प्लेकार्ड

–केशव सिलवाल

म हुँ एक प्लेकार्ड
राष्ट्रसंघको प्राङ्गणमा प्रदर्शित
जी–दशको बैठकस्थल अगाडि बोकिएको
एकदमै ओसिलो आँसु जतिकै
फुलेको मसिले लेखिएको
सधँै फोहर कुल्चिएझैँ कुल्चिएको
मेरो अस्तित्व
आज मई दिवस
फेरि काम आउँछ मेरो
टन्टलापुर घाममा माछा सुकाएझैँ
फेरि सुकाइन्छु म
मेरो औचित्य मात्र त्यति
आज गरिबी दिवस
फेरि लिन आउँछन् ट्रकहरू मलाई
राजधानीको गरिबी निवारण प्रोजेक्टमा
त्यहाँ छ–
एउटा भव्य राष्ट्रिय समारोह
म सुन्नेछु गरिबी निवारणका भाषणहरू
म हुँ एक प्लेकार्ड
मलाई नै बोकेर तिनीहरूले
मागेका थिए नयाँ बिहानी
मलाई नै बोकेर तिनीहरू
सहभागी थिए जनयुद्धमा
खोज्ने हो भने नयाँ घाम
शासकको खल्तीमा नखोज
यही प्लेकार्डमा खोज
मानवताको नाङ्गो तस्वीर हेर्नुछ भने
यही प्लेकार्डमा हेर
त्यहाँ टाँगिएको छु म
संसारको सबैभन्दा निर्धन र निर्दोष मानिस
जो बारम्बार बन्छ प्लेकार्ड
फगत म हुँ एक प्लेकार्ड
जहिले पर्छ आवश्यकता
तासको तुरुपझैँ
फ्याँकिन्छु देशझैँ फैलिएको खालमा
प्रदर्शन गरिन्छु क्रुसिफाइडझैँ
एउटा लुलो लठ्ठीमा
ल्वाङ किलाले ठोकिएर
निषेध छ मलाई
प्लेकार्डबाट बाहिर निस्कन
खुम्चिएर बस्नुपर्दा प्लेकार्डमा
दुखेको छ गर्धन
कुँजिएका छन् मेरा हातखुट्टाहरू
उफ्,
कहिले मुक्त हुन्छु म प्लेकार्डबाट रु
कहिले बन्द हुन्छ मलाई प्लेकार्ड बनाउन रु

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *