शैक्षिक पद्धतिको मसिनो चिरफार

       बसन्त विवश आचार्य | 515 Views |   Published Date : 7th December 2014 |

Basant_bibasशिक्षा क्षेत्रमा सरकारी जागिरे जीतबहादुर शाहको परिचय ‘शिक्षा विटको’ स्तम्भकारका रुपमा बढी प्रचलित छ । शिक्षा अधिकारीका रुपमा दाङमा रहँदा उनले यहाँको शैक्षिक अवस्था सुधारका लागि कयौं सकारात्मक प्रयास गरे । तर त्यो भन्दा पनि बढी उनले शिक्षा क्षेत्रको सकारात्मक पाटोलाई केलाएर दुइवटा पुस्तक लेखे ।

उनको पढाई, जागिर र लेखनीका बीचमा समानान्तर भुमिका पाइन्छ ।

खासगरी जिल्ला शिक्षा अधिकारी रहँदा पदीय जिम्मेवारी बहनका लागि विभिन्न ठाउँमा घुम्दाका अनुभूतिहरुलाई उनले लिपिबद्ध गर्ने गरेका छन् । यस्तै शैक्षिक क्षेत्रका विभिन्न पाटाहरुलाई समालोचकीय ढंगले अनुभूतिजन्य शैलीमा उनले पछिल्लो पुस्तक ‘शिक्षा, सुनपानी र सपना’मा कलम उठाएका छन् ।

book_coverशिक्षा क्षेत्रका बारेमा चल्ने गरेका विविध टिकाटिप्पणीलाई लेखकको ढंगबाट जिल्ला शिक्षा अधिकारीलाई समेत प्रश्न गर्न अग्रसर शाह यस पुस्तकमा पेशागत मर्यादाको साँघुरो घेरामा घेराबन्दी भएका छैनन् ।

काम र व्यवहार गलत गर्ने तर सुनपानीले चोख्याउन खोज्ने प्रवृत्ति बोकेका समाजका केही पात्र र चरित्रका बारेमा चर्चा गरेर प्रारम्भ गरिएको पुस्तकमा शिक्षकले विद्यार्थीलाई अगाडि बढ्नका लागि बाटो खनिदिने भन्दा पनि उपयुक्त वातावरण निर्माण गरिदिनुपर्दछ भन्ने कुरालाई प्रष्टसँग उठाइएको छ ।

सामुदायिक विद्यालयमा धेरै विद्यार्थीहरु हुँदा कापी जाँच्न भ्याइदैन भन्नेहरुलाई भरपर्दो विधिसमेत उनले उल्लेख गरेका छन् ।

उनले उठाएका विधिहरु– १. सबैको बेञ्चमा अवलोकन गरेर २. नमुनाका रुपमा प्रत्येक दिन फरक–फरक विद्यार्थीको कापी जाँचेर ३. जान्ने विद्यार्थीद्वारा नजान्ने विद्यार्थीको कापी जाँच्न लगाएर ४. सही उत्तर मौखिक रुपमा भनेर वा पाटीमा लेखेर ५. समुहमा चेक गरेर ।

यस्ता धेरै कामलाग्दा विधिलाई उनले यसमा उल्लेख गरेका छन् । जसले गर्दा यो पुस्तक शिक्षाको सामयिक अवस्थाका बारेमा जान्न मात्र भन्दा पनि शिक्षणका विभिन्न तरिका सिक्नका लागि पनि महत्वपूर्ण मानिन्छ ।

संसारमा हरेकको आफ्नो आफ्नो कर्तव्य हुन्छ । जसले कर्तव्यलाई आत्मसात गरेर आफूलाई अगाडि बढाउँछ उसले आफूभित्रको मान्छेलाई चिन्छ भन्दै लेखकले ‘मान्छे भित्रको मान्छेको प्रसङ्ग’ शीर्षकको आलेखमा एक गहकिलो प्रसङ्ग उल्लेख गरेका छन् ।

एकपट सुकदेव ऋषिले आफ्ना शिष्यहरुका साथमा गंगा नदी तर्दै गर्दा माथितिरबाट बिच्छी बग्दै आएको देखेछन् । ऋषिले उक्त बिच्छीलाई हातले समातेर बग्नबाट बचाउन खोजेछन् तर बिच्छीले हातमा टोकेछ । बिच्छीले टोकिरहदा पनि पटक– पटकको प्रयासपछि सुकदेव ऋषिले बिच्छीलाई बचाउन सफल भएछन् ।

यो सबै दृश्य हेरिरहेको एकजना शिष्यले उनलाई प्रश्न गरेछन् ‘गुरु, बिच्छीले यसरी टोकिरहँदा पनि बिच्छीलाई बग्न नदिएर किन बचाउनु भएको ?’

जवाफमा ऋषिले भनेछन् ‘बिच्छीको धर्म टोक्नु हो र मानिसको धर्म उपकार गर्नु हो । बिच्छीले आफू जीवन मरणको दोसाँधमा हुँदासमेत आफ्नो धर्म छोडेन भने मैले मेरो धर्म किन छोड्ने ?’

लेखकले पुस्तकमा एकोहोरो विचारको पहाड बनाउने भन्दा पनि विभिन्न प्रकारका प्रसङ्गहरु उल्लेख गरेर रोचकता थप्ने काम गरेका छन् । मानसिक श्रमको आवश्यकता पर्ने भएकाले सेतो रङको जागिरका रुपमा चिनिने शिक्षणमा विषयवस्तुको जानकारीलाई मात्र अहिले प्राथमिकता दिने गरेको पाइन्छ ।

लेखकले विषयवस्तुको ज्ञानले मात्र शिक्षक बन्न नसक्ने उल्लेख गर्दै विभिन्न आवश्यक बुँदाहरु उल्लेख गरेका छन् ।

यसमा उनको सबैभन्दा बलियो पक्ष भनेको कुनै दार्शनिक या शिक्षाविद्का ठेली पल्टाएर भन्दा पनि आफूले शिक्षण गर्दाका क्रममा अनुभूति गरेका कुरालाई उल्लेख गरेका छन् जसले गर्दा उनका सुझावहरु व्यावहारिकताको सन्निकट छन् ।

राष्ट्रका लागि असल व्यक्ति निर्माण गर्ने अभिभारा बोकेको व्यक्ति भएकाले शिक्षकले सकेसम्म सबैलाई राम्रो व्यवहार गर्नुपर्ने र त्यही गर्न नसके पनि गलत कुरालाई प्रदर्शन गर्न नहुने गहकिलो कुरालाई लेखकले मिहीन ढंगले उठाएका छन् ।

मानिसको जीवन समस्याहरुको संग्रहालय हो । अझ शिक्षा क्षेत्रमा त झन् समस्याका अग्ला पहाडहरु नै छन् । अब कुरा रह्यो समस्या समाधानका लागि असल बाटो पहिल्याउने या त्यो सँग भागेर अर्को बाटो हिड्ने ? लेखकले समस्या जीवनमा छाया जस्तै भएकाले यसबाट अलग हुन खोज्नु भनेको मुर्खता सिवाय केही नहुने कुरा उल्लेख गर्दै संसारका हरेक समस्याको समाधान हुने भएकाले समस्यामा परेका व्यक्तिले समाधानको सही पहिचान गरेमा समस्यामुक्त हुने कुरा उल्लेख गरेका छन् ।

समाजमा हरेक पेसा व्यवसायमा लाग्न जति सहज छ, त्यसमा असल भएर अगाडि बढ्न उत्तिकै चुनौतीपूर्ण पनि छ । लेखकले पुस्तकमा असल अध्यापकका केही बलिया पक्षहरुलाई आकर्षक ढंगले एघार ‘अ’का रुपमा व्यक्त गरेका छन् । अध्ययनशील, अनुबन्धित, अनुभव, अभ्यास, अनुभूति, अनुसन्धान, अनुशासन, अनुगमन, अन्तरक्रिया, अभिलेखन र अपेक्षा ।

मूल्याङ्कन शिक्षण प्रक्रियाको एक महत्वपूर्ण अंग हो । यसलाई शैक्षणिक क्रियाकलापमा समावेश समेत गरिएको हुन्छ । विडम्बना ! यसको बारेमा जति चर्चा परिचर्चा गरे पनि व्यावहारिक कार्यान्वयनमा ल्याउन सकिएको छैन । खासगरी सामुदायिक विद्यालयमा यसको अभाव देख्न सकिन्छ । लेखकले यस्तै केही विद्यार्थीलाई भेटेर त्यसका विभिन्न पाटाहरुलाई केलाएका छन् ।

विद्यार्थीले आफ्नो शैक्षिक उन्नति र प्रगतिका बारेमा जानकारी राख्न नपाउँदा नै खासगरी सामुदायिक विद्यालयका विद्यार्थीहरु कमजोर भइरहेका छन् भन्ने कुरालाई उनले उदाहरणका माध्यमबाट पुस्तकमा जोड दिएका छन् ।

समाज जति उन्नत र विकसित हुँदै गएको छ उति नै व्यस्तता पनि बढेर गएको छ । अहिले अधिकांश बाबुआमाले आफ्ना सन्तानलाई समय दिन सकिरहेका छैनन् । हरेक अभिभावकले सन्तानको भौतिक आवश्यकता कसरी पूरा गर्ने भन्ने पिरलो गर्छन् तर उनीहरुका लागि सबैभन्दा आवश्यक समयको जोहो गर्नमा भने कहिल्यै पनि चासो राख्दैनन् । जसले गर्दा पछिल्लो पुस्ता ममताविहीन संस्कारमा हुर्किन बाध्य छ । यसले बालबालिकाको मानसिक विकासमा ठूलो दुर्घटना निम्त्याइरहेको छ ।

यस पुस्तकमा बालबालिकाका लागि अभिभावकले समयको समायोजन गर्नु किन आवश्यक छ भन्ने विषयमा बहुतर्फी चर्चा गरिएको छ । हरेक अभिभावकले आफ्ना बालबालिकाको उज्ज्वल भविष्यका लागि उनीहरुका कुरा सुन्ने संस्कारको विकास गर्नु नितान्त आवश्यक छ ।

शिक्षालय त्यस्तो ठाउँ हो जहाँ खराब व्यक्तिलाई असल व्यक्तिमा रुपान्तरण गर्ने गरिन्छ । तर हामीकहाँ यस प्रकारको दृष्टिकोणको अभाव देखिन्छ । खराब विद्यार्थीलाई शिक्षालयहरुले असल बनाउनुभन्दा पनि उनीहरुलाई निकाला गर्ने परम्परा विद्यमान छ । यो कुरा आफैमा विरोधाभाषपूर्ण छ । शिक्षालय असलका लागि मात्र होइन यो त खराबलाई असल बनाउने ठाउँ पनि हो । पुस्तकमा यो विषयमा पनि अत्यन्त मार्मिक ढंगले उठाइएको छ । शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउने हो भने यस पक्षमा ध्यान दिनु नितान्त आवश्यक छ ।

लैङ्गिक हिंसाले समाजलाई अहिले पनि घेरेर राखेको छ । समाजमा लैङ्गिक हिंसाका कारण धेरै क्षेत्रमा असर पारेको छ । यसले सबैभन्दा बढी असर बाल मष्तिस्कमा पारेको छ । घरमा हुने लैङ्गिक हिंसाका कारण बालबालिकाहरुको दिमागमा खराब असर त परेको छ अर्कातिर उनीहरुले अध्ययनको लागि उपयुक्त वातावरण पाउन सकिरहेका छैनन् । यसले देशको भविष्य बोकेका बालबालिकाको जीवनमा नकारात्मक असर पारिरहेको छ ।

लेखकले उठाएको अर्को महत्वपूर्ण सवाल भनेको बालबालिकालाई विद्यालयका महत्वपूर्ण कार्यक्रममा अश्लील शैलीका गीतमा नृत्य गराउने प्रवृत्ति हो । लेखकले दाङ बसाइका अन्तिम दिनमा त्यसप्रकारका कार्यक्रमहरुको बहिष्कार गरेर नमुनासमेत पेश गरेका थिए । बालबालिकाको मष्तिष्क अपरिपक्व हुने हुनाले त्यसप्रकारका गीतमा नृत्य गराउँदा पक्कै पनि उनीहरुको दिमागमा गीतमा जस्तै खराब भावनाको विकास हुन सक्छ ।

यसरी ‘शिक्षा, सुनपानी र सपना’मा समाविष्ट ५१ आलेखले शिक्षाका नयाँ सवालहरुलाई उठाएका छन् । विभिन्न पत्रपत्रिकामा प्रकाशित र अप्रकाशित आलेखको समष्टि ‘शिक्षा, सुनपानी र सपना’ कृति शिक्षा क्षेत्रमा नयाँ सोच र दृष्टिकोणका साथमा काम गर्न चाहनेका लागि अनमोल कृति हो । लेखकीय दृष्टिले आफूलाई प्रशासकीय हुँ भन्ने कुरालाई शाहले चटक्क भुलेका छन् । यो उनको लेखकीय इमान्दारिताको नमुना हो ।

कुनै समय शिक्षकलाई पत्रिकामार्फत् गाली गर्ने शिक्षा अधिकारीका रुपमा चिनिएका शाहको यो साहसिक कदमले पक्कै पनि उनको लेखकीय व्यक्तित्वलाई उँचाईमा पु¥याउनेछ ।

पुस्तक : शिक्षा, सुनपानी र सपना
विधा : निबन्ध
लेखक : जीतबहादुर शाह
प्रकाशक : अक्सफोर्ड इन्टरनेशनल पब्लिकेशन प्रा.लि., काठमाण्डौं
मूल्य : २५०।–

प्रतिक्रिया दिनुहोस्