निबन्ध | जँड्याहा

लेखक : टंक गौतम

आज क्याम्पसबाट फर्किदै थिएँ, त्यही जड्याहा भेटियो। खुट्टा ठाउँमा थिएनन्। कहिले यता लर्बरिन्थ्यो त कहिले उता। उसलाई म प्रायः त्यही ठाउँमा देखि रहन्छु। मैले अहिलेसम्म बुझ्न नसकेको कुरा के हो भने ऊ जाँड खाएपछि मात्र त्यहाँ आउँछ कि अथवा जाँड खान त्यहाँ आउँछ। मैले उसलाई कहिल्यै सद्दे अवस्थामा त्यहाँ भेटेको छैन। ऊ धेरैबेरसम्म त्यहाँ बर्बराउँछ। प्रायः म त्यसलाई त्यहाँ क्याम्पस छुट्टी हुँदा भेट्छु। बिहान क्याम्पस जाँदा बिगत दुई बर्षको अबधिमा जम्मा दुई या तीनपल्ट देखेँ हुला तर फर्किदा भने ऊ सधैजसो त्यही हाजिर हुन्छ।

भट्टी अगाडिको त्यो ठुलो चौरमा ऊ प्रायः आफ्नै धुनमा मस्त हुन्छ। उसलाई कसैको पर्वाह छैन। मैले धेरैपल्ट उसको अस्तव्यस्त हालत देखेको छु। ऊ कहाँको हो, के गर्छ, किन सधै रक्सी पिएर मातिन्छ मलाई थाह छैन। यद्यपि त्यो जँड्याहाको मुखबाट निस्किएका एक दुई कुराले स्तब्ध पारेका छन्। म टक्क रोकिएको छु र उसको त्योे बोलीमा अर्थ खोज्ने प्रयत्न गरेको छु।

आज ऊ एउटा गीत बर्बराउँदै थियो–‘आना भि अकेला जाना भि अकेला, दो दिनका जिन्दगी दो दिनका मेला।’ यो कुन हिन्दी फिल्मको गीत हो वा यो कुनै गजलकारको उत्कृष्ट गजल हो मलाई थाह छैन। किनकि म त्यति धेरै हिन्दी गीतको पारखी होइन। तर जव मैले उसको मुखबाट त्यो गीतको दुई हरफ सुनेँ लाग्यो, सिक्नुपर्ने कुरा त्यो जँड्याहासँग पनि रहेछ।

जीवनको वास्तविकताको झलक पाइने त्यो गीतको टुक्रोलाई सायद उसले आफ्नो जीवनमा आत्मसात गरेको रहेछ र उसले जीवनलाई आशक्तिहीन बाटोमा धकेल्दै छ। सायद यो उसको जीवन भोगाइको सार हो। बालकृष्ण समले ‘मुकुन्द इन्दिरा’ नाटकमा भनेका छन् ‘मुट्ठी बाँधेर आएँ म, मुट्ठी खोलेर जानु छ, न छन् मुकुन्दका कोही न कसैको मुकुन्द छ।’ झल्यास्स मलाई त्यो पङ्क्तिको याद आयो। हाम्रा प्रत्येक क्रियाकलाप आशक्तिले ग्रस्त छन्। हामी अनाशक्त कहिल्यै हुन सकेनौँ। हामीमा रहेको ‘मेरो’को भावले सधैँभरि हामलिाई हाम्रो व्यापकताबाट खुम्च्याउँदै खुम्च्याउँदै यो साँघुरो क्षेत्रमा सीमित पारि दियो।

म त्यतिबेला उमेरले सानै थिएँ। मेरो छिमेकीको एक जनाले आफ्नै बाबुको सम्पत्ति विवादमा दाउराले टाउकोमा हानेर मा¥यो। उसको विभत्स शारीरिक स्वरूप मैले देखेको थिएँ। सानै हुँदा घटेको त्यो घटनाको छाप अहिलेसम्म मेरो मस्तिष्कबाट हटेको छैन। त्यतिबेला म रोएँ। दाजुले घरसम्म ल्याइ दिनु भो र भन्नु भो ‘घर छोडेर कतै नजानू’ मेरो बाल मस्तिष्कले त्यो भन्दा धेरै बढी कुराको समीक्षा विवेचना गरेको थिएन। त्यो घटना किन घट्यो, त्यो बुढो किन म¥यो, त्यसको टाउकोमा के भएको हो? अहिले त्यो घटनाको अर्थ खोज्ने प्रयत्न गर्दै छु म।

आखिर को रहेछ र यो संसारमा ‘मेरो’। आफ्नै रगत, आफ्नै सन्तानको त विश्वास छैन भने अरु त को हुन् र? मान्छे जन्मिन्छ एक्लै र मर्छ एक्लै। जीवनयात्राको क्रममा भेटिने बटुवाहरू, यात्राको क्रममा पाइने सुखसुविधा यी त सबै क्षणिक हुन् र अस्थायी। मरेर जाँदा लिने कुनै वस्तु छैन। जन्मदा सँगै लिएर आएको पनि कुनै वस्तु होइन। तर पनि यो मेरोको भावले हामीलाई कतिसम्म साँघुरो घेरामा सीमित पारि दिएको छ। यसो सोच्छु कहिलेकाँही म सपना त देखि रहेको छैन। सपनाका दृश्यहरू जसरी अनपेक्षित क्षेत्रमा प्रवेश गर्छन् हामी रमाउँछौँ कहिलेकाँही र निसासिन्छौँ कहिलेकाँही। म जन्मिनु, हुर्किनु, वाल्यकाल बिताउनु, पढ्नु, पढाउनु, प्रेम गर्नु, विवाह गर्नु, घरखेत जोड्नु, सम्पत्ति कमाउनु, राम्रो लाउनु, मिठो खानु, पारिवारिका जन्जालमा फस्नु, ‘मेरो मेरो’ भन्दै जीवन धकेल्नु, यो सबै सपना त होइन। जुनदिन मृत्युवरण गर्ने छु म, सायद त्यो दिन झल्यास्स व्युझनेछु र आफ्नै यथार्थ धरातलमा फर्कनेछु। यी सबै क्रियाकलाप त मात्रै सपना हुन्, फगत सपना। तर्कको भुङ्ग्रोमा भुटभुटिन्छु म कहिलेकाँही।

मान्छे जन्मेदेखि मृत्युवरण गर्दासम्म ‘मेरो’ भन्न छाड्दैन। सन्तोषको सीमा छैन। आज एउटा सुविधाको अपेक्षा गर्छ मान्छे, भन्छ– ‘यो पाएपछि त मेरो सबै चाहना पूरा हुन्थ्यो’ जव उसले त्यसलाई प्राप्त गर्छ, तुरुन्तै उसका अगाडि अर्को अपेक्षा शिर ठाडो पार्दै उभिन्छ। र, त्यसकै पछि पछि दौडन्छ मान्छे। यो मृगतृष्णबाट कहिल्यै पनि मान्छे मुक्त हुन सकेन। यही हो आशक्तिको बाटो। यो युगको कुनै पनि मान्छे आशक्तिहीन छैन। प्रत्येक कुराको माग उसको मस्तिष्कमा चक्कराइ रहन्छ। जव कि यी सबै कुरा क्षणिक हुन्, उसलाई यसको पत्तो छैन।

त्यही बाबु जसले छोराको दाउराको झटारो पाएर आफ्नो जीवनको इहलीला समाप्त पा¥यो, उसले यसअघि जति ग¥यो त्यो सबै सन्तानकै लागि गरेको थियो। तर ऊ आशक्तिबाट मुक्त हुन सकेको थिएन र भन्थ्यो ‘यो सबै मेरो हो’। त्यही छोरो जुन सम्पत्ति खान उसले आफूलाई जन्म दिने, यो संसार देखाइ दिने आफ्नै बाबुको हत्या ग¥यो, उसलाई पनि थाह भएन यो सबै क्षणिक हो। र दुबैले ‘मेरो’को भावले ग्रसित भएर जीवन समाप्त पारि दिए। एउटा बाबु जो मरेर म¥यो र त्यो छोरो जसले बाबुको हत्या ग¥यो, त्यो बाँचेर पनि म¥यो। त्यो सम्पत्ति मर्दा सँगै बोकेर लिने होइन, त्यो बाबुले बुझेन र त्यो सम्पत्ति बाबुको जीवनकालपछि उसकै हो र उसको पनि होइन जो उसले आफ्नो जीवनपछि छोडेर जानु पर्ने हो त्यो छोराले पनि बुझेन।

यही छोडेर जानु पर्ने वस्तु, व्यक्तिप्रतिको आशक्तिले मान्छेलाई दिनानुदिन अन्धकारतिर धकेल्दै छ र यो युगलाई नै अव्यवस्थित गरि दिएको छ। संसारभर युद्ध हत्या, हिंसा व्याप्त छ। दिनदिनै मान्छे आक्रमण र प्रत्याक्रमणको चपेटामा फसेको छ। जसले यो युगलाई अस्तव्यस्त अवस्थामा धकेल्दै छ, उसले पनि यो सम्पूर्ण संसार एकपल्ट छोडेर जानु छ। कोही भन्छ, छोरो मेरो, कोही भन्छ आमाबाबु मेरा, कोही भन्छ सम्पत्ति मेरो, कोही भन्छ जनता मेरो, कोही भन्छ नेता मेरो, तर यी सबै कसैका होइनन्। यी सबै उसले एकदिन छोडेर जानै पर्छ।

मैले पढेको एउटा सानो कथाको याद आउँछ।

एकपल्ट एउटा बुढो बाबु निकै बिरामी परेछ। उसको बोली समेत निस्कन छाडेछ। सन्तानले अब बाबु बाँच्छन् भन्ने आशा नै गुमाएछन्। बुढा मृत्युशैय्यामा छट्पटाइरहँदा पनि बाबुको मुखबाट निरन्तर बा..बा, झा…झा भनेको छोराहरूले सुने। अरु कुनै पनि कुरा बोल्न नसक्ने भइसकेका बाबुले निरन्तर बाबा र झाझा भनेको सुनेपछि सन्तानलाई लागेछ ‘बाबुले यसरी अन्तिम अवस्थामा पनि यही बाबा र झाझा दोह¥याइरहेका छन्। पक्कै पनि यो सामान्य कुरा होइन होला। यसको कुनै गूढ रहस्य हुनुपर्छ।’

उनीहरू सबैले अड्कल गरेछन् सायद बाबा भनेको बाकस हुनुपर्छ र झाझा भनेको झाडी हुनुपर्छ। बाबुले धनपैसाले भरिएको कुनै बाकस झाडीमा लुकाइराखेका छन् कि! मर्ने बेलामा त्यहीँ जानकारी दिन खोज्दैछन् कि! छोराहरूले यस्तो अड्कल गरेपछि झाडी त झाडी त्यो कहाँ हो? त्यो त पत्तो छैन। अनि उनीहरू डाक्टरकहाँ गएछन् र भनेछन् “डाक्टरसाहेब बाबु मृत्युशैय्यामा छन् र यस्तो अवस्थामा पनि उनी केही भन्न खोज्दैछन्। जसरी हुन्छ बाबुलाई उनले चाहेको कुरा बोल्न सक्ने बनाइदिनु प¥यो।

डाक्टरले बुढालाई हेरेछ र भनेछ “यी बुढा अब बाँच्दैनन् तर यिनले अन्तिम अवस्थामा भन्न खोजेको कुरासम्म भन्न सक्ने एउटा सुइ लगाइदिन्छु। यसको शुल्क अलि महङ्गो पर्छ, दिन मन्जुर छौ?

