अचेल | केएल पीडित

मेरै विरुद्ध आन्दोलित छन् मेरा कविताहरु

ए कवि !
खै त्यो नूतन बिम्ब !?
खै त्यो सर्वकालिक बिम्ब !?
शुष्क जिन्दगी सिंच्ने 
लय र संगीतको त्यो कञ्चन नदी 
भासियो कुन गर्तमा !?
पुरियो कुन पहिरोमा !?
कुन हुरीले लाछ्यो त्यो सपना !?
कुन छालले ताछ्यो त्यो आदर्श !?
क्रुद्ध मेरा कविताहरुले 
यसरी यसरी प्रश्नका चुच्चा ठोंडहरुले 
ठुंगिरन्छन् मलाई 
लगातार लगातार ठुंगिरहन्छन्।

ए कवि !
खै त्यो तिलस्मी नायक !?
जो  मुस्कुराउँथ्यो हरदम हरदम
पसिनाले भिजेका अनुहारहरूमा
जो सलबलाउँथ्यो हरपल हरपल 
ठेला उठेका मुठ्ठीहरुमा 
र, जो प्रहर हरप्रहर
छिचोल्दै सन्त्रासका भुइँकुहिरोहरु
एकनास/एकनास 
घाम छेक्ने पहाडहरुमा 
पड्काइरन्थ्यो क्रान्तिको ग्रीनेट 
क्रुद्ध मेरा कविताहरुले
यसरी यसरी प्रश्नका घनहरुले 
हिर्काइरहन्छन् मेरो चेतनाको छातिमा।

लखेटिएर आफ्नै कविताहरुले
द्विविधाको यो मसाने गल्छीमा
लमतन्न परेको छु म 
अलिपर गग्रान पखेरामा 
जून च्यापेर कोखिलामा 
क्रुद्ध मेरा कविताहरु 
उधिनिरहेछन् धमाधम सहिदका चिहानहरु 
र, देखेर यो अदभूत दृश्यबिम्ब
म झन्झन् प्राणविहीन हुँदै गएको छु।

साँच्चै !
किन यति उग्र भए मेरा कविताहरु !?
किन यति क्रुद्ध भए मेरा कविताहरु !?

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *