तर्केर जाने मन

       नवीन विभास | 360 Views |   Published Date : 7th December 2014 |

Nabin bibhasबेतालले तर्केर हिड्छ कहिलेकाहीं मन पनि । नजाने गाउँको बाटो सोध्दै कहाँ हो कहाँ बरालिन्छ । बेतालको मान्छेजस्तो । जता ओरालो भेट्यो उतै लाग्ने पानीजस्तो ।

के जाती के जाती सोधेर हलाक हुन्छु । सम्झेर कहिलीकसो सोध्छु पनि, ‘के साँच्ची यसरी सोच्ने आफ्नै मन हो र ?’

आफन्त उपचारका लागि आउँछन् । टिचिङ अस्पतालमा जान्छु । कहिलीकसो महाराजगञ्ज भएर कतै जाँदा नचाहेर पनि आँखा ठोकिन्छ भैरवनाथ गणमा ।

कस्तो होला त्यहाँभित्र ?

अग्लो पर्खाल छ । के होला हँ त्यसभित्र ? के उस्तै होला जस्तो थियो यसअघि (देखेको भए पो) ?

byarek_bhairavnathउसैगरी बसेको देखिन्छ, महाराजगञ्जमा । उसको अनुहार उस्तै छ । चालढाल उस्तै छ । आफूले नदेखेर भोगेका अनगिन्ती सपनाको हत्या भएको भैरवनाथको अनुहार उस्ताको उस्तै छ । लाग्छ, ती चित्कार उसैगरी बसेका छन् । पात–पातहरुले, उडिरहेका परेवाले, उडिरहेको हावाले पनि भनेजस्तो लाग्छ, ‘कस्तो छ तिम्लाई, सञ्चै ?’

‘कान’ले देखेका अनुहार आउँछन्– सीएन ढुंगाना र अमृत कँडेलसहितका नाउँ ।

त्यसपछि मन पोखिनलाई ठाउँ खोज्न थाल्छ ।

तिनका आफन्त र परिवारजनलाई झन् कस्तो हुन्छ होला भैरवनाथ गण देख्दा ?

सपनाको हत्या भएको चिहानको अनुहार उस्तै देखेर हलाक पर्छु । त्यसबेलाका हाकिम पदोन्नति भएर के–के भए के–के । उसो त माओवादीकै सरकारले पदोन्नति ग¥यो । भैरवनाथमा बेपत्ता र हत्या भएका परिवारका मन त्यो ठाउँ वरपर पुग्दा कति दुख्छ होला ? कस्तो हुन्छ होला तिनका आँखा ? कसरी थाम्छन् होला आफूलाई ? अमृत, सीएनहरुका आफन्त र परिवारका सदस्य कहिलीकसो यही बाटोबाट तलमाथि गर्दा भैरवनाथलाई देखेर के भन्दा हुन् ?

कल्पेरै हलाक पर्छु ।

भन्छन् नि, ‘बाँच्नुपर्छ । देखिन्छ ।’

जहाँ मान्छे मारिए । जहाँ आँसु बगाए । जहाँ मान्छे जिउँदै तड्पाइए । कस्तो होला यतिखेर त्यसकोअनुहार ? ढुङ्गा, माटो, भित्ता, ट्वाइलेटले पनि भुलेका छैनन् होला । त्यसबेलाका शाही सेना त्यहीं रहेछन् भने तिनले त चिन्छन् होला । तर, अनुहार हेरेर होइन । जिउ हेरेर ।

साँच्ची, तिनलाई हेरेर के भन्लान् हँ ? ती दिन सम्झेलान् ? कि बिर्से होला ? या बिर्सन खोजेर पनि बिर्सन नसकेका होलान् हँ ?

‘जहाँ मान्छे मारे, यातना दिए ती ठाउँमा त मन्दिर बनाएको छ रे,’ भैरवनाथबारे जान्नेले भन्छन् ।

‘किन होला ?’

‘साँच्ची व्यवस्था परिवर्तन भयो रे । कुनै त्यस्तो पार्टी सरकारमा गयो र न्यायको कुरा उप्कायो रे । खोजबिन गरेछ रे । त्यस्तो बेला मन्दिर नै भत्काएर खोज्न त मिलेन नि,’ मन्दिर बनाउनुको उपादेयताबारे तिनले भन्छन् ।

होला पनि जस्तो लाग्छ । होइन कि होला पनि जस्तो लाग्छ ।

‘हुन सक्छ,’ एक मनले भन्छ ।

अर्को मनले भन्छ, ‘हो त दुनियाँका सबैभन्दा कुकर्म धर्मकै आवरणमा हुन्छन् । प्रायः पाप कर्म गरेका नै जिन्दगीका अन्ततिर पाप पखाल्न चारधाम धाउँछन् । जसले धर्मै धर्म गयो उसको त चारधाम धाउने पैसा नै कहाँ हुन्छ र ?’

सर्वसाधारण जसले पहिलोपालि माओवादीको नाउँ सुने– तिनले बेकारमा बेसाएका दुःख, पोखेका आँसु, चित्कार, तिनको यसै बगेको रगत त्यही कतै होला ? अहिले पनि नियाले’सि देखिन्छ होला ? परेको पानीले पनि त्यत्रोविधि रगत, आँसु र चित्कार त के बगाउन सक्यो होला र ?

कहिलीकसो यसो हिसाब गर्छु ।

साँच्ची, त्यहाँ एकपालि पुग्न पाए के भन्दा हुन् तिनले ? भन्छन् होला, ‘तँ पनि निष्ठुरी रहेछस् । पाइला नै फर्काएनस् ।’ या ठुस्सिएर बोल्दैनन् होला । अथवा भन्छन् होला, ‘यहाँ कस्तो–कस्तो के–के भयो भयो ।’

जेहोस्, जेले ढाके पनि यथार्थ त कहाँ लुक्छ र ?

थरीथरीका कुरा सुनाउँछन् । जो जान्दछन् भैरवनाथ गणबारे ।

कहिलीकसो मनमा नजानिदो तिर्सना पलाउँछ । एकै झल्को भए नि हेर्न पाए ? कस्तो छ होला त्यो ठाउँको अनुहार ? जहाँ सपना भत्कियो । जहाँ सपना बुनियो । जहाँ सपना रक्तमुछेल भयो । जहाँ सबैभन्दा बढी आँसु बग्यो (सायद यसभन्दा बेसी झर्ने पनि छैन होला) दुखेर पीडामा आक्रोशले । जहाँ सपना पनि भत्के विपना पनि भत्के । सायद जिन्दगीको सबैभन्दा बिकट समय बल्लतल्ल दुई हातले धकेलें ।

साँच्ची त्यस्तो भयावह ‘बिकट’ काटेको ठाउँको अनुहार एक्कै झल्को भए नि हेर्न पाए कस्तो हुँदो हो हँ ?

सम्झेर बेचैन हुन्छ मन ।

‘जहाँ कानले बनाएको छु ती ठाउँका अनुहार तिनलाई आँखाले देख्न पाए कस्तो हुँदो हो हँ ?’ मनले यसै योजना बुन्छ । चौबीसै घण्टा कालो पट्टिमा हात पछिल्तिर बाँधिएर तीन महिना काटेका कहालीलाग्दा रात (दिन र रातमा के फरक थिए र) काटेको भैरवनाथ गण कति फरक होला ‘आँखा’ र ‘कान’ले देख्नुमा ?

भन्छ मनले, ‘यत्ति त फरक होला ।’ हातले यसो ‘नापो’ बनाउँदै सोच्छ अर्को मनले भन्छ, ‘होइन यत्ति पो फरक होला ।’

आँसुले भिजेका माटो उसै गिलो होला ? रगतले भिजेका बार उसै रक्ताम्यै होलान् ? ट्वाइलेट जहाँ आफूलाई फुक्का र स्वतन्त्र सम्झन्थें (कारण अँध्यारो ट्वाइलेटमा हत्कडी र कालोपट्टि पनि खुल्थ्यो), ती ठाउँका अनुहार कस्ता होलान् ? साँच्ची कस्ता होलान् हँ ती ठाउँका अनुहार ? के उस्तै होलान् जस्तो मैले बनाएको छु चित्र कानले देखेर ।

‘फेरि त्यै ठाउँमा गएर सपना देख्न पाए कस्तो सपना देखिदो हो हँँ ?’

जति चर्का यातना पाउँथें उति देख्थें त्यसबेला सपना । जस्तो, जनताको हातमा सत्ता आएको आदि–आदि ।

बेमतलब पाएका यातनाले ती सपनालाई झन देखाउँथे । के अहिले पनि उस्तै सपना देखिदो हो फेरि ?

कस्तो देखिदो हो हँ सपना ?

सहिद, बेपत्ता, घाइते र जिन्दगीका रहरलाग्दा उमेर र सपना चढाएका कार्यकर्ता र जसले माओवादीको नाउँमा खाइनपाइ दुःख बेसाए या मारिए तिनलाई घर न घाट भएको देखेपछि पनि के उस्तै सपना देख्दाहुन् ती चित्कारले ? सपना र विपनाको हत्या भएको ठाउँमा यस्सो बसेर ती बेपत्तालाई सम्झन पाए हुँदो हो कस्तो ?

कहिलीकसो मन उठ्छ । र भन्छ, ‘जा जे परे पर्ला ।’

थाहा छैन, आँखाले देख्न लेखेको छ या छैन ? आदर्शवादी रुझानका पाकाले भन्छन्, ‘लेखेको पाइन्छ, देखेको पाइन्न ।’ आफूले त न देखेको हो आँखाले न त लेखेको नै थाहा छ ।

०००

काठमाडौं, दाङ वा रोल्पा जहाँ पनि सडकमा हिड्दा या भीडभाडमा पनि ती शाही सेनासित बाटो काट्दा ‘क्रस’ हुन्छ होला । क्रस हुँदा सायद ती शाही सेनासित पनि भेट हुँदो हो । आदेश दिने राणा र शाहका नातेदारबाहेक कतिका पो गाडी होलान् र ? त्यसैले कुट्न आदेश दिने पो गाडीमा गुड्दा हुन् र ? बाँकी त पैदल नै हिड्दा हुन् ।

अँ, बाटोमा क्रस हुन्छजस्तो लाग्छ । बाटोमा हिड्दा भेट हुन्छजस्तो लाग्छ । कुनै पनि अनुहार बाटोमा ‘क्रस’ हुँदा लाग्छ, ‘यै त होइन मलाई कुट्ने ‘शाही सेना’ ?’ ती ‘शाही सेना’ जसका (कतिपयका) ‘कुरुप’भन्दा पनि ‘कुरुप’अनुहार बनाएको छु । आफूले कारबाही भोगेरसमेत मानवीय व्यवहार दर्शाउन कोशिस गर्ने ‘शाही सेना’का सुन्दरभन्दा पनि सुन्दर अनुहार बनाएको छु ।

तर, आज चिन्नु पो कसरी ? न तिनले देखे न त मैले नै ।

अनुहारमा तिनले पनि मलाई देखेको भए पो ।

नदेखेका ती अनुहार सम्झेर कहिलीकसो मन बहकिन्छ । तिनका नाउँमा बनाएका भाँती–भाँतीका अनुहार सम्झेर तुलना गर्न मन लाग्छ, ‘साँच्ची, त्यस्तै होला तिनका अनुहार ?’

के कहिले देख्न र भेट्न पाइएला ती अनुहारलाई जसलाई साह्रै घृणा गरेको थिएँ (कतिपयलाई) जसलाई त्यो जटिलतामा पनि ज्यादै प्रेम गरेको थिएँ ? ती नदेखेका नजानेका अनुहार सम्झेर तिर्खा लागिरहन्छ नमेटिएको तिर्खाजस्तो । नलाएरै बसेको मायाजस्तो ।

०००

पर्खिरहेछु, ती आँखा जसले देखेका थिए– सुन्दर सपना र आफूलाई अर्पेका थिए । तीमध्ये कतिपयले पहिलोपालि माओवादीको नाउँ सुनेका थिए, (माओवादीको नाउँमा) कोहीले यातना त कोहीले मृत्यु भोगेका थिए । तिनका आँखामा खुसी फुलेको देख्ने नजानिदो आशासहित । त्यो आश र पर्खाइ जति महंगो होला, पर्खिरहने छु ।

लाग्छ, कोही त आउला एक दिन जसले कुर्सीसित साट्ने छैन तिनका अबोध सपनालाई । तिनका चाहलाई । तिनका मायालाई । तिनका प्रेमलाई ।

भन्नु त के त्यस्तो दिन नआउला ?

०००

प्रतिक्रिया दिनुहोस्