सबै सम्पत्तिको लोभले डाक्टरको महङ्गो शुल्क तिर्न राजी भएछन्। डाक्टरले सुइ लगाइदिएछन्। बुढा ज¥याकजुरुक उठेछन् र भनेछन् “मोरा हो, के मतिर मात्र हेरेर बसिरहेको, उता हेर त बाच्छाले झाडु टोकिरहेछ।” अब छोराहरूले बल्ल बुझेछन्, बाबा भनेको बाच्छो र झाझा भनेको त झाडु पो रहेछ।

मर्ने बेलासम्म पनि त्यो बुढालाई सामान्य झाडुको लोभले छोडेन। ऊ अब लगत्तै मर्दैछ तर पनि उसले आशक्तिलाई छोड्न सकेन। कति लालची छ मान्छे, कति लोभी छ मान्छे, कति ‘मेरो’को संसारमा बाँचेको छ मान्छे। ती छोराहरू जसले बाबुको मृत्यु भइरहँदा पनि अन्य कुरालाई बिर्सेर धन सम्पत्तिमै आँखा गाडे।

भौतिकताले गाँजेको यो युग, आशक्तिले ग्रसित यो युग, स्वार्थमा लपेटिएको यो युग, यो खराब युगमा त्यो जँड्याहाले गाएको गीत एउटा उच्च आदर्श हो। बालकृष्ण समले उल्लेख गरेको मुकुन्द इन्दिराको त्यो श्लोक एउटा उच्चतम आदर्श हो। यो उनीहरूले आफ्नो जीवनबाट प्राप्त गरेको सार हो।

यसअघि पनि त्यो जँड्याहा यसरी नै टुडिखेलमा हाजिर हुन्थ्यो बेलुकीपख र भन्दै जान्थ्यो नियमित। उसले नदेख्नेगरी म उसलाई सुन्थेँ। कहिले राजनीतिप्रतिको उसको धारणा प्रकट हुन्थ्यो त कहिले समाजप्रतिको।

उसले एकपल्ट समाजलाई गाली ग¥यो। उसले गरेको अन्तरजातीय विवाहलाई समाजले रुचाएन रे! धेरै दिनसम्म घर–गाउँ छोडेर बस्नुपरेको पीडा उसले जाँडको नसामै ओइ¥याइदियो।

आउँछ सत्य बोल्छ र फर्कन्छ, कसैलाई गाली गर्दैन, कसैलाई प्रशंसा गर्दैन, आफ्नै संसार छ उसको, आफ्नै मूल्य र मान्यता छन् उसका। दुनियाँका आँखाको खराब मान्छे हो ऊ। जाँड रक्सी पिउनु उसको कमजोरी हो। ऊ किन जाँड पिउँछ? किन मात्तिन्छ? उसले यो रहस्य अझै खोलेको छैन। एकदिन ऊ यो रहस्य अवश्य खोल्नेछ।

तर, मेरो दृष्टिमा ऊ यो संसारको यस्तो अनुभवी मान्छे हो, जसले अहिलेको मानव समुदायलाई नजिकबाट देखेको छ र यो मान्छेको जीवन आफ्नो तबरले भोगेको छ। यो भोगाई पोख्न उसलाई जाँडको सहायता चाहिन्छ। अन्यथा ऊ बोल्न सक्दैन। समाजले उसको बोलीमा काँडेतार लगाइदिन्छ। तर, जब ऊ जाँड पिउँछ उसले स्वतन्त्र रूपमा आफ्नो बोली ओकल्न सुरु गर्छ। कहिले त्यो समाजको आलोचक जस्तो देखिन्छ, कहिले तपस्वी महात्मा जस्तो। कहिले उसमा म गोर्कीको छायाँ देख्छु त कहिले उसमा म देवकोटाको अंश। जेहोस्, ऊ दुनियाँका आँखाको जँड्याहा मेरा आँखामा एक दार्शनिक हो।

जँड्याहाले गाएको त्यो गीत, ‘मुकुन्द इन्दिरा’ भित्रका माथि उल्लेख गरिएका श्लोकहरू, त्यो लोभी बूढाको कथा, सम्पत्ति बिवादमा मर्ने र मार्ने बाबु–छोरा यी सबैले मेरो जीवनमा गहिरो प्रभाव पारेका छन् र सबैको धूरीमा छ त्यहीँ जँड्याहा। जसले मैले देखे भोगेका ती सबै घटनालाई आफूमा समाहित गरेको छ। उसले मेरोभन्दा बढी अनुभव सङ्ग्रह गरेको छ र त्यो संग्रह ऊ जाँडको नसामा ओकल्छ।

जँड्याहा! तिमी जाँड नपिएर जीवनको सत्य ओकल्न सक्दैनौं?

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *