महान् लेनिनप्रति

विजय मल्ल

कहिले नबजेको मास्कोको विराट् घण्टा
एक दिन तुफानी रातमा बज्छ ।

सुन ए दुनियाँवासी !
कहिल्यै नगर्जने मास्कोको विशाल तोप
तिम्रो घोर निद्रामा गर्जन्छ ।
धरती काम्छ, चट्टानहरू फुट्छन्
हिउँका आँधी मच्चिन्छन्
विशाल गगनभेदी महलहरू
चुरचुर भई धरतीमा गाँजिन्छन् ।
पर्ख, यो पत्थरमा पाइला नहाल ।
यस पत्थर–पत्थरमा आत्मा छन् ।
यहाँ नचिच्याऊ,
यहाँ पाइला पाइलामा इतिहास छन् ।
यो १९०५ सन्को चट्टानको ढिक्का हो,
यो उफ्रन्छ, यो दगुर्छ, यो हिँड्छ ।
नपत्याए सुन,
यो जीवनको गाथा गाउँछ ।

ऊ, को आयो हेर, नेभा नदीको तीरबाट
लाख लाख मानिसको जुलुस लिएर ।
यो विशाल काया को उठ्यो
धरती–आकाश एक गरेर ?
यो कसको निनाद, यो कसको वज्रघोष ?
सारा राष्ट्रको छटपटी, पीडालाई
आफ्नो छातीमा बोकेर
को चिच्याउँछ, को हाँक दिन्छ ?
सम्पूर्ण विश्वलाई चट्टानको शरीर उचालेर

एउटा पहाडको टाकुरामा एक पाइला हाली
को फड्कन खोज्छ अर्को टाकुरामा ?
पृथ्वीलाई आफ्नो बाहुमा उठाएर
को यसरी हिँड्छ आँखाभरि सपना लिएर ?
पर्ख, ऊ नजिकै आयो,
सम्पूर्ण विश्वलाई ढाकेर ।
सुन, उसको आवाज
हरसडकबाट आइरहेछ ।
हरमोडबाट आइरहेछ,
हरघरले गुन्जाइरहेछ,
हरइँटले बोलिरहेछ,
हरपत्थरले दोहो¥याइरहेछ ।
के कोमल छैन– गुलाफको पत्तीझैँ मुलायम ?
के मीठो छैन, आमाको स्नेहझैँ मधुर ?
हरविश्वको कानले बहिरो सुनन सक्तछ त्यस आवाजलाई
जो कानको प्वालमा गुन्जिरहन्छ–
दिल्लीमा सुन,
बोनमा सुन,
सुन वासिङ्टनमा,
पेरिसमा सुन,
पेकिङमा सुन,
सुन काठमाडौँमा ।
सुन भियतनाममा, जापानमा,
जतासुकै सुन ।
के आवाजले छुँदैन तिम्रो मुटुलाई
थपथपाएर, सुमसुम्याएर ?
ऊ, आइरहेछ सशक्त खुट्टाले भुइँमा टेकेर
लेनिन
पराधीनता, शोषण, असमानतालाई कुल्चेर,
लेनिनग्रान्दको बीच चोकमा,
रातो झन्डा फहराएर
लेनिन ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *