बुझ्न नसकेको देश

       माधव ढुङ्गेल | 470 Views |   Published Date : 7th December 2014 |

Madhav Dhungelमभित्र एउटा डर छ । नेपाली नागरिक भएको हैसियतले मैले न्याय पाउँछु नै भन्ने विश्वास छैन ।

अपाहिज परिवेश ओढेर हिँडेको बेला मेरो घर अर्काले डोजर लाएर लडाइदियो भने पनि म गर्न के सक्छु होला र ? मेरा बच्चालाई कसैले चोरेर मृगौला बेचिदियो भने पनि गर्न के सक्छु होला ? वा मेरो मिल्दो अनुहारलाई कसैले पैसा नतिरेको एजेन्ट ठानेर बीचै बाटामा झुक्किएर पिट्यो भने पनि मैले के गर्छु होला ?

मलाई थाहा छैन र अहिले लाग्दै छ— सायद म सहन्छु ।

देश भनेको कस्तो हुनु पर्छ ? तीन दिन सोचेर जबाफ दे भन्यो भने पनि सायद दिन सक्दिनँ ।

कल्पना गर्न वा सपना देख्न पनि कहीँ कतै त्यसको झल्को हृदयमा पसेको हुनुपर्छ भने देशको त्यो झल्को मेरो हृदयमा कतिबेला पस्यो, सम्झना छैन ।

हो, परिवार कस्तो हुनुपर्छ भनेर सोधिने हो भने केही जबाफ दिन्थेँ होला । साथी कस्तो हुनुपर्छ भनेर सोध्दा पनि जबाफ दिन्थेँ होला । त्यसका केही अनुभवहरु मसँग छन् तर नागरिक भएको अनुभव केलाई भन्ने ? अनुभूतिमा कतै आउन सकेको छैन ।

म नेपाली भएको कुराको बोध मलाई कहिले भएको हो ? कि अझै पनि भएको छैन कि वा मलाई नेपाली हुनुको जे–जस्तो अस्पष्ट बोध भइराखेको छ त्यो सही अर्थमा नेपाली हुनुको बोध नभएर अर्कै केही पो हो कि ?

छातीमा छाम्छु, देश कतै पनि भेट्टाउँदिनँ, खालि गिर्खा र विषादका फोकाहरु मात्रै छन् ।

देशमा नागरिक हुनु र घरमा छोरो हुनुमा के भिन्नता होला ? वा देशको नागरिक हुनु र विद्यालयको विद्यार्थी वा शिक्षक हुनुमा अन्तर के हो ? देश भएको मान्छेले के खान्छ ? के लाउँछ ? के सोच्छ, कहाँ जान्छ ? शरणार्थीहरु के हुन् ? उनीहरु देश नभएका कारण के कुराबाट वञ्चित हुन्छन् र म शरणार्थी हो कि होइन ? मेरो भाइ कतारमा छ, ऊ नागरिक हो कि होइन ? जनता हुनु र नागरिक हुनुमा भेद के हो ? त्यसमा म केमा पर्छु ?

मलाई बाँच्नु छ त्यसैले काम चाहिएको छ र मलाई काम लगाएर मानिसहरुले पैसा दिँदैनन् तर उनीहरुसँगको सम्बन्ध बिग्रिन्छ भनेर म झगडा गर्न पनि चाहिरहेको छैन ।

मलाई बाँच्नु छ, त्यसैले शक्ति चाहिएको छ र म पार्टीमा लागेको छु अनि पार्टीका मान्छेले मेरो आवश्यकतातिर ध्यानै दिँदैनन् तर म उनीहरुले एक्ल्याउलान् भनेर वा जीवन झनै दुःखद् होला भनेर विरोध गर्न सकिरहेको छैन ।

मलाई बाँच्नु छ, त्यसैले डरलाग्दा छिमेकीहरुसँग झगडा गरेर खतरा मोल्न चाहिरहेको छैन तर उनीहरुले म हिँड्ने बाटो नै नक्सा मिलाएर चेपिदिन्छन्, बार लाइदिन्छन् तर म अदालतमा गएर मुद्दा हाल्न सकिरहेको छैन ।

मलाई थाहा छ, सरकारी कर्मचारीहरुले पैसा खाएर सार्वजनिक बाटो निजी व्यक्तिको नाममा गरिदिए र पछि सोधे, ‘२०२१ को नक्सामा के छ ?’ २०२१ मा त्यो बाटै थिएन, म के बोलूँ ?

उनीहरुले सुझाव दिए- तपाईंले मुद्दा हाल्न सक्नुहुन्छ तर म त अर्कै केही काम गरुँ भन्ने सम्झिरहेको छु, सिनेमातिर लागूँ, साहित्यतिर लागूँ, सोच र चिन्तनतिर लागूँ, केही रचनात्मक काम गरुँ भन्ने ठानिरहेको मान्छे अब कताबाट मुद्दा हाल्न र वकिलको कार्यालयतिर धाउन थालूँ ?

फेरि पैसा पनि खर्च हुन्छ, घर बेचेर वकिल पोस्ने कुरा पनि भएन ।

भाइ कतारबाट घर आएको बेलामा आमाले अब नजा यतै केही काम गर भन्नुभयो ।

हामी परिवारको चाहना त्यही हो— भाइले बिहे गरोस्, यतै कुनै काम गरोस्, सबै सँगै बसौँ । दुःख–सुखमा सबै एकै ठाउँ भइन्छ ।

भाइले यहाँ के काम गर्नु र, म उतै जान्छु बरु भन्यो ।

मैले बोल्ने केही भएन । के गर् भनूँ ? म यसो दुई–चार अक्षर पढेको भनेको मानिसको त हालत खराब छ, ऊ एसएलसी पासलाई मैले के काम गर् भन्नु ? फेरि उसको रुचि पनि हुनुपर्ला ।

परिवार टुक्रिएको छ । चाहेर पनि हामी एकै ठाउँमा बस्न सकिरहेका छैनौँ । यस्तो किन भइराखेको छ ? भाइले नपढेकाले यस्तो भएको हो भने नपढेकाले देशमा काम नपाउने भन्ने पनि नहुनु पर्ने । फेरि धेरै पढेलेखेकाहरु पनि विदेश गइरहेका छन् । उनीहरुको परिवारले पनि त विखण्डित अनुभव गरिराखेको होला ।

नेपाल देश हाम्रो हो भनेर पढेको हो, अहिले पनि म त्यो पढाइरहेकै छु । नेपाल राम्रो देश हो, यहाँ विभिन्न जातजातिका मानिसहरु बसोबास गर्छन् । यो प्राकृतिक हिसाबले धनी र सुन्दर देश हो । यहाँ संस्कृतिका विभिन्न रुपहरु छन् ।

यस्ता सबै कुराले मेरो जीवनमा, मेरो बाँच्ने कुरामा के सहयोग ग¥यो, मैले बुझिराखेको छैन । अनि यी नहुँदा के अप्ठ्यारो थपिन्थ्यो भन्ने पनि बुझेको छैन ।

मलाई कहिलेकाहीँ त यस्तो लाग्छ, यो देश नभएको भए के हुन्थ्यो होला ? यहाँ टेथिस सागर त हुँदैनथ्यो ।

यो अर्को कुनै देश हुन्थ्यो होला । अनि हामी अर्कै देशको नागरिक हुँदा हामीलाई के फरक पथ्र्यो वा हामी देशविनाका मान्छे वा अनागरिक हुँदा हामीलाई के फरक पथ्र्यो ? त्यसले हामीलाई बाँच्न कति सजिलो वा कति अप्ठ्यारो पाथ्र्यो होला ? अहिले हामी नेपाली भएर वा नेपाल भन्ने देश भएर हामीलाई के–के कुरामा सजिलो भएको छ ?

हिजो नेपाल बाइसी चौबिसीमा विभक्त हुँदा के–के कुरामा अप्ठ्यारो वा सजिलो थियो अनि पृथ्वी नारायणको पालामा राज्य विस्तार भएपछि हामीलाई केमा सजिलो र केमा असजिलो भयो ? अथवा नेपाल, भारत, पाकिस्तान वा अमेरिका केही नभनी हामी मान्छे हुन सक्थ्यौँ कि पशु हुँदा हौँ ?

कतै यो देश भन्ने कुरा ठूलाबडाले शासन गर्न बाँडेको भागबिलो त होइन ? अथवा देश भन्ने कुरा पैत्रिक सम्पत्ति जस्तो बाँडीचुँडी खाने कुरा त होइन ? अथवा देश भन्ने कुरा बेकारको भावना मात्रै त होइन ? स्वाभिमान, पहिचान वा मूल थलो भन्ने कुरा सब मानिसहरुलाई अलमलमा जेल्ने र बेकारको बहस चलाएर फटाहाहरुले गफ गरेर खाने तरिका त होइन ?

केलाई मूल भन्ने जब असी लाखजति नेपालीहरु विदेशमा छन् । के उनीहरुले त्यहाँ बाँचेको जिन्दगी जिन्दगी होइन ? त्यो जीवन झुटो हो ? के बाहिर बाँच्नु भनेको नबाँच्नु सरह हो ?

कक्षामा विद्यार्थीले मान्छेहरु कहाँ बाँच्नुपर्छ भनेर सोध्यो भने मैले के जबाफ दिउँला ? मूलथलो भन्नेहरुकै जीवन बाहिरै बाँचेर सिद्धिन्छ भने त्यसलाई के भन्ने ?

ओखलढुङ्गामा जन्मिएर सिन्धुलीमा हुर्किएर गोठाटारमा बस्दै आएको म स्वयम्को भूमि कुन हो ? मेरो गाउँ, मेरो जिल्ला, मेरो अञ्चल कुन हो ? म देशवासी हुँ कि होइन ? मेरो बाँच्ने अधिकार छ कि छैन ? म नागरिक हुन पाउँछु कि पाउँदिनँ ? अनि नागरिक भएपछि मेरा अधिकार के–के हुन्छन् ?

एउटा मान्छेलाई देश किन चाहिन्छ ? देश नभएको मान्छे कोही हुन्छ कि हुँदैन ? गाई भैँसी वा खरायोको देश कहाँ हुन्छ ? हावाको सिमाना कहाँसम्म हो ? पानीको भूगोल कुन हो र सूर्यका किरणहरु कहाँका हुन् ? मृग वा बाघ र हातीको देश हुन्छ कि हुँदैन ? यिनीहरु कुन नियममा बाँच्छन् र मान्छेलाई बढी नियम किन चाहिएको हो ?

सभ्यताले यी नियमहरु दिएका हुन् भने सभ्यताका कारण मानिसलाई के–के फाइदा भयो र ती फाइदाहरुको हिस्सा मैले पाउनु पर्छ कि पर्दैन ? फाइदाको हिस्सा मैले नपाउने हो भने मैले त्यसलाई सभ्यता भनेर जोगाउन लागिपर्नु पर्छ कि पर्दैैन ?

मैले बुझेको सोझो कुरा चाहिँ यस्तो छ— मैले त्यसलाई मात्रै आफ्नो भन्छु जसले मलाई हित गर्छ । देशले मेरो हित गर्न सक्दैन भने मैले मात्रै देश भनिरहनुको अर्थ छैन ।

मानवजातिले आफ्नो हितकै लागि देश र सरकारको अवधारणा ल्याएको हो । त्यसले मलाई हितभन्दा बढी अहित गर्न थाल्यो भने म त्यसको सदस्य बनिरहनु पर्दैन ।

देशको नाम नेपाल हुँदैमा गौरव गर्नुपर्ने कुरा केही छैन, नेपाल नभए अरु नै केही हुन्थ्यो वा देशको नाउँ नै हुँदैनथ्यो वा देशै हुँदैनथ्यो भने पनि केही फरक पर्नेवाला छैन । तर म त हुन्थेँ, मान्छेहरु पनि हुन्थे ।

कथित देशभक्तहरुलाई यो कुरा नराम्रो लाग्ला तर चित्त नदुखाए हुन्छ । तिमीहरुलाई देशले केही दिएको होला र तिमीहरु भक्ति गर्छौ मलाई देशले केही दिएको जस्तो लाग्दा म पनि देशलाई माया गर्दो हुँ । दिनेको माया कसलाई नलाग्ला ?

प्रतिक्रिया दिनुहोस्