कविता । मजदूर र मजबुरी

– भीम कुमाखी

म ज्यालाको कारिन्दा
मजबुरीमा फसेको मजदूर
हजुरको त्यो दरबार बनाउँदा
कतिपटक लहरामा झुण्डिएँ
कतिपटक भुइँमा पच्छारिएँ
रोगले समात्दा पनि
बिदा लिन पाइनँ मैले
हात खुट्टा फाटेर कति चहरायो
मलाई मतलब भएन
त्यो दुःख र कष्ट
मलाई वास्तै भएन
छिया छिया परेका हातखुट्टाबाट
तप्प तप्प रगत चुहेको
त्यो मैले पाएको वरदान हो रे
म पाखुरा बज्जार्ने मनुवा
म पसिनाको साहुजी
मैले चुहाएको थोपाबाट
टल्किएको छ जगत
मेरो श्रमले जीएको छ दुनियाँ
यस्तै छ हजुर मेरो मजबुरी
मैले गरेको मजदूरी !

प्राकृतिक प्रकोपले छोयो
महलदेखि झुपडीहरू
एकैसाथ खण्डहर बने
म मजदूर न हुँ
फेरि मेरो काम खुल्यो
ढलेको मेरो झुपडी उठाउन पाइनँ
हजुरकै महल ठड्याउनलाई
मेरो काम खुल्यो
न भनेजति ज्याला पाएँ
न एकसरो लुगा फेरेँ
न बालबच्चाको गास टार्न सकेँ
न नानीबावुहरूलाई स्कुलको आँगन टेकाउन सकेँ
तिम्रो भव्य बंगला बनिसक्यो
म त अझैं सडकछाप
जति पसिना बगाएँ मैले तिम्रोमा
जति पैसा कमाएँ मैले मजदूरीमा
साँझ बिहानको छाकमै सकिएछ
अब अर्को प्रहर खोज्दैछु
जहाँ तिम्रोमा जस्तै काम गर्नपाउँ
यो मेरो जिन्दगी मेरो मजबुरी !

आज अर्को कहरले छोएको छ
मानव जगत नै मृत्युसँग पौठेजोरी खेलिरहेछ
मर्नु न बाँच्नुको यो मौसममा
तिमी महलमा छिपीसक्यौ
म सुनसान सहरमा
बन्द सटर नियाल्दैछु
भोको पेट बोकेर
अनिदो रात काटिरहेछु
सयौं कोषको यात्रामा
अविचलित पाइला चाल्न बाध्य छु
तिम्रो भव्य महल छेउछाउमा
बास अनि गास नपाएर हो
यो दुनियाँका मालिकहरुले
कुर्सीका हकदार कहलाएकाहरूले
सुनेनन् मेरो क्रन्दन
बुझेनन् मेरो मजबुरी
र त म दर्जनौं दिनको बाटो लागेको छु
अब मलाई हेर्नु छैन चिल्ला मोटरकार
देख्नु छैन मलाई
मेरै वरिपरि फहराउने रंगीबिरंगी झण्डाहरू
म पैतलामा ठेला उठाएरै हिड्छु
मेरो पाखोमा उमारेको
बाली भित्र्याएँ भने
मेरा बचेरा पाल्ने मानो पाउनेछु
म एक किसान हुँ
म एक श्रमिक मजदूर हुँ
तिम्रो बंगलाले मलाई दोहन गर्यो
तिम्रो व्यवस्थाले मलाई न्याय दिएन
मैले यति जानेको छु
अत्याचार बिरूद्ध संघर्ष
अब मेरो लडाईं
तिम्रो विभेदविरुद्ध
म एक मजदूर र मेरो मजबुरी !

७ बैशाख २०७७, सल्यान

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *