पुर्खाका पाइला खोज्दै जाँदा

बर ढलेछ। पीपल बूढो भएछ। पैह्रोले पुछ्न बाँकी चौतारो। कमेरो उडेका घर। लिउन उम्केका पेटीहरू।

म उक्लदै थिएँ भेरी तिरबाट।

हाम्रा चौतारा, पँधेरा, कुवा, बाटाहरू किन यति बिराना?! दिदी भाइका फाग, भगवतीका फाग, गाइनेका कर्खा…। बूढाबूढी सम्झन्छन् तर गाउँदैनन्। राग र तालहरू विलीन भएका छन् सैरेली गीत र सैरेली नाचका।

बीरेन्द्र शाही

सैरेली र सैरेलो बीचको प्रेम। प्रतिफलका छोराछोरी। बाजेले सैरेली नाचेको, बुबाले सैरेली ल्याएको, आमाले सैरेली गाएको। नाकमा बुलाकी, चोली, छिटको धोती लगाएर सैरेली नाच्ने माझीको एउटा विलोपको कहानी सुन्छन् केटाकेटीहरू।

परन्तु, पैसेरुको ताल र रागहरू सर्दैनन् आगन्तुकका खुट्टा र मादलहरूमा। सरिङ्गेका मयुर प्वाँखहरू चढ्दैनन् ढाडहरूमा। हाता खेल्दैनन् लठ्ठीहरूमा। फन्किदैनन् हातहरू अगुवाका निर्देशनमा। नेवरहरू बज्दैनन्। झ्यालीहरू बज्दैनन्। ट्याम्कीहरू बज्दैनन्। सिङ्गारु नाच्दैनन् पर्व र मेलाहरूमा। ज्ञादो वादी भन्छ मादलमा खरी राखिनँ। फुटेको ट्याम्को मोहोर्दैन जेठो सार्की अचेल। कर्खा गाउँदै हिड्ने गाइने दाइ भन्थ्यो यसपालि सारङ्गीमा चुडेको तार फेरेको छैन।

देश विकासको कर्खा गाउँथ्यो गाइने। उसको कर्खा योजना आयोग, सिंहदरबार सुन्दैनथ्यो। नेता सुन्दैनथे। त्यो गाइने देश विकासको गीत सुनाउन हिड्दा–हिड्दै भेरीतिरमा म¥यो रे। उसको गीत ऊसँगै म¥यो। उसको सारङ्गी लामो समयसम्म भेरी तिरमै थियो रे। कसले चो¥यो उसको सारङ्गी?

गाउँतिर गाइनेहरू सारङ्गी बोकेर बया माग्दैनन् अचेल। झरी गाउँदैनन् रोपार्नीहरू। गोलसिमलको आशीष थाप्दैनन् खेत मालिकहरू। ठाडी भाका गाउँदैनन् कल्यानीतिर कोही। दियालोमा उज्यालो थप्न साँझ सुनाउँदिनन् हजुरआमा नातिलाई लोककथा। रुपौला कथा, लिख्या टोक्यानीको कथा, सुनकेस्रा रानीको कथा, राजकुमार दिक्पालको कथा, …ले झरिलो नयाँ दियालो सल्काउँदिनन् हजुरआमा।
सोरठी नाच्दैनन् पुर्सिङ्गे केशसिंहको मृत्युमा। बच्चाबच्ची सुत्नु अगाडि खेल्दैनन् गाउँखाने कथा। गाउँ दिदैन कोही। गाउँ पाउँदैन कोही। ‘गाउँ मेरो पक्का, तँलाई दिएँ धक्का…।’

नयाँ बालबिरुवा चिन्ने, लुकेर रह खेल्ने, तरुल खन्ने बालबालिका देखिदैनन् अचेल। प्रविधिले केटाकेटीलाई कोठामै कोचेर कुँजो बनाउँदैछ बिस्तारै। कार्टुन हेर्दै हुर्केकाहरू के सिक्छन् देश? के बाँच्छन् देश? के बुझ्छन् देश? माटोमा नहुर्केकाहरू माटो के सिक्छन्? मिनिरल वाटर खाँदै हुर्केकाहरू नदी के सिक्छन्? झरना के सिक्छन्? खोला के सिक्छन्? धारो, कुवा के सिक्छन्? प्लास्टिकका फूलमा रमाउनेहरू जङ्गल के सिक्छन्? फूल के सिक्छन्? पङ्खाको हावाले फोक्सो भर्दै हुर्केकाहरू चौतारो, देउराली, भञ्ज्याङ के सिक्छन्?

सिक्ने देश कुन हो? बाँच्ने देश कुन हो? खेल्ने माटो कुन हो?

गाउँ फड्किएछ। संस्कृति फड्किएछ।

पर पुगेर बिरानिदै हुनुहुन्छ पाठक तपाईं। ऐजन पारामा म पनि।

समाज कहाँ पुग्यो? आँखा उघारेर हेर्छु।

गाउँ अलिकति नेपालगञ्ज गयो। अलिकति दाङ गयो। अलिकति काठमाडौं गयो। अलिकति कालापहाड गयो। अलिकति साउदी, दुबइ र कतार गयो।

संस्कृतिमा अलिकति सहर पस्यो। अलिकति प्रविधि पस्यो। अलिकति उपभोक्ता पस्यो। अलिकति पश्चिमा पस्यो। अनि सैरेली हरायो। पैसेरी हरायो। ठाडी भाका हरायो। कर्खा हरायो। सिङ्गारु हराउँदैछ।

पुर्खाको चिनो हामीले बचाउन सकेनौं। हामीले जोगाउन सकेनौं।

कला संस्कृति भेषभुषाको कुम्लो बोकेर आएथे हाम्रा पुर्खा। लोक जीवनसँग जोडिएका झिल्का र झाँकीहरूलाई किम्वदन्तीहरूमा मात्र कसरी जोगाउनु?

मान्छेहरू पुरानो बिर्सेर नयाँ–नयाँ भनिरहेछन्।

आफूलाई बचाउन नसकेको चौतारोमा बिसाउँछु। हेर्छु नाङ्गा डाँडा र पाखाहरू।

हावाका ओठहरू सुसेल्छन् सिङ्गारु र ठाडी भाकाहरू। पुख्र्यौंली चिनोको दुर्दशामा घोत्लन्छु। र सम्झम्छु आदि मनसुने हिडेथ्यो यही बाटो संस्कृति र सभ्यता बोकेर।

थुतुने संस्कृति। थुतुने सभ्यता। यही संस्कृतिको अवशेष खोज्छु भेरी किनारमा। भेरी नै मेरो मिसिसिपी हो। भेरी नै मेरो ह्वाङहो हो। गङ्गा हो। यही किनारमा विकसित भएको हो मेरो सानो सभ्यता।

सिद्धबाबा बाघको छालामा बसेर माछा मार्थे रे। आदि पुर्खा ती माछा खान्थे रे। रहस्यमय पृथ्वीलाई अझैं रहस्यमय बनाउने यी किम्वदन्तीहरू बोकेर भेरी तटमा बसेका छन् सिद्धबाबा।

यतै छन् मेरा परम्पराका आवाजहरू। यहीँ हावाको सुसेलीमा गुञ्जन्छ मेरो परम्परा। यही माटोको कण–कणमा नाचेंथे मेरा पुर्खाहरू। चाँप, नेवर, झ्याली, मादलका तालहरूमा सुसेलेथे गीतहरू यी हावाका साथमा।

आज हुनुको चेतनामा पुर्खाका पाइलाहरू हराउँदैछन्। कसले खोज्ने ती पाइलाहरू। हिजो बिना आज नबन्नुको बोध शून्यताको परिणाम। हिजोलाई आजमना प्रवेश गराइ बाँच्ने आजवादीहरू आफू परम्पराको उपज भएको बिर्सन्छन्।

रामप्रसाद जिब्रो बटार्दै विदेशी गीत गाउँछ। नीरा पप गीत गाउँछे। धने फिल्मी कुरा गर्दै डिस्को जान्छ। के थाहा पुख्र्यौली संस्कृति।

ग्रहणशीलतामा अभाव।

समयको दुरी नाप्न कस्तो क्लिष्टता।

भौतिक वस्तुको भोगले मात्र आधुनिक बन्न कहाँ सकिँदो रहेछ र!

परम्परा, संस्कृति, रीतिरिवाज छोडेर आधुनिक बन्ने धुनमा गाउँमा अलिकति रक्सी चल्छ। अलिकति खेतीपाती चल्छ। अलिकति विदेशी कुरा चल्छ। बाँकी सबै राजनीति चल्छ।

संस्कृतिको दाप भिरेर बाटो अल्मलिदै छ।

यात्रा निरन्तर गर्ने प्रयास।

खिइँदै गएका पुर्खाका पाइला कसले खोज्ने होला!

दुविधा भइरहेको बेला आदिम प्यासहरू मेट्न म आइपुगेको ठाउँको नाम हो–कालागाउँ कोट।

फोटोः कालागाउँ कोटमा हरेक दशैंको टीकाको दिन लाग्ने कोटै मेलामा सिंगारु (कुटकुटे) नाच नाच्दै स्थानीय।

भिडियो हेर्नुहोस्-

कालागाउँ कोटको मेलामा सिंगारु नाच नाच्दै स्थानीय-

कालागाउँ कोटको मेलामा लहरे नाच नाच्दै स्थानीय-

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *