्तकाकार कृति बोकेर नेपाली साहित्यको सेवामा समर्पित भएर लागेका शर्माका हालसम्म दुई दर्जन बढी सिर्जनात्मक र अनुसन्धानमूलक कृतिहरु प्रकाशित भइसकेका छन्।

नेपाली व्याकरणको ऐतिहासिक सर्वेक्षण (२०५६), नेपाली व्याकरणको प्रारम्भिक इतिहास (२०५८), नेपाली भाषामा टर्नरको योगदान (२०५९), कवि इच्छुकः कविताका सन्दर्भमा (२०६०), पारिजातका कविताको अध्ययन (२०६२), आँधीखोला क्षेत्रमा प्रचलित उखानको अध्ययन (२०६२), नेपाली भाषासाहित्यमा आन्दोलन (२०६४), समालोचक मोतीराम भट्ट (२०६५), जनकवि गोकुलप्रसाद जोशी (२०६५), सिर्जनाका परिधिमा भूपि शेरचन (२०६६), कृति परिचय (२०६८), नेपाली व्याकरणको इतिहास (२०७४) आदि उनका अनुसन्धानमूलक कृतिहरु प्रकाशित भएका देखिन्छन्।

यसैगरी शर्माका अमिला अणु (२०४८), मर्मैमर्म (२०४९), नारीका व्यथा (२०५१), लहराका फूलहरु (२०५६), आगोको यात्रा (२०५७), सङ्घर्षशील युवाको डायरी (२०५७), समयका छर्रा (२०५७), अनवरत यात्रा (२०५८), कोम्रोङ खोला बाँचे भेट होला (२०५९), लाले र लिलीको कथा (२०६१), आगोको यात्रादेखि आगोको यात्रासम्म (२०६५), मावली हजुरबा (२०६७), हामी नेपाली (२०६८), गौंथलीको कथा (२०६८), चरैचराको गीत (२०७३), चार कथा (२०७४), समाजको कथा (२०७४) जस्ता विभिन्न विधाका सिर्जनात्मक कृतिहरु पनि प्रकाशित भएका छन्।

उनका केही कृतिहरु विभिन्न संस्करणहरुमा समेत प्रकाशित छन्। उपरोक्त विभिन्न कृतिहरुको सूचीबाट पनि उनको सिर्जनशील र प्राज्ञिक दुबै व्यक्तित्वको पहिचान सहजै गर्न सकिन्छ। यसै क्रममा उनको नवीनतम कृतिका रुपमा हिमालमुनिको गाउँ (२०७५) नामक प्रयोगशील उपन्यास पनि प्रकाशित हुनपुगेको छ। यहाँ यसै कृतिका बारेमा केही टिप्पणी गर्ने प्रयास गरिएको छ।

समालोचना र अनुसन्धानका क्षेत्रमा बाहेक कविता, मुक्तक, हाइकु, निबन्ध, कथा, गीतजस्ता सिर्जनात्मक विधाहरुमा समेत हात हालेका सुकुम शर्माको पहिलो उपन्यास सङ्घर्षशील युवाको डायरी (२०५७) हो। यसको दोस्रो र तेस्रो संस्करण पनि प्रकाशित भएर पाठकसमक्ष आइसकेका छन्।

उनको दोस्रो औपन्यासिक कृतिका रुपमा आएको प्रस्तुत हिमालमुनिको गाउँ (२०७५) लाई हेरिटेज पब्लिसर्स एन्ड डिस्ट्रिब्युटर्स प्रा.लि., काठमाण्डौंले प्रकाशित गरेको हो। जम्मा ११४ पृष्ठको आयाममा संरक्षित यस प्रयोगशील उपन्यास कृतिको आरम्भमा लेखकले सीमा शीर्षकमा कृतिबारे आफ्ना भनाइहरु राखेका छन्। त्यसबाट पनि उपन्यासकारको प्रयोगशील नवीन चेतना र जनपक्षीय वैचारिक भूमि पहिल्याउन पाठकलाई सहयोग पुग्दछ।

उपन्यासकार सुकुम शर्माको यस उपन्यासमा औपन्यासिक ढाँचा नै सर्वथा नवीन छ। शोधलेखन नितान्त प्राज्ञिक लेखन हो भने उपन्यास चाँहि सिर्जनात्मक लेखनको एउटा लोकप्रिय विधा। यी दुबैको संरचना र प्रस्तुति पृथक रहन्छन् वा रहेका देखिन्छन्। तर उपन्यासकार शर्माले उपन्यासजस्तो सिर्जनात्मक विधालाई समेत सायद नेपाली उपन्यास यात्रामै पहिलोपल्ट शोधलेखनकै संरचनामा राखेर प्रस्तुत गर्ने जमर्को गरेका छन्।

उनको पहिलो अध्याय विषय परिचयका रुपमा आएको छ भने दोस्रो अध्याय सैद्धान्तिक सन्दर्भका रुपमा। यसैगरी उपन्यासको तेस्रो, चौंथो, पाँचौं र छैटौं अध्यायहरु कृतिको विश्लेषण अध्यायका रुपमा आएका छन् भने कृतिको अन्तिम वा सातौं अध्याय निष्कर्षका रुपमा आएको छ। यसबाट पनि सिर्जनात्मक लेखनभित्र पनि उनले प्राज्ञिक अभ्यास गरेको पुष्टि हुन्छ। विचारमा प्रगतिशीलता र शैलीशिल्पमा नवीनता उनको लेखकीय पहिचान हो। उनको प्रस्तुत उपन्यास पनि यसैको पछिल्लो साक्षी बनेको छ।

उपन्यासमा विभिन्न सात अध्यायहरु रहेका छन् भने सबै अध्यायका शीर्षकहरु पनि अलगअलग राखिएका छन्। पहिलो अध्यायको शीर्षक छ अस्तित्व। गाउँघरमै जन्मिएका तर हाल सहरमा बसिरहेका सातजना लेखकहरुले हिमालमुनिको गाउँको यात्रा गरी त्यसै गाउँका बारेमा केही नवीनतम सिर्जना गर्ने उद्देश्य बोकेर बैशाख एक गते वा नयाँ वर्षमा गाउँ यात्रा आरम्भ गर्छन्। उनीहरु हिमालमुनिको गाउँमा पनि पुग्छन्। गाउँमा पुग्ने सातजना यात्री वा स्रष्टाहरु छन्– कवि, नाटककार, कथाकार, निबन्धकार र आलोचक आदि विभिन्न भूमिकामा। उनीहरुले साहित्यका प्रमुख चारै विधा कविता, नाटक, आख्यान र निबन्धको प्रतिनिधित्व गरेका छन्। यात्रामा सिर्जनात्मक विधाको मात्रै प्रतिनिधित्व भएको छैन, त्यसको उचित मूल्य निरुपण गर्ने जिम्मेवारी बोकेको आलोचकको पनि उपस्थिति रहेको छ।

यसबाट उपन्यासमा देखाइएको गाउँयात्रामा समग्र साहित्य क्षेत्रकै प्रतिनिधित्व गराइएको स्पष्ट देखिन्छ। उपन्यासको कथालाई कवि पात्रले संयोजन गरेर प्रस्तुत गरेको छ। अझ यसो भन्न सकिन्छ, प्रस्तुत उपन्यासको मुखपात्र यात्रामा सहभागी कवि बनेको छ। उसकै कुशल संयोजनमा उपन्यासका सम्पूर्ण घटनाहरुले मूर्त रुप लिएका छन्।

उपन्यासको दोस्रो अध्यायको शीर्षक छ– शब्दबिम्ब। यसमा यात्रामा सहभागी एकजना स्रष्टाको प्रतिनिधित्व गर्ने  कवि पात्रले चौपारीमा उपस्थित भएकी दिदी, दुःख बोकेर बाँचिरहेका गोठाला, गाउँ फर्किरहेका लाहुरेहरु आदिसँग गरेको वार्तालापबाट गाउँमा युगौदेखि विद्यमान अभाव, शोषण र पीडाका कथाहरु उजागर भएका देखिन्छन्।

यस्तै दोस्रो अध्यायको शीर्षक राखिएको छ– लयसँग। यसमा मूलतः विधवा दिदीका विरहव्यथा र समाजमा उनले खेपेका मर्मस्पर्शी बुहार्तनहरुलाई विभिन्न कवितात्मक शैलीमा प्रस्तुत गरिएको छ। यस अध्यायमा गाउँका विभिन्न अतिरिक्त समस्या र व्यथाहरु पनि उजागर भएका छन्।

तेस्रो अध्यायको शीर्षक छ– अभिनयसँग। यसभित्र दुई बैनीका जीवन अनुभवदेखि भ्रष्टाचारी, दुराचारी र यौनाचारी कर्मचारीको समेत चियोचर्चा भएको छ। दुईजना वृद्ध पात्रका माध्यमबाट नेपाली समाजमा इतिहासको एउटा विशिष्ट कालखण्डदेखि विद्यमान लाहुरे संस्कृति तथा लाहुरेहरुले सँगालेका युद्धसम्बन्धी विभिन्न कटु अनुभवहरु पनि उल्लेख गरिएका छन्। यसमा भरिया र घँसिनीहरुका माध्यमबाट गाउँले जीवनका व्यथा र समस्याका साथै परिवर्तनका सपनाहरुलाई पनि चित्रण गरिएको छ।

यस्तै उपन्यासको चौथो अध्यायको शीर्षक रहेको छ– कथनसँग अनि पाँचौ अध्यायको शीर्षक छ– अभिनयसँग। यी अध्यायमा गाउँले जीवनका विभिन भोगाइहरु प्रस्तुत भएका छन्। यी अध्यायमा गाउँलाई प्रतिबिम्बित गर्ने खालका विभिन्न लोककथाहरु पनि उल्लेख गरिएका छन्। यसभित्र गाउँको केही अज्ञात इतिहास र वहुविध साँस्कृतिक आयाम पनि प्रतिबिम्बित छ। गाउँको मुखियाको छोरो शरद र गाउँले सोझी केटी मायाको प्रेमप्रसङ्ग, शरद भागेर मुग्लान गएपछि पेट बोकेकी मायाको विचल्ली अनि तिजमा समेत मायाकै गीत गाएर रमाइलो गर्ने गाउँको मनोविज्ञान पनि यस अध्यायमा प्रस्तुत छ।

यस्तै गाउँघरमा दशैको रौनक, मुग्लानबाट गाउँघर आएका लाहुरेहरुको फरक फूर्ति, दशैंकै बिचमा कास्मिरको लडाइँमा डाँडाघरेको छोरा माहिलाले मृत्युवरण गरेको दुःखद् खबर गाउँमा आइपुगेको स्थिति अनि १८ वर्षको कलिलो उमेरमै विधवा बन्न विवश शोभाको कारुणिक जीवनव्यथा, उसको एक वर्षे काखे छोराको अँध्यारो भविष्य सबै नेपाली समाजकै मार्मिक तस्बिरहरु हुन्।

गाउँमा स्कुल खोल्ने प्रस्ताव गर्दा मुखियाले पढाइले मान्छेको बुद्धि भाँडिने र गाउँको एकता बिग्रने भनेर गरेको तर्क, तिहारमा मुखियाको घरमा जुवा चलेको सन्दर्भ, तिहार बितेको एक हप्ताभित्रै माथिल्ला घरे जेठा खोरियामा लडेर मरेपछि परिवार ऋणमा डुबेको घटना अनि मंसिरमा मुखियाको धान दाउन गाउँलेहरु मुखियाको खलेगरामा जम्मा भएको दृश्यजस्ता सन्दर्भहरु सबैले नेपाली गाउँसमाजका अँध्यारा अध्यायहरुलाई नै उजागर गरिदिएका छन्।

यसै गरी माइलाको छोरो र मुखियाकी छोरीबिचको प्रेमप्रसङ्ग, जिम्मालको जाली तमसुकका कारणले हर्के मुग्लान जान लागेको चर्चा र सुन्तलीका गुनासाबाट समाजमा छोरीमाथि हुने गरेको विभेदलाई पनि यथास्थानमा उपन्यासले उद्घाटन गर्न सफल देखिएको छ।

उपन्यासको छैठौ अध्याय विश्लेषणका रुपमा आएको छ। विचारसँग शीर्षकको यस अध्यायमा भनिएको छ– पेटसंस्कृति मानवसभ्यताको द्वन्द्वको वास्तविकता हो। पेटबाहेकको मानव कल्पना गर्दा पनि अचम्मै लाग्छ। यसैका कारण मानज सिर्जनशील छ, परिश्रमी देखिन्छ र सङ्घर्षशील पनि भएको छ। समाजको सभ्यतामा पेटसंस्कृति नै मुख्य भएर रहेको छ।

सातौं अध्याय उपन्यासको निष्कर्ष भागका रुपमा रहेको छ। पुनः छुट शीर्षक दिइएको यस अध्यायमा भनिएको छ– हिमालमुनिका गाउँमा मान्छेहरु परिश्रमी मात्र होइन, ठग र फटाहा पनि छन्। परिश्रमीहरु पसिनामा तपतप जीवन खसाल्छन् र त्यहाँ मिठो सिर्जना फुल्छ। लुटाहा र चुसाहाका जीवनमा भिन्नै खुसी छ, सुखी छन् र मान्छेहरुलाई नङ्ग्राएका छन्। दुःखीहरु नदीसित, वनसित, छहरेसित दुःख सुस्ताएका छन्, आँसु साटेका छन्। पीडा बिर्सेर जीवनलाई सम्बोधन गर्ने यो वर्ग नै हिमालमुनिको गाउँको आधार हो।

यसरी उपन्यासमा हिमालमुनिको गाउँलाई प्रकृतिको काखमा आफ्नै मौलिक जीवनशैली बोकेर अस्तित्ववान् रहेको कुनै पहाडी गाउँको रुपमा मात्रै नभएर नेपाली समाजको वर्गीय धरातलमा उभिएका हजारौं गाउँहरुको एक प्रतिनिधि गाउँका रुपमा चित्रण समेत गरिएको छ।

उपन्यासको अन्त्यमा विभिन्न एघार बुँदाहरुमा निष्कर्षलाई समेटिएको छ। उपन्यासकारले हिमालमुनिको गाउँलाई पनि वर्गीय चिन्तनका आलोकमा राखेर नै विश्लेषण गरेका छन्। उनका दृष्टिमा गाउँमा अझै अज्ञानता, शोषण र अन्याय छ। यसको जगमा मानिसहरुको भाग्यवादी चिन्तन रहेको छ। यसलाई अन्त्य गर्न नयाँ चेतना चाहिन्छ। नयाँ चेतना हुर्काउन बलियो सङ्गठन जरुरी छ। जुझारु शक्ति नै शोषण मिल्काउने अन्तिम अस्त्र हो। शोषणको जालो मिल्काएर समाजमा नवीन संरचना सिर्जना गरेपछि मात्रै समाज सुन्दर र खुसी हुन्छ।

यसरी उपन्यासकारले प्रस्तुत उपन्यासको माध्यमबाट समाजमा विद्यमान वर्गव्यवस्था, त्यसले सिर्जना गरेको शोषण तथा सङ्गठनमा आबद्ध रहेको बलियो शक्तिले मात्र त्यसलाई अन्त्य गर्न सकिने विश्वास व्यक्त गरेका छन्।

निष्कर्षमा उपन्यासकार सुकुम शर्माको नवीनतम कृति हिमालमुनिको गाउँ शैलीशिल्प र प्रस्तुतिका हिसाबले एउटा प्रयोगशील उपन्यास मात्रै नभएर युगौदेखि वर्गीय शोषण र अन्यायको दुष्चक्रमा परिरहेका दिनदुःखी गाउँहरुलाई बेलैमा परिवर्तन गर्नुपर्ने उज्यालो सपनाको कलात्मक अभिलेख पनि हो।

उपन्यासमा गाउँको इतिहास, परिवर्तित चेतना, मौलिक संस्कृति र मनोविज्ञानका विभिन्न आयामहरु समेत प्रस्तुत भएकाले कृति सबैका लागि उत्तिकै पठनीय र विचारणीय पनि रहेको देखिन्छ। यसले उपन्यासकार सुकुम शर्माको लेखकीय वैचारिक भूभि र कलाचिन्तन दुबैलाई एकैसाथ प्रतिबिम्बित गर्न सफल बनेको छ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *