आइक्याड अर्थात् लेबर क्याम्प

       महेन्द्र महक | 423 Views |   Published Date : 7th December 2014 |

Mahendra_Mahakतीन/चार दिनको फोहरको थुप्रो ! किचेन कोठा ह्वास्स गन्हाउँछ ।

गार्बेज केसको फोहर फ्याँक्न सजिलो हुन्छ । तर प्रायः फोहर भान्साको एउटा कुनामा थुप्रिएको हुन्छ ।

बियर/रक्सीका बोतल ।

अण्डाका खोस्टा ।

बासी भात र थरि–थरि तरकारी ।

केएफसीका खोल र पेप्सी/कोलाका क्यान ।

भूपिले यस्तो गन्हाउने फोहर देखेको भए जिन्दगीलाई ‘काखीको पसीना’झैं गन्हाउँछ भन्थेनन् होला । बरु भन्थे होलान्–

प्रवासको जिन्दगी

गन्हाउँछ–

प्रवासीहरुले आफ्नै भान्सामा फ्याँकेको

फोहरको थुप्रोझैं ।

किरण भन्दै थियो मलाई– नजाऊ महेन्द्र विदेश नजाऊ ! त्यो ठूलो कालापहाड हो ।

हामीले कालापहाड सँगसँगै भोगेका थियौं ।

सँगसँगै !

हाम्रो शरीरको रोमरोमले अनुभूत गरेथ्यो कालापहाड !

भोक/रोग/दुःख/सुख/इष्र्या/घृणा/बासना ! सबैथोक थियो त्यो कालापहाडमा ।

खाडी नामको यो ‘ठूलो कालापहाड’ म तिनै सबथोक भोग्दै छु फेरि पनि !

तर यहाँ म एक्लै छु किरण छैन साथमा ।

ICAD_2आइक्याड ! जहाँ बसेर म भोग्दैछु एउटा प्रवासको जिन्दगी ।

आइक्याड– एउटा व्यवस्थित लेबर क्याम्प ।

अल मेस्क । अल धाबी । अल नसीम…।

सयौं बिल्डिङहरु । हजारौं कामदारको घर एउटै भवन । लाखौं प्रवासीहरुको बसोबास आइक्याडमा ।

नेपाली/भारतीय/बंगाली/फिलिपिनो/पाकिस्तानी/मिश्री/अफ्रिकन …।

अलग–अलग देश ।

फरक–फरक भाषा/संस्कृति/परम्परा/धार्मिक आस्था !

मात्र एउटै कुरा साझा छ ।

सबै परदेशी हुन् । प्रवासी हुन् । कमाउन र जीवन गुजाराका साधन खोज्न घरदेखि टाढाको ‘घर’मा बसेका छन् ।

‘ICAD- Your Home Away from Home’

गेटमा यस्तै लेखेको छ ।

चक्कु/गराँसी/हुक्का/ग्याँस/राख्न नपाउने अथवा मदिरा/नसालु खानेकुरा– प्रतिबन्धित कुरा । चित्रसहित लेखिएका बोर्ड झुण्डिएका छन् हरेक गेटमा । पालना गर्नुपर्ने अरु नियम पनि छन्– सांस्कृतिक/सामाजिक ।

खादामत !

आइक्याड रेसिडेन्सियल सिटीको व्यवस्थापक कम्पनी ।

एक कल फोनका भरमा सुरक्षा गार्ड र मेन्टेनेन्स कोठामा आइपुग्छ ।

चारैतिर पर्खाल बन्द यो श्रमिक सहरमा कति बिल्डिङ होलान् ? म गणना गर्न सक्दिन ।

सधैं याद रह्यो बरु– अल नसीब बिल्डिङ नम्बर–६, युनिट नम्बर १४१ ।

मेरो कोठा जहाँ एउटा कुनो मेरो लागि पनि सुरक्षित गरिएको थियो दुई वर्षका लागि ।

लिभिङ रुम/सिटिङ रुम/किचेन रुम/बाथरुम/गार्बेज रुम…।

ओर्लिन–उक्लिनका लागि विद्युतीय लिफ्ट ।

इलेक्ट्रिक ‘राउण्ड द गेट’/इलेक्ट्रिक गेट पास अनि हरेक गेटमा सेक्युरिटी …।

व्यवस्थित सुपरमार्केट/हस्पिटल/औषधि पसल/जिमखाना/किराना पसलहरु…

खेल मैदान/मस्जिद/बसपार्क/पार्किङ …।

बाक्लो छायादार हरिया वृक्ष । खजूरका रुख अनि त्यसमुनिको दुबोको हरियो कार्पेट ।

धेरै पटक यिनै रुखहरुको छहारीमा हरियो दुबोमा बसेर साथीहरुसँग बसेर चिसो पिएको सम्झना छ, खाजा खाएको याद छ ।

तास खेल्दै/चिया पिउँदै/चिसो पिउँदै/समूहमा बसेर बात मारिरहेका कामदारहरु… हरियो चौरमा रुखमुनि बसेका देखिन्छन् ।

बिहान योगामा मग्नहरु/व्यायाम गर्दै पसिना निकालिरहेका युवाहरु/साँझतिर प्रार्थना मण्डलीमा जुटेका इसाईहरु, समूहगत छलफलमा व्यस्त पठान/पञ्जाबी/नेपाली/भारतीयहरु… अनि पार्टीपिच्छे खोलिएका नेपाली दलगत समूहहरु…।

घरपरिवारको सम्झना/भावी योजना कम्पनीप्रतिको रिस/जिन्दगीप्रतिको कुण्ठा र आवेग… एकसाथ व्यक्त गरेका छौं यो प्रकृतिको हरियो चौरमा बसेर ।

यो हरियाली र खजूरका रुखहरु अनि रंगीन पूmलहरुको संरक्षण गर्न खटिएका मजदुरहरु…। सस्तो श्रम बेच्दै यो प्राकृतिक सुन्दरता बढाउन अहोरात्र खटेका छन् उनीहरु ।

मरुभूमिमा हरियाली ! वृक्षारोपण !

दैनिक चुरे विनासको समाचार पढेर दिक्क भएको बेला मरुभूमिको यो हरियालीले सोच्न बाध्य पार्छ ।

मेरो कृषिप्रधान देशले अर्बौंको खाद्यान्न/फलफूल/तरकारी र मासु आयात गरिरहेको सम्झदा मरुभूमिको यो हरियाली व्यङ्ग्य बन्छ ।

हामी किसान बाउका सन्तान ?! एउटा पेचिलो प्रश्न उभिन्छ मेरो अगाडि ।

मेरो देशमा स्वप्नद्रष्टा छैनन् । दिउँसै खुल्ला आँखाले सपना देख्ने स्वप्नद्रष्टा ।

अझ सपना देखेर त्यसलाई साकार पार्न लागिपर्नेहरु एकजना मात्रै भइदिएको भए पनि हामी हिमाली युवा यो मरुभूमिमा आउनु पर्दैन्थ्यो होला ।

हिजोसम्म खजूरको पातले बारेका झुप्रामा बस्थे यी कन्दुरा लगाउने अरबीहरु । हिजोसम्म माछा मारेर जीवन गुजारा गर्थे । हिजोसम्म खजूर र ‘गावा’ खाएर पेट भर्थे उनीहरु ।

आज दुनियाँका सबैभन्दा अग्ला गगनचुम्बी टावरमा बसेर विश्व व्यापारका केन्द्र चलाइरहेका छन् ।

उनीहरु तेल बेचेर श्रमिक किन्दैछन् देश बनाउन ।

हामी श्रमिक बेचेर खाद्यान्न आयात गर्दैछौं जहान केटाकेटी पाल्न ।

हामी के गर्दैछौं अचेल ! युद्ध/चक्काजाम/भोको खलाँतीको विज्ञापन/डिभी परेको भोज अथवा पशुपति पुकारा ?

पशुपतिले चलाएको देश । पशुपतिलाई कसले चलाएको छ नि ?

***

आइक्याड भित्रै छन् सुपरमार्केट र हाइपरमार्केटहरु ।

अलमदिना । अलवफा । फ्रेस एण्ड मोर । ग्रीन वादी …।

छोराका लागि एकजोडा साना जुत्ता ।

छोरीका लागि एउटा रंगीन फ्रक ।

श्रीमतीका लागि हाइहिल अथवा अन्तःबस्त्रको सेट ।

एउटा घडी, एक जोडा जुत्ता अथवा जीपासको टर्च बाउका लागि ।

अथवा आमाको लागि एउटा न्यानो सल ।

तीस इञ्चीको टिभी/स्यामसुङको मोबाइल अथवा एक सेट होम थिएटर ।

चकलेट र खजूरका पोका ।

घर जानेहरुको किनमेल ।

सुपरमार्केटमा सजाइएका थरिथरि सामान । र, ती सामानलाई देखेर मनमा जागेका हजारौं चाहनाहरु ।

हाम्रो कमाइ– एक थोपा नुनिलो पसिना ।

र यी सुपरमार्केट– नुनिलो पानीको महासागर ।

एक थोपा नुनिलो पसिना सागरमा विलय हुँदा÷नहुँदा केही फरक पर्छ र ?

हामी त पसिना चुहाउन आएका मजदुर न हौं ! नुनिलो पसिना ।

नुनिलो पसिना बेचेर धन कमाउन आएको खाडीको लाहुरेले ल्याउने पाहुरको खोजी हुनेछ ऊ घर पुगेलगत्तै ।

पसिना र नुनिलो सागरको कुरा कसले पो बुझ्छ र अचेल ? आदत छ नेपालीलाई यस्तो पाहुरको ।

आइक्याडको बीचमा छ मस्जिद ।

पाँच पटक अजान । पाँच पटक नमाज ।

शुक्रबारको दिन हातमा जायनमाज लिएर दौडिरहेका हुन्छन् हजारौं मुस्लिमहरु मस्जिद भएतिर । मस्जिदभित्र नअटाएर बाहिर पर–परसम्म नै पैmलिएका हुन्छन्– मक्कातिर हात उठाएर अल्लाहको ‘इबादत’ गरिरहेका आस्थावान् शीरहरु ।

जन्नतको चाहना ।

जहन्नुमको डर ।

शुक्रबारको दिउँसोको नमाज । मार्केट/पसल/रेष्टुराँ– सबै बन्द हुन्छन् ।

यो आस्थाको उँचाइलाई सलाम छ एकपटक ।

मस्जिदसँग जोडिएको छ खेल मैदान ।

क्रिकेटप्रेमीहरु खेलाडीहरुले भरिएको हुन्छ यो सिमेन्टेड मैदान । चार/पाँच वटा खेल एक साथ चलिरहेको हुन्छ ।

फिलिपिनीहरु बास्केट बल खेलिरहेका हुन्छन्, नेपालीहरु भलिबल ।

पारस खड्का र ज्ञानेन्द्र मल्लका नेपाली फ्यानहरु अचेल ब्याट समात्न सिकेका छन् ।

गर्मीमा पसिना बगाउँदै खेल्छन् । बिहीबार र शुक्रबारका दिन मध्यरातसम्म ‘हाउजेड’ र ‘सिक्स’का आवाज गुञ्जिरहन्छन् ।

क्रिकेट खेल्नुको क्रेज यही मैदानमा देखिन्छ ।

नियन बत्तीको उज्यालोमा रातभरि खेल्नुको मज्जा खेल खेल्ने खेलाडीले मात्र बयान गर्न सक्छ ।

बंगाली मार्केट ।

अवैध हाटबजार । हरेक शुक्रबार । आइक्याड बाहिर मुसाफामा लाग्छ ।

बंगाली र पाकिस्तानी व्यापारीको फुटपाथे व्यापार । छुट्टीको व्यापार ।

तयारी कपडा । बेल्ट/पर्स/अत्तर । तरकारी । चिकेन । पुराना सेकेण्ड ह्याण्ड भाँडा । चोरीका मोबाइल । मोबाइल चार्जर/इयरफोन । जेरी/मिठाई/फलफूल/माछा ।
कपाल काट्ने हेयरड्रेसर ।

अनि लरी ट्रकको आड लागेर ‘हलाल’ गरिने ताजा खसीको मासु । सँगै हुन्छन् गाई/गोरुको मासु बेच्नेहरु ।

रक्ताम्य/विभत्स दृश्य ।

दस मिनेटमा एउटा सिङ्गो खसी हलाल गरिसक्छन्– चार इञ्चीको चक्कुको भरमा ।

कहिलेकाहीं ‘सम्बन्धित निकाय’को रेड पर्छ ।

फुटपाथका व्यापारी सामान पोको पारेर भाग्छन् । उनीहरु ‘जिप पताका’ (आइडी कार्ड देखाउ) भन्दै आउँछन् । अवैध सामान नष्ट गर्दै, ट्रकमा हुल्दै आउँछन् ।

लखनऊ वा कलकत्ताको मीना बजारजस्तो देखिने मार्केट उनीहरुको आगमनसँगै भद्रगोल भीडमा बदलिन्छ ।

मौका छोप्नेहरुले यतिबेला नै महंगो सामान ‘झ्याप’ पार्छन् । सामान बटुल्न नसक्नेहरु ‘स्रुता’ (प्रहरी) आप्mनो छेऊ उभिएको देखेपछि तर्सेर बेपत्ता भाग्छन्– उसले बेच्ने सामानको मूल्यभन्दा गह्रौं छ अवैध व्यापारी बनेको अपराधमा तिर्नुपर्ने जुर्माना र भोग्नुपर्ने सजाय– र त सामान लावारिस छोडेर भाग्छन् ।

आइक्याडको पर्खालबाहिर यिनै बंगाली व्यापारीहरु हरेक साँझ केही न केही बेच्छन् ।

बढी त रक्सी/बियर/सुर्ती र अण्डा नै बिक्छ । सँगै बिक्छ लंगूरबुर्जा र जुआ । अनि नीला चलचित्रका सिडी पनि ।

कतै–कतै हुन्छन् सिजनल सस्तो फल/मोबाइलका चार्जर र हेडसेट बेच्नेहरु पनि । टीसर्ट/अन्डरवेयर अथवा पान बेच्नेहरु ।

रक्सी र पानी । अण्डा र चना चटपटा ।

पर्खालबाहिरको ‘विशेष मेला’ । फुटपाथको व्यापार । बिहीबार÷शुक्रबार विशेष हुन्छ ।

‘जुम्मे की रात !’

यो रात नेपालीहरु अलि बढी नै झुम्छन् ।

भूपिले ‘पिउन झनै गाह्रो छ’ भनेका थिए– नेपालीहरुले त्यो गाह्रो काम इमान्दारिताका साथ निभाएका छन् ।

यहाँ आएपछि थाहा हुन्छ– एउटा व्यङ्ग्यकारको उच्चतम व्यङ्ग्य हो नेपाली जड्याहा । सबैभन्दा पेचिलो कार्टुनिस्टको चित्र हो नेपाली जड्याहा ।

पर्स र पर्सभित्रका आइडी कार्ड/दमान कार्ड/गेट पास/बैङ्क कार्ड/पैसा/श्रीमती–प्रेमिकाको फोटो अथवा ऋणको लिस्टसँगै मोबाइल फोन… ।

मात्तिएपछि सबै हराएर आउँछ त्यो भीडमा कहीं कतै ।

रक्सी बेच्नेहरुको विवादमा थुप्रै घाइते भएका हल्लाहरु उड्छन् आइक्याडमा बेलाबखत । कसैको लास पनि फेला परेको थियो रे केही हप्ताअघि । अनि मात्रै हो, प्रशासनले आइक्याडका अरु निकास बन्द गरी मूल गेटमात्रै खुल्ला राखेको । र पनि ‘सराबको सबाब’ भोग्न चाहनेहरु चार नम्बर गेट घुमेर सडकपारिको ‘स्पिनिच’ (रक्सी डिलर) पुगेर रक्सी बोकेरै फर्किन्छन् । अथवा आइक्याड भित्रका चलाख व्यापारीबाट किन्छन् ।

‘स्पिनिच’को रक्सी किन्नबाट रोकेर आफ्नो धन्धा चलाउने पठानीहरुको ग्याङबाट लुटिन्छन् थुप्रै रक्सीप्रेमीहरु । पसलबाट किन्न नपाउने उनीहरुबाट मात्रै किन्दिनुपर्ने ! छ दिरामको माल दस दिराम ! पन्द्र दिरामको माल पच्चीस दिराम !

नमाने मरणासन्न हुने गरी कुट्छन् । ‘चोरमाथि चकार’ ! दादावादका शिकार थुप्रै नेपाली पनि भएका छन् ।

रक्सी पिउँदै बसेको बेला स्रुताले भेटाएर फाइन हानेछ– सौ दिराम । एक जना भन्दै थियो पीडामा । रक्सी पिउनुको सजाय– छब्बीस सय रुपैयाँ । साँच्चै रक्सी पिउन कति गाह्रो !

रक्सी खाएपछिका युनिभर्सल परिणाम यहाँ पनि लागू हुन्छन् । लेबर क्याम्पभित्र कोठामा पिउनेहरुका आ–आप्mनै मौलिक विशेषता छन्–

पिएपछि बान्ता गर्नेहरु,

पिएपछि आइक्याड चहार्दै रात बिताउनेहरु,

पिएपछि ‘मसल’ देखाउनेहरु,

पिएपछि ‘लाउडस्पिकर’मा ‘लुङ्गी डान्स’ गीत बजाउँदै नाच्नेहरु,

पिएपछि नीला चलचित्र हेरेर उन्मादित हुनेहरु,

पिएपछि चाइनिज/अफ्रिकन नगरबधुको खोजीमा निस्कनेहरु,

र, पिएपछि भोकै सुत्नेहरु ।

काठमाडौं रेष्टुराँको मःमः अथवा बंगाली होटेलको सब्जी पराठा अथवा पठानी रोटी– चलनचल्तीको खाजा ।

११० नम्बर बसका यात्री । अथवा अवैध पठानी ट्याक्सीका वैध यात्री । अथवा तावासुल/अल घजल/नेशनल ट्याक्सीका यात्री ! आइक्याडबासी आप्रवासीहरु ।

मध्यरातमा आइक्याडमा घुमिरहेका हुन्छन् फिलिपिनो तेस्रो लिङ्गीहरु । यिनको शिकारमा निस्केका हुन्छन् पञ्जाबी/पठानीहरु ।

विकृत यौनका शिकारी । यिनीहरु आइक्याडका ‘रातकी रानी’ हुन् । यो कमाउ धन्धामा पार्टटाइम गर्ने फिलिपिनीहरु धेरै छन् ।

आइक्याड पुरुष क्याम्प हो । महिला प्रवेश निषेध छ । र त यी ‘रातकी रानी’को ठाँट अकासिएको हुन्छ बेलाबखत ।

टप केयर ! एउटा हस्पिटल छ बीचैमा कतै । मस्जिदको पछाडि ।

वास्तविक बिरामीहरुभन्दा बढी हुन्छन्– एक दिने छुट्टीका लागि ‘मेडिकल सिक लिभ’ चाहने बिरामीहरु ।

– प्रेमिकालाई भेट्नु छ । छुट्टी मिलेन । सिक लिभ चाहियो ।

– रक्सी पिएपछि रातभरि ह्याङ्ओभर भो । ड्युटी छुट्यो । सिक लिभ चाहियो ।

– साथी भेट्नु छ । कम्पनीबाट बिदा पाइएन । सिक लिभ चाहियो ।

बहाना जे पनि बनाउन सकिन्छ ।

टाउको दुख्यो/पेट दुख्यो/छाती दुख्यो/आँखा चिलायो ।

देश छोड्नुको दर्द । परिवारसँगको विछोडको मानसिक त्राण । विक्षिप्त मनोदशा । अन्योलग्रस्त भविष्यको चिन्ता । प्रवास भोग्नुको पीडा । यी बहाना होइनन् ।

यिनको उपचार छैन पनि यहाँ ।

आइक्याड भोग्दा लाग्छ, देश मात्रै छोडेर आउँछ मान्छे । आदत–स्वभाव–हाउभाउ सबैथोक सँगै बोकेर आउँछ ऊ प्रवासमा पनि ।

आइक्याडमा देश छैन । देशबाहेक सबथोक छ । परिवारसँग हुनुको आनन्द छैन । बामे सर्दै गरेको छोराको किलकर ध्वनि र रंगीन फ्रकमा छुनुमुनु गर्दै गरेकी छोरीको मृदु मुस्कान छैन । हिमाली हावा र बुकीको सुगन्ध छैन । रोदी र लोक सुसेली छैन ।

सहनै नसक्ने चर्को गर्मी छ । बालुवा छ । खजूरका रुख र तेल छ । र, छन् प्रवास बस्नुको पीडा बोकेर भित्रभित्रै जलिरहेका लाखौं मनहरु…।

–दुबई

प्रतिक्रिया दिनुहोस्